‘ई–पाटी’ शिक्षा शिक्षक–विद्यार्थी सँगसँगै

हेटौंडा नपा–२ स्थित देवी निमाविमा कक्षा ३ की शान्ति लामा नेपालका आम विद्यार्थीझै झेलाभरी किताब बोकेर स्कूल जान्नन् । बरु उनको झेलामा हुन्छ– ल्यापटप (कम्प्युटर) । ल्यापटप खोल्नेबित्तिकै कक्षा ३ का पाठ्यसामग्रीहरू ल्यापटपको स्क्रिनमा देखा पर्छन् । ल्यापटपमा पढ्ने अवसर पाएका कारण उनी दङ्ग देखिन्छिन् ।

सोही विद्यालयको कक्षा ६ की १४ वर्षीय नवीना परियारले ल्यापटप हातमा पर्नुअघि कम्प्युटर देखेकी थिइनन् । तर, अहिले उनी अङ्ग्रेजी, गणित र नेपाली पाठ्यसामग्री ‘ई–पाटी’ नाम दिइएको ल्यापटपमै पढ्छिन् । उनी भन्छिन्, “ई–पाटी शिक्षा सजिलो रहेछ । अब म घरमा अरूलाई पनि कम्प्युटर सिकाउँछु ।”

शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले देशका ६ जिल्लाका २६ विद्यालयमा सरकारले ल्यापटप वितरण गरेको छ । मकवानपुरका निमित्त जिशिअ हिम शर्मा पौडेलका अनुसार ल्यापटप पाउनेमा यहाँका स्कूलमा देवी निमावि, लक्ष्मी निमावि, मनकामना निमावि, राजदेवी निमावि र दिव्यज्योति निमावि परेका छन् । यी स्कूलका कक्षा २, ३ र ६ का १७६१ छात्रछात्रा र १६३ शिक्षकलाई जम्मा १९२४ वटा ल्यापटप वितरण गरिएको छ । ल्यापटप ती विद्यालयका सबै विद्यार्थी र शिक्षकहरूले पाएका भने होइनन् । शिक्षा विभागका उपनि र्देशक बाबुराम पौडेलले मकवानपुर बाहेक मुस्ताङ, ललितपुर, डडेल्धुरा, कपिलवस्तु र काभ्रेका जम्मा २६ वटा सरकारी विद्यालयहरूमा ई–पाटी शिक्षा लागू गरिएको जानकारी दिएका छन् ।

परीक्षणका रूपमा लागू गरिएको ‘ई–पाटी’ पठनपाठन आफ्नो स्कूलमा प्रभावकारी सावित भएको देवी निमाविकी प्रअ सुलोचना थापा बताउँछिन् । ल्यापटप वितरण गरिएका स्कूलमा छात्रछात्राको सङ्ख्या बढेको पाइन्छ भने शिक्षकहरूलाई शैक्षिक सामग्री खोज्ने झन्झट कम भएको छ । उक्त स्कूलका शिक्षक सुभद्रा अधिकारी को कथन छ, “ल्यापटप बोकेर कक्षामा छिरेपछि सबै कुरा बुझाउन सकिन्छ ।” तर, ल्यापटपमा पूर्ण पाठ नभएका कारण अध्यापनमा ढिलाइ हुने गरेको गणित शिक्षक श्याम सुवेदी बताउँछन् ।

शिक्षकलाई तालिम पुगेन
ई–पाटीमा आधारित पढाइका सबै राम्रा पक्ष मात्रै भने छैनन् । भौतिक पूर्वाधारको अभाव तथा लोडसेडिङका कारण ल्यापटपमा पढाउन समस्या हुने गरेको लक्ष्मी निमाविका प्रअगोकुल अर्याल बताउँछन् । ल्यापटपमा राखिएका सन्दर्भविहीन तस्बिर नहटाइएका कारण त्यसले पनि झन्झट सृजना गरेको शिक्षकहरूको कथन छ । ल्यापटपमा राखिएका केही पुराना पाठ परिमार्जन न गरिएका कारण पढ्ने र पढाउने दुवैलाई समस्या भएको मकवानपुरका विनि बद्रीबहादुर पाठक बताउँछन् ।

चक–डस्टर र पाठ्यपुस्तकका सहारामा पढाउँदै आएका शिक्षकले एकहप्ते तालिमको भरमा ल्यापटपमा पढाउनु पर्दा तिनलाई समस्या पर्ने गरेको पाइएको छ । पर्याप्त तालिम नभएका कारण छात्रछात्रालाई सन्तुष्ट पार्न नसकेको कतिपय शिक्षकले स्वीकारेका छन् । लक्ष्मी निमावि हेटौंडाकी गणित शिक्षक कुमारी आचार्यका अनुसार ल्यापटप सम्बन्धी ज्ञानको अभावका कारण पढाइ कामचलाउ मात्र भइरहेको छ । केहीले चाहिँ सिक्दै पढाउने गरेका छन् भने कतिपयले जान्ने शिक्षक र विनिसँग सिकेर पढाउने गरेको पाइन्छ । विनि बद्रीबहादुर पाठक आधारभूत कुरा हरू मात्र तालिममा सिकाइएका कारण प्राविधिक समस्या र समाधानका बारेमा शिक्षकहरूमा पूर्ण ज्ञान नभएको स्वीकार्छन् । उनी भन्छन्, “ई–पाटी ह्याङ हुँदा शिक्षकले सञ्चालन गर्न सक्दैनन्, यसले छात्रछात्राको पढाइमा समस्या परेको छ ।”

commercial commercial commercial commercial