इतिहास बुझनका लागि...

“आजभोलि काठमाडौं शहरका बासिन्दाहरूलाई विशेष गरेर नयाँ उमेरकाहरूलाई साझ चढ्नु, सिनेमा हेर्नु, होटलमा खानु सामान्य कुरो भएको छ। यी तीन कुराको परिचय नपाउने उमेरदारको संख्या कमै होला। अहिलेभन्दा २० वर्षअघि काठमाडौंमा यस्तो थिएन। अहिलेभन्दा ५५ वर्ष अगाडिको काठमाडौंमा बिजुली थिएन। अहिलेभन्दा ६५ वर्ष अगाडि मोटरको आवाज यहाँ आइपुगेको थिएन। अहिलेभन्दा ७० वर्ष अगाडिको काठमाडौंमा कलधारा थिएन। उनताका इनार, ढुङ्गेधारा, सुनधाराहरूको पानीले गृहस्थहरू निर्वाह गर्दथे । अहिलेभन्दा ९० वर्ष अगाडिको काठमाडौंमा मट्टीतेल–दियासलाई थिएनन्। उनताका राति बत्ती सल्काउन काठमाडौं गणेशस्थान आदि ठाउँमा रातभर बल्ने बत्तीकहाँ पुग्नुपथ्र्यो अथवा आफ्नो घरमा अगुल्टोलाई जोगाएर राख्नुपथ्र्यो।
यति भन्नाको तात्पर्य, अहिलेका हामीहरूको जीवनचर्यालाई विचार गरेर सय वर्ष अगाडिका काठमाडौंका बासिन्दाको जीवनचर्यालाई बुझन सकिंदैन भन्ने हो।
तिथि, वार, नक्षत्र, योग, करण यी पाँच कुरा मिलेपछि पञ्चाङ्ग बन्दछ। तर प्राचीन अभिलेखहरूमा वारको चर्चा पाइँदैन । इरण (मध्यभारत) मा रहेको बुधगुप्तको पालाको वि.सं. ५४१ को अभिलेखमा सबभन्दा पहिले वारको चर्चा परेको छ। नेपालका अभिलेखमा चाहिं यसभन्दा धेरै पछिसम्म पनि वारको उल्लेख पाइँदै । लिच्छविकालका कुनै अभिलेखमा पनि अहिलेसम्म वारको चर्चा देखिएको छैन। योग र करणहरूको उल्लेख पनि लिच्छविकालका अभिलेखमा पाइएको छैन, मानदेवको चाँगुको अभिलेखमा नक्षत्रको चर्चा परेको छ। लिच्छविकालका अहिलेसम्म महीना, पक्ष, तिथि मात्र पाइएका छन् ।”
कथनको सार: इतिहासका घटना, प्रवृत्ति र जनजीवनको वास्तविक अवस्था बुझन तत्काल प्रचलित मापदण्ड र त्यतिबेलाको धरातलीय यथार्थको ज्ञान जरूरी हुन्छ; अहिले प्रचलित मापदण्डका भरमा मात्र पहिलेको वस्तुस्थिति या जीवनशैली आकलन गर्नु वस्तुनिष्ठ हुँदैन।
इतिहासविद् नयनराज पन्तले लेख्नुभएको ‘लिच्छविकालको पञ्चाङ्गको एक झलक’ शीर्षकको निबन्ध, पूर्णिमा त्रैमासिक पत्रिकाको २०२१ साल, साउन अंकबाट साभार।