पढ्ने बानी यसरी बढाउन सकिन्छ

धेरै मानिसलाई ‘पढौं’ भन्ने चाहना हुन्छ । अध्ययन ज्ञान र आनन्द प्राप्तिको माध्यम हो । अध्ययनले मानिसलाई सक्षम र सफल बनाउन सहयोग पुर्‍याउँछ । तर, धेरै मानिसहरू अध्ययनमा तल्लीन हुँदैनन् । सन् १९९९ मा अमेरिकी संस्था नेश्नल  हाउसहोल्ड एडुकेशन ले गरेको एक अध्ययनले देखाएको छ, “यदि तपाईं एक वर्षमा १० वटा किताब पढ्नुहुन्छ भने तपाईं माथिल्लोस्तरको पाठक हुनुहुन्छ ।” यसका लागि राम्ररी पढ्नैपर्छ भन्ने छैन । तर, कसरी पढ्ने भन्ने जानकारी चाहिं हुनैपर्छ ।

आफू वरिपरि किताब राखौंः घरमा होस् या यात्रामा निस्कँदा किताब र नोटकपी सँगै लैजाने गर्नु पर्दोरहेछ । जसरी गाडी चलाउँदा कम्तीमा ‘लाइसेन्स’ र चाबी बोकिन्छ त्यसरी नै किताब पनि बोक्दा राम्रो हुन्छ । अनि पर्खनुपर्दा (जस्तैः डाक्टर, बिमान, बस) किताब झिकेर पढ्दा समय पनि बित्छ र ज्ञान पनि बढ्छ । बाथरुममा पनि म्यागेजिन र छोटा कथाका किताबहरू राखौं । झोलामा किताब बोक्न नभुलौं । पलङको सिरानीपट्टि ठाउँ बनाएर किताब राख्दा धेरै सजिलो हुने रहेछ । सजिलै उपलब्ध हुने ठाउँमा किताबहरू राखेमा जुनसुकै बेला पनि पढ्न सकिन्छ । किताब टाढा राखेमा त्यसलाई ल्याउन अतिरिक्त समय लाग्छ । समय खेर जानसक्छ र अल्छी पनि भइन्छ ।

पढ्ने समय निर्धारण गरौंः अध्ययनमा कति समय खर्चिने र त्यस अवधिमा कतिवटा किताब पढ्ने भन्ने योजना बनाउनुपर्छ । तपाईंको योजना महिनामा तीनवटा, हप्तामा एउटा किताब अथवा दैनिक आधा घण्टा अध्ययन गर्ने भन्ने हुनसक्छ । ‘ब्रेकफास्ट’ वा ‘लन्च’ पनि किताब पढ्दै लिने बानीको विकास गर्नोस् । यसो गर्नु आरम्भमा अलिक कृत्रिम जस्तो लागे पनि यसरी पढ्ने बानीको विकास गर्न सकियो भने गज्जबको अध्ययन दैनिकी नै बन्नेछ ।

किताबको सूची बनाऔंः निकट भविष्यमा पढ्न चाहेको किताबको सूची बनाउँदा राम्रो हुन्छ । यस्तो सूची नोटबुक, पकेटबुक आदिमा बनाउन सकिन्छ । साथीहरूले कुन किताब पढ्दैछन् सोध्न नबिर्सौं । म्यागेजिन र पत्रपत्रिकामा छापिने ‘बुक रिभ्यु’ पनि ध्यान दिएर पढ्नु बेस । राम्रा किताबबारे सुन्नेबित्तिकै ती किताबका नाम सूचीमा थप्न नभुलौं । एकपटक राम्रा किताबको खोजी गर्ने काम गरियो भने अर्को पटक त्यस्ता किताब सजिलै पाउन सकिन्छ । पढ्ने उत्साह बढाउने यो एउटा उत्तम तरिका हो । त्यसपछि पढ्ने साथीहरूसँग तपाईंको घुलमिल बढ्न थाल्छ ।

