नयाँ गोरेटो हुँदै एमफिलसम्म !

म फूलमाया कुलुङ (४२)। मेरो जन्म सोलुखुम्बुको महाकुलुङ गाउँमा भएको हो। कृषि पेशामा आश्रित हाम्रो परिवारमा हामी १४ जना भाइ-बहिनी जन्मिएकोमा ८ जना मात्रै जीवितै रह्यौं। ८ सन्तानमध्ये म माइली छोरी थिएँ। छोरालाई सावाँ अक्षरसम्म चिनाउने र छोरी अर्काको घर जाने जात भनेर नपढाउने चलन थियो। त्यसै भएर हाम्रो परिवारमा पनि छोरीलाई पढाउने कुरा उठ्दैनथ्यो।
भाइ-बहिनीहरूमध्ये कोही गोठालो, कोही मेलापातको खेतालो र कोही चाहिं परिवारमा चाहिने नुनतेलको जोहो गर्न साहुको खेतालो लाग्ने गरी कामको बाँडफाँड हुन्थ्यो। स्कूल र पढाइको कुरै हुँदैनथ्यो। काम बाँड्दा म भैंसी गोठालोमा परें। त्यो बेला गाईभैंसीलाई खर्क (लेक) लैजाने चलन थियो। ९ महीना खर्कमा बसेपछि हिउँदमा गाउँघर झरिन्थ्यो। म ६ वर्षकी हुँदादेखि गोठमा बसेको याद छ। शुरूको वर्ष म बुवासँग खर्क बसें। त्यसपछि एक्लै बस्न थालें। अहिले त्यतिबेलाका दिनहरूसम्झिंदा एकादेशको कथा जस्तै लाग्छ।
मलाई सामान्य क, ख, जेठोे दाइले आक्कलझुक्कलमा चिनाउनुभएको थियो। त्यसपछि दाइको ‘ठूलो वर्णमाला’ किताब गोठमा लिएर गएकी थिएँ। त्यसका अक्षर हेर्दै पातमा काँडाले कोर्थें। हिलोमा, धुलोमा पनि औंलाले अक्षर कोर्थें। काठ, बाकस र रूखको बोक्रामा कोइलाले अक्षर कोर्दै कोर्दै सावाँ अक्षर लेख्न सिकें। गाईगोरुका बुट्टामा, चउरका पाटामा र बादलका रेसा-रेसामा पनि आफूले सिकेका अक्षरको आकार देख्थें। मलाई अक्षरको लतै लागेको थियो । यसरी बल्लतल्ल नेपाली सावाँ अक्षर चिने पनि स्कूल जाने अवसर थिएन। ती खर्कमा म जस्ता पात्र धेरै थिए।
खर्कमा बस्दाबस्दैमा १५/१६ वर्ष कटिसकेकी रहेछु। त्यहाँ मेरो प्रिय साथी भनेको बुवाले ल्याइदिनुभएको एउटा थोत्रे पानासोनिक रेडियो थियो । रेडियो सुन्ने क्रममा एक दिन प्रौढ शिक्षा सम्बन्धी एउटा नाटक आयो। मैले ध्यान दिएर सुनें। बुझें पनि। हाम्रो गाउँघरमा पनि यस्तो अवसर आउँला कि भन्ने प्रतीक्षा गर्न थालें। पहिलो पटक प्रौढ कक्षा आउँदा मेरो उमेर नै पुगेन । प्रौढमा पढ्नलाई १६ वर्ष कटेको हुनुपर्ने नियम रहेछ। दोस्रो पटकमा उमेर पुग्यो। बल्ल प्रौढ कक्षा पढ्ने मौका मिल्यो। ६ महीनाको कोर्स हुन्थ्यो। ‘नयाँ गोरेटो’ भन्ने पुस्तक पढ्नुपथ्र्यो । त्यसमा अक्षरबाट होइन शब्दबाट पढ्न शुरू गरिन्थ्यो।
६ महीना पढिसकेर प्रौढ कक्षाका अरू साथीहरू स्कूल जान थाले । प्रौढको परीक्षामा म प्रथम भए पनि स्कूल जान भने पाइनँ। मेरो दिनचर्या फेरि उही खर्कतिर नै लम्कियो। तर यसपटक पहिले जस्तो सहज तरिकाले बस्न सकिनँ। गाई-भैंसी, भीरपाखा, वनजंगल, चराचुरुङ्गीसँग पटक्कै रमाउन सकिनँ। के नपुगे जस्तो, के छुटे जस्तो भइरह्यो । पीडा पोख्ने ठाउँ कहीं थिएन। आफ्नै मनसँग कुरा गर्दै जाँदा एक दिन आफैं विद्रोह गरेरै भए पनि स्कूल जानुपर्छ भन्ने आँट पलायो । तर खर्चको विकल्प केही थिएन।
