युनियनको औचित्य !

युनियनलाई साँच्चै सम्पूर्ण नेपाली शिक्षकहरूको साझा छाता संस्था बनाउने हो भने अहिलेको साङ्गठनिक प्रारुपमा आमूल परिवर्तन गरी जुनसुकै विद्यालयमा पढाउने शिक्षकले पनि युनियनको प्रारम्भिक सदस्य बन्न पाउने हुनुपर्दछ ।

नेपालमा विद्यालय शिक्षाको विस्तार र शिक्षकहरू सङ्गठित हुने प्रयास, २००७ सालको परिवर्तनपछि सँग सँगै शुरु भएको हो, जुन अद्यापि जारी छ । तथापि स्कूल शिक्षकहरू सङ्गठित हुने प्रक्रियाले मूर्तरुप चाहिँ २०३६ को विद्यार्थी आन्दोलनपछि मात्र लिन सक्यो । त्यतिबेला भूमिगत अवस्थामा रहेको नेकपा मालेको वर्चस्वसहित नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको स्थापना भएको हो । त्यसको बाहिरी आवरणमा प्रजातन्त्रवादी शिक्षकहरू पनि आवद्ध भए– पेशागत सङ्गठनको नाममा । एउटा समय आयो– प्रजातन्त्रवादीहरू त्यहाँ अट्न सकेनन् । प्रजातन्त्रवादी शिक्षकहरूको बेग्लै सङ्गठन– नेपाल शिक्षक संघ २०४७ वैशाख ३० गते खुल्यो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनभित्र आपसी तनाव, विवाद र राजनीतिक मनोमालिन्यपश्चातगठन गरिएको नेपाल शिक्षक संघ संभवतः अहिले पनि सबैभन्दा बढी सदस्य सङ्ख्या भएको शिक्षक संस्था हो ।

त्यतिबेला प्रजातन्त्रवादी र वामपन्थी शिक्षकहरू फुटेको जस्तो देखि ए पनि शिक्षक संघको जन्म नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको औपचारिक विभाजनबाट भएको थिएन । यथार्थमा प्रजातान्त्रिक प्रक्रियामा शिक्षकका संस्थालाई यसरी सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नका लागि त्यो जमर्को गरिएको थियो । त्यो प्रयास शुरु का १–२ वर्षसम्म त सशक्त रूपमा भयो, त्यसपछि का दिनमा के भयो, त्यो सबैका सामु स्पष्ट नै छ ।

समग्र राजनीतिले आफ्नोगन्तव्य बिर्सिएको बेलामा, पेशागत संस्थाहरू पनि राजनीति कम पेशागत बढी हुन नसक्दा उस्तै प्रकृतिका धेरै संस्थाहरू जन्मँदा रहेछन्– पदको भागबण्डाका लागि पनि । त्यसको उदाहरण बनेको छ– नेपाल शिक्षक युनियन । संघ र सङ्गठनको एकता वार्ताका क्रममा बहस शुरु भएको थियो– दुवैको एकीकरण वा संघीय संरचना वा सहज र सबै अट्ने प्रतिस्पर्धात्मक युनियन ? एकताको निरर्थक बहस तथा आ–आफ्नो संस्थाको स्वाभिमान धरौटी राखेर बन्ने महासंघीय संरचनाभन्दा खुल्ला प्रतिस्पर्धाबाट छानिने शिक्षक नेतृत्व जरुरी छ भन्ने कुरा मा यो पङ्क्तिकार पनि थियो । तर युनियन यी दुवै ढाँचाभन्दा फरक आयो । परिणामतः युनियन सबै प्रकारका विद्यालयका शिक्षकको वास्तविक संंस्था बन्न सकेको छैन । यसमा संघ र सङ्गठन बाहेकका संस्थाहरू या त छैनन् या भए पनि ती केही जिल्लामा मात्र सीमित छन् । साङ्गठनिक पक्ष चिन्ताजनक छ । मृतप्रायः संस्थाहरूलाई संस्थापक सदस्यता दिँदै हिँड्नुपर्ने तर विद्यालयमा पढाउने शिक्षकलाई चाहिँ सदस्यता दिन नमिल्ने युनियनको बाध्यता छ । शिक्षकहरूले सीधै सदस्यता नपाउने नेपाल शिक्षक युनियनले कति शिक्षकहरूको प्रतिनिधित्व गर्द छ ? क–कसको हितका खातिर काम गर्द छ ? कसबाट ऊर्जा प्राप्त गर्द छ ? भन्ने जस्ता प्रश्नहरू आजसम्म अनुत्तरित नै छन्

