एउटा पृथ्वी, सात प्रकारका प्लास्टिक !
प्लास्टिकजन्य फोहोर- आज विश्वको प्रमुख वातावरणीय चुनौती मध्ये पर्छ। सस्तो, हलुका, धेरै टिक्ने र सजिलै पाइने भएकोले दैनिक जीवनमा अत्यधिक प्रयोगमा आउने प्लास्टिक, कृत्रिम रूपमा संश्लेषण प्रक्रियाबाट तयार गरिने हुँदा प्रकृतिमा यसलाई गलाउने संयन्त्र हुँदैन। एकपटक वातावरणमा प्रवेश गरेपछि यो वातावरणका घटक (हावा, पानी, माटो) मा लामो समय रहिरहन्छ। हामीले अत्यधिक प्रयोग गर्ने गरेका प्लास्टिकका झेलाहरू टुक्रिन १० देखि २० वर्ष लाग्छ भने बोतललाई ४५० वर्ष, दाँत माझने ब्रस डाइपर आदिलाई ५०० वर्ष र माछा मार्ने डोरीलाई ६०० वर्षसम्मको समय लाग्छ। त्यसरी टुक्रिएर बन्ने सूक्ष्म (माइक्रो) प्लास्टिक पनि हानिकारक नै हुने गर्दछन्। हाल महासागरहरूमा तैरिने प्लास्टिकजन्य फोहोरका टापुहरूले यो समस्याको गम्भीरता झ्ल्काउँछन्। उत्तरी प्रशान्त महासागरमा देखिने गरेको ग्रेट प्यासिफिक गार्बेज प्याच फ्रान्स भन्दा तीन गुणा ठूलो क्षेत्रफलमा फैलिएको पाइएको छ।
वातावरणीय घटकहरूमा रहुन्जेल प्लास्टिकले सम्पूर्ण पारिस्थितिक प्रणाली र तिनका अवयवहरू (जैविक, रासायनिक र भौतिक)मा असर पार्दछ। प्लास्टिकले मानव स्वास्थ्यमा पार्ने असरहरूमा- नलीविहीन ग्रन्थिहरू (endocrine gland) को गतिविधिमा अवरोध पैदा गरी सन्तान उत्पादन गर्ने (प्रजनन) क्षमतामा असर गर्ने, दम जस्ता श्वास-प्रश्वास सम्बन्धी रोग निम्त्याउने, क्यान्सर गराउने, रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता ह्रास गर्ने, समय अगावै परिपक्वता ल्याउने आदि प्रमुख हुन्। प्लास्टिकलाई जथाभावी बाल्दा त्यसबाट वायु प्रदूषण भई श्वास-प्रश्वास सम्बन्धी रोगहरू निम्तिने गर्दछन्।
अर्कोतर्फ, आज प्लास्टिक मानवीय जीवनको अविभाज्य अङ्ग पनि भइसकेको छ। हामीले दैनिक रूपमा प्रयोग गर्ने अधिकांश सामग्रीमा कुनै न कुनै रूपमा प्लास्टिक मिसिएको हुन्छ। विश्वभर प्लास्टिकको उत्पादन र खपत अत्यन्त उच्च मात्रामा हुन्छ। सन् २०२० मा विश्वभर करीब ४.६४ खर्ब किलोग्राम प्लास्टिक उपभोग भएको अनुमान छ र २०५० सम्म यो ८.८४ खर्ब किलो पुग्ने प्रक्षेपण गरिएको छ।
प्लास्टिकका धेरैजसो वस्तु एकपटक प्रयोग गर्ने उद्देश्यले बनाइने हुँदा त्यस्ता वस्तुहरू जस्तै- प्लास्टिक झाेला, कप, प्लेट, चम्चा, स्ट्र-पाइप आदि सिधै फोहोरका रूपमा निस्कन्छन्। तथ्यांक अनुसार ५० प्रतिशत भन्दा बढी प्लास्टिक सिधै फोहोर फाल्ने खाल्डाहरू (ल्याण्डफिल)मा पुग्ने गरेको पाइएको छ।