पढ्ने खर्च जुटाउन मैले जुक्ति निकालें- नाम्चेबजार गएर काम गरी पैसा कमाउने अनि पढ्ने। यो कुरा बुवाआमासँग गरें, उहाँहरू सहमत पनि हुनुभयो। नाम्चे गएर फेरिचे भन्ने ठाउँमा दिनको ४० रुपैयाँले माउन्ट कैलाश होटलमा भाँडा माज्न थालें। डेढ महीना भाँडा माजेर १८०० कमाएँ । तर घर फर्कंदा बाटो खर्चमै ११०० सकियो। बाँकी बचेको ७०० खर्चले पढ्ने कुरा बुवालाई सम्झाउन महाभारत नै भयो । पढ्नका लागि म करीब एक हप्ता रोएरै बसें।
अहिले म त्रिभुवन विश्वविद्यालयमै एमफिल तहमा अध्ययन गर्दैछु। मलाई विश्वास भइसकेको छ- चाहना छ भने, बहानाले कुनै पनि सपना छेक्दैन। बलियो इच्छाशत्तिाm, धैर्य र निरन्तरता चाहिं हुनुपर्छ।
ठूलो जोडबलपछि २०५९ सालमा १८ वर्षको उमेमा पहिलो पटक श्री सगरमाथा माविको कक्षा-४ मा भर्ना भएँ । स्कूल जान पाउँदा खुशीको सीमा थिएन। तर चुनौती पनि उस्तै थियो। प्रौढमा नेपाली र अलिअलि हिसाब जानेकी थिएँ। तर स्कूलमा त अंग्रेजी किताब पनि रहेछ! आफू १८ वर्षे ठूली, धुपी सल्लो जस्ती; ए, बी, सी, डी पनि नआउने । अनि कक्षाका भाइबहिनी चाहिं बुट्यान जस्ता साना साना, अंग्रेजी अक्षर फरर्र पढ्न सक्ने। आँट गरेपछि पढ्नै पर्यो। कक्षाको एउटा कुनामा राखेर सरले मलाई ए, बी, सी, डी सिकाउनुहुन्थ्यो। अरूलाई चाहिं अंग्रेजीको पाठ पढाउनुहुन्थ्यो। अर्को समस्या; झयालमा मलाई हेर्न झुम्मिने भीड हुन्थ्यो। तर मलाई लाज भने एक सिन्को पनि लागेन । पढ्न पाउँदा म कम खुशी थिइनँ ! यसरी पढ्दै जाँदा नतिजा पनि राम्रै आउँदै गयो।
द्वन्द्व र २०६१/६२ को संकटकालले गर्दा गाउँमा पढ्ने वातावरण राम्रो थिएन। उमेर पनि २०/२१ पुगिसकेकोले होला म बिहे गर्ने निर्णयमा पुगें। पढाइका रहरहरू मनैमा पोको पारेर श्रीमान् श्रीमती नै फेरि नाम्चेबजारतिर लाग्यौं। तर शिक्षारूपी प्यास मनबाट निकाल्न चाहिं कहिल्यै सकिनँ। चिसोमा बच्चा पाउन र हुर्काउन गाह्रो हुने भएपछि नाम्चेबाट काठमाडौं आयौं । श्रीमान् हिमालतिर नोकरीमा हुनुहुन्थ्यो। पछि श्रीमान् चिसोको कारण बिरामी हुनुभयो। त्यहाँ बस्न नसकेपछि काठमाडौंमै बस्ने बाध्यता आयो।
