चमत्कारी एसईई नतिजा !

सर ! कुमार पास भएछ। तर यो कसरी भयो ? मलाई टेन्सन भएको छ !" यो प्रतिनिधि प्रतिक्रिया हो, अहिलेको राम्रो नतिजाप्रति।

भर्खरै (असार १३ गते) प्रकाशित एसईई-२०८१ को नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण वा ग्रेडिङ भएको राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ। यो गत वर्षको भन्दा करीब १३ प्रतिशत बढी हो। नतिजा र शिक्षक आन्दोलन बीचको तालमेल नमिलेकोमा तिखो प्रहार खेपेका शिक्षकहरूलाई केही राहत मिलेको देखिन्छ। तर, के साँच्चिकै गुणस्तर सहित नतिजामा सुधार आएकै हो त ? यसबारे जताततै चर्चा चलिरहेको छ।

जादुगरी नतिजा

यस वर्षको एसईई नतिजाले सबैलाई खुशी दिएको छ। यसबाट अभिभावक, शिक्षक, विद्यार्थी र समाजलाई हौसला बढाएको छ। कतिपयले सामाजिक सञ्जाल फेसबुक, रेस्टुरेन्ट त कतिले घरमै बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। विद्यालयले बाजागाजाका साथ हर्षोल्लास मनाएका छन्। मिडियामा चर्चाले राम्रै स्थान पाएको छ। कक्षा-११ को भर्नाको आधार पनि बनेको छ। प्री-बोर्ड परीक्षामा उत्तीर्णसम्म नभएका सामान्य विद्यार्थीको पनि उत्कृष्ट नतिजाले सबै दङ्ग परेका छन्।

प्री-बोर्डमा नतिजा कस्तो थियो त ?

एसईईको पूर्व सन्ध्यामा लिइएको नतिजा निराशाजनक थियो। उक्त एक महीना अघिको नतिजा करीब १० देखि ५० प्रतिशत भन्दा कम नतिजा रहेको विद्यालयको अहिले ७०/७५ प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तीर्ण भएको पाइएको छ। अझै विद्यार्थी निरक्षर रहेकोले जीवनभर परीक्षा पास गर्नै सक्दैनन् भन्ने विद्यार्थीको संख्या ४/५ जना प्रायः स्कूलले स्वीकारेका थिए। आन्तरिक परीक्षामा प्रायः फेल हुने विद्यार्थीका अभिभावकलाई बोलाएर जतिसुकै प्रयास गर्दा पनि नसकिएको र उत्तीर्ण हुने लक्षण नभएको अन्तरक्रिया गरेको पनि भेटिएको थियो। केही विद्यार्थीले आफ्ना केही साथीलाई जति सिकाए तापनि सिक्नै नसकेकोले निराश भएको पाइएको थियो। विद्यालय प्रशासनले पनि प्रयास जारी राखिए तापनि उत्तीर्ण गराउने ग्यारेन्टी नभएकोले विद्यालय दोषी नहुने वा अर्को पटक उत्तीर्ण हुन सक्ने घुमाउरो जानकारी अभिभावकलाई दिएको पाइन्थ्यो। तसर्थ, यो राम्रो नतिजा अपेक्षित थिएन।

दंगदास नतिजा कसरी आयो त ?

प्रश्नपत्र :
यो पटकको प्रश्न पत्रको स्तर सजिलो खालको भएको विषयगत शिक्षकहरूको प्रतिक्रिया थियो। प्रायः प्रश्नहरू सामान्य खालका थिए। कमजोर विद्यार्थीले पनि अधिकांश जवाफ दिन सक्ने खालका थिए। संज्ञानात्मक, बोध, निर्णयात्मक, रचनात्मक जस्ता प्रश्न कम समावेश गरिएको भन्ने शिक्षकहरू अनि माथिल्लो कक्षामा सोही विषय अध्ययन गर्ने विद्यार्थीहरूको प्रतिक्रिया पाइयो। त्यसैले प्रश्नको स्तरीयता कमसल खालको भएकोले पनि सामान्य विद्यार्थी पनि पास भएको भेटियो।

परीक्षा र परीक्षण प्रणाली

विद्यार्थीले परीक्षा दिंदा आफ्नै मौलिकता अनि क्षमतामा मात्रै सीमित नभएको आभास हुन्छ। उत्तर पुस्तिका परीक्षण गर्दा उस्तै उत्तरहरू लगातार थुप्रै भेटिएको अनुभव राख्छन् शिक्षकहरू। उत्तरहरू नक्कल गरिएको भन्ने स्पष्ट भए तापनि कापीमा लेखिएको उत्तरलाई नै आधार मानी अङ्क प्रदान गरिएको शिक्षकहरूको भनाइ छ। त्यसैमाथि "आशय बुझी स्वविवेक प्रयोग गरी विद्यार्थीलाई अङ्क प्रदान गर्ने" भन्ने चलनले पनि राम्रै नतिजा दिन मद्दत गरेको छ। "हल्ला नगरीकन है" भन्ने छोटो निर्देशन पटक पटक आइरहने गरेको विद्यार्थीहरूले अभिव्यक्ति दिएको प्रायः अभिभावक-शिक्षकहरू नै बताउँछन्। "म पास हुन्छु सर" भन्दा शिक्षकहरूले नै नपत्याएको तर अहिले पास भएकोमा अचम्मित छन्। पास भए तापनि केही अभिभावक भने सन्तुष्ट देखिन्नन् किनकि आफ्ना बालबालिका पूर्ण साक्षरसम्म पनि नभएको उनीहरूलाई प्रस्टै छ। त्यसैले नतिजा राम्रै देखिए तापनि सम्बन्धित सरोकारवालाहरूलाई नै परीक्षा मर्यादित भएकोमा आशङ्का छ।

अब के हुन सक्छ त ?

