भूकम्पपछि चौरमै पढाइ

ताप्लेजुङको नाङखोल्याङ–५ स्थित त्रिवेणी प्राथमिक विद्यालयका विद्यार्थी खुला चौरमा पढ्छन् । २०६८ असोज १ को ६.८ रेक्टर स्केलको भूकम्पले विद्यालयका चार वटा कोठा भत्काएपछि बालबालिकाको शिरबाट स्कूलको छानो हटेको हो । शिक्षकगायत्रा न्यौपानेका अनुसार घाम लागेको बेलामा बाहिर राखेर पढाउने र पानी पर्दा बिदा दिने गरिएको छ । शिक्षकहरूगायत्रा न्यौपाने, ज्ञानमाया खिम्दिङ र विनिता कँडेलले विद्यालय बनाउन तथा मर्मत गर्न अहिलेसम्म कसैले पनि चासो नदिएका कारण समस्या भएको गुनासो गरे ।

फावाखोला गाविसको सिम्बुक माविका कोठा भूकम्पले भत्काए पछि एउटा कोठामा दुई वटा कक्षालाई दुई तिर फर्काएर अध्ययनगराइने गरेको छ । प्रधानाध्यापक तुलसी बिष्ट कतैबाट पनि सहयोग र राहत पाउन नसकेको गुनासो गर्छन्, “जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएका छौँ तर रकम कहिले आउँछ केही थाहा छैन ।”

नाङखोल्याङकै लक्ष्मी निमावि रेडक्रसको सहयोगमा बनाइएको टहरामा सञ्चालन भइरहेको छ । कक्षा ७ मा पाँच जना विद्यार्थीलाई मात्र अङ्ग्रेजी पढाइरहेका शिक्षक बीरलाल विश्वकर्मा भूकम्पपछि विद्यार्थीको विद्यालय उपस्थिति घटेको बताउँछन् । नाङखोल्याङकै कालिका उमाविमा अस्थायी टहरामा बसेर अध्ययन गरिरहेका कक्षा ८ का छात्र नविन रेग्मीले टहरामा धेरै चिसो हुने, होहल्ला पनि बढी हुने र पढाइ समेत रराम्रो नहुने दुखेसो गरे । सोही उमाविका शिक्षक घनेन्द्र आचार्यले निराशा व्यक्त गरे “काठमाडौँका विद्यालय लडेका भए अस्ति नै बनिसक्थे, दूरदराजका विद्यालयमा कसको ध्यान जान्छ र ?”
जिल्ला शिक्षा अधिकारी राज कुमार विश्वकर्माले ताप्लेजुङका २२४ विद्यालयका ३४८ कक्षाकोठा ध्वस्त भएका र ५४७ आंशिक क्षति भएको जानकारी दिए । उनका अनुसार विद्यालयहरूमा रु.६ करोड २७ लाख ३८ हजार बराबरको क्षति भएकाले उक्त रकम शिक्षा विभागमा माग गरिएको छ । समयमा रकम निकासा भएन भने यीमध्येका अधिकांश विद्यालयमा बर्खायाममा पढाइ हुने कुनै सम्भावना देखिँदैन ।

नाङखोल्याङका लक्ष्मी निमावि र कालिका मावि, नाल्बुको पान्दोलुङ मावि सबैतिर विद्यार्थीको सङ्ख्या लगभग आधा भएको छ । पान्दोलुङ माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण कुमार तुम्वाहाम्फे गाउँमा गएर अभिभावकहरूलाई छोराछोरीलाई स्कूल पठाउँ भनेर कर गर्न पनि नमिल्ने अवस्था भएको बताउँछन् ।

प्रतिरोधात्मक ब्लक पनि लडे
२०४५ सालको भूकम्पपछि ताप्लेजुङमा ‘भूकम्प प्रतिरोधात्मक’ बनाइएको भनिएका नाल्बु निमावि नाल्बु, कालिका मावि नाङखोल्याङ, त्रिवेणी प्रावि नाङखोल्याङ, सुन्दरमाल प्रावि नाङखोल्याङ, सिनाम उच्च मावि सिनाम, पञ्चकन्या प्रावि आखोप, आदर्श प्रावि खेजेनिम, ज्ञानोदय प्रावि सिनाम, जनता निमावि थुम्वेदिन, कार्तिके प्रावि चाक्सीबोटे, श्रीजङ्गा प्रावि लिङतेप, नाल्बु खुर्पाताक प्रावि थुकिमा लगायतका स्कूलका ब्लक पनि लडेका छन् । जिल्ला कार्यालयका इन्जिनियर अजय यादवले दुईकोठे एउटा ब्लक निर्माण गर्नका लागि रु.६ लाख ५० हजार खर्च हुने बताए । उनी भन्छन्, “भवन बनाउँदा निर्माणमा मापदण्डहरू पूरा गरिएका छन् कि छैनन् भन्ने कुरा मा शिक्षक, व्यवस्थापन समितिका सदस्य तथा सबै अभिभावकहरूले ध्यान पुर्याउन आवश्यक छ ।
राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ

commercial commercial commercial commercial