‘गर्ने’ र ‘नगर्ने’ बीच भिन्नता छुट्याऊँ
एउटा सामुदायिक विद्यालयको शिक्षक हुँ म । मेरो छोरा यहीं कक्षा-२ मा पढ्छ । उसको सिकाइ हेर्छु—सन्तोषजनक छैन । सोच्छु— किन यो र यस्तै विद्यालयमा पढ्नेहरूको गुणस्तर उकासिन सकेको छैन ? मेरो मनमा यस्ता हजारौं विद्यालयहरूको तस्बीर आउँछ । विद्यार्थीको बसाइ व्यवस्था, सिकाइ सामग्री, सिकाइ पद्धति, बालमैत्री वातावरण, सिकाइ प्रणाली आदि कुनै पक्षमा पनि सन्तोष गर्ने ठाउँ छैन । शिक्षकको तलब उसको हाजिर रजिस्टर हेरेर दिइन्छ । विद्यार्थीमा उसले ल्याउन सकेको शैक्षिक सुधारले कहीं कतै ठाउँ पाउँदैन । जसोतसो ४५ मिनेट कटाउनु, ४ बजाउनु नै कार्यसम्पादनको मापक रहेको छ । अनि किन गर्नु परयो सिकाइ गुणस्तर मा वृद्धि ? सरकारी विद्यालयका प्रअतर्फ फर्कन्छु— विव्यसले आफू अनुकूल चलाउन खोज्छ, रबर स्ट्याम्प जस्तो ! कठपुतली बनाउन खोज्छ । नमान्दा पदबाट निष्कासित हुनुपर्ने डर ! ऐन/नियमले अधिकारसम्पन्न बनाएको छैन, विचरा निरीह छन् । सपना छन्, आदर्श इच्छा छन् तर चाहेर पनि पूरा गर्न सक्दैनन् ।
विव्यसतर्फ सोच्छु— एकाध बाहेक पदाधिकारीका सन्तान सरकारी स्कूलमा पढ्दैनन् । कुनै अमूक दलको सिफारिसमा आएका छन् । स्वनिर्णय गर्न सक्ने क्षमता पनि राख्दैनन्, आफूले कठपुतली बनाउन नसक्नेलाई दलले पठाउँदा पनि पठाउँदैनन् ।
तर हरेक बादलमा चाँदीको घेरा भने जस्तै हरेक समस्याका समाधान पनि त हुन्छन् । मेरो मनले सोच्छ– शिक्षा क्षेत्रको जिम्मा लिएर बसेका शिक्षा मन्त्रालय मातहतका निकाय र ऐन/नियममा थोरै मात्र सुधार गर्न सकियो भने पनि यसले सामुदायिक विद्यालयको स्थितिमा कायापलट नै ल्याउनेछ । जस्तैः शिक्षकको छनोट वार्षिक रूपमा केन्द्रीय निकायबाट गर्ने, प्रअको छुट्टै दरबन्दीको व्यवस्था र निष्पक्ष छनोटको व्यवस्था गर्ने अनि शिक्षकलाई दण्ड र पुरस्कार को व्यवस्था गर्ने, विद्यार्थी मूल्यांकन प्रणालीमा सुधार गर्ने जस्ता केही थोरै मात्रै पनि काम गर्न सकियो भने विद्यालय शिक्षामा महत्वपूर्ण सुधार हुनेछ ।
२० प्रतिशत र ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने शिक्षकका सरसुविधा र पदोन्नतिमा कुनै भिन्नता नहुने अहिलेको परिपाटीमा कुन चाहिं शिक्षक दुः ख/मिहिनेत गर्न अग्रसर हुन्छ ? हो, हामी पहिलेकै जमानाका जस्ता आदर्श शिक्षक अनि त्यस्तै विद्यार्थीको कामना त गर्न सक्छौं, तर मौजुदा व्यवस्थामा अब्बल व्यक्तिहरू शिक्षा क्षेत्रमा आउनै चाहँदैनन् । व्यावहारिक ऐन/नियमगत रूपमा नै प्रतिभाशाली व्यक्तिका लागि पर्याप्त वृत्ति–विकास को अवसर नदिने हो भने अब्बल दर्जाका उत्पादन शिक्षक बन्न आउने छैनन्, फलस्वरुप अन्यत्र नबिकेका शैक्षिक डङ्गुरको रूपमा शिक्षक समूह परिणत हुनेछ, अनि आफू जस्तो छ, उनीहरूले पनि त्यस्तै उत्पादन गर्ने छन् ।
अबको शैक्षिक व्यवस्था/नियमले २० प्रतिशत र ९० प्रतिशत नतिजा ल्याउने शिक्षकका सरसुविधामा प्रष्टरूपले भिन्नता देखाउन सक्नुपर्छ । ‘गर्ने ’ र ‘न गर्ने’ समान हैसियतमा रहने हो भने रु.७० अर्ब हैन रु.१४० अर्ब लगानी गरे पनि हाम्रो शिक्षाको गुणस्तर उकासिनेवाला छैन । सही प्रणालीको विकास गर्न सक्ने हो भने विद्यार्थीले सिक्ने/सिकाउने अनेकौं तरिका शिक्षक आफैंले उत्पादन/विकास गर्ने छन्, कसैले सिफारिस नै गर्नु पर्दैन ।
