शिक्षक, निर्वाचन र लोकतन्त्र

सामाजिक सञ्जालमा एउटा भिडियो देखें- जहाँ एउटा बरगदको चौतारी वरिपरि मानिसहरू बसिरहेका छन्। तीमध्येका एक उठेर चौतारीमा उभिएकी एक महिलालाई सोध्छन्- “मिस कुन दललाई मत खसाल्ने होला ?” जवाफ आउँछ- “... दलको ... चुनाव चिह्नलाई भोट दिनुपर्छ,” कुरा सुनिरहेका सबैले त्यो चुनाव चिह्नको पक्षमा नाराबाजी गर्छन्।

निर्वाचनको क्रममा प्रतिस्पर्धा गरिरहेका दल वा प्रत्यासीले आफ्नो पक्षमा प्रचार गर्न अनेक तरीका अपनाउनु स्वाभाविक भए पनि यसरी एक जना शिक्षकलाई कुनै एउटा दलको पक्षमा प्रचार गर्ने विज्ञापनको पात्र बनाइनुले गम्भीर सवालतर्फ संकेत गर्छ। निर्वाचन आचार संहिताको ठाडो उल्लंघन हुने गरी यो विज्ञापनमा एक शिक्षक पात्रको छनोट किन गरियो ? ती पात्र मार्फत व्यक्त सन्देशको सामाजिक असर के हो ?

यो प्रचार सामग्रीले दिने एउटा स्पष्ट सन्देश हो- शिक्षकको सामाजिक प्रभाव हुन्छ। समुदाय शिक्षकको सल्लाहमा आफ्ना सोचाइ व्यवस्थित गर्न रुचाउँछ। हाम्रा बहुसंख्यक शिक्षकहरू विभिन्न दलीय संगठनहरूमा आवद्ध रहने गरेका छन् र संभवतः शिक्षकको त्यही प्रवृत्तिले गर्दा नै यस्ता विज्ञापनमा शिक्षक पात्रको छनोट गरिएको हुनसक्छ। 

तर, यो आलेखमा चर्चा गर्न खोजिएको मूल संकथन हो- के शिक्षकहरूले यसरी आफूखुशी एउटा दलविशेषको चुनाव प्रचार गर्नु उचित हुन्छ ? यो प्रश्न किन सान्दर्भिक छ भने यतिखेर शिक्षकको भूमिकाले पुनर्संरचना खोजिरहेको छ। नेपालमा आवधिक निर्वाचन त भइरहन्छ तर यहाँ विद्यार्थीलाई लोकतन्त्र पढाइँदैन। जब शिक्षकहरू आदर्श चुनाव र लोकतन्त्रको मर्म जस्ता मुद्दामा चुप रहन्छन् तब दलहरूले पाठ्यक्रम र पाठ्यपुस्तक लेख्छन् अनि भीड नै शिक्षक बन्न पुग्छ। 

लोकतन्त्रका सवालमा शिक्षकको चुप्पी लोकतन्त्रकै खिलाफमा मौन समर्थन हो। नेपालमा ‘विचार’ केन्द्रित बहस हुँदैन, हुन्छ त केवल पहिचान र लाभ माथि। लोकप्रिय हुनु भनेको लोकतान्त्रिक हुनु होइन, यो कुरा केवल शिक्षकले नै सिकाउन सक्छ। राजनीतिमा अनुभव गरिने संकट नेतृत्वको होइन, नागरिक विवेकको हो। सोसल मिडियाले आजका नवयुवालाई मुखर त बनाएको छ, तर जागरूक बनाएको छैन। मलाई लाग्छ, शिक्षकहरू पार्टीको प्रचारकको सट्टा प्रबोधक नबनुन्जेल लोकतन्त्र बाँच्न सक्दैन । कसैका लागि चुनाव जित्न सजिलो होला तर सच्चा प्रतिनिधि बन्न कठिन। तटस्थ शिक्षक प्रायः अन्जानवश अनैतिक राजनीतिका सहायक बन्न पुग्छन्। जहाँ शिक्षकले प्रश्न सोध्दैनन्, त्यहाँ अधिनायकी चिन्तन मौलाउँछ। नेपालमा लोकतन्त्र भाषणले होइन, कक्षाकोठाले मजबूत पार्न सक्छन्। यदि शिक्षक बोलेन, बोल्न चाहेन भने सबैको बोल्ने अधिकार प्रियतावादको कोलाहलमा चेपिन पुग्छ । त्यसैले नेपालमा नयाँ-नयाँ नेतागण भन्दा साहसी शिक्षकको बढी खाँचो छ।