काठमाडौंमा खर्च जुटाउन सानो मःम पसल खोल्यौं । श्रीमान्सँग गफ गर्दै मःम बनाउने क्रममा मनमा खट्किरहेको पढाइको रहरका कुरा पटक-पटक हुन्थे। कुरा चल्दै जाँदा श्रीमान्ले “तिम्रो खुशी नै त मेरो खुशी हो, आँट गर्छौं भने म साथ दिन्छु”, भन्नुभयो । त्यसपछि साथी मार्फत ज्ञानज्योति महिला मावि, चाबहिल, काठमाडौंसँग जोडिने भाग्य मिल्यो। त्यहाँ म्यामहरूले सोध्नुभयो, “कति कक्षामा पढ्न सक्छ्यौ ?” पढ्न छोडेको ६/७ वर्ष भएकोले सबै बिर्से जस्तो लागेर डर लाग्यो। “३ कक्षादेखि सक्छु होला !” भनें; अनि सोही कक्षामा भर्ना भएँ। तर मेरो क्षमता र उमेर देखेर ३/४ महीनाको अन्तरालमा नै कक्षा-७ सम्म पुर्याइदिनुभयो । अब नियमित पढ्न थालें। कक्षा-१० मा जाँदै गर्दा कान्छी छोरी जन्मिई । त्यसपछि नियमित स्कूल जान रोकियो । तर सानो नानीसँगै सुत्केरी अवस्थामा नै एसएलसी पनि दिएँ, सेकेण्ड डिभिजनमा पास पनि भएँ।
ज्ञानज्योति महिला मावि कामकाजी महिलामैत्री स्कूल हो। यसले ज्ञान र शिक्षा मात्रै सिकाउँदैन, त्यसलाई सीप र उद्यमसँग जोड्न सिकाउँछ। आफू जस्तै शिक्षा पाउन वञ्चित भएका ३५-४० जना दिदी–बहिनीलाई पनि ज्ञानज्योतिसँग जोडेकी छु। ‘कोही पढाइ छुटेको हुनुहुन्छ भने यो स्कूलमा पढ्न आउनुहोला’ भन्ने आग्रह पनि गर्छु। पढ्ने सपना अधुरा छन् भने ‘शिक्षा आर्जन गर्न उमेरले छेक्दैन’ भन्ने नारा सहित ज्ञानज्योति महिला माविले सघाउँछ।
त्यतिखेर भन्ने गरिन्थ्यो- ‘एसएलसी भनेको फलामको गेट हो, जसलाई विद्यार्थीले कागजको साँचो बनाएर खोल्न सक्नुपर्छ ।’ सुन्दा साह्रै डर लाग्थ्यो । दिनभरि पसलमा काम । काँधमा अनगिन्ती जिम्मेवारी । काखमा सानो दूधे बालक । मनभरी एस.एल.सी पास हुने रहर । पढ्ने समय छँदै थिएन। तर पनि आँट र साहस उस्तै ताजा थियो । दैवले भन्छन् रे ‘तँ आँट, म पु¥याउँछु’ भनेर । त्यसै गरेर सफल पनि भएँ।
२०७१ सालमा श्री सहयोगी उमावि, गोकर्णेश्वरमा भर्ना भई प्लस टु पढ्न थालें । पसल नजिकै कलेज भएकोले बिहान दुई विषय पढ्न जान्थें। सबै विषय पढ्न समय पुग्दैनथ्यो । ८ बजे कोठामा आएर दुइटा नानीलाई खुवाईवरी स्कूल पुर्याएर १० बजे होटलको डिउटी भेटाउनुपथ्र्यो । १२ कक्षा पनि जसोतसो नियमित नै पास गर्न सफल भएँ। २०७३ मा पशुपति बहुमुखी क्याम्पसमा मेजर नेपाली लिएर बीए पढ्न शुरू गरें। यहाँ पनि नियमित कक्षा लिन पाइनँ । पसलको काम उस्तै, कलेज टाढा थियो, नानीहरू सानै थिए।
ब्याक लाग्दै लाग्दै भए पनि २०७७ मा बीएको पढाइ पूरा भयो। त्यस समयमा कोरोनाले व्यापार चौपट् थियो। श्रीमान् श्रीमती दुवैलाई कोरोना लागेर सिकिस्त बिरामी थियौं। मोबाइलमा टीयूको नोटिस आयो मास्टर डिग्रीको इन्ट्रान्स फर्म खुल्यो भनेर। फेरि मन छट्पटिन थाल्यो। पद्मकन्या बहुमुखी क्याम्पसमा गएर एमए भर्ना भएँ। पहिलो सत्र राम्रै पढेर परीक्षा दिएँ नतिजा पनि राम्रै आयो। दोस्रो सत्र शुरू हुँदै गर्दा बिरामी हुन थालें। मिर्गौलाको समस्या देखियो। हस्पिटल बसें। औषधिको ‘साइड इफेक्ट’ले दम, सुगर, प्रेसर, बाथ, कोलेस्टोरल विभिन्न रोग बढेर टाउको उचाल्न सक्ने अवस्था थिएन । कलेज जान सक्दिनथें। पढ्न पनि सकिनँ। श्रीमान्ले पनि ज्यानलाई गाह्रो हुन्छ, पढाइको तनावले झ्न् बिरामी हुन्छ, छोड्दिनू भन्नुभयो। मलाई पनि त्यही लाग्यो। ज्यान बचाउन त सकिन्छ सकिंदैन पढाइको के तनाव लिनु भनेर पढाइ छाड्ने निर्णय गरें।
