धेरै समस्याको जरो कमजोर प्रअ

धेरै शिक्षकले प्रअ पदलाई झनझटिलो ठान्दछन् । प्रअलाई व्यवस्थापनबापत कम सुविधा भएर नै यसमा सक्षमहरू आकर्षित नभएका हुन् ।

वि.सं. २०२८ देखि २०६५ सम्म शिक्षण पेशामा रहँदाका ३७ मध्ये ३० वर्ष हेडमास्टरका रूपमा स्कूलमा क्रियाशील रहेँ । आक्कल–झुक्कलबाहेक मेरो अधिकतर समय दाङ–देउखुरीको बाल जनता उच्च माविमै बित्यो ।

विद्यालयमा नयाँ–नयाँ विद्यार्थीहरूको आउजाउ भइरहने हुनाले यो अरू पेशाजस्तो पट्यारलाग्दो हुँदैन । चलाख विद्यार्थीबाट आफूले पनि सिक्न पाइन्छ । त्यसैले, शिक्षण पेशा मलाई रमाइलो लाग्थ्यो ।

मैले छाडेपछि विद्यालय लथालिङ्ग भएको देख्दा भने अहिले मेरो मन दुख्छ । हालैको एक घटना उदाहरणका रूपमा उद्धृत गर्न चाहन्छु । मैले पढाएको विद्यालयमा राहत कोटाका लागि शिक्षक मागिएको थियो । त्यस्तो शिक्षक नियुक्ति गर्न शिक्षा नियमावली अनुसार लिखित परीक्षामा पास भएकामध्येबाट तीन जनालाई मौखिक परीक्षाका लागि छानिनुपर्छ । तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुपनारायण चौधरीले प्रअ दानबहादुर चौधरीलाई पाँच जनाको नाम राख्न दबाब दिएछन् । अन्तर्वार्ता लिन आएका जिशिअ कार्यालयका प्रतिनिधि दण्डपाणि न्यौपानेले पनि ‘यहाँ नियमविपरीत काम भएको छ, म अन्तर्वार्तामा बस्दिनँ’ भनेनन् । अन्ततः नतिजामा पहिल्यै नै निर्णय गरिएको पाँचौँ नम्बरको उम्मेदवारलाई जबर्जस्ती नम्बर थपी १ नम्बरमा पारेर नाम निकालियो । जबकि सो उम्मेदवार नियमबमोजिम मौखिकमा बस्न योग्यसमेत थिएन । १ नम्बरमा हुनुपर्ने उम्मेदवारलाई वैकल्पिकमा झरियो । यो सरासर विद्यालय व्यवस्थापन समिति र जिशिअ कार्यालय प्रतिनिधिको बदमासी थियो ।

वैकल्पिकमा नाम निस्किएका उम्मेदवारले जिशिकामागई आफूले जाँच दिएको कापी हेर्दा सफल उम्मेदवारभन्दा आफूले दोब्बर नम्बर पाएको तथा मौखिकमा पनि १ प्वाइन्टको मात्र फरक पाएपछि न्यायका लागि अदालतको ढोका घच्घच्याएका छन् । आर्थिक लेनदेन गरी योग्यलाई फ्याँकी अयोग्य उम्मेदवारलाई नियुक्ति दिएको कुरा सुन्नमा आएको छ । यस्तै घूस ख्वाएर आउने शिक्षकले स्कूल र शिक्षाको स्तर बिगार्छन् । तिनले हेडमास्टरलाई पनि टेर्दैनन् । त्यहाँका प्रअ आफू निरीह हुँदाको परिणाम हो यो ।  