शैक्षिक क्षेत्र सुधारका कुरा गर्दा हामी प्रायः भौतिक पक्ष (कोक्षाकोठा, बेञ्च, सामग्री आदि)को एकाङ्गी चर्चा गर्छौं तर शैक्षिक प्रणालीको केन्द्रीय पक्ष हो— कक्षाकोठाको सिकाइ प्रणाली/शैली । यो र केवल यो नै सही हुँदा मात्रै हामी विद्यालयमा विद्यार्थी भित्रयाउन सक्छौं, टिकाउन सक्छौ र सिकाउन सक्छौं । तसर्थ अबका छलफल /बहसका विषय, एक्सन रिसर्च परियोजना कार्य या यस्तै गैर भौतिक पक्षहरू हुनु जरुरी छ । हामी सबै भन्छौं– विद्यार्थीमा अथाह सम्भावना हुन्छ, साथीसँगै बसेर समूहमा सहजरूपले सिकाइ हुनसक्छ, सिकाइकोगति आ–आफ्नो हुन्छ, शिक्षकले टेको दिने मात्रै हो, आदि आदि । तर हाम्रो शिक्षण/सिकाइ शैलीले यो मर्मलाई मलजल गरेको छ त ? कक्षाकोठामा जानु, पाठको शीर्षक लेख्नु, हल्ला न गर्न निर्देशन दिनु अनि सकी नसकी एकोहोरो व्याख्या सुनाउनु अनि बाहिरिनु– हामीजसो धेरैले अंगीकार गरेको शिक्षण शैली यही हैन त ? नयाँ विषयवस्तुसित विद्यार्थीले जम्काभेट गर्न पाएको खै ? समूहमा बसेर सोध्ने र सिकाउने गर्न पायो त ? आफ्ना सिर्जना/धारणा सबैका सामु प्रस्तुत गर्न पायो त ?
सिकारुले आफैं पढ्न/सिक्न/समस्या बुझन र हल गर्न प्रयास गरेको हुनुपर्छ, उसले नसक्दा मात्रै शिक्षकको खाँचो पर्छ । यहि तरिकाले मात्रै विद्यार्थीलाई स्वचालित सिकारु ९बगतयलयmयगक भिबचलभच० बनाउँछ । हाम्रा सिकाइ पद्धतिका हरेक पक्षहरू त्यस दिशातर्फ नै केन्द्रित हुनुपर्छ ।
यतिका कुरा गरिसकेपछि अन्त्यमा भन्न मन लाग्यो— हामी शिक्षकले तल उल्लेख गरिएका पक्षलाई मनन गर्न सक्यौं भने थोरै भए पनि सुधार हुन्थ्यो किः
- हरेक धारणा/विषयवस्तुको सुरुआत हामी शिक्षकहरू प्रायः क्लिष्ट रूपमा लेखिएका लामा परिभाषाबाट गर्द छौं । विद्यार्थीलाई त्यही कण्ठ गर्न प्रोत्साहित गर्दछौं । तर मुख्य कुरा त बोध पो हो त । यसो सम्झौं त तपाईं/हामीले वर्षौं अगाडि विद्यालयमा सकी नसकी कण्ठ गरेका त्यस्ता कुरा ले हामीलाई कहिल्यै सघाएका छन् त ? यसर्थ; परिभाषाबाट उदाहरण हैन, कैयौं उदाहरणबाट परिभाषातर्फ विद्यार्थीलाई लैजाने प्रयास गरौं ।
- विषयवस्तु शतप्रतिशत शिक्षकले सिकाउनु भन्दा विषयवस्तुप्रति विद्यार्थीको रुचि बढाइदिउँ । रुचिले विद्यार्थीलाई स्वचालित (self propelled) सिकारु बनाउँछ । रुचि तब जाग्छ जब ऊ सफल भएको ठान्छ । स्याबासी पाउँछ । त्यसैले सिकारुका सानातिना गल्ती/धेरै गल्ती नऔंल्याऔं । सकेसम्म ठीक छ, राम्रो छ, स्याबास भनौं ।
- मूल्यांकन प्रक्रियामा बोध (comprehension) लाई व्यापक बनाऔं । लिखितसँगै मौखिक । प्रस्तुतीकरण क्षमताको पनि विकास गराऔं ।
- प्रथम, द्वितीय, तृतीय बनाउने मूल्यांकन प्रणाली हटाऔं, अक्षराङ्क (grading) प्रणालीको विकास गरौं, यसले मात्रै निषेधात्मक प्रतिस्पर्धालाई हटाई सहयोगात्मक स्पर्धालाई सघाउनेछ ।
- किताब होइन, पाठ्यक्रमको शिक्षण गरौं ।
- पढाउने हैन, सिकाऔं (help them learn rather than teaching)
- कक्षाकोठालाई सिकाइको केन्द्रीय थलो बनाऔं, कार्यशाला बनाऔं न कि निष्क्रिय श्रोता ।
वीरेन्द्र उमावि, कुमरी–३, नुवाकोट