शिक्षाको भविष्य

दक्षता यस्तो कुरा हो जसलाई सधैंका लागि एकैचोटि प्रमाणित गर्न सकिंदैन । प्रमाणीकरणको प्रक्रिया तालिम र आफ्नो कार्यक्षेत्र सँग-सँगै जानुपर्दछ । त्यसैगरी प्रमाणीकरण प्रणालीको विकासले शिक्षाको भविष्यमा एउटा छुट्टै स्थान राख्दछ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले निर्वाचन प्रचार–प्रसारका क्रममा भनेका थिए- “हाम्रो जीवनकालकै सबभन्दा ठूला चुनौतीहरू हाम्रा सामु छन् । हामीले ठूला युद्धहरू, नराम्रो वित्तीय सङ्कट, खस्कँदो वातावरणीय अवस्था जस्ता समस्याहरूको सामना गर्नुपर्ने छ ।” हुन पनि विश्व आज समस्याहरूको जटिल चौबाटोमा छ । हामी कोही पनि ‘भोलि यसै हुन्छ’ भनेर प्रस्ट रूपमा भन्न सक्ने अवस्थामा छैनौं । शिक्षाको भविष्य पनि हामीले यी चुनौतीहरूलाई कसरी सामना गर्दै जान्छौं भन्ने कुरामा भर पर्दछ । जबसम्म हामी यो प्रतिकूल अवस्थालाई रोक्न सक्दैनौं तबसम्म शिक्षा मात्रैको कुनै भविष्य छैन ।

वास्तवमा वातावरण विनास हुन नदिने, संस्कृतिहरूबीचको द्वन्द्वलाई मत्थर पार्ने र समग्र आर्थिक स्थिति सुधार्दै अझ् न्यायोचितरूपले स्रोतहरूको बाँडफाँड गर्ने कुरा हामीले दिने शिक्षामा भर पर्छ । अर्थात् यी कुरा हरू; हामीले हाम्रा विद्यालय र विश्व–विद्यालयहरूलाई कसरी सुधार गर्छौं र हाम्रो  शिक्षा प्रणालीलाई कसरी यी चुनौती सामना गर्न सक्ने बनाउँछौं भन्ने कुरामा भर पर्छन् । त्यतिले मात्र पुग्दैन, हामीले यी कुरा कति चाँडै गर्न सक्छौं भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ । युरोपियन युनियनका शिक्षा तथा तालिम कार्यक्रमका निर्देशक जान फिजीको कथन छ, “शिक्षा र तालिमको महत्व आर्थिक र जनसाङ्ख्यिक परिवर्तनभन्दा पनि ठूलो छ किनभने परिवर्तनको प्रवाहलाई डोर्‍याउने तागत शिक्षा र तालिममा नै सबैभन्दा बढी छ ।”

शिक्षाको भविष्यलाई परिभाषित गर्न सहायक हुने पाँचवटा मुख्य पक्ष अथवा सवाल (Issue) छन् । यी पक्षले विभिन्न सरोकारवालाहरू (सार्वजनिक निकाय, नीतिनिर्माता, शिक्षक र अरू जो–कोही जो पढ्ने/पढाउने, सिक्ने/सिकाउने कार्यमा संलग्न छन्) लाई सम्बोधन गरेका छन् ।

क) डिजिटल संसारका बासिन्दा
‘डिजिटल संसारका बासिन्दा’ भन्ने लबज इन्टरनेटबाट गीत, सङ्गीत, भिडियो आदि डाउनलोड गर्ने, मोबाइलमा गीत सुन्ने, भिडियो हेर्ने,गेम खेल्ने, एसएमएस–एमएमएस पठाउने, फोटो र भिडियो खिच्ने तथा कम्प्युटरमा खेल्ने, च्याट/इमेल गर्ने, स्काइप म्यासेञ्जर जस्ता इन्टरनेट साइटको माध्यमबाट भिडियो फोन गर्ने पुस्ताका सदस्यहरूका लागि प्रयोग हुन थालेको छ । उनीहरू MySpace, FaceBook, YouTube   Twitter जस्ता इन्टरनेटमा आधारित सामाजिक सञ्जालबाट तथ्याङ्क, सूचना र अरू सामग्रीहरू आदान–प्रदान गर्छन् ।

