दृष्टिकोण आफ्ना आफ्ना !
आफ्नो विषयका एक विद्वान्लाई महाभारत र श्रीमद्भागवतमा वर्णित कृष्ण नामका पात्रको अस्तित्वमा शंका थियो। उनले आफ्नो शंकालाई जिज्ञासाका रूपमा एक सन्तसामु यसरी राखे- ‘मलाई लाग्छ, कृष्ण एक काल्पनिक पात्र हुन्। धर्तीमा यस्तो कुनै पुरुष अस्तित्वमा आएको छैन।’
सन्तले ती विद्वान्सामु प्रतिप्रश्न राख्दै सोधे- ‘ल, कृष्णको अस्तित्व थिएन भनेर मानौं। तर, के तपाईंको चाहिं वास्तविक अस्तित्व छ त ?’
‘अवश्य छ’- विद्वान्ले विश्वासपूर्वक जवाफ फर्काए।
सन्तले फेरि सोधे : ‘तपाईंलाई कति मानिसले चिन्छन् ?’
विद्वान् : ‘कमसेकम पाँच हजारले त अवश्य चिन्छन् ! आखिर, म एक प्रोफेसर र लेखक पनि हुँ ।’
सन्त : ‘अब भन्नुस्, कृष्णलाई कति मानिसले चिन्लान् ?’
विद्वान् : एकछिन अकमकिएर भन्छन्- ‘त्यसो त उनलाई करोडौं अथवा अर्बौंले पनि चिन्न सक्छन् ।’
सन्त : ‘कहिलेदेखि ?’
विद्वान् : ‘समाजमा कृष्णको चर्चा हुन थालेको कमसेकम तीन हजार वर्ष त भयो होला !’
सन्त : ‘अब मलाई बताउनुस्, पैंतालीस वर्षको उमेरमा तपाईंलाई पाँच हजार मानिसले चिन्छन्, तीमध्ये कति जनाले तपाईंको पूजा गर्छन् ?’
विद्वान् : ‘पूजा ? मलाई त कसैले पनि पुज्दैन।’
सन्त : ‘कृष्णलाई त तीन हजार वर्षपछि पनि करोडौं मानिसले अहिले पनि पुज्छन्। अब तपाईं आफैं निर्णय गर्नुस्- यस संसारमा वास्तविक अस्तित्व तपाईंको छ या कृष्णको ?’
(मूलस्रोत: ए.एस.पी. अथ्यरको कृति ‘श्रीकृष्णः डार्लिङ अफ ह्युम्यानिटी’।)
शिक्षक मासिक, २०८२ कात्तिक अंकमा प्रकाशित ।



