केटाकेटीलाई सिक्न दिऊँ, आफैं सिक्छन्

इटालीको सान लोरान्जोको एउटा पुरानो ‘अपार्टमेन्ट’का साना केटाकेटीहरू पहेँला, फोहोरी, राम्ररी खान नपाएका, राम्रोसँग घाम पनि देख्न नपाएका, दुब्ला, पातला र ख्याउटे थिए । उनीहरूमा कुनै कुरा प्रति खासै चाख पनि थिएन । तीमध्ये सबैजसोका बाबुआमा काम गर्न जान्थे र दाजुदिदीहरू स्कूल जान्थे । तर स्कूल जाने उमेर नभएका केटाकेटी भने घरमा आफूखुसी खेल्थे र मनलाग्दी गर्थे ।

७ जनवरी १९०७ का दिन सान लोरान्जोमा एउटा नयाँ काम शुरु भयो । त्यहाँका केटाकेटीहरूलाई एकै ठाउँमा राखेर दिनभरि हेरविचार गर्ने योजना बनाइयो र त्यसको जिम्मा त्यही अपार्टमेन्टको व्यवस्थापककी छोरी क्यान्डिडालाई दिइयो । केटाकेटीहरूलाई एउटा ठूलो कोठामा भेला गरियो । तिनीहरू खासै उत्सुक र उत्साही देखिँदैनथे । पहिलै दिन कालो लुगा लगाएकी एक जना महिला कोठाभित्र पसिन् र भनिन्, “मेरो नाम डा. मन्टेश्वरी हो । यो ‘केटाकेटीको घर’मा तिमीहरूलाई स्वागत छ ।” मन्टेश्वरी पहिलो दिन नै ती खिनौटे केटाकेटीका मनमा बालसुलभ उत्सुकता जगाउन सफल भइन् । उनीहरूका अनुहारमा अलिकति मुस्कान थपिदिइन् र त्यही क्षणमा उनले थाहै नपाई आफू अमर हुने एउटा अद्भुत कामको थालनी पनि गरिन् ।

मारिया मन्टेश्वरीलाई केटाकेटीको त्यो घर स्थापना गर्न बोलाइनु उनका लागि एउटा यस्तो अवसर थियो जसलाई उनी व्यग्रताका साथ पर्खिराखेकी थिइन् । मारियाले त्यसअघि एउटा संस्थामा आबद्ध भएर मानसिक रूपमा अपाङ्ग केटाकेटीहरूसँग काम गरेकी थिइन् । सामान्य चलनचल्तीका शिक्षण सामग्रीहरूको सट्टा उनले ‘ज्ञानेन्द्रियहरूमा आधारित सामग्री’हरूको विकास गरिन् । केटाकेटीहरूले ती सामग्रीहरूलाई छोएर, हेरेर, सुँघेर र सुनेर विभिन्न कुरा सिक्न सक्दथे । ती अपाङ्ग केटाकेटीमाझ् मन्टेश्वरीले बनाएका विभिन्न स्वरूप र आकारका उज्याला ज्यामितीय र गणितीय सामग्रीहरू, अनौठा बास्ना, खस्रो र चिल्लो सतहको अनुभवको आधारमा सिकाउने शिक्षण विधि धेरै नै सफल सावित भएको थियो । त्यो विधि अन्य केटाकेटीहरूमा पनि प्रयोग गर्ने अवसरको खोजीमा थिइन् उनी ।

शुरुमा उनले केटाकेटीको त्यो घरमा पूरा समय दिन पाएकी थिइनन् । किनभने त्यतिखेर उनी रोम विश्वविद्यालयमा पूर्णकालीन प्राध्यापक थिइन् । त्यसबाहेक उनको शल्यक्रियाको निजी क्लिनिक पनि थियो । उनी नारीवादी आन्दोलनहरूमा प्रवचन दिन देशभित्र र बाहिर पनि गइरहन्थिन् । ३७ वर्षकी मारिया मन्टेश्वरी चिकित्सक, प्राध्यापक र महिला अधिकार अभियन्ताका रूपमा इटालीभित्र परिचित भइसकेकी थिइन् । तर उनले सान लोरान्जोमा शुरु गरेको कम महत्वपूर्ण लाग्ने कामले उनलाई विश्व–विख्यात बनाउँदै थियो ।