यो पुस्ताले कुनै पनि सूचना चाहिएकै बेला वा आफूले भनेकै बेलामा पाउनुपर्छ भन्ठान्छ । उनीहरू आफूलाई चाहिएको सूचना र सामग्री इन्टरनेटमा भेट्टाउन अभ्यस्त पनि भइसकेका हुन्छन् । उनीहरू एकैसाथ विभिन्न प्रयोजनका लागि प्रविधि र सञ्चार सामग्री प्रयोग गर्छन् । यी प्रविधिहरूसँगको सान्निध्यका कारण उनीहरूको सोच्ने प्रक्रिया नै अरू पुस्ताको भन्दा फरक भइसकेको छ । उनीहरूको दिमागको संरचना समेत अरू पुस्ताको भन्दा भिन्न हुन्छ ।

ख) आजीवन सिकाइ
युरोपेली संसद् र परिषद्ले १५ नोभेम्बर २००६ देखि ‘आजीवन सिकाइ’ नामक अवधारणा लागू गर्‍यो । यो कार्यक्रमको उद्देश्य समुदायलाई उच्च तहको ‘ज्ञानको–समाज’  (Knowledge Society) मा रुपान्तरित गर्न सहयोग पुर्‍याउनु हो । ज्ञानको–समाज मा दिगो आर्थिक विकास, अहिलेभन्दा धेरै र अझ राम्रा रोजगारीको अवसर र अझ बढी सामाजिक सहकार्य हुन्छ । साथै यसले आफ्ना सन्ततिका लागि प्रभावकारी ढङ्गले वातावरण संरक्षण गर्नमा पनि मद्दत गर्दछ ।

आजीवन सिकाइको सिद्धान्त अनुसार सिकाइ एउटा व्यक्तिको जीवनको पूर्वाद्र्धमा मात्र नभएर जीवनभरि चलिरहने प्रक्रिया हो । नयाँ प्रविधिहरूको बढ्दो विकासले व्यक्तिको व्यक्तित्व र व्यावसायिकतामा एकदमै ठूलो परिवर्तन ल्याएको छ ।

डिजिटल प्रविधिको पहुँच भएका र नभएका व्यक्तिबीचको अन्तर (Digital Divide) का कारण मात्र पनि विश्वमा नयाँ किसिमका रोजगारीहरू सिर्जना भइरहेका छन् । पुरानै काममा पनि फरक किसिमका दक्षता र सीप आवश्यक पर्न थालेको छ । यो कुरा एउटा डाक्टर, नर्स, इञ्जिनियर जस्ता उच्च प्राविधिक काम गर्ने मानिसमा मात्र नभएर धारा–पाइपको काम गर्ने प्लम्बर वा बिजुली मिस्त्रीको काममा समेत लागू हुन्छ । त्यसैले अब त्यस्तो शिक्षा र तालिमको आवश्यकता छ जसबाट व्यक्तिले जीवनभरि नै आफ्नो कामको दक्षतालाई अद्यावधिक गर्न चाहिने सीपहरू सिक्न सकोस् ।

