हाम्रा हेडसर: रत्नबहादुर राई

हामी भुराभुरी हुँदा हाम्रो गाउँ (पाङखाङ)मा सबैभन्दा सम्मानित ‘सरहरू’ थिए। त्यहाँ कुनै सरकारी कार्यालय थिएनन्। छुट्टीमा आएका लाहुरे र पाहुनाहरू फर्किहाल्थे। त्यसैले सधैं सुकिलामुकिला देखिनेमा शिक्षक मात्रै हुन्थे। शिक्षकलाई प्रत्यक्ष सम्बोधन (रेफ्रेरेन्सिभ) मा ‘सर’ र अप्रत्यक्ष सम्बोधन (रिफेरेन्सिभ) मा ‘मास्टर’ भन्थे। हामी केटाकेटी भने दुवै सन्दर्भमा ‘सर’ भन्थ्यौं। सरहरूलाई जसले जहाँ भेटे पनि नमस्कार गर्थे। सरमध्ये पनि सबैभन्दा ठूला सर हेडसर। सर-हेडसरका श्रीमतीहरूलाई सर्नी-हेडसर्नी नभनेर सबैले मास्टर्नी-हेडमास्टर्नी भन्थे । सबै सरका नाम हुन्थे। हाम्रा हेडसरको नाम धेरै पछि मात्रै थाहा भयो, रत्नबहादुर राई भन्ने। 

गाउँको शतप्रतिशत जनसङ्ख्या राई। युवाहरू प्रथम विश्वयुद्धभन्दा पहिलेबाटै बेलायती गोर्खा सेनामा जान थालेका थिए। दोस्रो विश्वयुद्धमा बेलायतलाई जिताएर फर्किएका गोर्खाहरू नेपालमा २००७ सालको क्रान्तिका पनि मुख्य शक्ति भए। राणा शासनको अन्त्यसँगै गाउँ-गाउँमा स्कूल खोल्ने लहर चल्यो। हाम्रो गाउँका योद्धाहरू पनि सदरमुकाम भोजपुर बजार, दिल्पा र दाँवातिर स्कूल खोल्न सक्रिय भए। तर आफ्नै गाउँमा स्कूल खोल्न चैं किन ढिला गरे, उत्तर दिनसक्ने मान्छेहरू पनि अब बाँकी छैनन्। 

हाम्रो गाउँमा २०१५/१६ सालतिर स्कूल खुलेको रहेछ, तल मङ्गलेमा। त्यसका संस्थापक, व्यवस्थापक र शिक्षकहरू सबै पूर्व गोर्खाहरू थिए। गाउँको छेउमा भयो भन्ने धेरैको गुनासो पछि स्कूललाई माझ्टोलमा सारियो। स्कूलको स्थापना मिति नयाँ ठाउँमा सारेकै मिति कायम हुनुको कारण पनि स्पष्ट छैन। श्री सप्तकन्या प्राइमरी स्कूल, अहिले आधारभूत विद्यालय, २०२५ सालमा स्थापना भएको अभिलेख छ। स्कूलको करीब दश वर्षको इतिहास हरायो। 

बन्दूकदेखि कलमसम्म
दोस्रो विश्वयुद्धपछि भारत स्वतन्त्र भयो। बेलायतले दशमध्ये ६ गोर्खा पल्टन भारतमा छोडेर चार पल्टन आफूले लग्यो। बेलायतले जवानहरूका साथै किशोर भर्ती त्यसपछि पनि कायम राख्यो। तेह्र-चौध वर्षको बढालु केटाहरूलाई ‘ब्वाय’का रूपमा लगिन्थ्यो। वि.सं. १९९६ मा जन्मिएका रत्नबहादुर २०१० सालमा भर्ती भएर हङकङ पुगे। हङकङमा पल्टनीय शिक्षा सेकेन्ड क्लास गरे। चौध वर्ष सेवा गरेपछि २०२४ सालमा अवकाश भएर नेपाल आए, अट्ठाइसै वर्षको उमेरमा। 

