नेपालका औषधीय बोटबिरुवा

हामीले सदियौंदेखि विभिन्न आवश्यकता प्रकृतिबाट पूरा गर्दै आइरहेका छौं। मानव जाति बाहेक पृथ्वीमा पाइने विभिन्न जीवजन्तुले पनि आ-आफ्नो आवश्यकता पूरा गर्न प्रकृतिमा नै निर्भर हुने गरेका छन्। हाम्रा लागि खाना, औषधि, लुगा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ, सौन्दर्य प्रसाधन र आ-आफ्नो सांस्कृतिक मूल्य-मान्यताका आवश्यकता पूरा गर्ने सबै कुरा प्रकृतिबाट नै प्राप्त हुने गर्दछन्। प्रकृतिबाट प्राप्त हुने विभिन्न वस्तुमध्ये सबैभन्दा महत्वपूर्ण बोटबिरुवा वा वनस्पति हुन्। बोटबिरुवाले हाम्रा धेरै आवश्यकता पूर्ति गर्दछन्। हामीले बोटबिरुवालाई औषधिका रूपमा, पशुका आहारा र रोगका उपचारका निम्ति, खाद्यवस्तुका रूपमा, धार्मिक र औपचारिक अवसरमा, तेल तथा पेयपदार्थ उत्पादनमा, सजावटमा, रङ्ग उत्पादनमा, निर्माण सामग्री र फर्निचरका लागि प्रयोग हुने कच्चा पदार्थका लागि, रेसा उत्पादन र वातावरण स्वच्छ बनाउनका निम्ति प्रयोग गर्ने गर्दै आइरहेका छौं। यसरी विभिन्न प्रयोजनका लागि प्रयोग हुने बोटबिरुवालाई आर्थिक दृष्टिले लाभप्रद बोटबिरुवा (economically important plants) भन्ने गर्छौं।
औषधीय गुणयुक्त वनस्पति बारेको पूर्वज्ञान
नेपाल क्षेत्रफलका हिसाबले सापेक्षतः सानो भए तापनि जैविक-विविधताका हिसाबले अत्यन्त समृद्ध छ। त्यसैगरी नेपाल धर्म-संस्कृति, जात-जाति र भाषाका हिसाबले पनि अत्यन्त विविध र धनी छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ र यो जनसंख्यामा १२५ जातजाति छन् भने तिनले बोल्ने १२३ भाषा-भाषी छन्। जनसंख्यामा रहेको विविधताले गर्दा ठाउँपिच्छे बोटबिरुवा कसरी प्रयोग गर्ने भन्ने हाम्रो रैथाने ज्ञान निकै उत्कृष्ट र प्रतिष्ठित किसिमको छ। अहिले पनि ग्रामीण क्षेत्रमा बस्ने कुल जनसंख्याको ६० देखि ८० प्रतिशत नेपालीले बोटबिरुवालाई कुनै न कुनै प्रकारले औषधिका रूपमा प्रयोग गर्दै आइरहेको छौं।
वेद, रामायण र महाभारतमा बिरुवाहरूको प्रयोग सम्बन्धी ज्ञान प्राथमिक किसिमका छन्। त्यहाँ धेरै ठाउँमा एकभन्दा धेरै बिरुवालाई एउटै नाम उल्लेख गरेको पाइन्छ र तिनको पहिचानमा यथेष्ट समस्या देखिने गरेको छ। समयक्रमसँगै मानिसले आफ्नो ज्ञानको दायरा बढाउँदै गएपछि तिनको लिखतमा पनि सुधार हुँदैगयो। सातौं शताब्दीमा तीन खण्डमा लेखिएको सौश्रुत-निघन्टुमा नेवारी लिपि र संस्कृत श्लोकमा नेपालमा पाइने २७८ वनस्पति प्रजातिको विवरण पाइन्छ। यो हस्तलिखित दस्तावेज ताडको पात (palm leaves) मा लेखिएको थियो। त्यसपछिको अर्को महत्वपूर्ण लिखत चन्द्र निघन्टु हो। यो पण्डित कविराज श्री गणनाथ देवकोटाले राणा प्रधानमन्त्रीहरू वीरशमशेर (सन् १८८५-१९०१) र चन्द्रशमशेर (सन् १९०१-१९२९) को अनुरोधमा लेखेका थिए। चन्द्र निघन्टुमा औषधिका रूपमा प्रयोग गरिने ७५० वनस्पतिका प्रजाति, ९० जीव-जनावरका प्रजाति र केही खनिज पदार्थको विवरण सहित ८४० वटा रंगीन चित्रहरू समावेश छन्। एक हजारभन्दा धेरै पृष्ठ भएको चन्द्र निघन्टुमा नेपाली र संस्कृत भाषामा वनस्पति, जनावर र खनिजको गुण सहित औषधिको रूपमा तिनलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर विवरण दिइएको छ। कतिपय बोट-बिरुवाका नाम अरबी, अंग्रेजी, ल्याटिन, नेवारी, फारसी, तिब्बती र धेरै भारतीय आदिवासीले प्रयोग गर्ने भाषामा पनि उल्लेख छन्। चन्द्र निघन्टुका ११ मध्ये आठ खण्ड बोटबिरुवाका बारेमा, एउटा जनावरको बारेमा र अर्को एउटा चट्टान तथा खनिजहरूको बारेमा छन्। यसको अन्तिम खण्डमा अनुक्रमणिका (index) छ। यसपछिको अर्को महत्वपूर्ण लिखत नेपाली निघन्टु हो र यो कोषनाथ देवकोटाले तयार पारेका हुन् र यसमा ९७१ बोटबिरुवाका प्रजातिको जानकारी दिइएको छ। नेपाल निघन्टु सन् १९६८ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट छापिएको हो।
औषधिमा प्रयोग हुने महत्तवपूर्ण बोटबिरुवामा- यार्चागुम्बा, गुच्ची च्याउ, पाँचऔंले, अतिस, कुट्की/कटुकी, पदमचाल, निर्मसी, जटामसी/भुल्ते, वन लसुन, लौठ सल्लो, सतुवा, चिराइतो, तेजपात, टिमुर, हर्रो, बर्रो, विजय साल, सर्पगन्धा, पाखनबेत, तितेपाती, इत्यादि हुन्।
औषधिमा प्रयोग गरिने नेपाली बोटबिरुवाको वैज्ञानिक अध्ययन गर्ने श्रेय सन् १९५५ मा प्रकाशित एक अनुसन्धानात्मक लेख अनुसार भारतीय अध्येता मोहनलाल बनर्जीलाई जान्छ। उनले खान र औषधिको रूपमा प्रयोग गर्न सकिने १३ वटा बिरुवाको बारेमा लेखेका छन् र उक्त लेख जर्नल अफ द बम्बे नेचुरल हिष्ट्री सोसाइटी मा प्रकाशित छ। यो लेखमा उतिबेला प्रशस्त रूपमा खानको लागि प्रयोग गरिने सिमली लेउको बारेमा पनि उल्लेख छ। नेवारीमा न्याहक्लु भनिने सिमली लेउको वैज्ञानिक नाम प्रासियोला फर्मोसाना (Prasiola formosana) हो। बनर्जीले यो लेउ उतिबेला गोदावरीमा बग्ने साना खोलामा पाइने र काठमाडौंको बजारमा बिक्री गरिने उल्लेख गरेका छन्। पछिल्ला दिनमा भने यो काभ्रे जिल्लाको करीब १५०० देखि २००० मिटरको उचाइमा बग्ने रोशीखोला, खारखोला र ढुंगखर्कको सफा, स्वच्छ, चिसो र उच्च प्रवाहमा बग्ने पानीभित्र रहेका ढुङ्गामा मात्र पाइन्छ। बनर्जीको अध्ययनपछि औषधिमा प्रयोग हुने धेरै बोटबिरुवाबारे नेपालमा अरू पनि अध्ययन भएका छन्।
