शिक्षक र क्रान्ति
जराथ्रुष्ट पहाडको शिखरबाट हतार-हतार तल बजारमा झरे। त्यहाँ मानिसको भीडतिर फर्किएर ठूलो स्वरमा सोधे– ‘तपाईंहरूले थाहा पाउनुभयो ? ह्याभ यु गट द न्यूज ?’ मानिसहरू एकछिन अल्मलिएर अनि एकछिन पछि उल्टै उनलाई सोध्न थाले- ‘कुन समाचार ? केको समाचार ?’ प्रश्न सुनेर जराथ्रुष्ट आफैं हैरान भए- ‘यति ठूलो घटना घटेको छ, तर यिनीहरू कसैलाई थाहै छैन !’ उनले फेरि सोधे- ‘के तपाईंहरूले ईश्वर मरेको खबर पाउनुभएको छैन ?’ यो प्रश्न सुनेर मानिसहरू थप अलमलमा परे। अनि; जराथ्रुष्टलाई लाग्यो- ‘शायद उनी धेरै छिटो यहाँ आए; मानिसहरूसम्म ईश्वर मरेको खबर आइपुगेकै छैन!’
आज म पनि तपाईँहरूसँग यस्तै प्रश्न राख्दैछु- ‘के तपाईंहरूले भारतीय समाज मरेको खबर पाउनुभयो ?’ यो प्रश्न सुनेर शायद तपाईँहरूहरू पनि चकित पर्नुहुनेछ र भन्नुहुनेछ- ‘यो कस्तो प्रश्न हो, कस्तो खबर हो ?’ हो; तपाईंलाई पनि भारत र भारतीय समाज मर्यो भन्ने थाहा नहुन सक्छ। हुनत इकबालले एउटा गीतमा भनेका छन्- ‘केही यस्ता कुरा हुन्छन्; जसको अस्तित्व कहिल्यै मेटिंदैन’ (कुछ बात है कि हस्ती मिटती नहीं ... ।)
तर, हजारौं वर्षदेखि भारतीय समाज एउटा मृत समाज र भारत मृत देश हो। यो देश र समाजका निम्ति नयाँ जीवन, नयाँ आत्मा खोज्नु छ। निश्चित रूपमा शिक्षकहरू यो खोजमा सहयोगी बन्न सक्थे, बन्न सक्छन्। तर आजसम्म चाहिं सहयोगी बन्न सकेका छैनन्। हाम्रा शिक्षकहरू जीवनको निम्ति मशाल-वाहक बन्न सकेका छैनन्। अहिलेसम्म उनीहरू पुरानो मुर्दा- समाजकै एजेन्ट रहँदै आएका छन्। हो; शिक्षक समुदाय- नयाँ जगत, नयाँ जीवन, नयाँ मनुष्यता जन्माउने कारक बन्न सक्नुपर्ने हो, तर अहिलेसम्म बनेको छैन। शिक्षकको यो सत्यलाई सबैले बुझनु जरूरी छ।
शिक्षकले आजसम्म के काम गरे ? समाजले शिक्षकबाट के काम लियो ? समाजले भन्ने गर्छ- ‘शिक्षकबाट हामी हाम्रा बच्चालाई शिक्षा र ज्ञान दिने काम लिन्छौं।’ तर अलिक गहिरिएर हेर्नुभयो भने समाजमा व्याप्त सारा बिमारी, अज्ञानता र अन्धविश्वासहरू नै शिक्षकको माध्यमबाट नयाँ पुस्ताको मन-मस्तिष्कमा हाल्ने काम भइरहेको छ।
हाम्रो समाज शिक्षकहरू क्रान्तिकारी भएको रुचाउँदैन। क्रान्तिकारीलाई ऊ सहँदैन । किनभने, जुन दिन शिक्षक क्रान्तिकारी हुन्छ, त्यही दिनबाट समाज रूपान्तरित हुन थाल्छ, नयाँ समाज पैदा हुन्छ। एउटा क्रान्तिकारी शिक्षक पूरै समाज रूपान्तरणको मूल कारण बन्न सक्छ।
तर, तपाईंहरू अनौठो नमान्नुहोला- यो दुनियाँमा आजसम्म शिक्षक जगतका तर्फबाट न कुनै क्रान्तिकारी विचार पैदा भएको छ, न कुनै नयाँ दृष्टिकोण अथवा नयाँ दृष्टि नै समाजलाई प्राप्त भएको छ।
शिक्षक विद्रोही होइन। र, मेरो दृष्टिमा जो विद्रोही होइन ऊ शिक्षक नै होइन, उसले शिक्षक हुने अधिकार राख्दैन। विद्रोही नभइकन ज्ञानको दिशामा आँखा खुल्दैन भने विद्रोही नबनिकन कोही व्यक्ति कसरी शिक्षक बन्न सक्छ ?
विद्रोह नगर्दासम्म मान्छेको आत्मा आफ्नो खोल पन्छाएर बाहिर आउनै सक्दैन। विद्रोही नभइकन कोही पनि जीवनसँग पाइला मिलाएर हिंड्न समर्थ हुँदैन। र, जब कुनै शिक्षाले व्यक्तिको स्वतन्त्र आत्मालाई जन्म दिन सक्दैन भने त्यसलाई शिक्षा अथवा ज्ञान कसरी भन्न सकिन्छ ? त्यो त बोझ् मात्र हुन्छ, सामान्य जानकारी, इन्फर्मेसन हुन्छ, सिकाइ हुन्छ तर ‘शिक्षा’ हुन सक्दैन। शिक्षाले त आत्माको आविष्कार गर्न, आत्मालाई जागृत गराउन सक्नुपर्छ।
नित्सेको टेबलमा एउटा मोटो कागजको पातो घोप्ट्याएर राखिएको हुन्थ्यो। त्यो कागजको एकापट्टि दुई वटा शब्द लेखिएका थिए। जब कोही नित्सेसँग सोध्थ्यो- तिम्रो जीवनको सारभूत कुरा के हो ? तब उनी त्यही बाक्लो कागज उल्ट्याएर देखाइदिन्थे। त्यसमा लेखिएको हुन्थ्यो- ‘लिब डेन्जरसली’, खतरामा जिउन सिक !
सत्य कुरा के हो भने खतरा, जोखिमपूर्ण स्थितिमा नै जीवनको मर्म र महत्व थाहा हुन्छ। सुरक्षित स्थितिमा त जीवन के हो भन्ने नै थाहा हुँदैन। यसै कारण जो चिहानमा बस्छन् उनीहरू अत्यन्त सुरक्षित रूपमा बाँच्छन्, त्यहाँ कुनै खतरा हुँदैन।
यदि शिक्षकहरूले नयाँ पुस्तालाई पुराना बन्धन र लिकबाट मुक्त गर्न कम्मर कसे भने, हाम्रो समाजको आत्मा पुनः जागृत हुन; जन्मन सक्छ, अन्यथा यो समाज मरेको मर्यै हुन्छ। यसनिम्ति शिक्षकले भन्न सक्नुपर्छ- ‘हामी खतरा, असुरक्षा र जोखिमकै बीचमा बालबालिकालाई दीक्षित गर्नेछौं ! हामी भावी पुस्ताका बच्चालाई भन्नेछौं- तिमीहरू खतरनाक ठाउँहरूमा जाओ; समुद्र पार गर, पहाड चढ, आकाशको सयर गर !’ तब मात्र नयाँ समाजको सिर्जना हुन सक्छ।
स्रोतः (नई दुनियाँ, २० मे २०१०)
प्रस्तुति: राजेन्द्र दाहाल