उसो त नेपालमा औपचारिक रूपमा लोकतन्त्र छ, तर लोकतन्त्रको आत्मा पटक-पटक कठघरामा खडा भएको देखिन्छ। यहाँ संविधान छ, समय पूर्व नै चुनाव पनि हुँदैछ तर नागरिक विवेक लगातार कमजोर हुँदै आएको छ। आज चुनाव उत्सव कम र प्रबन्धनको खेल अधिक बन्दै गरेको छ। यस्तो समयमा प्रश्न उठ्छ- नेपालका शिक्षक, जो समाजका बौद्धिक स्तम्भ मानिन्छन्, तिनीहरूले चुनावको समयमा के गर्ने ? के शिक्षकले आफ्नो भूमिकाको महत्व बुझ्रिहेका छन् ? के उनीहरूले आफ्नो हस्तक्षेपलाई मुखर गर्न सकिरहेका छन् ? या दलविशेषका मूल्यहीन झेले बन्न पुगेका छन् ?

आजको चुनावी राजनीतिलाई नजिकबाट नियालियो भने स्पष्ट हुन्छ- चुनावमा मतदाता भन्दा ज्यादा सक्रिय भूमिका दल-बदल, टिकट व्यवस्था, धन, जातीय-क्षेत्रीय गणित र भावनात्मक नाराहरूको हुँदै गरेको छ। उम्मेदवारलाई अन्तिम क्षणसम्म पनि थाहा हुँदैन- अन्ततः उनी कुन दलबाट लड्न पुग्ने हुन् ? मतदाताले पनि यो भेउ पाइराखेका छैनन्- जसलाई उनीहरूले निर्वाचित गर्नेछन्- ती यथार्थमा कसका प्रतिनिधि हुन् ? यो सिङ्गो परिदृश्यमा शिक्षक यदि केवल ‘निष्पक्षता’को नाममा मौन बसे भने त्यो निष्पक्षता होइन, बौद्धिक पलायन ठहरिन्छ। लोकतन्त्र कमजोर भएको ठाउँमा शिक्षकको मौनताले लोकतन्त्र विरूद्ध काम गर्छ। यस्तो बेला जब शिक्षक विवेकको कुरामा अलमलिन्छ, तब देशको राजनीति अशिक्षित नैतिकताको हातमा पुग्छ। यतिखेर विवेकी शिक्षकहरूमा डर स्पष्ट देखिन्छ। त्यो डर- संगठित बहुसत्ताको, दल विशेषको रिसाइको, ‘फलानो समूहको पक्षधर’ भनेर चिनिने अवगालको हो। तर लोकतन्त्रको सबैभन्दा खतरनाक लेवल यो होइन। सबैभन्दा खतरनाक स्थिति हो- ‘नैतिक निष्क्रियता’।

निश्चित रूपमा शिक्षक एउटा व्यक्ति वा चिह्नको प्रचारक बन्नुहुँदैन तर ‘प्रबोधक’ अवश्य नै बन्नुपर्छ। जोड दिएर भन्न चाहन्छु- शिक्षकको काम कुनै पार्टी वा उम्मेदवारको प्रचार गर्नु होइन। तर शिक्षकको काम अवश्य हो कि उसले सोधोस्- यो निर्वाचन नीतिका आधारमा भइरहेको छ कि उन्मादी सोचको आडमा ? के यसले साँच्चै जनप्रतिनिधित्व सुनिश्चित गर्ने हो अथवा केवल सत्ताका नयाँ खेलाडी जुटाउने स्वस्थ जनादेश लिइँदैछ ? कि प्रायोजित भाष्यको प्रतिफल ? चुनाव आयोगले नियम बनाउन सक्छ, प्रक्रिया बढाउन सक्छ, अदालतले फैसला दिन सक्छ तर लोकतान्त्रिक विवेक फैलाउने काम केवल शिक्षकहरूले नै गर्न सक्छन्। आज हाम्रो जनसंख्याको ठूलो हिस्सा भ्रामक सूचना, अर्धसत्य र भावनात्मक उक्साहटको शिकार भइरहेको छ। फेसबुक लाइभ, टिकटक भाषण र यूट्यूबका दृश्यले चुनावी बहस र विश्लेषणलाई सतही बनाइदिएको छ। यहींनेर शिक्षकको भूमिका निर्णायक हुन आउँछ। उनीहरूले नै सिकाउन सक्छन् कि ‘भाइरल’ र विश्वसनीय सामग्री बीचको भिन्नता के हुन्छ ? उनीहरूले ‘लोकप्रियता’ र ‘योग्यता’ समान वा उही कुरा हुँदै होइन भनेर अथ्र्याइदिन सक्छन्। शिक्षकले नै हो हाकाहाकी भन्ने कि आलोचना-असहमति लोकतन्त्रको शत्रु होइन। समय छँदै शिक्षकले यो काम गरेनन् भने नेपालका युवा मतदाता डिजिटल भीडमा अनूदित हुन सक्छन्।

