द्वन्द्वको मारमा मधेशका शिक्षक

  • नेपाल राष्ट्रिय प्राथमिक विद्यालय त्रिवेणी, बाराकी शिक्षक मेनुकागुप्ता २०६६ जेठ १२ मा निर्ममतापूर्वक मारिइन् । जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी समूह) नामक कुनै हिंस्रक समूहले सो हत्याको जिम्मेवारी लियो ।
  • गुप्ताको हत्या हुनुभन्दा २५ दिनअघि बाराकै अर्का शिक्षक प्रदीप तिमिल्सिना त्यसै गरी मारिएका थिए । तिमिल्सिनाको हत्याको जिम्मा अखिल तराई मुक्ति मोर्चा र मधेश मुक्ति टाइगर्स नामक छुट्टाछुट्टै भूमिगत सङ्गठनहरूले लिएका थिए ।
  • त्यसअघि राष्ट्रिय प्राथमिक विद्यालय हरिहरपुर धनुषाका शिक्षक मेघबहादुर बमजनको २०६५ चैत २१ गते मधेश साइलेन्स किलर नामक समूहका सुरजभानले हत्या गरेको थियो ।

त्यही स्कूलका प्रधानाध्यापक विन्देश्वर महतो ९ महिनाअघि मात्र (८ असार २०६५) मारिएका थिए । २०६४ वैशाखयता धनुषा र बारामा चार/चारजना शिक्षकको हत्या भइसकेको छ । साङ्घातिक आक्रमणको सिकार हुनेको सङ्ख्या एकदमै ठूलो छ ।

माओवादीको सशस्त्र हिंसाको बेलामा शिक्षकहरू दोहोरो निशानामा थिए । माओवादीले हतियार बिसाएपछि उसकै सिको गरेर तराईमा हतियार बोकेर हिँडिरहेका विभिन्न सशस्त्र समूहहरूको सिकार निर्दोष शिक्षक र शिक्षाकर्मीहरू भइरहेका छन् । २६ जेठ २०६४ मा सिरहा जिल्लाको नहरारिगोल गाविसस्थित लक्ष्मीनारायण कौशल्या जनता निमाविका शिक्षक सूर्यनारायण यादव जनतान्त्रिक तराई मोर्चा (गोइत)का कार्यकर्ताबाट मारिएका थिए । सोही वर्ष असोज २२ गते महोत्तरी जिल्लाको खुटापिपराही निमाविका शिक्षक नागेन्द्र यादवको अनाहकमा ज्यान लिइयो । उनको हत्याको जिम्मा संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको थियो ।

कारण अनेक
तराईमा यता आएर शिक्षकहरू द्वन्द्वको सिकार हुनुको मूलभूत कारण स्कूलमा नयाँ शिक्षकको नियुक्ति, सरुवा, दरबन्दी मिलान र चन्दासँग सम्बन्धित देखि एको छ । नेपाल शिक्षक संघ महोत्तरीका अध्यक्ष सुशील कुमार यादवका अनुसार विद्यालय व्यवस्थापन समितिकोगठन प्रक्रिया र व्यवस्थापन समितिलाई प्राप्त शिक्षक नियुक्ति लगायतका अधिकारका कारण यस भेगको शिक्षा क्षेत्र वढी द्वन्द्वग्रस्त हुन पुगेको हो । “ग्रामीण भेगमा अशिक्षित अभिभावकहरूको बाहुल्य छ । उनीहरू व्यवस्थापन समितिको काम भनेकै त्यस स्कूलमा आफूखुशी शिक्षक नियुक्त गर्नु र प्रधानाध्यापक र शिक्षक माथि शासन गर्नु रहेको बुझछन् ।

” महोत्तरीको एउटा घटना स्मरण गर्दै यादव भन्छन्, “गत वर्ष हथसरवा गाविसका सङ्ग्रामपुर निमाविमा व्यवस्थापन समितिको निर्वाचनमा हारेको पक्षले आफ्ना पक्षका सबै विद्यार्थी (झण्डै १२५ जना)लाई अर्को विद्यालयमा लगेर भर्ना गराए का थिए ।” व्यवस्थापन समितिको छनोटको बेला निर्वाचन समितिको अध्यक्ष सम्बन्धित स्कूलकै प्रधानाध्यापकलाई राख्ने प्रावधान रहेका कारण प्रधानाध्यापकहरू थप दबाबमा रहने गरेको महोत्तरीका काङ्ग्रेस नेता बजरङ्ग नेपाली ठान्छन् ।