तत्कालीन किरात क्षेत्र (वल्लोकिरात, माझ्किरात र पल्लोकिरात) मा २०२८ सालभन्दा पहिला खुलेका संस्कृत पाठशालाहरू बाहेक सबैजसो स्कूलमा पूर्व गोर्खाहरूको ठूलो भूमिका थियो। हरेक स्कूलमा एक न एक पूर्व गोर्खा शिक्षक हुन्थे। केही शिक्षक दार्जीलिङबाट ल्याइएका हुन्थे, ती पनि कुनै न कुनै रूपमा पूर्व गोर्खाहरूसँग सम्बन्धित हुन्थे, र कतै कतै बनारसी पण्डितहरू हुन्थे। सप्तकन्या स्कूल मङ्गलेबाट माझटोलमा सारिनासाथ रत्नबहादुर राई २०२५ चैत १ गते मास्टर भए। हेडमास्टर थिए देवीप्रसाद राई र अर्का मास्टर हेमचन्द्र राई, तीनै जना पूर्व गोर्खा। नयाँ शिक्षा २०२८ पछि गोर्खा पल्टनको सेकेन्ड क्लासलाई कक्षा-१० पासको मान्यता दिइयो, जसलाई ‘अन्डर एसएलसी’ पनि भनियो। त्यही मान्यताको आधारमा कतिपय पूर्व गोर्खाले उच्च शिक्षा पनि हासिल गरे। रत्नबहादुर २०२८ सालमा हेडमास्टर भए। २०४८ सालमा सेवारत हुँदै उनको निधन भयो। 

सरकारी साबुन
केटाकेटीमा व्यक्तिगत सरसफाइ नाजुक थियो। धेरैको बानी हातले सिंगान पुछ्ने। हात र गालामा सिंगानको कालो चिल्लो टाटा टल्किएको परैबाट देखिन्थ्यो। नाकबाट चुहिएर मुखसम्मै पुगेको सिंगानको लुम्सोलाई स्याँक्क पारेर नाकभित्रतिरै फिर्ता लैजानु सबैको साझ क्रिया थियो। लामा नङ, नङभरि कालो मैलो। कपालमा जगटा, जगटामा काला जुम्रा। लुगा कट्कटिएका, लुगाभित्र सेता जुम्रा। हात-खुट्टा चिसो र मैलोले फुटेर पट्पटी। धेरै जसोको दाहिने हत्केला, केहीको देब्रे, दुई खण्डको देखिन्थ्यो, आधी कत्ले, आधी सेतो। भात मुछ्ने भाग सेतो, त्यसमाथि कालो । कसले के खाएर आएको छ भन्ने मुख आँ गर्दा थाहा भइहाल्थ्यो। दाँत माझने, माझिदिने चलनै थिएन। अलि ठूलाहरू चैं आधाजसो सफा नै हुन्थे, आधा जति त उस्तै । नियमित स्कूल आउनेहरू अलि सफा हुन्थे, बिराएर आउनेहरू मैला । धेरै जसोको शरीरमा कतै न कतै साना ठूला घाउ हुन्थे।

शुक्रबार आधा दिन स्कूल लाग्थ्यो। सरसफाइ, खेलकुद र कहिलेकाहीं रेडियो सुनाइ हुन्थ्यो। नजिक घर हुनेहरूले भाँडा र गोबर ल्याउने, टाढाकाले स्कूल बढार्ने र लिप्ने । लाइन लगाएर हेडसर र सरहरू सबैको शरीर जाँच गर्थे। नियमित आउने खालेहरू त्यस दिन घरैबाट निकै सफा भएर आउँथे। स्कूलको माथिल्लो कान्लामा कुलो थियो, छ । मैलाहरूलाई कुलोमा गएर सरकारी साबुनले हातखुट्टा धोएर आउन भनिन्थ्यो । सरकारी साबुन भनेको कुलोको ढुङ्गा र बालुवा । केटाकेटीहरू रगत आउने गरी ढुङ्गा बालुवाले हातखुट्टा घोट्थे । सानाहरूलाई ठूलाले सफा गर्नुपथ्र्यो, आफ्नै भाइबैनी नभए पनि। कुनै कुनै बच्चाहरू हातखुट्टा धुने भनेपछि भागेर रोएर कोकोहोलो। हातखुट्टा धोइसकेपछि स्कूलको आँगनमा आएर फेरि लाइन लाग्नुपथ्र्यो, कतिपयलाई फेरि कुलोमा पठाइन्थ्यो। हेडसर भन्थे, “दोस्रो चोटि पनि राम्रो भएन भने म आफैंले सरकारी साबुनले धोइदिउँला।” यो कार्य अरू दिन पनि छड्के शैलीमा हुन्थ्यो। त्यसपछि अर्को पटक सरहरूले कुलोमा पठाएपछि मात्रै हातखुट्टा धुवाइ हुन्थ्यो। धेरैजसो वर्षमा एक-दुई पटक मात्रै नुहाउँथे। 

