ड्राइभर ‘गुरुजी’ नै हुन् !

त्रिभुवन राजपथ बनेपछि त्यसमागाडी हाँक्ने चालक लगभग शतप्रतिशत शिख धर्मावलम्बी पञ्जावीहरू थिए । तिनलाई नेपालीहरूले सम्मान पूर्वक ‘ गुरुजी’ भनेर सम्बोधनगर्थे । यहाँ गुरुजीको अर्थ हो गुरु नानकका चेलाज्यू अथवा गुरुद्वारका उपासक भक्तज्यू !

शिक्षक  को १६ औं (असार २०६६) अङ्कमा डा.गोविन्द टण्डनको ‘शिक्षक, गुरु र वास्तविक गुरु’ लेखमा “नेपाली भाषामा चाहिँ हिजोआज ‘ गुरु’ शब्दलाई यति भ्रष्ट तुल्याउन थाल्यौँ कि सार्वजनिक यातायात चलाउने होस् कि कार चलाउने चालक तिनलाई गुरु भनेर सम्बोधन गर्ने परिपाटीले प्रोत्साहन पाएको छ” भन्ने पङ्क्तिसहित केही श्लोकहरूको सहाराबाट गुरु शब्दकोगलत व्याख्या गरिएकोले यस पङ्क्तिकारलाई दुई शब्द लेखूँ–लेखूँ लागेको हो ।

‘गुरु’ शब्द शिक्षा वा ज्ञान प्रदान गर्ने सम्मानित व्यक्तिलाई सम्बोधन गरिने शब्द हो भन्ने हामी सबैलाई लागेको छ । तर कुनै पनि शब्द बिना आइनोसाइनो अर्को अर्थमा प्रयोग हुँदैन, समयको अन्तरालले गर्दा साइनो–सूत्र फेला पर्न नसकिनु बेग्लै कुरा हो । विभिन्न कारणवश शब्दार्थको विस्तार वा सञ्कुचन हुन्छ र शब्दले नयाँनयाँ अर्थ वहन गरिरहन्छ ।

हाम्रो पहिलो सरोकार गुरु शब्दको खास अर्थ के हो भन्नेसित छ । यसको पहिलो अर्थ शिक्षक होइन जुन भ्रम हामी धेरैमा छ । त्यो भ्रम फैलाउनामा हामीले आधिकारिक मान्दै आएको नेपाली बृहत् शब्दकोशले पनि मद्दत गरेको छ । यसले गुरु प्रविष्टिको नं. १ अर्थमै नामजन्य ‘शिक्षक’ अर्थ दिएको छ र धेरैपछि मात्र यसको विशेषण अर्थ दिएको छ । अनि त्यही कोशबाट सारसुर पार्ने तथाकथित सबै नेपाली कोशकारहरूले त्यसै गरेका छन् । यस कारण ती कोशहरूमा ‘ गुरुता’ र ‘ गुरुत्व’ शब्दको अर्थमा दिइएका ‘ गुरु हुनाको भाव...’ भन्ने अर्थ पनि भ्रामक र अस्पष्ट हुनपुगेका छन् किनभने त्यहाँ ‘ गुरु हुनाको भाव’ भनेको शिक्षक हुनाको भाव भनेको कदापि होइन ।

डा. टण्डनको उक्त लेखमा संस्कृतका केही श्लोकका उदाहरणसहित गुरुको उज्यालो र आदरणीय पक्ष उजिल्याउँदै ‘ गुरु’ शब्दलाई अथ्र्याउन खोजेको पाइन्छ । तर संस्कृतका श्लोकहरूबाट कुनै पनि शब्द अथ्र्याउनु विज्ञानसम्मत हुँदैन किनभने संस्कृत अति सम्वृद्ध भाषा–महासागर हो; त्यसमा जुनसुकै विषयका पनि राम्रा र नराम्रा पक्ष झल्काउने जति र जस्ता पनि श्लोक पाइन्छन् । गुरुलाई गाली गर्नु परे पनि संस्कृतबाट अनेक श्लोक खोजेर ल्याउन सकिन्छ ।