यो निर्णयसँगै एक हप्ता जति मन ढुक्क गरेर बस्ने कोशिश गरें। तर बस्नै सकिनँ। पसलमा काम गर्न पनि सकिनँ। दिनभरि एक्लै घरमा । रातदिन निद्रा पनि लागेन। खै के छुटे जस्तो, के नपुगे जस्तो, शरीर नै आधा पाटो मात्रै भएको जस्तो अपूरो लाग्न थाल्यो । झन्-झन् गाह्रो भयो। अनि आफैंले मनन् गरें। मैले पढ्न छोडे भनें, आफ्नो मनलाई आफैंले बुझउन नसक्ने रहेछु। त्यसपछि फेरि बच्चाले जस्तै तातोपानी, खाजा र औषधि झेलामा बोकेर कलेज जान थालें। कलेजका साथी र गुरु-गुरुआमाहरूले पनि बिरामी भनेर सपोर्ट गर्नुहुन्थ्यो। श्रीमान् चिन्तित भएर छिनछिनमा फोन गर्नुहुन्थ्यो। कहिले सास बढेर कति गाह्रो हुन्थ्यो, कहिले सुगरले थुरुर्र काम्थें। कहिले प्रेसरले ढल्ला जस्तो हुन्थ्यो, कहिले पसिना चिट्चिट् आउँथ्यो। तर पनि ‘मरे पढ्दापढ्दै मरौंला, बाँचे डिग्री हासिल गरौंला’ भन्ने आँट र साहस बटुलेर लागिरहें। दृढ इच्छाशक्ति र धैर्यको फलस्वरूप नै नेपाली विषयमा मास्टर डिग्री हात पार्न सफल भएँ। अहिले म त्रिभुवन विश्वविद्यालयमै एमफिल कार्यक्रममा भर्ना भएर अध्ययन गर्दैछु। सँगै; कक्षा १-३ को लागि कुलुङ भाषाको पाठ्यक्रम विज्ञको रूपमा छनोट भई पाठ्यक्रम विकास केन्द्रसँग काम पनि गरिरहेकी छु।
आफू विद्यार्थीकै रूपमा मर्न पाऊँ भन्ने मेरो प्रार्थना छ। मलाई विश्वास भएको छ- चाहना छ भने, बहानाले कुनै सपना छेक्दैन। बलियो इच्छाशक्ति, धैर्य र निरन्तरता चाहिं हुनुपर्छ। यो मेरो अनुभव हो। अर्को कुरा; बुढेसकालसम्म पनि दुःख गरेर पढ्नुको उपलब्धि के छ भनेर प्रश्न गर्नेको पनि कमी छैन। त्यसको उत्तरमा म भन्ने गर्छु- ‘मलाई आत्मसन्तुष्टि छ। त्यो भन्दा ठूलो उपलब्धि जीवनमा कहीं, कतै, कुनै पनि छैन।’ मान्छेले जति नै धनदौलत कमाए पनि, शिक्षा प्राप्त गरे पनि, इज्जत, मान-सम्मान पाए पनि- यदि उसको मन खुशी छैन भने त्यो जीवन के जीवन !
मेरो पढाइको मुख्य श्रेय मेरो श्रीमान्लाई दिन चाहन्छु। किनभने म जस्ता शिक्षाबाट छुटेका पात्रहरू कति छन् कति ! उहाँको साथ नभएको भए मेरो पढ्ने सपना अपूरो नै रहने थियो। दोस्रो श्रेय, ज्ञानज्योतिलाई दिन चाहन्छु, किनभने म जस्तै विभिन्न कारणले शिक्षाबाट वञ्चित हजारौं दिदी-बहिनीको उद्धार यसले गरेको छ।
शिक्षक मासिक, २०८२ वैशाख अंकमा प्रकाशित ।