राजेन्द्र गुरुका राम्रा काम

२०४५ सालमा मैले बाल जनता उमावि दाङ/ देउखुरीबाट एसएलसी पास गरें । प्रावि तहमा म साह्रै कमजोर विद्यार्थी थिएँ । कारण घरमा ‘गाइड’ गर्ने मान्छे कोही थिएन ।

कक्षा दुईमा म फेल भएँ । कारण मलाई ‘क’ लेख्न समेत आउँदैनथ्यो । एक कक्षामा कसरी उकालिएँ, सम्झना छैन । तीन कक्षा म मुश्किलले तेस्रो श्रेणीमा पास भएको थिएँ । त्यसवेला तीन कक्षा जिल्लास्तरीय हुन्थ्यो । कक्षा चारमा पुगेपछि पढाइ आफ्नै लागि हो भन्ने भावना पैदा भयो । त्यसैले पढाइमा जतिसक्दो ध्यान दिने प्रयासगर्थेँ । कक्षा चारमा म अङ्ग्रेजी र गणितमा फेल भएँ । दुई विषयमा फेल हुनेलाई विद्यालयले एक महिनाको ‘कोचिङ’ कक्षाको व्यवस्था गरयो र पुनः मौका परीक्षा दिने अवसर दियो । ‘कोचिङ’ कक्षाले अङ्ग्रेजी, गणित सुधार गर्ने मौका पाइयो । फलस्वरुप कक्षा चारमा ‘व्याक’ लागेको विद्यार्थी कक्षा पाँचमा एकैपल्ट दोस्रो भएँ । कोचिङको करामतले मेरो दाइ ऋषिराज चौधरीलाई कक्षा ६ मा ‘व्याक’ लागेकोमा कक्षा ७ मा एकैपल्ट पहिला हुनुभयो ।

‘व्याक’ परीक्षाको योजना ल्याउने श्रेय तत्कालीन प्रधानाध्यापक राजेन्द्रप्रसाद चौधरीलाई जान्छ । वास्तवमा व्याक परीक्षाको योजना नल्याएको भए म औसत विद्यार्थीको रूपमा मात्रै हुन्थेँ कि ! प्रधानाध्यापक चौधरीका अरू पनि विशेषता थिए । उहाँ कक्षा कहिल्यै खाली हुन दिनुहुन्नथ्यो । विषय नमिले पनि पढाउने उहाँको बानी थियो । त्यो विषय कहिल्यै नपढाउनेले पढाउँदा विद्यार्थीमा अझ् उत्सुकता र रुचि जाग्दोरहेछ । पछि उहाँले खाली कक्षामा सोही कक्षाको उत्कृष्ट विद्यार्थीले पढाउने नियम बसाउनुभयो । ७ कक्षामा म पहिलो भएँ । त्यसपछि घण्टी खाली भएको बेला कक्षाको पहिलो विद्यार्थीको नाताले मैले पढाउनु पथ्र्यो । यसरी विद्यार्थी छँदै म एकप्रकारले शिक्षक बन्न पुगेको थिएँ । विद्यार्थीलाई शिक्षकको जिम्मेवारी सुम्पिने आँट र ‘आइडिया’ अरू कसैको नभएर राजेन्द्र सरकै थियो ।

अग्लो, हृष्टपुष्ट शरीर र रवाफिलो बोलीले विद्यार्थी राजेन्द्रसरसँग तर्सिन्थे । उहाँको रवाफिलो बोलीले विद्यालयको वातावरण शान्त बनाउन मद्दत गरेको थियो । विद्यालयमा अनुशासन कायम थियो । उहाँले कसैलाई काखा, कसैलाई पाखा कहिल्यै गर्नु भएन । प्रशासन चलाउने प्रधानाध्यापकमा ओजपूर्ण आवाज हुनैपर्छ, जुन उहाँमा थियो ।

