स्कूल छ खोलापारि, छैन खोलामा पुल !

सशस्त्र द्वन्द्वकालमा सबभन्दा धेरै मानवीय क्षति भएको गाउँ हो जेल्वाङ। शान्ति समिति रोल्पाको अभिलेख अनुसार तत्कालीन जेल्वाङ गाविसका ७३ जनाले द्वन्द्वमा ज्यान गुमाएका थिए। यसै भएर यो गाउँलाई माओवादीहरू ‘शहीद गाउँ’ भन्छन्। 

हाल सुनछहरी गाउँपालिका वडा नं ७ अन्तर्गत पर्ने जेल्वाङपछि गाम गाउँबाट ४४ जनाले ज्यान गुमाएका थिए। गाम अहिले सुनछहरी गाउँपालिका वडा नंं २ र ३ मा पर्दछ। द्वन्द्वका क्रममा सबभन्दा कम उमेरमा ज्यान गुमाउने गामका मनवीर कामी (३ वर्ष) थिए भने सबभन्दा वृद्ध उमेरमा ज्यान गुमाउनेमा जेल्वाङका चन्दवीर पुनमगर (७१ वर्ष) थिए। 

सशस्त्र द्वन्द्वमा यति धेरै भौतिक र मानवीय क्षति व्यहोरेको सुनछहरी गाउँपालिका अहिले पनि आधारभूत पूर्वाधारको चरम अभावसँग जुधिरहेको छ। सो गाउँपालिकाको वडा नंं ७, जेल्वाङले थप पीडा भोग्दै आएको छ। जेल्वाङको डम्फु र सुलकवाङ गाउँलाई छुट्याउने धुम्तरा खोलामा अहिलेसम्म पुल नहुँदा बालबालिकादेखि वृद्धवृद्धासम्मले खोलो वारपार गर्न जोखिम मोल्नुपर्छ।

बर्खामा कति समयसम्म त गाउँ नै सम्पर्कविहीन हुने गर्दछ। स्थानीय बासिन्दा बाल्कुराम पुन भन्छन्, ‘हिउँदमा पानी कम हुँदा खोला वारपार गर्न सकिन्छ, तर बर्खा लागेपछि खोलो वारपार गर्न मुश्किल पर्छ। अहिले सो खोलामा काठको अस्थायी पुल बनाइएको छ। तर ‘काठले बनेको सो पुल कतिखेर भाँचिने हो ठेगान हुँदैन’, एक स्थानीय अभिभावकले भने। 

उक्त खोलाका कारण यहाँका बालबालिकाको पठनपाठन समेत प्रभावित हुने गरेको छ । सोही वडामा रहेको जनजागृति प्राथमिक विद्यालय जाने विद्यार्थीले यो खोलो पार गर्नुपर्छ । खोला बढेको बेला बालबालिका विद्यालय जान सक्दैनन् । स्थानीयवासी बाल्कुराम पुन भन्छन्, ‘छोराछोरी विद्यालय पठाएको दिन हाम्रो मन खोलामै हुन्छ। खोलाका कारण अनिष्ट नहोस् भन्ने कामना गर्दै हाम्रो दिन बित्छ ।’ खोलामा पुल नभएकै कारण विद्यालयमा विद्यार्थीको उपस्थिति दर समेत सन्तोषजनक छैन। खोलो बाधा बनेपछि बालबालिका वर्षात्मा निकै कम मात्रै विद्यालय जाने गर्दछन्  । ‘खोलाको पानी बढेको छ कि भनेर हरेक बिहान हेर्न जानुपर्छ। धेरै दिन त बालबालिका घरमै बस्छन् । खोलामा पुल नहुँदा यहाँको शिक्षामा ठूलै प्रभाव परेको छ’, पुन थप्छन्। 

 यस क्षेत्रका बासिन्दाले पटक-पटक सम्बन्धित निकायहरूलाई धुम्तरा खोलामा पुल निर्माणका लागि अनुरोध गर्दै आएका छन्, तर अहिलेसम्म कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ। 

सुनछहरी गाउँपालिकाका पूर्वअध्यक्ष आशबहादुर पुनले सो खोलामा पुल बनाउन यसअघि बजेट विनियोजन भएको तर राजनीतिक पूर्वाग्रहका कारण पछिको सरकारले योजना कटौती गरेको बताए।

शिक्षक  मासिक, २०८२ कात्तिक अंकमा प्रकाशित ।  

commercial commercial commercial commercial