आम जनमानसका निम्ति आज प्लास्टिक नौलो वस्तु होइन। दैनिक जीवनमा व्यापक प्रयोगमा आउने प्लास्टिकको पहिचान, यसको सहजै नगल्ने विशेषता, यसले स्वास्थ्य र वातावरणमा असर पार्छ भन्ने तथ्यहरू पनि सर्वविदित छन्। तर व्यापक प्रयोगका बाबजुद धेरैसँग प्लास्टिकका प्रकार, तिनका सम्पूर्ण असरहरू, व्यवस्थापनका चुनौती तथा उत्तम विकल्पबारे भने पर्याप्त जानकारी छैन। किनभने सबै प्लास्टिकका सामग्री एकै किसिमका हुँदैनन्। सबैका असर समान हुँदैनन् र सबै प्रकारका प्लाष्टिकबाट निस्कने फोहोर एकै तरिकाले सम्बोधन गर्न नसकिने पनि हुन सक्छ । यसै कारण आज पनि, यसबारे गम्भीर प्राविधिक बहस भइरहेको छ। उदाहरणका लागि, धेरै मानिसले ‘पेट’ (PET) बोतल- जसमा पिउने पानी वा कोल्ड ड्रिंक राखिन्छ- बारम्बार प्रयोग गर्छन्। तर, बारम्बार प्रयोग गर्दा त्यस्ता बोतलमा जीवाणुको विकास हुने र प्लास्टिकबाट हानिकारक रसायन मिसिन सक्ने पाइएको छ। त्यस्तै, धेरै मानिसले प्लास्टिकका कपको विकल्पका रूपमा कागजका कप रोज्छन्, तर धेरै कागजका कपमा पनि चिसो वा तातो तरल नचुहियोस् भनेर भित्रपट्टि प्लास्टिक लेपन गरिएको हुन्छ। तातो पेय राख्दा यसबाट हानिकारक रसायन छुट्टिन र खानेकुरामा मिसिन सक्छ। प्लास्टिक मिसिएका कपडा लगायत धेरै सामग्री पनि मानिसहरूले थाहा नपाई प्रयोग गरिरहेका हुन्छन्। नेपालमा दैनिक सेवन हुने खाने नुन र पिउने पानीमा समेत उल्लेखनीय मात्रामा सूक्ष्म प्लास्टिक (microplastic) भेटिएको छ। तर यी तथ्यहरू धेरैलाई अहिलेसम्म थाहा छैन।
प्लास्टिकको प्रकार अनुसार तिनीहरूलाई फरक प्रयोजनका लागि प्रयोगमा ल्याइनुपर्दछ र यिनको असर पनि फरक हुने गर्दछ। प्लास्टिक बन्ने रेजिनका आधारमा सामान्यतया सात प्रकारका प्लाष्टिक हुने गर्दछन्। पहिलो प्रकारलाई पोलिइथाइलिन् टेराप्थालेट (छोटकरीमा पेट/PET) प्लास्टिक भनिन्छ। यो प्लास्टिक पेय पदार्थ तथा पानी राख्ने बोतल आदि बनाउन प्रयोग हुन्छ। एकपटक मात्र प्रयोग गर्ने उद्देश्यले बनाइने पेट प्लास्टिकका सामग्री पटक-पटक र तातो खानेकुरा राख्न प्रयोग गर्नुहुँदैन। दोस्रो प्रकारलाई हाई डेन्सिटी पोलिइथाइलिन् (छोटकरीमा एचडीपीई/HDPE) भनेर चिनिन्छ। यो प्लास्टिक दह्रो हुने हुँदा स्याम्पू आदि पदार्थ राख्ने बट्टा, कुर्सी आदि बनाउन प्रयोग गरिन्छ। यस्तो प्लास्टिकका भाडामा पनि धेरै तातो खानेकुराहरू लामो समय राख्नुहुँदैन। तेस्रो किसिमलाई पोली भिनाइल क्लोराइड (छोटकरीमा पीभीसी÷एख्ऋ) प्लास्टिक भनेर चिनिन्छ। यो पाइप, फ्रेम तथा निर्माणका सामग्री आदि बनाउन प्रयोगमा आउँछ। यो प्लास्टिकका सामग्रीमा खानेकुरा राख्नु उपयुक्त हुँदैन। चौथो प्रकारलाई लो डेन्सिटी पोलिइथाइलिन् (छोटकरीमा एलडीपीई/PVC) भनिन्छ र यो प्लास्टिकबाट झेला, निचोर्न मिल्ने नरम बोतल आदि बनाइन्छ। यस्तो प्लास्टिकमा पनि धेरै तातो खानेकुराहरू लामो समयसम्म राख्नुहुँदैन। पाँचौं प्रकार पोलिप्रोपाइलिन (छोटकरीमा पीपी/PP) हो र यो प्लास्टिकबाट खाना, दही राख्ने भाडा, औषधिका बट्टा आदि बनाइन्छन्। यो प्लास्टिक भने खानेकुरा