अमेरिकामा अङ्ग्रेजी विषयको तालिम लिएपछि राजेन्द्र सर अझ् खारिनुभएको थियो । उहाँले अमेरिकन स्वयंसेवक शिक्षक एमी एकरलाई विद्यालयमा भिœयाउनुभयो । यसपछि कक्षामा पूर्णरूपले अङ्ग्रेजी वातावरणमा पढाइ हुनथाल्यो । शुरु शुरु मा गाह्रो लागे पनि पछि अङ्ग्रेजी बुझइ सहज हुँदै गयो । एमीले ६ र ७ मा अङ्ग्रेजी पढाउँथिन् । पाठयोजना बनाएर ल्याउने र कालोपाटीमा टेपले टाँसेर पढाउने उनको शैलीले थोरै समयमा सबैको मन जित्यो । त्यसरी पाठयोजना बनाएर हराम्रो स्कूलमा कुनै शिक्षकले पढाएनन् । एक दिन राजेन्द्र सरले अङ्ग्रेजी सिकाइको लागि नयाँ योजना ल्याउनुभयो । उहाँले भन्नुभयो, “अमेरिकन शिक्षकले पूर्णरूपले अङ्ग्रेजी पढाएका तिमीहरूले बुझेकै हौ । म पनि अब पूरै घण्टी अङ्ग्रेजीमै बोल्छु । कुनै प्रश्न भए तिमीहरूले अङ्ग्रेजीमै गर्ने छौ । कसैले नेपाली बोल्न पाउने छैन । बोलेमा प्रति वाक्य १० पैसा जरिवाना लाग्नेछ ।” यस्तो नियम लागू भएपछि कक्षा अनुगमन गर्ने र जरिवाना असुल्ने जिम्मेवारी मै माथि परयो । म आफैँ पनि ‘फाइन’ तिर्नुेमा परें । तर यसले अङ्ग्रेजी सिक्ने अवसर दियो ।

विज्ञान शिक्षक प्रकाश कुमार चौधरी पनि नअड्किइकन सरासर पढाउनु हुन्थ्यो । म पहिलो बेन्चमा बस्थेँ । एकदिन पढाइरहेको समयमा मलाई उहाँले बाहिर हेरेको देख्नुभयो र झ्पार्नुभयो, “कक्षा बाहिर हेर्ने भए म तिमीलाई सबैभन्दा पछिल्लो बेन्चमा बसालिदिन्छु । विद्यार्थीको नजर सधैँ पढाउने शिक्षकमै केन्द्रित हुनुपर्छ, अनि मात्रै पढाएको राम्ररी बुझन्छि ।” यो घटनापछि मैले पढाइरहेको समयमा कक्षा बाहिर हेर्ने धृष्टता गरिनँ ।

९ र १० कक्षामा अनिवार्य र ऐच्छिक गणित पढाउने श्यामबहादुर त्रिपाठी सरको पढाइले भने मलाई कहिल्यै प्रभाव पार्न सकेन । शायद उहाँगेसपेपर हेरेर पढाउन आउनुहुन्थ्यो । कालोपाटीमा प्रश्न हल न गर्दै पुछारमा उत्तर लेखिसक्नुहुन्थ्यो ।

कक्षा १, २ र ३ मा पढ्दा पाएको सजाय म जिन्दगीभरि भुल्न सक्दिनँ । मैले कुखुरा नबनेको कुनै दिनै हुन्नथ्यो । कुखुरा बन्न नसक्ने धेरै साथीहरूले त्यतिबेलै पढाइछाडे । कुखुरा बनाउँदै पिठ्युँमा झेला, त्यस माथि इँटा थपिँदिँदै शिक्षक प्रेम चौधरीले भन्नुहुन्थ्यो, “यो केटोले कहिल्यै उन्नति गर्न सक्दैन ।” आज मैले स्नातकोत्तर पूरा गर्दा उहाँ आश्चर्यचकित हुनुहुन्छ ।

मेरो अनुभवले भन्छ पाठयोजना बनाएर कक्षामा पढाउने, विद्यार्थीको मनोभावना बुझने, अतिरिक्त क्रियाकलाप गराउने, घण्टी खाली हुन नदिने, सजायले मात्रै विद्यार्थीले सिक्न सक्छन् भन्ने भावना त्याग्नेगुण भएका शिक्षक राम्रा हुन् । विद्यार्थी अनुशासित र सफासुग्घर भएको देख्न चाहने शिक्षक आफू पनि यस्तोगुणले युक्त हुनुपर्छ ।     

कृष्णराज चौधरी, दाङ

commercial commercial commercial commercial