औषधीय गुण भएका बोटबिरुवाका केही उदाहरण
औषधिमा सबैभन्दा धेरै प्रयोग हुने सपुष्पक वनस्पति हुन् भने त्यसपछि उन्यू र उन्यूजन्य प्रजाति हुन्। नेपालमा औषधीय प्रयोग हुने सपुष्पक वनस्पति अनि उन्यू र उन्यूजन्य प्रजातिका वनस्पतिको संख्या करीब २३०० देखि २५०० जति छ। यी प्रजाति करीब ७० देखि ६२०० मिटरको उचाइसम्म पाइने भए तापनि सबैभन्दा धेरै प्रजाति १५०० देखि २५०० मिटरको उचाइ बीचमा पाइन्छन्। औषधीय गुण भएका बोटबिरुवाहरू धेरै मात्रामा या त तराईको अत्यन्त तातो अथवा उच्च हिमाली भेगको चिसो हावापानीमा पाइन्छन्।
जडीबुटी अथवा बोटबिरुवाहरू आयुर्वेदिक, युनानी, सिद्ध, तिब्बती वा स्थानीय उपचार प्रणालीमा सामान्य रुघाखोकीदेखि अत्यन्त जटिल रोग- जस्तैः औलो, एचआईभी/एड्स र क्यान्सरमा समेतमा प्रयोग हुने गरेका छन्। बोटबिरुवामा आधारित परम्परागत औषधि प्रयोग गरिनुको मुख्य कारण यी औषधि सस्ता हुनु र प्रयोग गरेपछि शरीरमा प्रतिकूल प्रभाव अत्यन्त न्यून हुनु हो। यद्यपि बोटबिरुवाजन्य औषधिहरू विषाक्त नै हुँदैनन् भन्ने चाहिं होइन। किनभने उपयुक्त तरिकाले प्रयोग गर्न जानिएन भने ज्यानै जाने खतरा पनि हुन सक्छ। त्यसैले यिनको प्रयोग जथाभावी र केवल भनाइ वा सुनाइको आधारमा मात्र गर्नुहुन्न।
औषधीय प्रयोजनको लागि कोणधारी वनस्पति, लेउ, ढुसी र च्याउ, झयाउ, काइ आदि उल्लेख्य मात्रामा प्रयोग हुने गरेका छन्। औषधिमा प्रयोग हुने महŒवपूर्ण बोटबिरुवामा- यार्चागुम्बा, गुच्ची च्याउ, पाँचऔंले, अतिस, कुट्की/कटुकी, पदमचाल, निर्मसी, जटामसी÷भुल्ते, वन लसुन, लौठ सल्लो, सतुवा, चिराइतो, तेजपात, टिमुर, हर्रो, बर्रो, विजय साल, सर्पगन्धा, पाखनबेत, तितेपाती, इत्यादि हुन्। यी लगायत अन्य बोटबिरुवाबाट साधारणतः कुटेर, पिसेर वा तिनबाट रासायनिक तत्व निकालेर औषधिका रूपमा प्रयोग गर्ने गरिन्छ।
तितेपातीमा निहित औषधीय गुणको अनुसन्धान गरे बापत चिनियाँ वैज्ञानिक युयु तुलाई सन् २०१५ मा नोबेल पुरस्कार दिइएको थियो। अत्यधिक प्रयोग हुने चिनियाँ तितेपातीको वैज्ञानिक नाम आर्टेमिसिया एनुआ (Artemisia annua) हो र यो प्रजाति नेपालमा पाइँदैन। यद्यपि चिनियाँ तितेपाती जस्तै गुण हुने २१ प्रजाति र ५ उपप्रजातिका तितेपाती नेपालमा पाइन्छन्। लौठ सल्लोमा क्यान्सर प्रतिरोधी गुण हुनाले उक्त रूखबाट ट्यक्सोल (taxol) नामको रसायन उत्पादन गरिन्छ। हाम्रो वरपर उम्रने हरेक बोटबिरुवा प्रयोग गर्न जानियो भने तिनमा केही न केही औषधीय गुण निहित हुन्छ।