सप्तरीका जिल्ला शिक्षा अधिकारी केदार तिवारी पनि शिक्षा क्षेत्रमा हिंसा र द्वन्द्व बढ्नुको महत्वपूर्ण कारण विद्यालय व्यवस्थापन समितिमा धेरै अधिकार रहनु लाई मान्छन् । २०५८ सालमा भएको शिक्षा ऐनको सातौं संशोधनले नयाँ शिक्षक नियुक्त गर्ने अधिकार विद्यालय व्यवस्थापन समितिलाई दियो भने त्यसपछि आएको ‘समुदायमा विद्यालय हस्तान्तरण कार्यक्रम’ले त्यसलाई व्यावहारिकरूपमै मजबुत पार्ने काम गरयो । तिवारी भन्छन्, “अहिले १२–१३ प्रकारका दरबन्दीहरू रहेका छन् त्यसमा लुछाचुँडी हुन्छ, द्वन्द्वको सुरुआत त्यहीँबाट हुन्छ ।” व्यवस्थापन समितिको निर्वाचनको बेला र प्रधानाध्यापक बन्नका लागि पनि स्कूलमा तँछाडमछाड हुने गरेको पाइन्छ । यी दुवै कार्यमा स्थानीय राजनीतिक दलहरू अत्यधिक सक्रिय रहने गरेको जिशिअ तिवारीको भनाइ छ ।

शिक्षक हत्याका कतिपय घटनालाई चाहिँ यौन सम्बद्धसँग पनि जोड्ने गरेको पाइन्छ । धनुषाको हरिहरपुरका दुई प्रधानाध्यापकहरू मेघबहादुर बमजन र विन्देश्वर महतोको हत्यालाई एकथरीले त्यस्तै घटनाका रूपमा प्रस्तुत गरेका छन् ।

विन्देश्वर महतोको हत्या उनकै छोरीको पे्रमीले गरेको हो भन्ने छ । तर, खोतल्दै जाँदा कुरो शिक्षक नियुक्तिको सन्दर्भसँगैगाँसिन पुग्छ ।

धनुषा जिल्लाका महेन्द्रनगर निवासी स्व. महतोकी छोरी र स्थानीय एक निजी स्कूलका शिक्षक राज कुमारबीच प्रेम सम्बन्ध रहेको स्थानीय बासिन्दाको भनाइ छ । उक्त कुरा परिवारलाई थाहा भएपछि विन्देश्वरका छोरा र राज कुमारबीच हात हालाहालसम्म भएको थियो । केटाले बिहेको प्रस्ताव गर्दा महतो परिवारले ठाडै अस्वीकार गरेको थियो । पछि ती शिक्षक बदलाको लागि कुनै एक सशस्त्र समूहमा लागेर विन्देश्वर महतोको हत्या गराए को धेरैको अनुमान छ ।

८ असार २०६५ मा विन्देश्वर महतोको हत्या भएपछि रिक्त पदमा विन्देश्वरकी छोरीलगायत केही स्थानीय व्यक्तिहरू पनि नियुक्ति पाउनका लागि प्रयास गरिरहेका थिए । तर, स्कूल व्यवस्थापन समिति र प्रअ बमजनले स्वर्गीय विन्देश्वरकी छोरीलाई नियुक्ति नदिएर स्थानीयगीता कुमारी थापालाई नियुक्ति दिएको थियो । प्रेम प्रसङ्गकै कारण विन्देश्वर महतोको हत्या भएको र त्यही प्रेमिकाले जागिर नपाउँदा अर्को प्रधानाध्यापक बमजनको पनि त्यही व्यक्ति (विन्देश्वर महतोको छोरीको प्रेमी)ले गराए को हुनसक्ने एकथरी गाउँलेहरूको अनुमान छ ।

महेन्द्र राजमार्गभन्दा २–३ किलो मिटरभित्र धनुषा जिल्लाको हरिहरपुर पहाडे–मधेशीको मिश्रित बस्ती रहेको सो ठाउँमा प्रअ बमजनसँगै त्यस स्कूलका दुई जना पूर्व विद्यार्थीहरू (सुकन महतो र राम विहारी महतो) पनि सँगै मारिएका थिए । सबैका हत्यारा आजसम्म फरार छन् ।

