देशलाई चाहिएका उत्तम सर

विद्यालयमा पार्टीको झ्ण्डा फरफराउन खोज्नेका लागि उत्तम सर शत्रु वा सोसरह हुन् । यिनी कुनै मन्त्री या नेताको स्वागतमा विद्यार्थीहरूलाई फूलमाला लिएर उभ्याउने प्रथाका पनि विरोधी हुन् ।

विद्यार्थी उचालेर उनलाई कुटाइन्छ । उनको क्लासमा अवरोध खडा गरिन्छ । त्यतिले नपुगेर; उनले धेरै आदर गर्ने हेडमिससँग अनैतिक सम्बन्ध भएको प्रचार, स्कूलका भित्ताभरि फोहोर कुरा लेखाइन्छ । तर, उनी कत्ति पनि विचलित हुँदैनन् ।

उनी हुन् उत्तम नेपाली– सूर्योदय माध्यमिक विद्यालय, इलामका गणित शिक्षक । गणित बाहेक यिनले भलिबल पनि सिकाउँछन् । २५ वर्ष देखि शिक्षण पेशामा रहेका उत्तम सर यो विद्यालयमा आएको दुई वर्ष मात्र भएको छ । तर, दुई वर्षकै प्रवेशिकाको परिणामले वरिपरिका बोर्डिङ स्कूलका विद्यार्थीहरूलाई सूर्योदय स्कूलतिर तान्न थालिसकेको छ ।

विद्यालयमा पार्टीको झ्ण्डा फरफराउन खोज्नेका लागि यिनी शत्रु वा सोसरह हुन् । उत्तम सरलाई जातीयताको राजनीतिले धमिल्याएको पानीमा माछा मार्न खोज्नेहरू पनि पटक्कै मन पर्दैनन् । यिनी कुनै मन्त्री या नेताको स्वागतमा विद्यार्थीहरूलाई फूलमाला लिएर उभ्याउने प्रथाका पनि विरोधी हुन् ।

तर यतिबेलाको राजनीतिक अवस्था; त्यस माथि एउटा बोर्डिङ स्कूलको मालिक नै सरकारी/सार्वजनिक स्कूलको व्यवस्थापन समितिको अध्यक्ष भएको परिस्थिति; आफ्नै साथी शिक्षकहरू पनि पार्टी–पार्टीका कार्यकर्ता ! उत्तम सरको जीवन पक्कै सजिलो छैन । घरमा उनका वृद्ध बा–आमा छन् । उनकै शब्दमा घरमा ‘लक्ष्मी जस्ती श्रीमती’ पनि छिन् । उनी एक्लै घर देखि टाढा आफ्नो पेशामा तल्लीन छन् । यिनको आफ्नै भूमिगत राजनीति गरेको पृष्ठभूमि समेत छ ।

नेपालको भूगोलमा इलाम छ, उत्तम जस्ता शिक्षक पनि यहाँको समाज मा प्रशस्त छन् । तर, इलाममा सूर्योदय मावि भने छैन । यो सबै एउटा नाटकको कथा हो ।

‘उत्तम सर’को यो कथा दशंैको लगत्तैपछि रेडियो नाटक शृङ्खला कथा मीठो सारङ्गीको मा बज्न थाल्नेछ । नाटकमा, पूर्व शिक्षा मन्त्री प्रदीप नेपालले आफ्नै नाम र हैसियतमा अभिनय गर्नु भएको छ ।

“देशमा प्रजातन्त्र नभएको बेलामा सबैले आ–आफ्नो ठाउँबाट सकेको भूमिका निर्वाह गर्नु जरुरी थियो । तर, यतिबेला राजनीति खुल्ला छ । अब राजनीति गर्ने ले राजनीति र अध्यापन गर्ने ले अध्यापन मात्र गर्नु पर्छ”, पूर्व शिक्षा मन्त्री नेपाल भन्नुहुन्छ, “मेरा यस्तै विचार व्यक्त हुने देखेपछि यो नाटकमा अभिनय गर्न तयार भएको हुँ ।”

रेडियो नाटक भएपनि कथा मीठो सारङ्गीको को रेकर्डिङ स्टुडियोभित्र हुँदैन । जुन ठाउँ, पात्र र परिवेशको कथा हो त्यसको रेकर्डिङ पनि त्यहीँ गएर गर्ने गरिन्छ । जस्तो कि उत्तम सरको कथाको रेकर्डिङ इलामको बौद्धधाम स्कूलमा गरियो । यसमा व्यावसायिक कलाकारहरू प्रकाश घिमिरे र आशा मगराती बाहेक अरू त्यहीँका विद्यार्थी, शिक्षक र स्थानीय कलाकारहरूले अभिनय गरेका छन् । नाटकमा लिखित संवाद होइन कथाको परिस्थिति बुझेर स्वस्फूर्त रूपमा कलाकारहरूले बोलेका कुरा नै रेकर्ड गरिन्छ । संयोग, कथाका मुख्य पात्रहरू पनि पेशाले शिक्षक नै हुन् । प्रकाश पोखराको कन्या माविका शिक्षक हुन् भने आशा काठमाडौँका स्कूलहरूमा नाटक सिकाउँछिन् ।

नाटकको रेकर्डिङलाई नजिकबाट नियालिरहेका बौद्धधाम स्कूलका गणित शिक्षक होमनाथ पनेरु अचम्ममा परे, “म पनि यो स्कूलमा गणित पढाउँछु । अनि भलिबल पनि सिकाउँछु । उत्तम सरको कथा र यो स्कूलको परिवेश ७५ प्रतिशत भन्दा बढी हामीसँग मिल्दोजुल्दो छ ।”

डेढ वर्षअघि प्रसारण शुरु भएको नाटक शृङ्खला कथा मीठो सारङ्गीको को रमाइलोपना नै यही हो । यसका कथाहरू जीवनसँग निकै नजिकका हुन्छन् ।

कथा मीठो सारङ्गीको बीबीसी वल्र्ड सर्भिस ट्रष्ट को उत्पादन हो । यो नाटक शृङ्खला बीबीसी नेपाली सेवालगायत देशका धेरैजसो एफएमहरूबाट हरेक शुक्रबार र शनिबार बेलुकी सवा आठ बजे प्रसारण हुन्छ ।

पोखराका प्रकाशगन्धर्ब (नाटकमा दिलुगन्धर्ब) कथा मीठो सारङ्गीको का सूत्रधार हुन् भने फियोना लेजरको नेतृत्वमा चारजना नेपाली निर्दशकहरू केदार शर्मा, दीपक रौनियार, खगेन्द्र लामिछाने र सुषमा पाण्डे कथा मीठो सारङ्गीको को निर्माणमा संलग्न छन् । शिरिष विक्रम थापा यस नाटकका ध्वनि सम्पादक हुन् ।

६ अङ्क लामो उत्तम सरको कथाको यो शृङ्खलाको लेखन निर्देशन केदार शर्माले गरेका हुन् । उनी भन्छन्, “यो नाटक शिक्षकले कुन हदसम्म राजनीतिमा सामेल हुनुहुन्छ र कहाँ पुगेर रोकिनुपर्छ भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास हो । सबैले अधिकार मात्र खोजिरहेका बेला हामीले आफ्नो कर्तव्यलाई सबभन्दा धेरै महत्व दिने शिक्षकमार्फत केही कुरा भन्ने जमर्को गरेका हौँ ।”

commercial commercial commercial commercial