औषधीय बोटबिरुवाको संरक्षण
औषधीय गुण भएका बोटबिरुवाको संरक्षण गर्नु जरूरी छ। किनभने ती बोटबिरुवाबाटै हामीले विभिन्न खालका औषधिहरू प्राप्त गर्छौं। आज पनि संसारमा ५० प्रतिशत भन्दा बढी आधुनिक औषधि बोटबिरुवाबाटै प्राप्त तत्वहरूबाट बनाइएका हुन्छन्। तर बढ्दो वन फँडानी, अत्यधिक दोहन, जलवायु परिवर्तन र वासस्थानको क्षतिले औषधिमा प्रयोग हुने धेरै बोटबिरुवाका प्रजाति लोप हुँदै गइरहेका छन्।
औषधिमा प्रयोग हुने धेरै बोटबिरुवाले ग्रामीण क्षेत्रमा बस्ने समुदाय र आर्थिक रूपमा सीमान्तकृत मानिसहरूको जीविकोपार्जनमा सकारात्मक योगदान पुर्याउँदै आएका छन्। नेपालमा करीब ३०० प्रजातिका वनस्पति-जडीबुटीको व्यापार गरिन्छ। त्यसैले यस्ता बोटबिरुवाको संरक्षण गर्नु अत्यावश्यक छ किनकि यिनको संरक्षणले जैविक विविधता जोगाउन पनि मद्दत पुग्छ। यसो गर्दा पारिस्थितिक प्रणाली (ecosystem) लाई पनि सन्तुलनमा राख्न सकिन्छ र भावी पुस्ताको लागि बोटबिरुवा मात्र नभएर तिनसँग जोडिएको बौद्धिक एवं सांस्कृतिक ज्ञानको सुरक्षा गर्न सकिन्छ। यसनिम्ति बोटबिरुवाको प्रकार र तिनको प्रयोग गर्ने विधिको रैथाने ज्ञानलाई लिपिबद्ध गरेर राख्नुपर्छ। हाम्रो वरपर पाइने अनगिन्ती प्राकृतिक औषधिजन्य बोटबिरुवाको वासस्थान संरक्षण र खेतीपातीको पक्षमा पनि अध्ययन-अनुसन्धान आवश्यक छ। यसका लागि बहुआयामिक दृष्टिकोण अपनाउनुपर्छ । स्थानीय ज्ञानलाई विज्ञानसँग जोड्ने, सामुदायिक संरक्षण कार्यक्रम बलियो बनाउने र सरकारी नीतिमा यसलाई प्राथमिकतामा राख्ने जस्ता कदमले गर्दा बोटबिरुवाको संरक्षण प्रभावकारी हुन सक्छ।
प्रकृति र मानिसको अटुट सम्बन्धमा यी बोटबिरुवाले विशेष स्थान ओगटेका छन्। यी प्राकृतिक सम्पदा र हाम्रो परम्परागत उपचार पद्धतिलाई आधुनिक विज्ञानको प्रगतिको केन्द्रबिन्दुका रूपमा विकास गर्न सके राम्रो हुन्छ। वर्तमान समयमा यिनको महत्व अझ बढ्दै गएको छ किनभने विश्व स्वास्थ्य संगठनले पनि पारम्परिक औषधिको महत्व स्वीकार गरेको छ। बोटबिरुवाको संरक्षणले जैविक विविधताको संरक्षण नभएर मानव स्वास्थ्य, सांस्कृतिक पहिचान र आर्थिक स्थायित्वको सुनिश्चितता पनि गरेको हुन्छ।
(डा. रोकाया हाल इन्स्टिच्युट अफ बोटानी र ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट, चेक रिपब्लिकमा वनस्पति विज्ञका रूपमा कार्यरत हुनुहुन्छ।)