यस्तो फितलो पढाइ अनि परीक्षा प्रणालीले गर्दा शैक्षिक गुणस्तर गिर्दै जाने सम्भावना बढ्दै जान्छ। एकातिर मेहनत गरी पढ्नै नपर्ने वातावरण सिर्जना हुन सक्छ भने अर्कोतिर माथिल्लो तहमा पनि सिकाइप्रतिको रुचिमा ह्रास आउन सक्छ। अझै तल्ला तहमा आधारभूत विषयवस्तुको ज्ञानको अभावले बुझाइ गाह्रो हुने र जबरजस्ती सिकाउँदा सुषुप्त रूपमा विरोध गर्दै जान्छ। यसले समग्र नतिजामा नकारात्मक असर पार्दछ। सिकाइ फेरि औपचारिकता मात्रै सीमित हुन सक्छ। प्रायः माथिल्लो तहको अध्ययनलाई बेवास्ता गर्दै जान्छन्। फलस्वरूप कालान्तरमा देशमै योग्य, सक्षम र दूरदर्शी जनशक्तिको अभावमा देश गुज्रिन्छ। देशको चौतर्फी विकासमा धक्का पुग्छ। सामाजिक विकृति र अपराध मौलन्छ। द्वन्द्वले विकराल रूप लिन सक्ने भय हुन्छ। यसर्थ, कमजोर शैक्षिक गुणस्तरले देशलाई भविष्यमा दुर्गतितिर दिशानिर्देश गर्ने त्रास बढ्छ।

अब के गरी वास्तविक नतिजा सुधार्ने त ?

गुणस्तरीय शिक्षा आज र भोलिको आवश्यकता हो। त्यसैले पूर्वाधारदेखि नै वास्तविक सिकाइलाई जोड दिनुपर्दछ। विद्यार्थीको विद्यालय जाने उमेर, पाठ्यक्रम, पाठ्यपुस्तक, प्राथमिक र पूर्वप्राथमिक तह (बाल विकास) देखि नै शिक्षकको शैक्षिक योग्यता, तालिम, अनुभव, सेवा सुविधाको व्यवस्था मिलाउनु पर्दछ। शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन र सजायको उचित व्यवस्था गर्नुपर्ने सुधारका आधारहरू हुन्। त्यसै गरी वास्तविक निरन्तर मूल्याङ्कन, सिकाइ सहितको कक्षा-उन्नति नीति, मर्यादित परीक्षा र तथ्यगत उत्तर पुस्तिका परीक्षणलाई यथार्थपरक बनाइनुपर्छ। विषयगत शिक्षकको व्यवस्था, प्राविधिक सिकाइ-प्रणाली, वास्तविक बालमैत्री र सिकाइमैत्री शिक्षण क्रियाकलापमा सुधार ल्याउनु पर्दछ। त्यसका लागि शिक्षक तालिम, प्रवोधिकरण कार्यक्रम, राष्ट्रिय तहको प्रश्न पत्र, अपेक्षित उत्तर, उत्तर पुस्तिका परीक्षण सम्बन्धी तालिम, कार्यशाला तथा गोष्ठी शैक्षिक सत्र शुरू हुनुभन्दा अगावै सञ्चालन गरिनुपर्छ। उत्कृष्ट शैक्षिक नतिजा र वास्तविक व्यावहारिक ज्ञान प्रदान गरेका शिक्षकलाई अनुभव आदानप्रदान गर्ने कार्यक्रमलाई प्रोत्साहन दिनुपर्दछ।

निष्कर्ष

चमत्कारी नतिजाले क्षणिक खुशी सबैलाई दिएको सत्यता हो। तथापि सबै पक्षले यसलाई सहर्ष स्वागत गरेको भने देखिंदैन। यसभित्र थुप्रै भ्रमहरू छन्। यसले भविष्यमा दक्षता, दूरदर्शिता, क्षमता वान, सिर्जनात्मक जनशक्तिको अभावले देशमा चौतर्फी समस्या पार्न सक्छ। तसर्थ, सरोकारवाला निकायहरूले समयमै गुणस्तरीय सिकाइको उचित वातावरण सिर्जना गरी दक्ष, दरिलो, दार्शनिकको उत्पादनमा जोड दिने हो भने सधैं उत्कृष्ट नतिजाले सबैको मुहारमा खुशी छाउन सक्दछ।

ज्योति माध्यमिक विद्यालय, सुनवल-७, नवलपरासी

 

 

commercial commercial commercial commercial