शिक्षकले गीता पढ्नुपर्छ

यस वर्षको एसएलसीको नतिजा कस्तो आयो ?
१०० जना विद्यार्थीले जाँच दिएकोमा ८० जना उत्तीर्ण भए । एक जना विशिष्ट, प्रथम श्रेणीमा २९, दोस्रोमा ४९ र एक जना तृतीय श्रेणीमा पास भए । पोहोर योभन्दा रराम्रो भएको थियो । ९० प्रतिशत विद्यार्थी पास भएका थिए । विशिष्ट श्रेणी पनि दुई जनाले ल्याएका थिए ।

नतिजाप्रति सन्तुष्ट हुनुहुन्छ ?
छैनौं । किनभने हाम्रा राम्रा विद्यार्थीले पनि रराम्रो अङ्क ल्याउन सकेनन् । विशिष्ट श्रेणी ल्याउनेको पनि सामाजिक विषयमा निकै कम अङ्क आएको छ ।

सुधार्ने योजना के छ त ?
आगामी वर्ष नतिजा सकेसम्म शतप्रतिशत पुरयाउने लक्ष्य राखेका छौं । विशिष्ट श्रेणीको प्रतिशत तीन वा चार पुरयाउने धोको छ । यसै गरी प्रथम श्रेणीलाई अधिकतम बढाउने र द्वितीय श्रेणीलाई अधिकतम घटाउने नै हराम्रो मुख्य ध्येय रहेको छ ।

प्रसङ्ग बदलौं, शिक्षक कसरी बन्नु भयो ?
वि.सं२०४५ सालमा एसएलसी पास गरे पछि रोजगारीको खोजीमा जिल्ला शिक्षा कार्यालय तनहुँमा बुझदा देवघाटस्थित महादेव प्राविमा दरबन्दी खाली भएको थाहा भयो । सामान्य अन्तरवार्ता लिएर सञ्चालक समितिले मलाई अस्थायी नियुक्ति दियो । २०५० सालमा शिक्षक सेवा आयोगबाट प्रावि तहमा र २०६० सालमा मावि तहमा स्थायी भएँ ।

शिक्षण पेशा अपनाएकोमा पछुतो त छैन ?
छैन । पढाउँदै जाँदा यो कामप्रति रुचि बढ्दै गयो । त्यसैले कहिल्यै पनि यो पेशाको विकल्प खोज्न लागिनँ । बरु कसरी असल शिक्षक बन्ने भन्ने सोच नै आइरह्यो । त्यस क्रममा मैले आफ्नो पढाइलाई पनि अगाडि बढाएँ ।

उच्च शिक्षा कसरी लिनुभयो ?
बिहान नारायणघाटमा कलेज पढ्न जान्थेँ । कलेज सकिएपछि साइकलमा १० किलोमिटरगुडेर लखतरान परेर स्कूल पुग्थेँ । डेरा नारायणघाट भएकाले म स्कूल र कलेज जान आउन दिनमा २० किमी त साइकलमै हिंड्थेँ ।

शिक्षक र प्रअमा के फरक रहेछ ?
मैले पाँच वर्ष देखि स्कूलको प्रशासनिक कार्यभार पनि सम्हालेको छु । प्रशासक भएपछि जिम्मेवारी बढ्नु स्वाभाविकै हो । त्यसले फुर्सद र स्वतन्त्रता अरू समाप्त पारिदिँदोरहेछ । प्रशासकले सबैसँग समन्वय गरेर पुलको भूमिका निर्वाह गर्नु पर्ने रहेछ ।

अहिले कुन पुस्तक पढिरहनु भएको छ ?
क्याम्पसमा पढाउने कोर्सका किताबहरू ।

कस्ता खाले पुस्तकहरू पढ्न रुचाउनुहुन्छ ?
म प्रायः धार्मिक किताबहरू पढ्ने गर्छु । बाइबल देखि रामायण, महाभारत,गीतादर्शन पढेको छुु । व्याकरणमा पनि रुचि छ ।

शिक्षकले पढ्नै पर्ने पुस्तक ?
गीता । यसले कर्म किन र कसरी भन्ने बोधगराउँछ, जुन कुरा हामी शिक्षकलाई अत्यावश्यक छ ।

शिक्षकको पेशागत मर्यादा कसरी बढाउन सकिएला ?
अहिले शिक्षक छनोट प्रणाली प्रतिस्पर्धी र स्तरीय छैन । कमजोर र अयोग्य मानिस पनि शिक्षक बन्न सक्ने अवस्था छ । त्यही कारण यो पेशाको मर्यादा खस्केको हो । प्रतिभावान जनशक्तिलाई शिक्षक बन्ने वातावरणको विकास गरिनुपर्छ । साथै, शिक्षा सेवामा प्रवेश गर्न शिक्षक हुनै पर्ने प्रावधान राखिनुपर्छ । त्यसले शिक्षण पेशाप्रति आकर्षण बढाउन मद्दत गर्न सक्छ । सरकारले पनि निजामती कर्मचारी र शिक्षकलाई गर्ने व्यवहारमा सुधार गर्नु पर्छ ।

तपाइँको आदर्श गुरु को हुनुहुन्छ र किन ?
डा.गणेशप्रसाद खराल । उहाँ निकै सरल हुनुहुन्छ । विद्यार्थीलाई छोराछोरीसरह माया गर्नु हुन्छ । आफू रित्तै भएर पनि विद्यार्थीको हितमा आफूलाई समर्पित गर्नु हुन्छ ।

विद्यार्थीलाई   दिने दण्ड र पुरस्कार बारे तपाइँको धारणा ?
म सकारात्मक व्यवहारलाई अधिकतम् प्राथमिकता दिन्छु । दण्डको लौरोले तर्साएर भन्दा पुरस्कार को प्रोत्साहनले नै केटाकेटीको मन जित्न र उनीहरूलाई सही मार्गमा ल्याउन सकिन्छ ।

माया गरेर पनि विद्यार्थीलाई अनुशासनमा राख्न सकिन्छ ?
वास्तविक अनुशासन दण्डबाट होइन, मायाबाट मात्रै उत्पन्न   हुन्छ । दण्डबाट त भय मात्र उत्पन्न हुन्छ । जुन दिन विद्यार्थीको मनबाट भय हट्छ, त्यसै दिन देखि उसले भयमा आधारित अनुशासन भङ्ग गर्छ ।

अरू शिक्षकलाई के सल्लाह दिनुहुन्छ ?
शिक्षक समाज को मेरुदण्ड हो । त्यसैले हामीले कर्म पनि तदनुरुप नै गर्नु पर्छ । हामीले सत्कर्म गरेका खण्डमा मात्र समाज ले सही दिशा पक्रनेछ । यो कुरा लाई हामी शिक्षकले हमेशा ख्याल गर्नु पर्छ ।
भगवान खनाल

commercial commercial commercial commercial