युनियनलाई नेपालका सम्पूर्ण शिक्षकहरूको साझ थलो बनाउने हो भने अहिलेको भागबण्डाको संरचनाभन्दा नितान्त फरक तर विद्यालयमा पढाउने जो कोही पनि सदस्य हुने, तिनीहरूको अभिमतबाट मात्र युनियनको सङ्गठन निर्माण हुने वैधानिक व्यवस्था गरिनुपर्छ । मैले बुझेसम्म, नेपालमा अस्तित्वमा रहेका कतिपय शिक्षकका सङ्गठनहरू युनियनमा आबद्ध छैनन् । त्यतिमात्र होइन, तोकिएका संस्थापक संस्थाबाहेक अरू त्यहाँ प्रवेश गर्न पनि पाउँदैनन् । युनियनको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई प्रत्यक्ष मत दिन पाइँदैन । प्रत्यक्षतः उम्मेदवार हुन पनि पाइँदैन । थाहा पाएसम्म काठमाडौँ जस्ता जिल्लामा समेत युनियनको निर्वाचन हुनसकेको छैन; जबकि युनियनको भागबण्डाको पहिलो कार्यकाल सकिनै लागेको छ । ७५ जिल्लामध्ये धेरैजसोमा निर्वाचन नहुँदै शाही सङ्कटकालमा नै केन्द्रीय निर्वाचन सम्पन्न गर्नु पर्ने बाध्यता युनियनलाई किन परेको थियो भन्ने आजसम्म बुझन सकिएको छैन ।

एकातिर युनियनको स्थापना भएको छ र अर्कोतिर आधिकारिक सामाजिक सौदाबाजी गर्नका लागि राष्ट्रिय स्तर मा नेपाल शिक्षक युनियनको मात्र अस्तित्व राखिएको छ ऐन–नियममा । युनियनकोगठनपश्चात नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जस्ता संस्थाहरूसमेत युनियनको मुख ताकेर बस्न बाध्य भएका छन् । युनियनलाई सरकारको संरक्षण र ऊर्जा प्राप्त भए पनि यसको उदयपश्चात नेपाली शैक्षिक फाँटमा पेशागत हकहितका ठोस उपलब्धि भएको देख्न–सुन्न पाइएको छैन । शिक्षकको तालिम, सुविधा, लाइसेन्स, गुणात्मक शिक्षा जस्ता विषयमा खासै पहल भएको पाइँदैन । सबैतिर युनियनको प्रतिनिधित्व राखिएको छ तर युनियनका प्रतिनिधिहरू जहाँ पनि अन्योल र द्विविधाग्रस्त मान सिकतामा प्रस्तुत हुने गरेको पाइन्छ । आम शिक्षकहरूमा चाहिँ आफ्नो संस्था खोटो–सिक्कामा परिणत हुन लागेको देखेर चिन्ता पैदा भएको छ ।

नेपाल शिक्षक युनियनलाई साँच्चै सम्पूर्ण नेपाली शिक्षकहरूको साझ छाता संस्था बनाउने हो भने अहिलेको साङ्गठनिक प्रारुपमा आमूल परिवर्तन गर्नु पर्दछ र जुनसुकै विद्यालयमा पढाउने भए पनि युनियनको प्रारम्भिक सदस्य बन्न पाउने हुनुपर्दछ । केन्द्रमा कसरी प्रतिनिधित्व गराउने भन्ने कुरा को सहज तरिका निश्चित गरी जुनसुकै तहको अध्यक्ष ता बहुमतीय प्रणालीबाट प्रत्यक्ष मतबाट निर्वाचित हुने प्रावधान राखिनुपर्दछ । युनियनमा आवद्ध हुने प्रक्रिया र शर्तहरू सरल र सहज बनाइनुपर्दछ । युनियन आफैँ पनि मजदुर महासंघको सदस्य हुनुपर्दछ । आबद्ध संस्थाको स्वतन्त्रता र सामाजिक सौदाबाजीको अधिकार खोसिनुहुँदैन ।  

(अधिकारी नेपाल शिक्षक संघका संस्थापक सचिव हुनु हुन्छ ।)

commercial commercial commercial commercial