ग) प्रमाणीकरण (Ceftifications)
भूमण्डलीकृत विश्वमा विभिन्न देशका कम्पनीहरूबीचको सहकार्य र एक देशबाट अर्को देशमा आउने–जाने विद्यार्थी र कामदारहरूको सङ्ख्या बढ्दो छ । इन्टरनेटले हिजोसम्म कल्पनासम्म न गरिएका अवसरहरू प्रदान गरेको छ । जस्तै, भारतीय आउटसोर्सिङ्ग कम्पनीहरूले अमेरिकी कम्पनीहरूका लागि कल सेन्टरमार्फत विभिन्न कामहरू गरिरहेका छन् । नेपालका कम्पनीहरूले पनि त्यस्तै कार्य गरिरहेका छन् । त्यस्तै, एउटा देशमा बसेर अर्को देशमा रहेका संस्थाहरूको आवश्यकता अनुसारका सफ्टवेयर बनाउने काम भइरहेको छ । यो परिवेशमा शैक्षिक र अन्य योग्यताहरूको पारदर्शिताको महत्व बढेर आउँछ । युरोपेली समुदायले यो क्षेत्रमा धेरै लगानी गरेको छ । युरोपेली युनियनको एउटा देशबाट अर्को देशमा मानिसहरू काम गर्न वा पढ्न जाँदा आइपर्ने मुख्य अवरोध भनेको उनीहरूले आफ्नो देशमा हासिल गरेका योग्यता र दक्षता अर्को देशमा स्वीकार नहुने हो कि भन्ने डर मात्र हो । यो कुरा कामदारहरू श्रमबजारको विभिन्न क्षेत्रमा जान खोज्दा लागू हुन्छ । विभिन्न मापदण्डमा आधारित योग्यता प्रणाली, शिक्षा र तालिम संरचनाहरूको विश्वव्यापी रूपमा फैलिने क्रम र यिनीहरूमा निरन्तर भइरहने परिवर्तनले यसलाई अझ जटिल बनाएको छ । यस्ता अड्चनहरूलाई छिचोल्न युरोपेली युनियनले विभिन्न संयन्त्रहरू प्रयोगमा ल्याएको छ जसले योग्यता र दक्षतालाई आफ्नो व्यक्तिगत वा प्राज्ञिक प्रयोजनका लागि स्थानान्तरण गर्नलाई सजिलो पार्छन् ।

दक्षता यस्तो कुरा हो जसलाई सधैंका लागि एकैचोटि प्रमाणित गर्न सकिँदैन । प्रमाणीकरणको प्रक्रिया तालिम र आफ्नो कार्यक्षेत्र सँगसँगै जानु पर्दछ । त्यसैगरी प्रमाणीकरण प्रणालीको विकास ले शिक्षाको भविष्यमा एउटा छुट्टै स्थान राख्दछ । युरोपेली आयोगको एक आलेखमा सुझाए अनुसार यस प्रणालीले तीन प्रकारका सिकाइलाई मान्यता दिनुपर्छ ।

औपचारिक सिकाइ  (Formal Learning)
यस्तो सिकाइ शिक्षा र तालिम प्रदान गर्ने संस्थाहरूमा हुन्छ जसले मान्यता प्राप्त डिग्री र योग्यता प्रदान गर्द छन् ।

अनौपचारिक सिकाइ (Non-formal Learning)
यस्तो सिकाइ औपचारिक सिकाइसँग सँगै हुन्छ तर यसमा औपचारिक प्रमाणपत्र दिइँदैन । नागरिक समाज , संस्था र समूहहरूका विभिन्न क्रियाकलाप मा सहभागी भएर यस्तो सिकाइ कार्य गर्न सकिन्छ ।

अनुभवजन्य सिकाइ (Informal Learning)
यस्तो सिकाइ व्यक्तिको दैनिक कामबाट नै हुन्छ । यस प्रकारको सिकाइ औपचारिक र गैर –औपचारिक जस्तो उद्देश्यसहितको सिकाइ होइन । सम्बन्धित व्यक्ति स्वयम्लाई नै थाहा नभइकन पनि ज्ञान र सीपको वृद्धि भइरहेको हुन्छ । शिक्षाको क्षेत्रमा औपचारिक सिकाइले नै नीतिगत सोचाइमा प्रभुत्व जमाइरहेको छ र मानिसले केलाई सिकाइ भन्छन् भन्ने कुरा लाई पनि औपचारिक सिकाइले नै रंग र आकार दिइरहेको छ ।