नेपालमा निकै प्रयोगमा रहेको र आधिकारिक मानिएको वामन शिवराम आप्टेको संस्कृत शब्दकोशमा गुरु शब्दको विशेषण अर्थ पहिला दिइएको छ । वास्तवमा गुरु शब्दको व्युत्पत्तिमूलक पहिलो अर्थ विशेषणजन्य ‘गह्रौँ’ अर्थात् भारी (बोझ्) हो । यसै अर्थको विस्तार भएर यसले अनेक अर्थ वहन गरेको हो । अर्थको विस्तार भएर यो ( गुरु) शब्दको लामो भन्ने अर्थ पनि निस्कन्छ किनभने सामान्यतया छोटोभन्दा लामो गह्रौँ हुन्छ; अनि छन्दशास्त्र र सङ्गीतशास्त्रमा लघु– गुरुको पारिभाषिक अर्थ लाग्छ, किनभने लघुभन्दा गुरु उच्चारण गह्रौँ र लामो हुन्छ ।

यसरी अर्थ विस्तार हुँदा पनि त्यसमा मूल अर्थ कुनै न कुनै रूपमा सामेल रहेको हुन्छ । यसरी नै अर्थ थपिँदै गुरु शब्दले महत्वपूर्ण, दुसाध्य, ठूलो, श्रद्धेय, अभीष्ट, अहङ्कार आदि अर्थ पनि बुझाउन थाल्यो । यही विशेषणजन्य अर्थहरूकै आधारमा यसलाई नाम शब्दको रूपमा प्रयोग गरिँदा यसले शिक्षक आदि अनेक अर्थ पनि वहन गर्न थाल्यो । वृहस्पतिको उदाहरणले यस कुरा लाई छर्लङ्ग पार्छ । गुरुको एउटा अर्थ वृहस्पतिग्रह हो । ग्रहहरूमध्ये वृहस्पति सबैभन्दा ठूलो भएकाले गह्रुङ्गो, भारी वा ठूलो भन्ने अर्थमा वृहस्पतिलाई गुरु भनिएको हो । यसरी विशेषणयुक्त अर्थलेग्रहको नाम बनेपछि मात्र गुरुबार आदि वृहस्पतिसित सम्बन्धित थप शब्दहरू बने । त्यसैले देवताका गुरु वृहस्पति भएकाले यसग्रहलाई गुरु भनिएको भन्ने जस्ता पुराणादिको सहायताले अर्थ लगाउनु भाषा–वैज्ञानिक तर्क होइन, अन्ध–धार्मिकता मात्र हुन्छ ।ग्रहहरूमा सबैभन्दा ठूलो भएको ले यसलाई देवताहरूका गुरु अर्थात् शिक्षकका रूपमा मानवीकरण गरी पुराणादिमा चित्रण गरिएको हो ।

यही कुरा शिक्षक शब्दमा पनि लागू हुन्छ । ज्ञानले गह्रौँ, भारी वा बोझलिो भएको व्यक्ति भएको ले शिक्षा–दातालाई गुरु भनिएको हो । यसरी नअथ्र्याउने हो भने गुरुत्वाकर्षण, गुरुयोजना, गुरुकापी जस्ता धेरै शब्दको अर्थ लाग्दैन । सबैभन्दा गह्रौँ आकर्षणको शक्ति भएको ले पृथ्वीको आफूतिर तान्ने शक्तिलाई गुरुत्वाकर्षण भनिएको हो । तसर्थ उक्त लेखको एउटा श्लोकमा भनिएझैँ ‘गु’ भनेको अन्धकार र ‘रु’ भनेको निरोध भन्ने अर्थ लगाउने हो भने गुरुत्वाकर्षणको अर्थ लाग्दैन । त्यस्तै अर्को श्लोकमा ‘ग’ भनेको सिद्धिदायक र ‘र’ भनेको पापहरण गर्ने वाला तथा ‘उ’ भनेको अव्यक्त विष्णुु भन्ने अर्थ दिइएको छ । यो तर्क अनुसार त सिद्धिदिने वा योजनालाई गुरुयोजना तथा पापहरण गर्ने लेखोटलाई गुरुकापी भन्नु परयो । तसर्थ श्लोकको पुष्ट्याइँद्वारा कुनै कुरा को अर्थ निकाल्नु भनेको भ्रमित वा अज्ञानी मानिस माथि बौद्धिक शोषण गरी आँखामा छारो हालेर दिग्भ्रमित पार्ने पाण्डित्याइँ मात्र हो, वैज्ञानिक पद्धति होइन । त्यसैले गुरु शब्द अथ्र्याउनलाई अनेक श्लोकको सहाराको आवश्यकता छैन ।