नेपाली राजनीतिको विडम्बना हो- यहाँ ‘निर्वाचित हुनु’ भनेको के हो प्रायः सबैले बुझछन्, तर ‘प्रतिनिधि’ हुन चाहिं निकै कम मात्र जान्दछन्। चुनाव जितेपछि जनतासँग क्रमशः संवाद कमजोर हुँदै जान्छ, प्रतिनिधिसभा दलहरूको अखडा बन्न पुग्छ र संविधानका धारा फगत उद्धरणहरूमा सीमित रहन्छन्। शिक्षकले प्रश्न उठाउनुपर्छ- के प्रतिनिधिको जवाफदेही केवल पार्टीप्रति हो वा जनताका प्रति पनि तिनको केही दायित्व हुन्छ ? यो प्रश्न कुनै एउटा दलविशेष प्रति होइन। यो त सम्पूर्ण राजनीतिक संस्कृतिको खिलाफ हो। र, यो कर्म नै शिक्षकको नैतिक दायित्व हो।

शिक्षकले हेक्का राख्नुपर्छ- स्कूल बाहिर लोकतन्त्र सप्रिरहेको छ कि निस्सासिरहेको ? चौतारी बहस, चिया चर्चा, सामुदायिक बैठक, मिडियामा उपस्थिति, सार्वजनिक संवाद- यी सबै शिक्षकका लागि लोकतान्त्रिक कक्षा हुन् । यदि एउटा जागरुक शिक्षक त्यस्ता ठाउँहरूमा छैन भने बुझनुपर्छ- त्यहाँ अफवाहको पढाइ र बढाइँ भइरहेको छ। यतिखेर जागिरे शिक्षक जताततै देखिए तर निष्ठाका शिक्षक पातलिए ! लोकतन्त्र त्यसै दुब्लाउँदै आएको होइन। 

आज- नाराहरू पाठ्यक्रम बन्दैछन् र भीड शिक्षक बनेर स्थापित हुँदैछ। हामीकहाँ तटस्थ शिक्षकको मिथक लोकप्रिय छ। तर बुझनुपर्ने कुरा के हो भने नैतिक प्रश्नहरू माथि तटस्थता सम्भव हुँदैन। जब संविधानको चीरहरण हुँदै गरेको होस्, चुनावी हिंसालाई सामान्य बनाइएको होस्, पैसा र पावरले जनमत प्रभावित हुँदै गरेको होस्, उन्मादी संकथनहरू व्याप्त हुँदै गरेका होउन्- यस्तो बेला तटस्थ रहनु भनेको तुरुपवाजहरूको पक्षमा खडा रहनु हो। शिक्षकको पक्ष सधैं लोकतन्त्र हुनुपर्छ, अमूक पार्टी, कोही उम्मेदवार होइन। शिक्षक जहिल्यै उच्च मूल्यका साथ देखिनुपर्छ। शिक्षक हुनुको औचित्य पनि यही हो।

के पनि वास्तविकता हो भने आज शिक्षकहरू स्वयं असुरक्षित छन्। मुक्तिनाथ अधिकारीहरूको जस्तो नियति हरदम मडारिइरहेको छ। तर बिर्सिन नहुने तथ्य के हो भने लोकतन्त्र कहिल्यै पनि सुविधाजनक परिस्थितिमा हुर्किंदैन।

इतिहास साक्षी छ- प्रत्येक लोकतान्त्रिक समाजमा शिक्षकले जोखिम उठाएका छन्- कहिले कलमले, कहिले चक-डस्टरले, कुनै बखत प्रश्न गरेर त कहिले मौनता तोडेर। नेपाली लोकतन्त्रलाई ‘हिरो’हरू भन्दा साहसी शिक्षकहरूको जरूरत छ। आज मुलुक जुन चौबाटोमा खडा छ त्यहाँ प्रश्नहरूसँग शिक्षकले आफूलाई अलग राख्न मिल्दैन। यदि शिक्षकले चुनावको समयमा विवेक दिएन भने समाजलाई दिशा कसले देला ? लोकतन्त्रको सवालमा शिक्षकले स्वीकार गर्नुपर्छ- उनीहरूको मौनता पनि एउटा राजनीतिक वक्तव्य हो- ‘प्रायः गलत वक्तव्य’ ! लोकतन्त्र जोगिने र जागिरहने भनेको बन्द कोठामा होइन, सोच्न प्रेरित गर्ने कक्षाहरूबाट नै हो। र, त्यस्तो कक्षा अन्ततः शिक्षकले नै बनाउने हो।