अनौपचारिक सिकाइ भन्ने बित्तिकै विद्यालय, विश्वविद्यालय र तालिम केन्द्रहरूभन्दा बाहिरको भन्ने बुझिन्छ । यसलाई वास्तविक सिकाइको रूपमा लिइँदैन । साथै श्रम बजारमा पनि यसको खासै मूल्य छैन । त्यसैले अनौपचारिक सिकाइलाई अवमूल्यन गर्ने गरिन्छ । अझ् अनुभवजन्य सिकाइलाई त झनै बेवास्ता गरिन्छ । जबकि अनुभवजन्य सिकाइ नै सबैभन्दा पुरानो शैलीको सिकाइ हो र अहिले पनि केटाकेटीको प्रारम्भिक सिकाइको मूलस्रोत नै अनुभवजन्य सिकाइ हो । माइक्रो कम्प्युटरको प्रविधि स्कूलहरूमा भन्दा पहिले मानिसका घरमा स्थापित भएको तथ्यले अनुभवजन्य शिक्षाको महत्वलाई उजागर गर्द छ । अनुभवजन्य सन्दर्भहरू सिकाइका ठूला स्रोत हुन् ।

शिक्षकको भूमिका र दक्षता
शिक्षकहरू शताब्दीयौं देखि प्राथमिक र माध्यमिक तहका स्कुल तथा विश्वविद्यालयहरूमा शक्तिशाली रहँदै आएका छन् । उनीहरूको काम हो आफूले जानेको ज्ञान, आफ्ना विद्यार्थीहरूमा सार्नु । हिजोसम्म, शिक्षाको त्यो बाटो शिक्षकहरूका लागि सुरक्षित थियो । उनीहरूमा आफ्ना विद्यार्थीभन्दा कम जान्ने भइएला कि भन्ने डर थिएन ।

आजको स्थिति त्यस्तो छैन । प्रौढहरूलाई पढाउने वा सिकाउने शिक्षकहरूले त्यस्ता मानिसहरूको पनि सामना गर्नु पर्छ जसले पहिले नै औपचारिक, अनौपचारिक र अनुभवजन्य सिकाइका अवसरबाट विभिन्न दक्षता हासिल गरिसकेका हुन्छन् । सामान्य ज्यामी मिस्त्रीले पनि आफ्नो क्षेत्रमा शिक्षकले भन्दा निकै राम्रो दक्षता हासिल गरेको हुनसक्छ । प्रारम्भिक सिकाइमा संलग्न शिक्षकहरू सूचना तथा सञ्चारप्रविधिसँग सम्बन्धित ज्ञान, दक्षताको हिसाबले आफूले पढाउनु पर्ने विद्यार्थीहरूभन्दा निकै कम जान्ने हुनसक्छन् ।


‘डिजिटल’ र ‘भर्चुयल’ दुनियाँमा डुबुल्की मार्दै गरेको आजको विश्व परिस्थितिमा शिक्षकहरूले पनि स्वाभाविक रूपमा पाठ्यपुस्तक You tube अथवा Slideshare मा पनि सर्न सक्नुपर्छ । गृहकार्यहरु बुझाइसक्नु पर्ने मिति कालोपाटीमा दिनुका साथै फेसबुकमा पनि दिन सक्नुपर्छ । आफ्ना विद्यार्थीलाई ‘ल यी कुरा नोट गर’ भन्नुको सट्टा ‘ल यो पाठलाई तिम्रो मोबाइलले खिच’ भन्न सक्नुपर्छ । 