प्रअलाई निरीह बनाउनमा अहिलेको शिक्षा नियमावली जिम्मेवार छ । हराम्रो पालामा आयोग लडेर प्रअ भइयो । त्यसैले, उस बेला प्रअ अधिकारपूर्ण थियो । अहिले विद्यालय व्यवस्थापन समितिले विद्यालयमा अध्यापनरत तीन जना शिक्षकको नाम प्रअका लागि जिशिकामा पठाउँछ । त्यसैले, प्रअ बनाउने अधिकार अप्रत्यक्षतः व्यवस्थापन समितिमै निहित हुन्छ । यस्तोमा व्यवस्थापन समितिले दबाब दिई नियम मिचेर आफ्नो मान्छेको नाम सिफारिस गराउन बाध्यगराउँछ । प्रअ आयोगबाट छनोट भई हटाउन नसकिने प्रावधान नहुँदासम्म व्यवस्थापनको डरमा काम गर्नु पर्ने बाध्यता कायमै रहन्छ ।

विद्यालय व्यवस्थापन समितिमा अहिले चर्काे राजनीतिक चलखेल छ । त्यसैले, पदाधिकारी विद्यालय व्यवस्थापन कम, राजनीति गर्न बढी आएका हुन्छन् । ती सधैं पार्टी नजिकको व्यक्तिलाई शिक्षक बनाउने ध्याउन्नमा हुन्छन् । तर प्रअले शिक्षा नियमावलीसमेत राम्ररी बुझेर त्यसैमा अडिग रही काम गर्ने हो भने व्यवस्थापन समितिको दबाबलाई मत्थर पार्न सकिन्छ ।

धेरै शिक्षकले प्रअ पदलाई झन्झ्टिलो ठान्दछन् । प्रअलाई व्यवस्थापनबापत कम सुविधा भएर पनि यसमा धेरैको आकर्षण नबढेको हो । त्यस्तै, व्यवस्थापन तालिम पनि पर्याप्त छैन । प्रअ प्राज्ञिक तहमा उत्कृष्ट छँदाछँदै नेतृत्वमा कमजोर भयो भने उसको प्रज्ञा पनि काम लाग्दैन ।

दाङको देउखुरी उपत्यकामा सबैभन्दा पहिले माविलाई उच्च मावि बनाएँ मैले । धेरैले मलाई फलानाले आफ्नो खुट्टामा आफैँ बन्चरो हान्दैछ भन्थे । किनभने प्राचार्य हुनलाई एमए गर्नु पथ्र्याे । म बीए मात्रै थिएँ । पढाइ छाडेको धेरै भए पनि विद्यालयलाई उच्च मावि बनाउने निर्णयसँगै एमएडमा भर्ना भएँ र सरासर पास पनि गरें । माविको हेडमास्टरी गरेको इखले मलाई उमाविको प्राचार्यसमेत बनायो । जबकि मसँगैको दौँतरीहरूले हेडमास्टरीले नै फुर्सद नहुने बहाना देखाई एमए पास गर्न नसक्दा जुनियरको तल बस्ने बाध्यता आइपरयो ।

प्रअ छोड्नुअघि मेरो एउटै सपना थियोः विद्यालयलाई भौतिक रूपमा पनि व्यवस्थित बनाउने । निकै दौडधुप गर्दा भारतीय राजदूतावासबाट दुई करोड रकम निकासा गराई व्यवस्थित विद्यालय भवन बनाएपछि मात्र स्कूल छाडेँ । विद्यालय भौतिक रूपमा व्यवस्थित नहुँदा शैक्षिक गुणस्तर मा असर पर्छ ।

म दाङ र बर्दियामा गरी केही वर्ष जिशिअ पनि भएँ । कार्यालयप्रमुखको हिसाबले जिशिअ व्यवस्थापकीय पद हो । तर प्रअ योभन्दा नितान्त फरक हो । विद्यालय व्यवस्थापनसँगै विद्यार्थीको प्रत्यक्ष भविष्यसँग जोडिएकोले प्रअको भूमिका विद्यालयमा सबैभन्दा बढी जिम्मेवार हुन्छ । विद्यालयलाई कता डोर्‍याउने भन्ने कुरा को साँचो प्रअसँगै हुन्छ ।

प्रस्तुतिः कृष्णराज सर्वहारी

commercial commercial commercial commercial