राख्न पनि सुरक्षित मानिन्छ। छैटौं प्रकारको प्लास्टिकलाई पोलिइस्टाइरिन (छोटकरीमा पीएस/PS) भनिन्छ। यसबाट एकपटक प्रयोगमा आउने कप, प्लेट, सामान सुरक्षा गर्न राखिने फोम आदि बनाइन्छन्। यो प्लास्टिक पनि तातो खाना राख्न असुरक्षित मानिन्छ। सातौं प्रकारमा माथि उल्लिखित ६ प्रकार मध्ये कुनै पनि वर्गमा नपर्ने प्लास्टिकहरू पर्छन्। यो समूहलाई अन्य (Other Plastic) भनेर चिनिन्छ। यस अन्तर्गत विभिन्न किसिमका प्लास्टिक वा प्लास्टिक र अन्य चिजको सम्मिश्रणबाट बन्ने गरेका सामग्रीहरू (जस्तै तयारी खानेकुराका रङ्गीचङ्गी खोल लगायत) पर्दछन्। यस समूहमा विविध किसिमका सामग्रीहरू पर्ने हुँदा उपयुक्त प्रयोग र असर यही हुन्छ भनेर किटान गर्न सकिंदैन।
यी फरक-फरक प्रकारका प्लास्टिकहरूको विशेषता जस्तै- घनत्व, कडापन, सतहको प्रकार, बल्दा दिने ज्वालाको रङ र धुवाँको प्रकृति आदिका आधारमा यिनीहरूलाई पहिचान गर्न सकिन्छ। तर आम मानिसमा यस सम्बन्धी विस्तृत प्राविधिक ज्ञान नहुने हुँदा, उनीहरूले सामग्रीमा लेखिएका संकेत/कोड वा छोटकरी नामको माध्यमबाट प्लास्टिकहरू पहिचान गर्नु उपयुक्त हुन्छ। प्लास्टिकका सामग्रीहरूमा त्रिभुज जस्तो आकारभित्र प्लास्टिकको प्रकार अनुसार १ देखि ७ सम्मको संख्या उल्लेख गरिएको पाइन्छ।
यी फरक प्रकारका प्लास्टिकहरूको पुनः प्रशोधनको सम्भावना र औचित्य पनि फरक नै हुने गर्दछ। पेट, एचडीपीई र एलडीपीई धेरै जस्तो पुनः प्रशोधन गरिने प्लास्टिक हुन्। पीभीसी चाहिं विशेष व्यवस्थामा मात्र पुनः प्रशोधन गरिनुपर्छ; किनभने यसबाट निस्कने रसायन विषाक्त हुन्छ । पीपीको पुनः प्रशोधन अलि खर्चिलो पर्ने हुँदा कम गर्ने गरिन्छ भने पीएस र अन्य प्लास्टिकहरूको पुनः प्रशोधन खासै गरिंदैन।
प्लास्टिकजन्य फोहोरको समाधान गर्ने सबैभन्दा उत्तम उपाय भनेको तिनको प्रयोग नै नगर्नु वा उत्पादन नै नगर्नु हो। तर आज प्लास्टिकको उपयोग एकदमै व्यापक भइसकेको अवस्थामा एकै पटक निर्णय गरेर प्लास्टिकको उत्पादन र खपत पूरै बन्द गर्ने भन्ने विषय व्यावहारिक र सम्भव देखिंदैन। यसको लागि सर्वप्रथम प्लास्टिकका जस्तै उपयोगी गुण भएका विकल्पहरूको विकास गर्नु जरूरी हुन्छ। अबको अध्ययन र अनुसन्धान विशेषतः त्यसतर्फ केन्द्रित हुन जरूरी छ। यसरी खोजिने दिगो समाधानसम्म पुग्न समय लाग्ने हुँदा त्यतिबेलासम्म भने प्लास्टिकको प्रयोगलाई न्यायोचित तुल्याउनुपर्छ। अर्थात् प्लास्टिक सकेसम्म कम प्रयोग गर्ने, प्रयोग गर्नु पर्दा पुनः प्रयोग गर्न मिल्ने सामग्रीलाई प्राथमिकता दिने, उपयोगिता सकिएका सामग्रीलाई अर्को उद्देश्यका लागि पुनः प्रयोग गर्ने (reuse and repurpose) र पुनः प्रशोधन गर्न सकिनेलाई सङ्कलन गरेर पुनः प्रशोधनमा लैजाने गर्नुपर्दछ।