लोकतन्त्र एउटा शासन-पद्धति मात्र नभएर समाजमा लोकतान्त्रिक चेतना निरन्तर सञ्चारण गर्ने माध्यम पनि हो। लोकतन्त्र मतदानको दिनमा जन्मिन्छ भन्ने ठान्नु ठूलो भूल हो । लोकतन्त्र त सदैव निर्माण र विकास भइरहन्छ- विद्यालयका कक्षाहरूमा, संसद्का बहसमा, प्रश्नमा, र दायित्वबोधमा । यहींनेर शिक्षकको भूमिका ज्ञानदाता अघि बढेर लोकतान्त्रिक चेतना उद्बोधकको बन्न पुग्छ । यो प्रश्न हमेसा उठ्ने गर्छ, ‘के शिक्षकले चुनाव जस्तो राजनीतिक विषयमा दूरी बनाएर रहनुपर्छ ?’ ‘के शिक्षकले राजनीति माथि बोल्नु पक्षधरता कहलिन्छ ?’ यस्ता सवालले आफैंमा एउटा भ्रमलाई जन्म दिन्छन्, मानौं राजनीति र नागरिकत्व अलग-अलग विषय हुन्। लोकतन्त्रमा राजनीतिसँग टाढा बस्नु भनेको नागरिकत्वबाटै दूरीमा रहनु हो। हो, शिक्षकको दायित्व कुनै दल, प्रत्यासी वा विचारधाराको प्रचार गर्नु होइन। तर उसको काम विद्यार्थी र समाजमा लोकतान्त्रिक विवेकलाई जागृत गर्न त हो नि ! मतदानको अर्थ, प्रतिनिधित्वको जिम्मेदारी, संवैधानिक मूल्य र नैतिक राजनीतिको समझ् विकसित गर्नु हो। तटस्थताको अर्थ टुलुटुलु हेर्नु होइन, बरु न्यायपूर्ण र विवेकपूर्ण हस्तक्षेप हो।

आज नेपालमा लोकतन्त्रको भविष्य ती युवाहरूको हातमा छ जो पहिलो पटक मतदाता बन्दैछन्। तर सँगै, यी नवयुवाहरू सोसल मिडिया, भावनात्मक नारा र हतारका निष्कर्षहरूको जञ्जालमा फँसेका छन्। यस्तो बेला एउटा शिक्षक नै तिनीहरूका लागि स्थिर विन्दु भएर भन्न सक्छन्- सोच, परीक्षण गर र प्रश्न सोध। शिक्षकले शान्त चित्तले ‘प्रत्येक लोकप्रिय नारा सही हुँदैन’ भनेर सिकाउन सके पो लोकतन्त्रलाई एक मजबुत जग हस्तान्तरित गरिएको मानिन्छ। हाम्रो राष्ट्रिय विमर्शमा ‘लोकतन्त्र एक दीर्घकालिक निवेश हो’ भन्ने अवधारणा आउन सकेको छैन। हामीले संविधान ल्याएर शासन गर्नमा यतिविघ्न ढुक्क भयौं कि लोकतन्त्रको देहमा असाध्य रोग लागेको भेउ नै पाएनौं।

चुनाव एक दिनको उत्सव हुन सक्छ तर नागरिक चेतना पुस्तौंको प्रयत्नको प्रतिफलस्वरूप प्राप्त हुन्छ। शिक्षक त्यही दीर्घकालिक निवेशको सबैभन्दा भरोसेमन्द माध्यम हो। यदि शिक्षकले चुनावलाई केवल ‘राजनीतिक फोहोर’ बताएर यसबाट आफूलाई टाढा राख्छन् भने लोकतन्त्र भीडतन्त्रको कब्जामा पुग्छ। यदि शिक्षकले चुनावलाई लोकतान्त्रिक शिक्षाको अवसर बनाउँछन् भने समाज ज्यादा सजग, ज्यादा जवाफदेह र ज्यादा न्यायपूर्ण हुन सक्छ । यसैले चुनावको बेला शिक्षकको भूमिका महत्वपूर्ण हुन आउँछ। 

हामीले देखिरहेका छौं कि यतिखेर आम मानिस ‘भावना’ र ‘हित’का बीच अलमलिइरहेका छन्। यस्तो बेलामा शिक्षकका एक-एक संकेत, एक-एक सवाल र पल-पलको निगरानीले लोकतन्त्रलाई पोषण दिन्छ। यदि शिक्षक नबोल्ने हो भने लोकतन्त्रलाई विवेक कसले दिने ? लोकतन्त्रको रक्षा केवल मतदान गरेर टुङ्गिदैन; सोच्ने, बुझने र बोल्ने नागरिकबाट मात्र यसको रक्षा हुनसक्छ र त्यस्तो नागरिक निर्माणमा निश्चय नै कहीं कतै शिक्षकको भूमिका गाँसिएकै हुन्छ।  

(लेखक पत्रकार तथा स्वतन्त्र विश्लेषक हुन् ।)

शिक्षक मासिक, २०८२ फागुन अंकमा प्रकाशित । 

commercial commercial commercial commercial