त्रास यथावत्
जेठको अन्तिम साता शिक्षक प्रतिनिधि हरिहरपुर स्कूल पुग्दा स्कूलका तीन भवनमध्ये एकमा प्रहरी चौकी बसेको देखि यो भने बाँकी दुई भवनमा स्कूल चलिरहेको थियो । स्कूलको छेउमै घर भएका विष्णुबहादुर पाख्रिन देखि प्रधानाध्यापक रघुवीर महतो, शिक्षकगीता थापालगायतसँग घटनाको वारेमा चर्चा गर्दा कसैले पनि त्यस बारेमा बोल्न मानेनन् । त्यसको एक मात्र कारण थियो, यथावत् रहेको डर र त्रास । प्रअ रघुवीर महतो “पुराना प्रधानाध्यापक विन्देश्वर महतोको हत्यापछि नै हामी निकै आतङ्कित भएका थियौं, त्यसपछि अर्का प्रअ मेघबहादुर बमजन र दुई जना हाम्रा पूर्व विद्यार्थीहरूको निर्ममतापूर्वक हत्या भयो, त्यसपछि मलाई पनि धेरै पटक धम्की आएको थियो, यहाँबाट विस्थापित भएर केही दिन काठमाडौंमा बसें तरपछि जिल्ला प्रशासनको सहयोगमा स्कूलमै २० प्रहरी रहने गरी चौकीको स्थापना भयो, हामीले जसोतसो स्कूल सञ्चालन गरेका छौं, यस सम्बन्धमा थप केही पनि बोल्न मिल्दैन” भन्दै आफ्नो बाटो लागे ।

सिरहाको भोटिया टोल प्राथमिक विद्यालयका प्रधानाध्यापक राज कुमार सिंहको अनुभवमा पूर्वी तराईमा कार्यरत अधिकांश शिक्षकहरू दोहोरो मार खेपिरहेका छन् । उनका अनुसार, शिक्षक माथि आक्रमण गर्दा धेरै प्रचारप्रसार पाउने आसमा सशस्त्र समूहले धम्क्याउने र ज्यान लिनेसम्मको काम गरेका छन् भने नियमित आम्दानी हुने भएकाले चन्दाको मार पनि उनीहरू माथि नै थपिने गरेको छ । उनी भन्छन्, “मधेशमा द्वन्द्वको समाधान नभएसम्म यहाँका शिक्षकले शान्तिको सास फेर्न पाउँदैनन् ।”
द्वन्द्व र असुरक्षाले तराईका स्कूल र शिक्षकलाई मात्र नभई जिल्ला शिक्षा कार्यालय देखि क्याम्पसहरूलाई पनि यसबाट प्रभावित पारेको छ । २०६६ वैशाख २३ मा सप्तरीका जिल्ला शिक्षा अधिकारी केदार तिवारीलाई कालोमोसो दलियो । अख्तियारद्वारा निलम्बित एक शिक्षकलाई पुनर्वहाली गर्न स्थानीय नेताहरूद्वारा दिइएको दबाब अस्वीकार गर्दा तिवारी माथि त्यस्तो दुव्र्यवहार गरिएको थियो । त्यसमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र मधेशी जनअधिकार फोरमका जिल्लास्तरीय नेताहरूको प्रत्यक्ष संलग्नता थियो ।

शिक्षा कार्यालयका कर्मचारीहरू माथि दुव्र्यवहार भएको त्यो पहिलो घटना भने थिएन । त्यसअघि, २०६५ असारमा सप्तरीका तत्कालीन शिक्षा अधिकारी मो. हसरद अली माथि वाईसीएलले गरेको आक्रमणबाट उनको मृत्यु नै भएको थियो । माओवादी समर्थक एक शिक्षकको सरुवाको विषयलाई लिएर वाईसीएलका कार्यकर्ताहरूले जिशिअ अली माथि आक्रमण गरेका थिए । अलीको मृत्युपछि कार्यवाहक जिल्ला शिक्षा अधिकारी भएका देवनारायण यादव र रामनारायण चौधरी दुवै माथि पनि पालैपालो दुव्र्यवहार र भौतिक आक्रमणको प्रयास भएको थियो । उल्लिखित सबै दुव्र्यवहार शिक्षकहरूको सरुवा र दरबन्दी मिलानको कारण नै भएको शिक्षा अधिकारी तिवारीको भनाइ छ ।

२०६६ वैशाखमा तिवारी माथि दुव्र्यवहारको घटना सेलाउन नपाउँदै राजविराजस्थित महेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख देवीदत्त साह माथि साङ्घातिक आक्रमण भयो । उक्त घटनाको पछाडि पनि क्याम्पसमा शिक्षक नियुक्ति सम्बन्धी विवाद नै थियो । स्ववियु सभापतिको अगुवाईमा भएको उक्त आक्रमणको घटनाका दोषीलाई बचाउनका लागि सबै दलका स्थानीय नेताहरू केवल जातीय आधारमा एकजुट भएर लागेको समाचार प्रकाशमा आएपछि स्थिति थप जटिल बन्न पुगेको थियो ।

commercial commercial commercial commercial