प्लास्टिकजन्य फोहोर व्यवस्थापनका कार्यहरूमा हरेक नागरिक, घर, संघ-संस्था वा व्यवसायले फोहोर स्रोतमा नै छुट्टाछुट्टै राखेर उचित व्यवस्थापनमा ठूलो योगदान दिन सक्छन्। छुट्टाछुट्टै राखेर गरिने पृथकीकरणको सानो अभ्यासले पुनः प्रशोधन गर्न सकिने फोहोर सङ्कलन गर्न लाग्ने समय, खर्च र जनशक्ति घटाउँछ। त्यस्तै नयाँ सामग्री तयार गर्नका लागि कच्चा पदार्थ सहजै मिल्छ र प्राकृतिक स्रोतको चरम दोहन घट्छ। यसले वातावरणीय प्रदूषणको मात्रा कम गर्नुका साथै ल्यान्डफिलमा जाने फोहोरको मात्रा घट्न गई त्यसको अर्थात् फोहोर थुपार्ने खाल्डोको आयु पनि बढ्छ। सरकार र सरकारी निकायहरूले प्लास्टिकजन्य वस्तुहरूको उपयोग नियन्त्रण र नियमन गर्ने नीति/नियम बनाउने, धेरै खपत र फोहोर उत्सर्जन गर्नेलाई मात्रा अनुसारको शुल्क लिने, उत्पादक र प्रयोगकर्ता कम्पनीहरूलाई फोहोर व्यवस्थापन बापत लाग्ने दायित्व कर लगाउने (EPR- extended producer responsibility), यसरी उठेको रकम प्लास्टिक प्रदूषण नियन्त्रणमा सदुपयोग गर्ने, अनुगमनको नियमितता र दायरा बढाई धेरै हानि गर्ने प्लास्टिकको उत्पादन नियन्त्रण गर्ने; हरेक उत्पादनमा प्लास्टिकको प्रकार सम्बन्धी जानकारी वा संकेत राख्न उत्पादकहरूलाई बाध्य पर्ने, त्यस्तो संकेत नराख्ने गलत संकेत राख्नेहरूलाई कानूनी दायरामा ल्याउने, पुनः प्रयोग र प्रशोधनलाई बढावा दिने, सरोकारवाला र सहयोगी संस्थाहरूसँग समन्वय गर्ने तथा तिनीहरूलाई आवश्यक सहयोग गर्ने लगायत कार्यहरू गर्नुपर्दछ। अन्य सरोकारवाला संघ-संस्थाहरूले पनि विभिन्न अभियान तथा कार्यक्रम मार्फत नागरिक र सरकारलाई प्लास्टिकजन्य फोहोर व्यवस्थापनका कार्यहरूमा सहयोग गर्न सक्छन्। यस्ता कार्यमा शैक्षिक संस्थाहरूको पनि महत्वपूर्ण भूमिका हुन्छ। समुदायमा जनचेतना जगाउनेदेखि असल अभ्यासहरू गराउने, सिकाउने र अनुसन्धान मार्फत विकल्प खोजी गर्ने कार्यमा प्राज्ञिक जनशक्तिले अगुवाको भूमिका निर्वाह गर्न सक्छन्।
तथापि, निष्कर्षमा भन्दा, प्लास्टिकका प्रतिकूल असरहरूबाट आफू बाँच्न र सम्पूर्ण वातावरणलाई बचाउन यसको प्रयोग घटाउनु नै सबैभन्दा उचित उपाय हो। प्लास्टिक प्रयोग गर्नै पर्दा, त्यो प्लास्टिक कस्तो हो भन्ने चिनेर त्यो जुन प्रयोजनलाई बनाइएको हो त्यसै अनुरूप गर्नुपर्दछ। र, प्लास्टिकजन्य फोहोरको समस्या रोक्न र उचित व्यवस्थापन गर्न नागरिक समाज, सरकारी तथा गैरसरकारी संघ-संस्था, शैक्षिक निकाय र अन्य सरोकारवाला सबैले आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्छ।
(वातावरण-विज्ञानका शिक्षक निरौला बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा आरएसडीसीद्वारा सञ्चालित प्लास्टिक प्रदूषण नियन्त्रणका कार्यलाई महिलाहरूको आय-आर्जनसँग जोड्ने परियोजनाका संयोजक हुन्।)
शिक्षक मासिक, २०८२ पुस अंक प्रकाशित ।