हाल शिक्षकको एउटा नयाँ व्यावसायिक परिभाषा तयार भइरहेको छ । शिक्षकहरू ज्ञानको वितरक र प्रसारक मात्र होइनन्, उनीहरू त सिकाइको सन्दर्भ र समय अनुसार कहिले ज्ञानको परिकल्पनाकार, कहिले संयोजक त कहिले निर्माणकर्ता पनि हुन् । उनीहरू विद्यार्थीहरूको निश्चित आवश्यकता अनुसारको सिकाइको मार्ग पहिल्याउने अर्थमा परिकल्पनाकार हुन् । शिक्षकहरू एउटा सिक्ने समुदायको लागि संयोजक पनि हुन्, जसले सिक्नेहरूको मनोबललाई उच्च राख्दै उनीहरूका विभिन्न क्रियाकलापहरूको निरीक्षण गर्छन् र त्यसमा उत्पन्न समस्या समाधान गर्न सहयोग पुर्‍याउँछन् । त्यसैगरी सिक्नेहरूको आवश्यकतालाई ध्यानमा राखेर शिक्षकहरूले सिक्ने सामग्री र पद्धतिहरूको निर्माण पनि गर्छन् । आजको विश्वमा शिक्षकले एउटा निर्माणकर्ताको भूमिका निर्वाह गर्दा सम्बन्धित विषयवस्तुको ज्ञानका साथसाथै विभिन्न प्रविधि र सम्बन्धित सफ्टवेयरको पनि हेक्का राख्नुपर्ने हुन्छ ।

हामीले आजसम्म कसरी कम्प्युटर चलाउने, कसरी अरू प्रविधिमा अभ्यस्त हुनेजस्ता प्राविधिक कुरा सिक्यौं । अब प्रविधिको माध्यमबाट सिक्ने बेला आएको छ । प्रविधिको माध्यमबाट सिक्ने कुरा स्वाभाविक र सहज हुनुपर्छ । अब विद्यालयहरू डिजिटल र ‘भर्चुअल’ प्रविधिमा जाँदैछन् । ‘डिजिटल’ र ‘भर्चुअल’ दुनियाँमा डुबुल्की मार्दै गरेको आजको विश्व परिस्थितिमा शिक्षकहरूले पनि स्वाभाविक रूपमा पाठ्यपुस्तकबाट YouTube अथवा  SlideShare मा सर्न सक्नुपर्छ । गृह कार्यहरू बुझइसक्नुपर्ने मिति कालोपाटीमा दिनुको साथै फेसबुकमा दिन सक्नुपर्छ । आफ्ना विद्यार्थीलाई ‘ल यी कुरा नोटगर’ भन्नुको सट्टा ‘ल यो पाठलाई तिम्रो मोबाइलले खिच’ भन्न सक्नुपर्छ । ‘तिम्रो प्रतिवेदन मलाई देऊ’ भन्नुको सट्टा ‘तिम्रो प्रतिवेदन  Scribd मा सम्पादन गर’ पनि भन्न सक्नुपर्छ । यी माध्यमहरूले समयसीमालाई नहेरिकन शैक्षिक संवादलाई ‘खुला’ राख्दछन् । ‘संवाद’ शैक्षिक प्रक्रियाको एउटा महत्वपूर्ण र अभिन्न तत्व हो ।

सुकरात जस्ता असाधारण व्यक्तित्वका बारेमा सोचौं त ! उनी एथेन्स एगोराका नागरिकहरूलाई विभिन्न प्रश्न गर्थे र संवादको प्रक्रिया अपनाउँथे । त्यस्तै प्लेटो जो एकेडेमीमा आफ्ना शिष्यहरूसँगै बस्थे र एरिस्टोटल व्यायामशालामा टहल्दै आफ्ना विद्यार्थीहरूसँग छलफल गर्थे । त्यसबखत संवादको प्रक्रिया खुला थियो । तर, हाल प्रचलित परम्परागत साङ्गठनिक स्वरुपको कक्षाले विद्यालय समय र विद्यालय बाहिरको समयलाई छुट्याएको छ र शैक्षिक संवादलाई साँघुरो बनाएको छ । विद्यालय बाहिर बस्ने विद्यार्थीहरू आफ्नो गृह कार्य गर्छन् तर आफ्ना शिक्षकहरूसँग राम्ररी कुरा गर्न सक्दैनन् । त्यस्तै शिक्षकहरू आफ्ना विद्यार्थीहरूको पाठ जाँच्छन् तर विद्यार्थीसँग कुरा गर्न पाउँदैनन् । कक्षाकोठाको धेरैजसो समय एकतर्फी बोलाइमा मात्र बित्ने गरेको छ । वास्तविक र भर्चुअल स्पेसमा संलग्न हुँदा हजारौं संवाद सम्भव हुन्छन् जुन अन्य अवस्थामा हुँदैनन् । विद्यार्थीहरू यी ‘भर्चुअल’ वातावरणसँग परिचित भइसकेका छन् । अब हामीले शिक्षकहरूलाई पनि प्राकृतिकरूपमै यी दुवै क्षेत्रहरूमा काम गर्न सक्ने बनाउनुपर्छ ।

