‘साने, अक्षर चिनाइदिन्थिस् कि !’

‘मधौरुले माड नखाए धामीको मात्र केही चल्दैन’ भने झै जसलाई लक्षित गरेर साक्षरता योजना अघि सारिएको हो, उसमा नै यसप्रति चासो र आकर्षण पैदा गरिनुपर्छ । अर्थात् पढ्नुपर्नेहरूको मन पढाइप्रति खिच्न सक्नुपर्छ, तब मात्र यो अभियानले सफलता पाउँछ ।

मेरी आमा ४६ वर्षकी हुनुहुन्छ । उहाँलाई अक्षर चिन्ने ठूलो धोको रहेछ ।गत वर्ष दशैं बिदामा घर गएको बेला उहाँले मसँग प्रस्ताव राख्नुभयो, ‘साने मलाई पनि अक्षर चिन्ने रहर छ; यसो दुईचार अक्षर लेख्न–पढ्न सिकाइदिन्थिस् कि ?’गज्जब लाग्यो उहाँको प्रस्ताव !!

यसबाट लेखपढ गर्न जानेका युवापिंढीप्रति हाम्रा निरक्षर बुबाआमा, हजुरबुबा–हजुरमुमा, काकाकाकी सबैले कत्रो भरोसा राख्नु हुँदोरहेछ भन्ने कुरा मलाई थप प्रष्ट भयो ।

आमाको प्रस्तावले मलाई एकछिन त निकै सोचनीय बनायो; ४६ वर्षकी आमालाई मैले १५ दिनको दशैं बिदामा सावाँ अक्षर चिनाउन सकौंला ? उसै पनि दशंैको बेला पाहुनाको स्वागत र बिदाइमा व्यस्त हुनुपर्ने र आफैं पनि मान्यजनको हातबाट टीका आशीर्वाद थाप्न जानुपर्ने चटारो । तैपनि मैले मनमनै प्रण गरे, ‘यसपालिको दशैंमा म आमालाई साक्षर बनाइछाड्नेछु ।’ विजयादशमीको साँझ् दशैंको रमझम चलिरहँदा आमाको हातमा सिसाकलम र कापी, मनभरी अक्षर चिन्ने जिज्ञासा र कौतुहलता अनि आँखामा मप्रति आग्रहसहितको अपेक्षा देखें । उहाँले पुनः प्रस्ताव गर्नु भयो, ‘साने अस्ति भनेको कुरा बिर्सिइस् कि ?’ म क्याम्पसका एक प्राध्यापकलाई सम्झ्नि पुगें र घोत्लिन थालें । उहाँले भन्नुभएको थियो, “शिक्षा भनेको कुनै पनि ज्ञान, सीप वा क्षमताको विकास गरी वास्तविक जीवनमा लागू गर्नु हो ।” म टोलाएको देखेर आमाले झ्कझ्क्याउनु भो– ‘साने; सुनिस् ?’

मैले तत्कालै आमाको पढाइ शुरू गराएँ । केही महीनाको अथक् प्रयास र निरन्तर साधनापश्चात् उहाँ बाह्रखरीका वर्ण खरर्र भन्न र लेख्न सक्ने हुनुभयो । अहिले पुस्तक, पत्रिका पढ्न, नाम ठेगाना लेख्न र मोबाइल फोन प्रयोग गर्न सक्षम भइसक्नुभएको छ ।

मैले आफ्नो कथामार्फत आम शैक्षिक वर्गलाई भन्न खोजेको कुरा के हो भने– तपाईं हामीले सिकेका र जानेका कुरा लाई स्वयंसेवी ढंगले घर, परिवार, छरछिमेक, इष्टमित्र र नातागोताका मानिसहरूसँग बाँडे हामीले वास्तविक शिक्षा लिएको ठहर्नुका साथै नेपालमा विद्यमान निरक्षरता हटाउन सहयोग मिल्नेछ ।

तीन वर्षभित्र सबै निरक्षर नेपालीलाई साक्षर बनाउने सपना पूरा गर्न भनेजस्तो र सोचेजत्तिको सजिलो छैन । यो समस्याबाट छुट्कारा पाउन शिक्षित वर्ग, सरोकारवाला संघसस्ंथाहरू र सम्बन्धित निकाय मात्र क्रियाशील भएर पनि पुग्दैन । ‘मधौरुले माड नखाए धामीको मात्र केही चल्दैन’ भने झै जुन समुदाय वा वर्गलाई लक्षित गरेर यो योजना अघि सारिएको हो, उक्त समुदाय नै चासो र सक्रियताका साथ साक्षरता अभियान वा कक्षामा आकर्षित हुने परिस्थिति र वातावरण निर्माण गरिनुपर्छ । अर्थात् पढाइप्रति उनीहरूको मन खिच्न सक्नुपर्छ, तब मात्र यो अभियानले सफलता पाउन सक्छ ।

महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलाम
बी.एड. तेस्रो वर्ष

commercial commercial commercial commercial