गुरुयोजना र गुरुकापी जस्ता सम्बन्धमा भने थप अरू कुरा पनि गर्नु पर्ने हुन्छ । यी शब्द वास्तवमा अङ्ग्रेजी शब्दको नेपाली सन्दर्भमा प्रयोग गर्न अप्ठेरो पर्दा बनाइएका शब्द हुन् । नेपालीहरू आफूसित भएको शब्द प्रयोग गर्न, त्यसलाई समयानुकूल बनाउन वा अर्थविस्तार गरी चलनचल्तीमा राख्न अनेक कारणले रुचाउँदैनन् । तीमध्येका कारण आफ्नो भाषाप्रतिको लघुताभास र अज्ञानता दुवै पनि हो । त्यसैले आफूसित भएको नायबसुब्बा, सुब्बा र मिरसुब्बा जस्ता शब्द त्यागेर अङ्ग्रेजी शब्द सेक्सन अफिसर जस्ता शब्दले त्यसलाई स्थानान्तरण गरियो, पछि त्यसैलाई नेपालीकरण गर्न शाखा–अधिकृत बनाइयो । यस्तै गुरुयोजना र गुरुकापी जस्ता शब्द वास्तवमा मास्टरप्लान र मास्टरकपीबाट नेपालीलगायत कतिपय नव्य भारोपेली भाषाहरूमा बने । हेर्दा यो ‘मास्टर’ भनेको शिक्षक, शिक्षक भनेको गुरु भएको ले

‘मास्टरप्लान’को गुरुयोजना शब्द बनेको जस्तो देखिन्छ । यसरी बनाइएको होइन होला भन्न पनि सकिँदैन जसरी अहिलेका बुज्रुक विकासे नेपालीहरूले ‘चाइल्ड फ्रेण्ड्ली’लाई बालमैत्री शब्द धुवाँधार प्रयोग गरिरहेका छन् । तर बालमैत्री जत्तिको अर्थनबर्थसित गुरुयोजना आदि शब्द बनेका चाहिँ होइनन् ।

‘मास्टर’ शब्दको व्युत्पत्तिमूलक मूल अर्थ नियन्त्रण/पकड हो, अन्यथा मास्टरको अर्थ मालिक हुँदैन; मास्टरको अर्थमा दास र मालिकको सम्बन्ध सर्वप्राचीन छ । मास्टर शब्दको व्युत्पत्तिमूलक सम्बन्ध मजिस्टरसित पनि छ (हे. वेब्स्कटर र क्याम्ब्रिजका अङ्ग्रेजीका शब्दकोशहरू) । आफ्नो विषयमा नियन्त्रण वा नियन्त्रणात्मक खुबी वा पकड भएको मानिसलाई मास्टर अर्थात् शिक्षक भनिएको हो । मास्टरबाट नियन्त्रण अर्थमा अङ्ग्रेजीमा अरू धेरै शब्द बन्छन् । कुनै सन्दर्भ अर्थात् पढाउने धर्म वा पेशाका सम्बन्धमा मास्टर र टिचर शब्दले एकैथरी व्यक्तिलाई सङ्केत गरे पनि दुवै शब्दको व्युत्पत्तिमूलक अर्थ सङ्केत फरक छन् । त्यसैले मास्टरप्लान, मास्टरकपी जस्ता शब्दको नेपालीमा गुरुयोजना, गुरुकपी आदि शब्द प्रयोगमा आउँदा गुरुकोगहकिलो (खँदिलो जुन अर्थगह्रौँबाटै विस्तारित हुन्छ र गुरुत्वको अर्थगहकिलोपन पनि हुन्छ) महत्वपूर्ण, अभीष्ट जस्ता अर्थले बढी सघाइरहेको छ । गुरु शब्दका उपर्युक्त अर्थविस्तारले अङ्ग्रेजीमा मास्टर शब्दमा जोडिएर बन्ने मास्टरपिसको अर्थ नेपालीमा गुरुरचना ( गुरुटुक्रा/ गुरुखण्ड) वा मास्टररुमको अर्थ गुरुकक्षले दिन सक्दैनन्, गुरुरचना भन्यो भने बरु गुरुकापी भन्ने अर्थ निस्केला तर ‘मास्टरपिस’ भन्ने अर्थ लाग्दैन । त्यसैले अङ्ग्रेजीमा मास्टर शब्द लाग्दैमा नेपालीमा गुरु शब्द लागिहाल्दैन ।