टेलिभिजन र इन्टरनेटको समय घटाऔंः अधिकांश मानिस सजिलैसँग भनिदिन्छन्, “मसँग पढ्ने समय नै छैन ।” तर, यथार्थ के हो भने टेलिभिजन र इन्टरनेटले हाम्रो धेरै समय लिइरहेको हुन्छ । यदि तपाईं बढी नै अध्ययन गर्न चाहनुहुन्छ भने टीभी र इन्टरनेटमा खर्चिने समय कटाउनैपर्छ । टीभी हेर्ने बानी कम गर्नैपर्छ । टीभी हेर्नु कुनै खराब काम होइन । यसले मनोरञ्जन पनि दिन्छ । तर एकदमै महत्वपूर्ण कार्यक्रम बाहेक टीभी नखोल्दा राम्रो । यदि ठूलो परिवार छ भने अरूले हेर्दै गरेको टीभी बन्द गर्नु शोभनीय हुँदैन । त्यसैले तपाईं नै त्यो कोठाबाट अन्त गइदिनुपर्छ । तर, धेरै मानिसका लागि यो निकै कठिन काम हो । यदि तपाईं पढ्न चाहनुहुन्छ भने टीभीमा आँखा डुलाउन छाडेर किताब पढ्न थाल्नु बेस हुन्छ । ‘इन्टरनेट’ पनि आवश्यक परेको समयमा मात्रै उपयोग गर्ने बानी बसाल्दा राम्रो हुन्छ । किनभने पढ्ने बानी बसेपछि किताबबाट तपाईंले जुन ज्ञान र आनन्द प्राप्त गर्नु हुनेछ, त्यसको कुनै अरूसँग तुलना नै हुनसक्दैन । किताबमा रमाउने बानी परिसकेपछि टीभी इन्टरनेटमा समय खर्च गर्न मन लाग्दैन ।

पढ्नका लागि प्रायः शान्त ठाउँमा बसौंः अधिकांशले शान्त र आरामदायी ठाउँ मन पराउँछन् । जहाँ अरू कसैले व्यवधान गर्न नसकोस् । तर यस्तै नै ठाउँ हुनुपर्छ भन्ने केही छैन । पढ्ने समयमा टीभी र कम्प्युटर खोल्नुहुँदैन । परिवारका सदस्यहरूबाट हुनसक्ने अवरोधलाई व्यवस्थापन गर्न सक्नुपर्छ ।

पढ्ने समूह वा बुक क्लबको सदस्य बनौंः यस्ता पढन्ताहरूको समूहमा कम्तीमा महिनाको एकपटक गएर अरूले पढेका वा पढ्न खोजेका किताबबारे छलफल गर्दा फाइदा नै हुन्छ । समूहमा छलफल गर्दा किताब पढ्न प्रेरणा दिन्छ भने किताबको विषयमा पनि बढी थाहा हुन्छ । साथै, हल्ला या प्रचारको सूचीमा मात्र परेका र गुणस्तर नभएका किताबबाट बच्न मद्दत पुग्छ।

समय तालिका बनाऔंः पुस्तकालय कम्तीमा पनि हप्ताको एकपटक जाने योजना बनाऔं । किताब किनेर ल्याउने पसलमा बारम्बार जाने बानी बसाल्दा राम्रो हुन्छ । यसले नयाँ किताबबारे अद्यावधिक जानकारी दिन्छ । पुस्तकालय वा किताब पसलमा गएर किताब सरसर्ती हेर्दा मनको पढ्ने चाहना पूरा हुन्छ ।

पढ्ने आफ्नै रणनीति बनाऔंः दिनभरिको समयमध्ये कुन समयमा अध्ययन गर्न उपयुक्त हुन्छ त्यसको छनौट गरौं । कोही बिहानै पढ्न रुचाउँछन् भने कोही बेलुका ओछ्यानमा । कोही ‘लन्च’ खाँदै पढ्छन् । आफ्नो रुचि र स्वभाव अनुसार समय मिलाउन सकिन्छ । एकै बसाइँमा धेरै किताब पढ्न पनि सकिन्छ । अथवा इच्छा लागेन भने केही काम सकेपछि पढ्छु भन्दा पनि ठीकै हुन्छ ।

जुनसुकै किताब भए पनि पढौंः अंग्रेजी अक्षर  ‘डियर’ (DEAR= Drop Everything And Read) लाई मूल मन्त्र बनाउनु बेस । हप्ताको कुनै एक दिन वा दिनको निश्चित समयलाई ‘अध्ययन दिन’ वा ‘अध्ययन घण्टा’ बनाउँदा त्यसले केही समय पछि बानीको विकास गर्न मद्दत गर्छ । पढ्ने कामलाई बाध्यता नभई आनन्दको रूपमा लिनुपर्छ । पढ्नुको मूल ध्येय आनन्द प्राप्ति नै हो । त्यसैले यस्ता मात्र किताब पढ्छु वा यस्ता किताब चाहिं पढ्दिनँ भन्ने सोच बनाउनुहुँदैन । जस्तोसुकै किताबमा पनि केही न केही नयाँ खुराक हुन्छ । ‘राम्रा किताब भएनन् खै के पढ्नु’ भनेर अन्त समय हाल्दा पढ्ने बानी नै छुट्न बेर छैन । त्यसैले केही न केही किताब पढिरहनु सबै दृष्टिकोणले राम्रो हुन्छ । ‘म यो वर्ष ५० वटा वा त्योभन्दा पनि बढी किताब पढ्छु,’ जस्ता योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्न सके झन् उत्तम ।


घरमा पढ्ने वातावरण कसरी बनाउने ?