शैक्षिक सन्दर्भमा ‘खुलापन’को महत्व
‘खुला हुने’ भनेको विभिन्न स्रोतहरू (जस्तैः जमिन, पानी, औषधि, सङ्गीत, सूचना, विचार आदि) सम्मको पहुँच दिने भन्ने हो । त्यस्तै ‘बन्द रहने’ भनेको यी स्रोत माथिको पहुँचमा नियन्त्रण गर्नु हो । यस्तो नियन्त्रण कानूनी रूपमा कुनै पक्षको हित संरक्षण गर्ने , स्वामित्व स्थापित गर्ने , पेटेन्ट राइट, प्रतिलिपि अधिकार वागोपनीयताका नाममा गरिन्छन् ।

Linux  र Apache निकै चर्चित निःशुल्क र खुला कम्प्युटर सफ्टवेयर हुन् । जसको लाइसेन्समा लेखिएको हुन्छ, “तपाईं यो सफ्टवेयर प्रयोग गर्न, वितरण गर्न (व्यापारिक प्रयोजनका लागि पनि ) र परिस्कृत गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले आफूले परिस्कृत गरेको काममा यही लाइसेन्स कायम राख्नुपर्छ र मूल निर्माणकर्ताको नाम उल्लेख गर्नु पर्छ ।” त्यसैले यी र यस्ता सफ्टवेयरहरू निरन्तर रूपमा विश्वभरि छरिएर रहेका मानिसले अद्यावधिक गरिरहेका हुन्छन् । यो एउटा अस्तव्यस्त लाग्ने प्रक्रिया भए पनि विभिन्न मानिसको संयुक्त प्रयासबाट गतिशील रूपमा अघि बढ्दैछ । Linux र  Apache ले देखाइदिएका छन्, निःशुल्क भएर र खुला रुपमा विकसित हुँदै गएर पनि यी सफ्टवेयरहरू बजारको ठूलो हिस्सा ओगट्ने र व्यापार गर्ने पक्षका निम्ति प्रतिस्पर्धी बनेका छन् ।

‘खुला सामग्री’ को एउटा उदाहरण विकिपेडिया इन्साक्लोपेडिया हो, जो लाखौं मानिसको योगदानबाट संयुक्त रूपमा विकसित भइरहेको छ । त्यस्तै अमेरिकाको मेसेच्युसेट इन्ष्टिच्युट अफ टेक्नोलोजीको (एमआईटी)ले खुला कोर्सवेयरलाई  Linux जस्तै खुला लाइसेन्सबाट निःशुल्क रूपमा इन्टरनेटमा उपलब्ध गराए को छ तर व्यावसायिक प्रयोजनका लागि भने होइन । अरू विश्वविद्यालयले पनि एमआईटीलाई पछ्याउन थालेका छन् र धेरै शिक्षकले पनि आफ्ना सामग्रीहरू बाँड्न थालेका छन् । यी पुरै कोर्स पनि हुनसक्छन् र कुनै एउटा पाठसँग मात्र सम्बन्धित पनि हुनसक्छन् । यी सामग्रीहरू Moodle, YouTube, SldeShase, merlot,Conneions, Wikieducator, WikiVideo, FreeLoms, Sloop जस्ता इन्टरनेट साइटहरूमा पाइन्छन् । यो वर्तमान को स्थिति हो र यसैको विस्तार नै शिक्षाको भविष्य हुनसक्छ ।Moodle, FaceBook, Second life, Twitter blogs र बिकी जस्ता भर्चुअल वातावरण अब शैक्षिक संवादका लागि नयाँ ‘एगोरा’ बन्न सक्छन् । यसका लागि पाठ, चित्र, श्रव्यदृश्य, केस अध्ययन, भर्चुअल प्रयोगशाला, अभ्यास र स्वमूल्याङ्कन परीक्षण जस्ता अरू सहयोगी सामग्रीहरू पनि चाहिन्छन् ।