खेलकुदमा भलिबल, चेस, ड्रप, बाघचाल, ब्याटमिन्टन, बास्केटबल, स्किपिङ आदि हुन्थे। भलिबल ठूलाहरूको कब्जामा। सानाहरू ठूलाको हातबाट फुत्किएको बल टिप्न तँछाडमछाड गर्थे। शुक्रबार स्कूल बाहिरकाहरू पनि भलिबल खेल्न आउँथे। मंसिर र वैशाखमा बेलायती तथा भारतीय पेन्सन क्याम्प भोजपुरमा बस्थ्यो। हेडसर बेलायती पेन्सनवाला। पेन्सनको पैसाले किनेको भन्थे, एक जना भरिया लगाएर खेलकुद तथा स्टेसनरी सामान ल्याउँथे। भन्थे, “हाम्रो सरकार गरीब छ। खेलका सामानहरू हामीलाई दिन सक्दैन।” एक साल रबरको गिलोगिलो तर बेस्सरी उफ्रिने रातो, हरियो, निलो, पहेंलो अनेक रङका सप्रिएको सुन्तला जत्रा बल सबैलाई एक एक वटा पुग्ने गरी ल्याएका थिए। त्यो बल गोलगट्टा खेल्न अर्को अर्को साल पनि काम लाग्यो।

बास्केटबललाई केटाकेटीहरू ठूलो गोल भन्थे, खेल्ने ठाउँ थिएन। हेडसर भन्थे, “यो खेल्नलाई दुइटा अग्लो खम्बामा दुलो हुन्छ, त्यसबाट गोल छिराउनुपर्छ।” त्यस्तो बनाउने ठाउँ पनि थिएन, भलिबल खेल्ने ठाउँ मास्नुपथ्र्यो। त्यो बल पछार्ने र उफार्ने गरेरै झन्डै आधा वर्षमा फाट्यो, फेरि अर्को आएन।

मंसिरमा परीक्षा सकिन्थ्यो। नतिजा पुसमा हुन्थ्यो। सबै विद्यार्थी र गाउँभरिकै अभिभावक स्कूलमा भेला हुन्थे। स्कूलको चौरमा नअटेर कुलोको डिलैभरि मान्छे हुन्थे। हेडसर आफै‌ं सबैको नतिजा सुनाउँथे। हरेक कक्षाको हरेक विद्यार्थीको नाम पढ्दै पास फेल सुनाउँथे। उनको नतिजा सुनाउने तरिका यस्तो थियो- “फलानोः फस्र्ट, फलानोः पास, फलानोः डिलमुनि, फलानोः अर्को साल, फलानोः अड्कियो, फलानोः तला चढ्यो, फलानोः फेरि बल गर्ने, फलानोः राँगा छिनेन, फलानोः खुशी हुने, फलानोः दुई खेपमा छिन्यो.... !” तीन खेपमा छिनाउनेहरू पनि हुन्थे। हेडसरको बोली पिच्छे अभिभावकको चर्को प्रतिक्रिया हुन्थ्यो। घरि परर्र ताली, घरी हाँसोको फोहोरा। कोही भने ठाउँको ठाउँ छोराछोरीलाई गाली गर्न थाल्थे। सबैको नतिजा सुनाइसकेपछि पुरस्कार वितरण हुन्थ्यो। कापी, पेन्सिल, कलम यस्तै। अन्तिममा सबैलाई मिठाइ दिइन्थ्यो। कक्षाका फस्र्ट सेकेन्ड हुनेहरू पूरै फुर्तीफार्तीका साथ चकलेट बाँड्ने र बाहिर निकालिएका सामानहरू थन्क्याउन खट्थे । फेल हुनेहरू पनि रातो मिठाइ खान पाउँदा मख्ख पर्थे।