आफ्ना केटाकेटीसँगै बसेर पढ्ने विशेष र सुविधाजनक समय मिलाउँदा राम्रो हुन्छ । जस्तोः खाना खानेबित्तिकै वा सुत्ने बेलामा । समग्र परिवारमा सँगै पढ्ने बानीको विकास गराउनुपर्ने रहेछ । यसले एकातिर सामूहिक रूपमा पढ्ने बानीको विकास गराउँछ भने अर्कातिर प्रत्येक सदस्यले त्यसमा आ–आफ्ना अनुभव र धारणा व्यक्त गर्न पाउँछन् । अन्ततः यसले समूहमा बसेर सोच्ने, पढ्ने र छलफल गर्ने संस्कारको समेत विकास गराउँछ, जसले परिवारका सदस्यहरूका बीचमा समान धारणा र समझदारीको विकास गराउन मद्दत गर्छ । घरमा थप रमाइलो वातावरण बन्छ ।

पढ्ने त हो नि जस्तो ठाउँमा बसेर पढे पनि भइहाल्छ भन्ने सोच पनि कसै कसैमा हुनसक्छ । तर त्यो सही सोच होइन । पढ्ने स्थान आरामदायी हुनैपर्छ । किनभने आरामले तपाईंको पूरै ध्यान पढाइमा लगाउन महत्वपूर्ण भूमिका खेल्छ । होइन भने पढ्न बसेको केही क्षणमा नै तपाईंलाई अप्ठेरो महसूस हुन थाल्छ र पढाइबाट ध्यान हटेर समस्यातिर मन तानिन्छ । अतः पढ्ने ठाउँलाई आरामदायी बनाउनैपर्छ । जस्तोः पढ्न बस्ने ठाउँलाई सिरानीको चाङले सजिलो बनाउन सकिन्छ ।

घरमा बच्चालाई पनि पढ्ने बानी बसाउनै पर्ने हुन्छ । बच्चाहरू स्वाभाविक रूपमा नक्कल गर्ने उमेरका हुने भएकाले तपाईंले जति बढी पढेको देख्छन्, उनीहरूले पनि बिस्तारै त्यसैको सिको गर्न थाल्छन् । किताब छनोट गर्ने जिम्मा बच्चालाई नै दिनुपर्छ । बच्चाले चित्र देख्ने गरी किताबको पाना पल्टाउनुपर्छ । जसले गर्दा बच्चा आफैं किताबको पाना पल्टाउन शुरु गर्नेछ । त्यसपछि किताबमा भएका चित्र र त्यसको विशेषताबारे बताइदिँदा उसमा पढ्ने रुचि बढ्छ । केटाकेटीलाई अक्षर, आकार, रङ र जनावरहरूबारे जान्न/चिन्न प्रोत्साहन गर्नुपर्छ । त्यसपछि विस्तारै उनीहरूलाई कथा पढ्ने, चित्र बनाउने र आफ्ना मनमा आएका भावहरूलाई सृजनात्मक तरिकाले व्यक्त गर्न प्रोत्साहित गर्नुपर्छ ।

बच्चालाई आफू सँगसँगै ठूलो स्वरमा पढ्न अनुरोध गरौं । ठूलो स्वरमा पढ्दा बच्चा पढाइमा बढी रुचि देखाउँछ । बच्चाले जहिल्यै आफ्नो अभिभावकले मेरो कामलाई प्रशंसा गर्छ भन्ने अपेक्षा गरेको हुन्छ । त्यसकारण बच्चाले पढेको कुरालाई प्रोत्साहन गर्न बिर्सनुहुँदैन । अभिभावक बच्चाको दैनिक क्रियाकलापमा संलग्न हुनैपर्छ । यसले बच्चाको पढ्ने बानीको विकास गर्नमा मद्दत गर्छ ।     

प्रस्तुतिः पदम गौतम
www.sideroad.com, www.wikihow.com, www.lifehack.org मा आधारित

शिक्षक  मासिक, २०६६ असोज अंकमा प्रकाशित । 


commercial commercial commercial commercial