यस्ता खुला कक्षामा बालबालिका अनुशासित भएर सिक्लान् भन्ने कुरा त्यतिबेला कमैले विश्वास गर्थे तर मन्टेश्वरीको विश्वास थियो, अनुशासन बालबालिकाको भित्री अनुभवबाट आउँछ । अन्ततः उनी सही सावित भइन् ।

‘केटाकेटीको घर’मा केन्डिडा पूर्णकालीन रूपमा काम गर्थिन् । मारिया उनलाई सघाउँथिन् । उनी त्यहाँ सकेसम्म धेरै समय उपस्थित भएर केटाकेटीहरूको व्यवहारको अध्ययन गर्थिन् । आफूले पहिले मानसिक रूपमा अपाङ्ग केटाकेटी सामु प्रयोग गरेका शिक्षण सामग्रीहरूको सेट उनले त्यहाँ झिकाइन् ।  केटाकेटीले ती सामग्रीसित खेल्दाखेल्दै र गल्ती गर्दा गर्दै सिक्थे । यसको सबैभन्दा प्रमुख सिद्धान्त ‘केटाकेटीहरूले आफैंले पत्ता लगाउँछन् र सिक्छन्’ भन्ने हो । उनले केन्डिडालाई केटाकेटीको खाली हेरविचार मात्र गर्नु तर उनीहरूलाई केही पनि नसिकाउनू भनेकी थिइन् । उनको अनुसन्धान, केटाकेटीहरू आफैं आफ्ना लागि उपयुक्त क्रियाकलाप हरू छान्छन् र कुनै सामग्रीबाट के गर्ने भन्ने आफैं पत्ता लगाउँछन् भन्ने मान्यतामा आधारित थियो ।

त्यतिखेरका स्कूलहरूमा केटाकेटीहरूलाई अनुशासित रूपमा बसाउने र शिक्षकले भनेका कुरा दोहोर्‍याउन लगाउने पट्यारलाग्दो शिक्षण विधि प्रचलित थियो । त्यो विधिले केटाकेटीको बालसुलभ उत्सुकता र जिज्ञासालाई मारिदिन्थ्यो । मारियालाई त्यतिखेरका स्कूल जेलजस्ता लाग्थे जहाँ शिक्षक खरो आवाजमा बोल्थे, विरलै मुस्कुरा उँथे र केटाकेटीलाई स–साना कुराहरूमा पनि सजाय दिन्थे । विद्यालय भवनहरू पनि अँध्यारा र साँघुरा थिए । अध्ययन अघि बढ्दै जाँदा मन्टेश्वरीले केटाकेटीको सिक्ने क्षमताको सम्बन्ध शारीरिक स्वास्थ्य र खानपानसँग रहेको प्रमाणित गरिन् । उनले केटाकेटीलाई जबर्जस्ती कुनै पनि कुरा सिकाउनु वा पढाउनु हुँदैन भन्ने धारणाको सुरुआत गरिन् । उनले भनिन्, केटाकेटीहरूलाई सही सामग्री र अनुभव गर्ने मौका दियो भने उनीहरू सिक्नका लागि आफैं उत्सुक हुन्छन् । केटाकेटीहरू साढे दुई वर्ष देखि ६ वर्षसम्म संवेदनशील समयबाट गुज्रिन्छन् जतिखेर उनीहरूको दिमाग सिक्नका लागि अरू उमेर समूहको भन्दा फरक ढङ्गले खुला हुन्छ भन्ने कुरा मारियाको अनुसन्धानले प्रमाणित गर्‍यो ।

मारियाले विकास गरेका सामग्री र उनले तयार गरेको वातावरणले केटाकेटीलाई स्वतन्त्र र विचार शील हुने अवसर दियो । ‘ज्ञानेन्द्रियमा आधारित सामग्री’ले केटाकेटीलाई स्पर्श, दृश्य, आवाज वागन्धको अनुभव दिन्थे । विभिन्न मोटाइका सीधा सिलिन्डरहरू र त्यत्रै दुला भएका बोर्डबाट केटाकेटीले आकार र नापको अन्दाज पाउँथे । १ देखि १० सेन्टिमिटर आकारका घनाकार टुक्राबाट विभिन्न आकारका टावर बनाउन सकिन्थ्यो । उनका अन्य सामग्रीमा वर्गाकार छड, बोर्ड र फरक तहमा खस्रोपना भएका कार्ड तथा विभिन्न किसिमका सतह भएका सामग्री र ज्यामितीय आकारका ट्रेडरू थिए । तिनलाई एकअर्कामा मिलाउन सकिन्थ्यो । हरेक समूहका सामग्रीले नाप–जोख,गन्ती, आयतन, क्षेत्रफलजस्ता विभिन्न विषयको ज्ञान दिन्थे ।

