स्कूल पढाउन ६ घण्टा पैदल

साँगुरीगढी गाउँपालिका-९, हर्दियाकी शिक्षक स्मारिका राई घामको झुल्कोसँगै विद्यालय जाने हतारोमा हुन्छिन्। आँखाभरि बालबालिकाको भविष्यको दायित्व बोकेर उनी सात बज्नासाथ बाटो समाउँछिन्। उकाली-ओराली जोडिने तीन घण्टा लामो पैदल हिंड्नु उनको दैनिकी हो। उमेरले २१ वर्षमा नै प्रधानाध्यापकको भूमिकामा पुगेकी राई हरेक दिनको यात्रामा हुने थकानमा हुन्छिन्। तर जब बालबालिका आफ्ना अगाडि हुन्छन् उनले सबै कुरा भुल्छिन्। भन्छिन्, “थाकिन्छ नि ! म पनि आइरन-म्यान त हैन ! तर स्कूल पुग्नेबित्तिकै सबै थकान हराउँछ !”

उनका लागि प्रधानाध्यापकको यो पद त्यस्तो योजना बनाएर आएको थिएन। २०८१ साल चैत ६ गते उनले शिक्षकको रूपमा प्राथमिक तहमा पहिलो नियुक्ति पाइन्। उनलाई पालिकाले चैत १४ गते मात्रै नियुक्ति दियो। उनी धनकुटाको साँगुरीगढी गापा-८ मा रहेको भूमिश्वर प्राथमिक विद्यालयमा शिक्षकको रूपमा नियुक्त भएर गइन्। राई प्राथमिक तहको स्थायी शिक्षकको रूपमा नियुक्ति लिएर त्यहाँ गएपछि पुराना अस्थायी शिक्षकहरू एकपछि अर्को विदा भए।

उनी धेरैको बीचबाट एकैचोटि ‘सबैभन्दा कान्छी’ प्रधानाध्यापक बन्न पुगिन्। “मलाई प्रधानाध्यापक बनाइदिन्छन् भन्ने कल्पना पनि गरेकी थिइनँ” उनी भन्छिन्, “नियुक्ति लिएर आएपछि बल्ल थाहा भयो, जिम्मेवारीले उमेर हेर्दो रहेनछ।”

विद्यालयमा १६ देखि १८ जना विद्यार्थी। कहिले एक, कहिले तीन, कहिले पाँच जनाको उपस्थितिलाई हेर्दा कतै निजी ट्युसनको कोठाभन्दा धेरै फरक हुँदैन। तर उनलाई जिम्मेवारी हेर्दा विद्यार्थी थोरैले फरक नपार्ने लागेको छ। “विद्यार्थी थोरै भए भनेर जिम्मेवारी सानो हुँदैन” उनी भन्छिन्, “प्राविको जिम्मेवारी होस् वा माविको; सबै उस्तै रहेछ।” 

विद्यालयमा अहिले स्थायी शिक्षक उनी मात्रै छिन्। बाँकी एक जना बाल शिक्षक, एक जना राहत शिक्षक र एक जना कार्यालय सहयोगी छन्। उनी अहिले स्नातक तह तेस्रो वर्षमा पढ्दै पनि छिन्। पढ्नुपर्ने किताब आफ्नै, पढाउनुपर्ने किताब बालबालिकाका यी दुवैलाई सँगै मिलाएर अध्ययन अध्यापन गर्नुपर्ने उनको दायित्व छ। कक्षा १२ पास गर्ने बित्तिकै शिक्षक सेवा आयोगले लिने लाइसेन्स परीक्षाको प्राथमिक तहको पास पर्ने बित्तिकै उनले फेरि निमावि तहको अध्यापन अनुमति पत्रको लागि फारम भरिन्। त्यसमा पनि सहजै नतिजा निकालिन्। त्यसपछि उनले प्राथमिक तह र निमावि तहको शिक्षक सेवा आयोगको परीक्षा दिइन् तर प्राथमिक तहको पहिलो र दोस्रो पेपरमा मात्रै उनी सफल भइन्।

“पढ्नु मात्रै सजिलो रहेछ” उनी भन्छिन्, “पढाउन भने ठूलो जिम्मेवारी लिनुपर्छ, विद्यार्थी फेल भए भने अरूले भन्ने शिक्षकलाई नै हो।” 
भर्खर-भर्खरै सरकारी जागिर खान थालेकी राईको लागि अहिले पछिल्लो समय उमेरको चर्चाले निकै हैरान बनाएको छ। एकदिन उनले सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो हालिन्, जहाँ प्रधानाध्यापकको पद पनि उल्लेख थियो। कसैले त्यही भिडियोलाई आधार बनाएर उनको बारेमा चर्चा गर्न थाले। धेरैलाई त्यो मन पर्‍यो। स्क्रिनसटहरू फेसबुकमा आउन थाले। धेरै आफ्नै हिसाबले चर्चामा ल्याउन थालेपछि अहिले उनी यस्तो नगरिदिए हुन्थ्यो भन्नेमा छिन्। 

२०६१ मंसिर ६ गते हर्दियामा जन्मिएकी हुन् स्मारिका। एक्ली छोरी, दाजुभाइ छैनन्। आमा घर भनेर बसेकी गृहिणी, बाबु विदेश बसेर फर्किएका छन्। गाउँमै हुर्केकी, गाउँमै पढेकी, अहिले गाउँमै विद्यालयको प्रधानाध्यापक हुने अवसर पाएकी छिन्। उनको घरदेखि विद्यालयसम्म पुग्नको लागि करीब ३ घण्टा लाग्छ। पैदल हिंड्ने बाहेक अर्को विकल्प छैन। बिहान ७ बजे घरबाट हिंडेकी स्मारिका विद्यालय पुग्दा १० बजिसक्छ, घर फर्कंदा बेलुकी हुन्छ। २० वर्षको उमेरमा प्रधानाध्यापकको जिम्मेवारीमा पुगेकी स्मारिका अहिले २१ वर्षको उमेरमा छिन्। एउटा विद्यालय चलाउनु महŒवपूर्ण र कर्तव्य भन्दा बढी आत्मविश्वास हुनुपर्ने उनको भनाइ छ। 

शिक्षक  मासिक, २०८२ माघ अंकमा प्रकाशित । 

commercial commercial commercial commercial