खैनीको बट्टा
गोरो वर्ण, पातलो अग्लो ज्यान थियो हेडसरको। उनी प्रायः नौनी रङको दौरा–सुरुवाल, मसिनो कोठा भएको कोट, ऊनीको मफलर, भादगाउँले टोपी र कालो फ्रेम भएको मोटो चश्मा लगाउँथे। दौरा-सुरुवाल र कोट बाहेकका लुगा एकदमै कम लगाउँथे। कोटको गोजीमा दुइटा कलम हुन्थ्यो, एउटामा कालो र अर्कोमा रातो मसी। घरी घरी कोटको गोजीबाट खैनीको बट्टा निकालेर बिर्कोले अलिकति अर्को हत्केलामा राख्थे अनि अगाडिको तल्लो दाँत र ओठको बीचमा च्याप्दै गरेको देखिन्थ्यो। नजिकै आउँदा खैनी ह्वास्स गन्हाउँथ्यो। कुनै सर चउरको पल्लो छेउमा बसेर बिंडी खान्थे। सलाई चकमकले काम नगरेको बेला विद्यार्थीलाई मलबासे घरतिर आगो लिन पठाउँथे। हेडसरले बिंडी तानेको देखिएन। 

स्कूलको ‘अफिस’ मा विभिन्न किसिमका नेपालका, विश्वका नक्शा, नेपालका राष्ट्रिय चिह्न, चरा, जनावर, राजा र राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्वहरूका तस्बिरहरू चारैतिर भित्तैभरि थिए। पढाइको सन्दर्भसँग मिल्ने चित्रहरू हेडसर अफिसमै लगेर देखाउँथे। सन् १९८८ मा पाकिस्तानका सैनिक शासक जिया उल हकको हवाई दुर्घटनामा मृत्यु भयो। हेडसरले सबै विद्यार्थीलाई पालैपाले अफिसमा लगेर उनको तस्बिर देखाउँदै उनको बारेमा सुनाएका थिए। ठूला कवि लेखकहरूको जन्मदिनमा पनि अफिसमा लगेर तस्बिर देखाउँदै आज फलानाको जन्मदिन हो भन्थे। एउटा ग्लोब थियो। त्यसलाई हामी पृथ्वी भन्थ्यौं। त्यसलाई घुमाउँदा मजा आउँथ्यो। अफिसका टेबलहरूमा सिसाका पेपरवेटहरू हुन्थे। हामी तिनलाई ठूलोखाले गुच्छा भन्थ्यौं।