‘खुला सामग्री’ को एउटा उदाहरण विकिपेडिया इन्साक्लोपेडिया हो, जो लाखौं मानिसको योगदानबाट संयुक्त रूपमा विकसित भइरहेको छ । 

विद्यार्थीहरू ‘अनलाइन’ भएर मात्र पुग्दैन । उनीहरूले आफ्ना समूह, साथी र शिक्षकसँग संवाद गरेर मात्र पनि पुग्दैन । उनीहरूले स्तरीय र विविध खालका सिकाइ सामग्रीसँग अन्तरक्रिया गर्नु पर्छ । निःशुल्क र खुला सिकाइ सामग्रीहरू विकास हुने र विभिन्न सन्दर्भ र उपयोगिताका हिसाबले परिष्कृत र परिमार्जित हुने क्रम बढिरहेको छ । आफूले विकास गरेका सिकाइ सामग्रीहरू इन्टरनेटमा निःशुल्क रूपमा राखेर सार्वजनिक रूपमा परिमार्जन गर्ने बढ्दो प्रचलनले शिक्षाको सम्भावित भविष्यको खाका कोर्न सहयोग गर्छ । वेबको प्रयोगबाट सामग्रीहरू आदान–प्रदान गर्ने , सिकाइका बाटाहरू पहिल्याउने र परियोजना विकास गर्ने कामले विद्यार्थी र शिक्षकको सामुहिक ज्ञानलाई एक ठाउँमा ल्याउन सहयोग पुर्‍याएको छ, जसले शिक्षा प्रणालीलाई एउटा छुट्टै उचाइमा पुर्‍याउँदैछ ।

यदि हामीले खुलापनको यो क्रमलाई निरन्तरता दिन सक्यौं र ‘नियन्त्रण’लाई निरुत्साहित गर्न सक्यौं भने यो नै शिक्षाको भविष्य हुनसक्छ । ‘नियन्त्रण’ भन्ने कुरा विभिन्न कारणले शिक्षकले आफ्ना सामग्री निःशुल्क रूपमा बाँड्न नचाहने प्रवृत्ति हो । यो प्रवृत्ति ती सामग्रीहरूप्रति इष्र्यालु भएर, आफ्ना समकक्षीहरूको मूल्यांकनको डरले भएको हुनसक्छ । त्यस्तै ‘नियन्त्रण’को कुरा विद्यालय र विश्वविद्यालयहरूले आफ्नो सम्पत्तिको संरक्षण गर्नु पर्छ भन्ने भावले र प्रकाशकहरूले दह्रो प्रतिलिपि अधिकार कायम न गरे घाटामागइन्छ भन्ने डरका कारणले पनि हुन्छ । यस्ता डर र भावनाहरू आफ्ना ठाउँमा ठिकै होलान् तर ती अगाडि हेर्ने नभई पछाडि धकेल्ने खालका विचार हरू हुन् ।

(इटालियन शिक्षक एवं इञ्जिनियर राभोटोको ‘जर्नल अफ इ–लर्निङ एण्ड नलेज सोसाइटी’ नामक जर्नलमा जनवरी २००९ मा प्रकाशित लेख ‘दि फ्युचर अफ एजुकेशन’ बाट लिइएको हो ।)

अनुवादः भाष्कर काफ्ले

शिक्षक  मासिक, २०६६ भदौ अंकमा प्रकाशित । 


commercial commercial commercial commercial