केटाकेटीहरूलाई ती सामग्री कसरी प्रयोग गर्न सकिन्छ भनेर मात्र सिकाइन्थ्यो, के गर्ने भनेर होइन । उनीहरूलाई ती सामग्रीहरू माथि विभिन्न खालका प्रयोग गर्ने छुट थियो । मन्टेश्वरी विधिको केन्द्रमा रहेको मान्यता हो, ‘केटाकेटीहरू काम गर्न चाहन्छन् र उनीहरूको उमेर र विकास सँग मिल्दो छ भने उनीहरू धेरै मेहनत गरेर त्यो काम गर्छन् ।’ केटाकेटी प्राकृतिक रूपमा जे गर्छन् त्यहीबाट यो विधि निस्कियो । मारियाको विश्वास थियो, आफैंलाई  कसरी सिकाउने भन्ने कुरा सबैभन्दा बढी केटाकेटीहरूलाई नै थाहा हुन्छ । आजभोलि मन्टेश्वरीका सबै कुराहरू स्वीकार नगरिने स्कूलहरूमा पनि शिक्षा शिक्षकहरूबाट होइन, केटाकेटीबाटै शुरु हुन्छ ।

मन्टेश्वरी पद्धतिको एउटा अर्को विशेषता, केटाकेटीहरूलाई कोठाबाहिरको क्रियाकलाप बाट सिक्न प्रोत्साहित गरिनुपर्छ भन्ने हो । सिक्ने सिकाउने क्रममा मन्टेश्वरी विधिका सबै सामग्रीहरू प्रयोग हुनुपर्छ भन्ने छैन । केही सामग्रीलाई केटाकेटीले वास्ता गर्न सक्छन् र तिनलाई त्यसै रहन दिनुपर्दछ । उनीहरूलाई सामग्री छान्ने स्वतन्त्रता दिइनुपर्छ । यसरी मारियाले विस्तारै केटाकेटीको क्रियाकलाप को मिहिन अध्ययन र विश्लेषण गरी छुट्टै पद्धतिको विकास गरिन् । उनको अध्ययनबाट के निक्लियो भने केटाकेटीहरू खेल्नभन्दा पनि काम गर्न बढी मन पराउँछन्, उनीहरू सिक्न चाहन्छन् तर आफ्नै तरिकाबाट । हामी उमेर पुगेकाहरू पनि त्यसै गर्न रुचाउँछौं । हामीलाई चेस वा तास खेलिरहन दबाब दिइयो भने त्यो हामी रुचाउँदैनौं  ।  मारिया केटाकेटीहरूलाई ख्याल–ख्यालका होइन साँच्चिकै क्रियाकलाप हरू गर्न दिइनुपर्छ भन्ने कुरा मा विश्वस्त थिइन् । केटाकेटीहरू आफ्नो वातावरणको जिम्मा लिएर पनि काम गर्न सक्छन् । मन्टेश्वरी स्कूलमा खाना पकाउने, बगैँचा गोड्ने, बोटबिरुवामा पानी हाल्ने, सरसफाइ गर्ने जस्ता घरेलु काम पनि महत्वपूर्ण मानिन्छन् ।

केटाकेटीको उक्त घर स्थापना भएको दुई वर्षपछि , सन् १९०९ मा नै मारियाको काम अनुसन्धानको तहबाट अघि बढेर एउटा अभियान वा आन्दोलन नै भइसकेको थियो । सन् १९१० मा उनको पुस्तक मन्टेश्वरी विधि निस्कियो । यसमा उनले केटाकेटीको घरबाट सिकेको कुरा लेखेकी छिन् । केटाकेटीहरू कुनै काममा आफू पूर्णतः विश्वस्त नहुन्जेलसम्म त्यसलाई दोहोर्‍याइरहन्छन् । कुन सामग्री प्रयोग गर्ने वा न गर्ने भन्ने सन्दर्भमा उनीहरूलाई छनोटको स्वतन्त्रता चाहिन्छ । खोजेको बेलामा सामान हरू भेटिउन् भनेर उनीहरू कोठाका सामान हरू सही ठाउँमा मिलाएर आफैं राख्छन् । उनीहरू सफा बस्न र अरूसँग राम्रो व्यवहार गर्न चाहन्छन् ।

