उत्कृष्ट शिक्षकलाई आमाहरूको उपहार !
सदाभन्दा अलि फरक दृश्य। मञ्चमा आमा समूहका प्रतिनिधि पनि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकसँगै लहरै बसेका छन्। भूमिका धेरै नलब्याइकन कार्यक्रम सञ्चालकले भनिन्, “आज हामी हाम्रो विद्यालय रहेको समुदायमा क्रियाशील पारिजात स्वास्थ्य आमा समूह ले अप्रत्यक्ष रूपमा प्रत्येक कक्षाकोठामा पुगी बालबालिकाको मत सङ्कलन गरी उनीहरूको रोजाइमा परेका र हाम्रो पनि मूल्याङ्कन सूचकका आधारमा यस वर्षका उत्कृष्ट दुई जना शिक्षकलाई पुरस्कृत गर्न गइरहेका छौं।”
उत्कृष्ट कार्यसम्पादन गरेबापत त्यसदिन आमा समूहबाट पुरस्कृत हुने शिक्षकहरू थिए- बालकल्याण मावि, लिवाङ, रोल्पाको आधारभूत तहमा अध्यापन गर्ने शिक्षकद्वय सुशीला डाँगी र नवीन के.सी.। लैंगिक तथा सरकारी र सामुदायिक स्रोतबाट तलब खाने शिक्षकहरू मध्येबाट सन्तुलन मिलाई उनीहरूलाई छनोट र पुरस्कृत गरिएको थियो। विद्यार्थीको मूल्याङ्कन र आमा समूहले निर्धारण गरेका सूचकका आधारमा आफू पुरस्कृत भएकोमा खुशी लागेको पुरस्कृत शिक्षक नवीन के.सी.ले बताए।
यस क्षेत्रमा शिक्षकहरूमा थप उत्प्रेरणा जागृत गर्न आमा समूह जस्ता समुदायमा आधारित संस्थाले औपचारिक रूपमा शिक्षकलाई पुरस्कृत गरेको यो पहिलो अवसर हो। बाल कल्याण मावि व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर डाँगीले भने, “यस्तो सत्कर्मले आगामी वर्षहरूमा पनि निरन्तरता पाउनेछ भन्नेमा म आशावादी छु।” विद्यालयका प्रधानाध्यापक मधुसूदन पोख्रेलले भने, “बालकल्याण माविको समुचित विकासका खास हिमायती यहाँका अभिभावक र अझ् आमाहरू हुन्।” “समुदायका समग्र पक्षको सहयोग र क्रियाशीलताले सामुदायिक विद्यालयहरू अघि बढ्न सक्छन्”, प्रधानाध्यापक पोख्रेलले थपे। प्रअ पोख्रेलका अनुसार पारिजात स्वास्थ्य आमा समूहले सो विद्यालयलाई ठूलो सहयोग गरिरहेको छ। बालविवाह न्यूनीकरण, लागूऔषध रोकथाम जस्ता कुरामा पनि यो आमा समूहबाट समय समयमा सहयोग भइरहेको छ; फलतः विद्यालय बालविवाह शून्य भएको पोख्रेलको दाबी थियो।
पारिजात स्वास्थ्य आमा समूह की अध्यक्ष गीता थापाले ‘सुधारको बाटोमा रहेको विद्यालयलाई थप सुधार गर्न आफूहरूले यस्तो कार्यक्रम अघि सारेको’ बताइन्। आगामी दिनमा अझै व्यवस्थित योजनाका साथ विद्यालयलाई सहयोग गर्ने सोच बनाएको अध्यक्ष थापाको कथन थियो।
२०२३ सालमा स्थापना भएको बालकल्याण माविमा हाल २,४०० विद्यार्थी अध्ययनरत छन्। यहाँ नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने गर्दछ। कक्षाऔ५ सम्म अंग्रेजी माध्यममा र कक्षाऔ६ देखि १० सम्म अंग्रेजी एवं नेपाली दुवै भाषामा पठनपाठन हुन्छ। कक्षा ११ र १२ मा मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन र विज्ञान विषयमा पठनपाठन हुने सो विद्यालयले सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी सिभिल इन्जिनियरिङ विषयमा तीनवर्षे डिप्लोमा र एनेक्स कार्यक्रम अन्तर्गत १८ महिने सवऔओभरसियर विषय समेत पठनपाठन गर्दछ। विद्यालयमा अहिले सरकारी दरबन्दीका २४ सहित ६५ जना शिक्षकऔकर्मचारी कार्यरत छन्। मूल गेटमा अभिभावकको पहरा, म्युजिक सहितको पिटी र प्रार्थना लगायत विषयले यस विद्यालयमा धेरैको ध्यान आकृष्ट गरेको छ।
शिक्षकहरूमा कर्तव्यप्रतिको जिम्मेवारी, विद्यार्थीमा अनुशासन र पढ्नुपर्छ भन्ने अठोट एवं अभिभावकको निरन्तर सहयोग र निगरानीका कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको विद्यालयका शिक्षकऔअभिभावक संघका अध्यक्ष ऋषिराम रोकाको भनाइ छ । वर्षेनि २र३ सय विद्यार्थी निजी विद्यालय छाडेर आफ्नो विद्यालयमा आउने गरेको जानकारी पनि रोकाले दिए।
शिक्षक मासिक, २०८२ भदौ अंकमा प्रकाशित ।