अब हराम्रो अर्को सरोकार गुरु शब्दगाडी चालकलाई किन प्रयोग गरियो भन्नेसित छ । यस अर्थमा नेपाली भाषामा गुरु शब्दको विस्तार वि.सं. २००७ को प्रजातन्त्रसँगै विशेषतः ‘बाइरोडको बाटो’ भनिने, (पछि त्रिभुवन राजपथ भनिएको) काठमाडौँ–अमलेखगञ्ज राजमार्गको निर्माणसँगै विस्तार भएको हो । राजधानी आउने मालवाहक र यात्रुवाहकगाडीहरू हाँक्ने चालक लगभग शतप्रतिशत शिख धर्मावलम्बी पञ्जावीहरू थिए । ती चालकहरूलाई नेपालीले सम्मान पूर्वक ‘ गुरुजी’ भनेर सम्बोधन गरेका हुन् । यहाँ गुरुजीको अर्थ हो गुरु नानकका चेलाज्यू अथवा गुरुद्वारका उपासक भक्तज्यू ! यस्तो सम्बोधनबाट शिख चालकहरू सम्मान बोध पनि गर्दथे ।

नेपालमा शिख चालकहरूको उपस्थिति झण्डै तीन दशकसम्म घट्दो क्रममा जारी थियो । अहिले चालकका रूपमा उनीहरूको उपस्थिति खासै नभए तापनि गाडी चालकलाई गुरुजी शब्दबाट सम्बोधन भइरहेको छ र वर्तमान मा यो सम्बोधन शिक्षक अर्थको गुरु शब्दसित आइनोसाइनो नभएको व्यङ्ग्यार्थमा प्रयुक्त जस्तो लाग्न थालेको महसूस हुन्छ । यसरी शब्दहरूको व्युत्पत्ति–सूत्र केही पुस्तापछि अज्ञात हुन पुग्छ र व्युत्पत्ति पत्ता नलागेर छुट्टै शब्द हो जस्तो हुन्छ । यस्ता अर्थविस्तार र विचलनका अनेक रमाइला उदाहरण हरेक भाषामा पाइन्छन् ।

गाडी चालकलाई हेय अर्थमा गुरुजी भनिएको जस्तो आभास हुनु सामन्ती मान सिकताको उपज हो । गुरु भनेको त शिक्षित र अति सम्मान मय मास्टर, पण्डित, स्वामी आदिलाई जनाउने शब्द हो कहाँ जाबो ड्राइभरलाई भन्ने जस्तो भाव सामन्ती संस्कारकै प्रभाव हो ।गाडी चालकलाई गुरुजी भनिनुमा हेयार्थ बिल्कुल छैन भन्ने कुरा यसको व्युत्पत्तिबाट स्पष्ट भइसकेको छ । वास्तवमा यो हेयार्थमा प्रयोग भएको होइन, बरु सम्मान पूर्वक नै सम्बोधनका लागि प्रयोग भएको हो भन्ने कुरा चालक महोदयहरूलाई थाहा दिनु वा अनुभूत गराउनु पनि आवश्यक छ किनभने बाटोभरि यात्रुहरूले चालकलाई गुरुजीका गुरुजी भनिरहनु अनि चालकलाई चाहिँ आफूलाई हेला गरिरहेको भन्ने लाग्नु निश्चय पनि रराम्रो कुरा होइन । यसबाहेक उसले कसैलाई गुरु थापेरैगाडी चलाउन सिकेको हुन्छ र उसले पनि आफ्नो खलासी–सहायक आदि इच्छुकलाई गाडी हाँक्न सिकाएको हुन्छ, त्यस्ता चेलाहरूले चालकलाई आफ्नो गुरुकै रूपमा भक्तिभाव व्यक्त गर्छन् र गुरुपत्नीलाई गुरुआमा भनेर नै सभक्ति सम्बोधन पनि गर्छन् । त्यसैले चालकलाई गुरुजी भन्नु शब्दार्थको व्युत्पत्ति, उसले वहन गर्ने गुरुतर भार र उसको शिक्षक व्यक्तित्व– यी तीन कारणले बिल्कुल उपयुक्त छ, बरु समाज ले उसलाई सम्मान पूर्वक गुरुजी भनिरहेको छ भन्ने आभास हुने गरी शब्दको प्रयोग वा व्यवहार गर्नु हराम्रो दायित्व हो ।  

commercial commercial commercial commercial