हेडसर हामीलाई नेपाली पढाउँथे। तर कुनै शिक्षक नआएको बेला जे पनि पढाउँथे। चार-पाँच कक्षाका अलि जान्नेहरूलाई एक दुई कक्षातिर पढाउन पठाउँथे। विद्यार्थी कुटेरै तह लाउने जमाना थियो। हेडसर थिए पूर्वसैनिक। तर हेडसरले केटाकेटीलाई सिधै कुटेको त्यति थाहा छैन। गल्ती र फट्याइँ गर्नेलाई कान समाएर उठबस गराउने, भित्तामा खुट्टा उँभो र टाउको उँधो पारेर हातले टेकेर अडिन लगाउने, क्राउलिङ अर्थात् कुइनाले टेकेर भुँडीले घिस्रिन लगाउने, दलिनमा हलचल नगरी झुन्डिन लगाउने, एक खुट्टाले उभिन लगाउने जस्ता सजाय भने दिन्थे। राम्रो गरेको बेला मिठाइ पनि दिन्थे। 
गाउँमा बहीखाता, तमसुक लेख्न हेडसरलाई बोलाइन्थ्यो। बिहे, छेवर, गुन्युँचोली जस्ता ठूला कार्जेहरूमा निम्तालुले कार्जे घरमा दिइने परम्परागत आर्थिक सहयोगलाई राईहरू साङ्चेप भन्छन्, धेरै खाले राईको फरक-फरक भाषा र चलन भएकोले ठाउँ अनुसार फरक नाम पनि छन्। साङ्चेप लेख्न हेडसरलाई नै लगाइन्थ्यो। भैंसी, सुँगुर आदिको मासुको बही लेख्न पनि उनैलाई सुम्पिन्थे। गाउँले झैं झगडाको मिलापत्र र लेनदेनको तमसुक लेख्नलाई त हेडसरलाई बोलाएरै ल्याइन्थ्यो। 

उनको घर हाम्रो भन्दा अलिकति तल थियो। कहिलेकाहीं जानुपथ्र्यो। उनी पनि आइरहन्थे। उनलाई म स्कूलमा ‘सर’ र घरमा बाङा (काका) भन्थें। उनको घर जान पाउँदा म खुशी हुन्थें। उनी खैनी खाइरहन्थे। त्यस समय टिनको सानो गोलो चेप्टो पहेंले बट्टामा कालो जुँगे मान्छेको तस्बिर र कालै अक्षरमा बाबा लेखिएको खैनी प्रचलनमा थियो। बट्टाको भित्रपट्टि सेतो चम्किलो हुन्थ्यो। पुरानो हुँदै गएपछि खियाले खैरो हुन्थ्यो। उनको घरको खोपामा खैनीका रित्ता बट्टा हुन्थे। मलाई ती बट्टा आफैं खोजेर भए जति लैजान छुट थियो। ती बट्टाको हामी भाँडाकुटी खेल्थ्यौं। नयाँ चम्किलो बट्टा त्यो पनि एक हैन चार पाँच वटै भएपछि साथीहरूको बीचमा सबैभन्दा शक्तिशाली भइन्थ्यो, फुर्तीफार्ती नै बेग्लै !

श्रीमती खोलाले बगाएपछि हेडसरले दोस्रो बिहे गरेका थिए। पहिलोबाट दुई छोरीहरू थिए। कान्छीबाट सन्तान भएनन्। उनको आधा उमेरमै अर्थात् ५२ वर्षको उमेरमा २०४८ चैत ४ गते निधन भयो। हेडमास्टर्नीको पनि निधन भइसकेको छ। दोस्रो विश्वयुद्ध लडेका धेरै गोर्खाहरू सरासर गाउँ फर्किएका थिए। हेडसरको समयका कतिपय बेलायती गोर्खाहरू यता धरान बनाउँदै थिए। तर रत्नसर हङकङको सुविधासम्पन्न जीवनशैलीबाट सरासर दूरदराजको झन्डै-झन्डै आदिम अवस्थाको गाउँमै फर्किए। उनी बितेको साढे दुई दशक पछि मात्रै उनको गाउँमा कच्ची सडक पुग्यो। उनले त्यही गाउँ जन्मथलो रोजे, गाउँकै सेवा गरे र गाउँबाट अर्को लोक लागे। उनको खरले छाएको रातो घर भत्किएर अवशेष मात्रै बाँकी छ। उनले २३ वर्ष काम गरेको सप्तकन्या आधारभूत विद्यालयमा उनको खुइलिइसकेको एउटा तस्बिर झुन्डिएको छ। रङ्गीन तस्बिर त हामी विद्यार्थीको स्मृतिमा मात्रै छ र त्यो पनि स्कूलमा भएको श्यामश्वेत तस्बिर जस्तै धमिलिंदै गएको छ। 

(वाणी मावि, सिधराहा, मोरङ)

commercial commercial commercial commercial