जीवन सार्थक बनाएँ, सन्तुष्ट छु

जिन्दगीका ३८ हिउँद बर्खा मैले शिक्षण पेशामा बिताएँ । यो पेशामा कसैको चाकरी गर्नु पर्दैन, कसैसँग सम्झौता गर्नु पर्दैन, त्यसैले मैले यो पेशा रोजें । यो पेशाले मलाई सधैं स्वतन्त्र रहन दियो । एउटा शिक्षकका रूपमा मैले कहिल्यै पनि स्वविवेक र अन्तरात्माको आवाजलाई बेवास्ता गर्न र सत्यको साथ छोड्नु परेन ।

त्रि–चन्द्र कलेज देखि हाल कलेज अफ अप्लाइड बिजनेससम्म आइपुग्दा मैले हजारौँ विद्यार्थीलाई पढाएँ हुँला । मेरा विद्यार्थीका लागि म कहिले अभिभावक बनें, कहिले साथी, कहिले पथप्रदर्शक त कहिले निरीक्षक । यी सबै भूमिकामा मैले सधैँ अधिकतम र कमजोर विद्यार्थीलाई गर्न सक्ने जति न्याय गर्ने प्रयास गरेको छु । मेरो कक्षा लिन आउने विद्यार्थीहरूलाई मैले कहिल्यै छुट्टै ट्युशन पढाइनँ । बरु उनीहरूका लागि म चौबीसै घन्टा उपलब्ध हुन्थें, टेलिफोनमा, बाटोमा, चियापसलमा ।

मेरो जीवनमा अभावहरू नभएका होइनन् । कठिनाई अवश्य थियो । तर श्रीमतीको र मेरो इमान्दार कमाइले हामीलाई व्यवहार धान्न पुगेकै थियो । आफ्नो विश्वास बेचेर मैले विद्यार्थीहरू माथि अन्याय गर्न चाहिनँ । ट्युशन पढाउनतिर लाग्दा टाढा–टाढाबाट आएर क्याम्पसको कोठामा, बेन्चमा, डेस्कमा, भुईंमा, झयालमा बसेर र उभिएरै पनि मेरो कक्षा लिन चाहने विद्यार्थी माथि मैले न्याय गर्न सक्दैनथें । विद्यार्थीहरूको सफलतालाई नै मैले आफ्नो सफलता र उनीहरूको असफलता आफ्नो असफलतालाई मान्दै झण्डै चार दशक बिताएँ ।

मेरो शैक्षिक जीवनको ७५ प्रतिशतभन्दा बढी हिस्सा शङ्करदेव क्याम्पसमा बित्यो । मेरो कक्षा धेरै जसो बिहानी सत्रको पहिलो पिरियड हुन्थ्यो । प्रायः जसो बिहान सवा छ बजे शुरु हुने मेरो कक्षामा सवा ६ ठीक सवा ६ बजे नै बज्थ्यो, न एक मिनेट छिटो, न एक मिनेट ढिलो । मलाई कहिल्यै पनि हुरी, पानीले कक्षामा पुग्न छेकेनन् । ३८ वर्ष पढाउँदा कक्षा चलेको बेला मुश्किलले ३८ दिन कक्षामा अनुपस्थित भएँ हुँला– आँखाको अपरेशन या अरू कुनै आकस्मिकताका कारण । कुनै दिन शरीर आलस्य र काम गर्न कठिन भयो होला, तर कक्षा लिने सवालमा ती कुरा कहिल्यै बाधक बनेनन् । शायद कक्षाप्रतिको आसक्ति र अनुशासन–चेतनाले त्यस्तो भयो होला । अनुशासनमा चुकियो भने जीवनका अन्य पक्षमा पनि चुकिन्छ । मैले आत्मसात् गरेको अनुशासनको घेराले मेरो जिन्दगी सार्थक बनेको छ भन्ने ठान्छु ।

मेरो पेशागत र पारिवारिक मूल्यमान्यता एकापसमा बाझदा कतिपय अप्ठेरा क्षणहरू पनि आएका छन् । २९/३० सालतिर को कुरा हो, मेरी दिदीगर्भवती हुनुहुन्थ्यो । उहाँले बी.कम.को जाँच दिनुपर्ने थियो । प्रश्नपत्र मैले नै सेट गरेको थिएँ । तर, मैले “दिदी, यी–यी प्रश्नहरू महत्वपूर्ण छन्, तयारीगर” भन्न सकिनँ । उहाँ फेल हुुनुभयो । यही घटना फेरि मेरी छोरीको केसमा पनि दोहोरियो । उनी पनि फेल भइन्, मैले नै सेट गरेको प्रश्नपत्रमा । जसरी मेरा विद्यार्थीहरू असफल हुँदा मेरो मन दुख्छ, त्यसरी नै दिदी र छोरी फेल हुँदा पनि दुख्यो । तर पनि पेशाको नैतिकतासँग सम्झौता गर्न मेरो विवेकले कहिल्यै उक्साएन ।

रराम्रो गर्ने विद्यार्थीको उचित मूल्याङ्कन होस् र यदि कसैले नरराम्रो गरेको छ भने उसले कम्तीमा पनि आफ्नो मेहनत अनुसारको फल पाओस् भन्ने मेरो सधैंको ध्येय रह्यो । मेरो यही ध्येय सार्थक हुने वातावरण नभएपछि २०६४ सालको माघ महिनामा जागिरअवधि सकिन दुई वर्ष बाँकी हुँदाहुँदै, मैले शङ्करदेव क्याम्पसबाट स्वेच्छिक अवकाश लिएँ । मेरो लागि बुढेसकालको आर्थिक सहारा पेन्सन भन्दा ठूलो थियो मेरो जिन्दगीको विश्वास, मेरा विद्यार्थीप्रतिको न्याय ।

मेरा छोराछोरीहरूले पनि मबाट सहृदयता र इमान्दार कर्तव्यबोधकोगुण सिकेका छन् । मैले उनीहरूलाई दिनसकेको सबैभन्दा ठूलो पैतृक सम्पत्ति त्यही नै हो । एउटा शिक्षक भएपछि पूरा गर्नु पर्ने विद्यार्थीप्रतिको दायित्व पूरा गरेर मैले मेरो जिन्दगी सार्थक बनाएको छु । त्यसमा मलाई गर्व छ । म सन्तुष्ट छु ।

(यो कथन एन्टेना फाउण्डेशन नेपालको कार्यक्रम मेरो जिन्दगी मेरो विश्वास बाट लिइएको हो ।)

commercial commercial commercial commercial