तालिमको देन भुल्न सक्दिनँ

दुई वर्ष मासिक रु.१५०० मा स्थानीय स्रोतमा सेवा गरें । तत्पश्चात् प्राविस्तरमा कार्यरत एक शिक्षक सदरमुकाम सरुवा हुँदा त्यो रिक्त स्थानमा ठूलो खैलाबैलापश्चात् मात्र हेडसरले राख्न सफल हुनुभयो ।

म भर्खर आई.ए. दोस्रो वर्षको परीक्षा सिध्याएर बसेको थिएँ । अब कहाँ जाने, कोसँग सहयोग मागेर कस्तो काम गर्ने आदि आदि सोचिरहन्थेँ । परीक्षाफल नआउञ्जेलसम्म केही रुपैयाँ पैसाको जोहो गर्न पाए अगाडि पढ्न सजिलो हुनेथियो । गरिब परिवारमा जन्मेर अरूलाई काम सघाएर यतिसम्म पढियो भने अगाडि पढ्न कसो नसकिएला भन्ने जस्ता कुरा हरू मनमा आइरहन्थे ।

हाम्रो घरमा हामीले पहिल्यै देखि नै ‘दाइ’ सम्बोधन गर्ने गरेका एकजना मित्र पाहुना आउनुभएको थियो । उहाँ सूर्य पटुवा गाविसस्थित एउटा विद्यालयमा शिक्षक हुनुहुन्थ्यो । साँझ्को खानपिनपश्चात् उहाँलाई मैले सोधेँ, “दाइ ! कतै स्कूलतिर शिक्षक चाहिएको छैन ? हेर्नुस् न म त विना कामको भएँ । परीक्षा पनि सकियो । मेरो अवस्था त तपाईंले बुझनुभएकै छ ।” उहाँलाई मेरो स्थितिबारे रराम्रो जानकारी थियो ।

केही बेरपछि उहाँले सोध्नुभयो, “तिमी पढाउँछौ ?”
“पढाउन त पढाउँछु तर अङ्ग्रेजी विषय बाहेक अन्य विषय पढाउन सक्दिनँ” मैले जवाफ दिएँ । “ठीकै छ त, त्यहाँ अङ्ग्रेजी पढाउने शिक्षक नै चाहिएको छ,” दाइले भन्नुभयो ।
पढाउँछु त भनेँ तर पढाउने कसरी ? ठूलो सङ्कट आइपरे जस्तो लाग्यो । ‘जे पर्ला टर्ला’ भन्ने सोचेर अगाडि बढ्ने निर्णय गरें । उहाँले लेखिदिएको चुट्का लिएर म ढोढरी गएँ । २०५५ जेठ १८ गते बिहानै ओराली बजार, त्यहाँबाट ७ कि.मी. पूर्व जङ्गल पार गरी ९ बजे विद्यालयमा पुगेँ । र, दाइले दिएको चुट्को हेडसरलाई थमाएँ ।

केही बेरपछि हेडसर लेखनाथ पोखरेल (अहिले स्वर्गीय भइसक्नुभयो) ले चक र डस्टर मेरो हातमा थमाउनुभयो । मलाई ‘तपाईंले जे जान्नु भा’छ त्यो पढाउनू’ भनी आफू कक्षाको अन्तिम बेञ्चमा बस्नुभयो । कोठाभरी टन्न विद्यार्थी ! अक्सर आफूभन्दा बढी उमेरका । जेठ महिनाकोगर्मी । अझ् त्यसमा हेडसर कोठामा बसिदिँदा त मेरो टुप्पीको पसिना घुँडासम्म पुग्यो । अङ्ग्रेजी किताब नबदलिएकाले अर्थात् आफूले पढेकै किताब भएकाले ८–१० मिनेट त केही बोलेँ । त्यसपछि बोल्ने कुरा सिद्धियो । अनि हेडसरलाई भनेँ, “सर; तयारी नभएकाले आज पढाउन सकिनँ ।” यत्ति के भनेको थिएँ, सबै विद्यार्थीगलल्ल हाँसे । त्यतिखेर आफू निकै आत्तिएको महसुुस भयो ।

पछि कक्षामा विद्यार्थीका सामु आत्तिनु नहुने कुरा हेडसरले बताउनुभयो । जीवनमा मेरो हातमा चक र डस्टर हुन्छ, विद्यार्थीसामु उभिनुपर्छ भनेर कहिल्यै सोचेको थिइनँ । पढ्ने बेलामा पनि चकले बोर्डमा लेख्ने प्रयास कहिल्यै गरिएन । साथीहरूले लेख्दा पनि अप्ठ्यारो महसुस गर्दथेँ । शिक्षण मेरा लागि रोजाइको पेसा पनि थिएन । तर, आज शिक्षक बन्नु पर्ने स्थिति आइलाग्यो । २–४ महिना हेरौं रराम्रो लाग्यो भने पढाउँला नत्र छोडौंला भन्ने सोच बनाएँ । भोलिपल्टबाटै रु.१५०० मासिक पाउने गरी स्थानीय स्रोतमा ४ देखि ८ सम्म अङ्ग्रेजी विषय पढाउने भनी हेडसरले नियुक्ति दिनुभयो र कक्षा ६ को शिक्षक बनाइदिनुभयो । भर्खर–भर्खर पढाउने बानी बस्दै थियो । त्यसैबेला असारमा बर्खाको बिदा भयो ।

बर्खा बिदापछि पुनः भदौ ४ गते विद्यालय खुल्यो । विद्यालयमा विद्यार्थी र अभिभावकहरूबाट मेरो शिक्षणबारे कुनै प्रकारको कम्प्लेन नआओस् भनी दत्तचित्त भएर पढाउन थालेँ । समय–समयमा हेडसरबाट मेरो पढाइको छड्के निरीक्षण भइरहेको मैले पत्तै पाइनँ । मैले पढाएका विद्यार्थीहरूलाई बुझे/नबुझेको, मेरो व्यवहारबारे समय–समयमा सोधिरहनु हुन्थ्यो । ‘२०५५ साल माघ ११ गते देखि २०५५ फागुन ११ गतेसम्म एक महिनाको निमाविस्तरीय अङ्ग्रेजी विषयको तालिमका लागि शैक्षिक तालिम केन्द्र नेपालगञ्जमा एकजना शिक्षक पठाइदिनू’ भनी पत्र आयो । त्यो तालिममा सहभागी हुने अवसर मैले पाएँ । त्यस तालिम केन्द्रमा बाँके र बर्दियाका ३४ जना सहभागी थियौं । शुरु –शुरु मा त्यस तालिममा आफूभन्दा जान्ने शिक्षकहरू आउने होलान् भन्ने पनि नलागेको होइन । तर, बाँके र बर्दियाका प्रतिभाशाली पाँच जनामध्ये आफू पनि एक हुनसकेकोमागर्व लाग्यो ।

तालिममा पढाउने शैली, तरिकालगायत विविध कुरा को जानकारी पाएँ । त्यो तालिमले मलाई शिक्षणप्रति आकर्षित गरयो । त्यसपश्चात् समय–समयमा हुने पुनर्ताजगी, मोडुलर जस्ता एक दिन देखि लिएर १० दिनसम्मका तालिमले शिक्षणमा पोख्त
बनायो ।

दुर्गा जनज्योति प्रावि, नेउलापुर–२, पेरहनी, बर्दिया

commercial commercial commercial commercial