धेरै मानिसहरू पढ्न र लेख्न जान्नु कुनै पनि केटाकेटीका निम्ति सबैभन्दा महत्वपूर्ण कुरा हो भनी ठान्छन् । तर मारियाले जब केटाकेटीको घर मा आफ्नो काम थालिन्, तब उनी केटाकेटीहरूलाई ‘आफूले आफैंलाई पत्ता लगाउनु’ र उनीहरूलाई आफ्नो वरिपरिको वातावरणमा खोजी गर्न सिकाउने कुरा मा धेरै रुचि राख्थिन् । मारियाले आफ्नो पहिलो अनुभवबाट के भनिन् भने केटाकेटीहरू लेख्न र पढ्न तबमात्र चाँडै सिक्छन् जब उनीहरू त्यसप्रति आफैं  रुचि राख्छन् । यस क्रममा मारियाले केटाकेटीलाई पहिले लेख्न र त्यसपछि मात्र पढ्न सिकाउने गर्न थालिन् । लेख्न सिकाउने क्रममा उनले ज्ञानेन्द्रियसँग सम्बद्ध आधारित सामग्रीहरूको प्रयोग गरिन् र त्यसको सहायताले विभिन्न किसिमको सतह भएका कार्डबोर्डको प्रयोग गरेर अक्षरहरूलाई छामेर सिक्ने वातावरण बनाइन् । यसले केटाकेटीहरूलाई अक्षर देख्न र चिन्न मात्र नभई महसूस गर्ने अवसर पनि दियो । यो विधि धेरै नै सफल भयो । यसले उनीहरूले अनुभव गरेका अक्षरहरू लेख्नलाई केटाकेटीमा रुचिको विस्फोट नै भयो । केटाकेटीहरू जताततै लेख्न थाले— भित्तामा, ढोकामा, झयालमा र रोटीका टुक्राहरूमा पनि ।

केटाकेटीहरूले लेख्न जानिसकेपछि मात्र उनीहरूलाई पढ्न सिकाइयो । यसपछि केटाकेटीहरू सबैथोक पढ्न थाले— कक्षामा टाँसिएका सूचना, बजारका साइनबोर्ड आदि । यस्तो भएको केही हप्तापछि मात्र उनीहरूको रुचि किताब पढ्नतिर लाग्यो । केटाकेटीहरूले किताबमा भएका कुरा लाई भन्दा साँच्चिकै दुनियाँमा भएको पढ्ने कुरालाई बढी महत्व दिए ।

मारिया मन्टेश्वरीबाट विश्वले केटाकेटीहरू कसरी सिक्छन् भन्ने बारेमा धेरै कुरा बुझयो । त्यो हो, केटाकेटीको आफ्नै दुनियाँ हुन्छ र त्यहाँ स्वतन्त्ररूपले बाँच्ने उनीहरूको नैसर्गिक अधिकार हो । यदि उमेर पुगेकाहरूले केटाकेटीहरूलाई आफ्नो तरिकाले सोच्न बाध्य तुल्याउनुको साटो उनीहरूबाट सिक्ने प्रयास गर्न थाले भने यो दुनियाँ बाँच्नका लागि अझ् सुन्दर हुनेथियो भन्ने उनको अनुसन्धानको सार हो ।  

पछि डा. मन्टेश्वरीले ‘केटाकेटीहरूको घर’मा गरेको आफ्नो अध्ययनको बारेमा लेखिन् जसमा उनले केटाकेटीहरू कसरी सिक्छन् र व्यवहार गर्छन् भन्ने कुरा को बारेमा उनी महत्वपूर्ण ज्ञानका टुक्राहरूसम्म कसरी पुगिन् भन्ने कुरा उल्लेख गरे की छन् । उनका केही महत्वपूर्ण पुस्तकहरूमा  "The Montessori Method, The Obsorment Mind, The Secret of childhood, What You should Know About Your Child, The discovery of The Child"  पर्दछन् ।

मारिया मन्टेश्वरी नामक पुस्तकबाट
भावानुवादः भाष्कर काफ्ले

२०६६ वैशाख अंकमा प्रकाशित । 


commercial commercial commercial commercial