चोरभन्दा चण्डाल चम्मु

एउटा गाउँमा धनी मानिस बस्थे। त्योभन्दा अलिक टाढा दुईजना चोरका घर थिए। ती चोर खूबै चतूर थिए। तिनीहरूमध्ये एउटा ‘चोर’ र अर्को ‘चण्डाल’ भनेर चिनिन्थ्यो। तिनले एक रात गाउँको एउटा मान्छेको घरबाट चोरी गरेछन्। त्यो मान्छे ‘मेरो घर फोर्ने चोरलाई नमारी छोड्दिन’ भनेर हातमा नांगो तरबार लिएर दौडेछ। यो चाल पाएपछि चोर र चण्डाल त्यो गाउँ नै छोडेर भागेछन्।

निकै समयपछि मेलामा उनीहरूको भेट भएछ। धेरै कालपछि भेट भएका साथीहरू खुशी भए र केही दिनसम्म अनेक गन्थन गरेर त्यसै बसेछन्। अन्त्यमा, दुवैजना मिलेर एउटा घरमा चोरी गर्ने सल्लाह गरेछन्। मेला-बजारमा टन्न रक्सी खाएर सुतेको एउटा धनी मान्छेको घर पत्ता लगाएर चोरी गर्न उनीहरू सफल पनि भएछन्।

त्यहाँ चोरेको धन-सम्पत्तिको कुम्लो बोकेर उज्यालो हुञ्जेल भाग्दा एउटा जंगलको छेउमा पुगेछन्। त्यहाँ चोरेर ल्याएको धन-सम्पत्ति बराबरी बाँडेर आ-आफ्नो गन्तव्यतिर लागेछन्। उनीहरू एउटै ठाउँमा जाने भए पनि एक्ला-एक्लै हिंडेछन्। त्यसरी हिंड्दै गर्दा चण्डालको मनमा ‘चोरले लगेको धन पनि आफ्नै भइदिएको भए त म कति सुख पाउँथे होला’ भन्ने लागेछ र ऊ त्यो धन कसरी हत्याऊँ भनेर मनमनै खूब सोच्न थालेछ। 

उनीहरू हिंडेको बाटोमा एउटा बजार पथ्र्यो। त्यहाँ चण्डालले एकजोडी राम्रो देखिने जुत्ता किनेछ। चोर चाहिं अरू के के थुप्रै कुरा किन्दै थियो। उसलाई छोडेर चण्डाल एक्लै सरासर अगाडि लाग्यो। चण्डालले अलिक माथि पुगेपछि अघि किनेको एउटा जुत्ता बीच बाटोमा झरेर आफूचाहिं बाटोमाथिको बाक्लो झडीमा लुकेछ। केहीबेरपछि चोर त्यहीं बाटो हुँदै आयो । उसले नयाँ जुत्ता बाटोमा खसिराखेको देख्दा त्यो टिपेर वरिपरि हेरेछ। ‘अर्को जुत्ता पनि यतै झ्रेको भए त नयाँ जुत्ता एकजोडी नै हुन्थे; तर यो एउटा मात्रै के गर्नु र ? जसले यो झ¥यो विचरा त्यसलाई कस्तो भयो होला, एउटै मात्र जुत्ता लिएर घर पुग्दा ! हेर त यो जुत्ता दाहिने गोडाको रहेछ, ऊसँग अब देब्रे मात्र जुत्ता छ, त्यो के गर्छ विचराले !’
‘तर यो एउटा जुत्ता मलाई पनि के गर्नु र ? भो ! लान्न म पनि’ भनेर ऊ त्यो जुत्ता त्यहीं फ्याँकेर बाटो लागेछ।

चोरले निकै बाटो काटेपछि ‘अब यसले देख्दैन’ भन्ने पक्का भएपछि अघि आफैंले फ्याँकेको त्यो दाहिने जुत्ता टिपेर चण्डाल चोरलाई छल्दै, अर्कै बाटो भएर फेरि चोरभन्दा अघि पुगेछ। त्यसपछि उसले अघि जस्तै पाराले देब्रे जुत्ता बाटामा खसाएछ र लुकेछ । केही क्षणमा चोर त्यहाँ आइपुगेपछि नयाँ देब्रे जुत्ता देखेछ। जुत्ता टिपेर हेर्दै सोचेछ, ‘यो त त्यही अघिको जुत्ताको जोडी हो, अहो ! मैले त्यो लिएर आएको भए त अहिले नयाँ जुत्ताको जोडी नै पो हुने रहेछ... !’

यसरी सोच्दै गर्दा चोरलाई नयाँ बुद्धि फुरेछ; ‘यो जुत्ता र यो भारी यहीं झडीमा कतै लुकाएर राख्नु पर्‍यो, अनि दौड्दै गएर त्यो अघिको जुत्ता लिएर आउनु पर्‍यो !’ राति चोरेको सम्पत्ति र बजारबाट किनेर ल्याएको भारी अनि त्यो देब्रे जुत्ता अलिक तल झाडीमा लुकाएर चोर अघि छोडेको दाहिने जुत्ता लिन जताबाट आएको थियो, त्यतैतिर दौडियो। यता चोरका यी सारा क्रियाकलाप माथि लुकेर बसेको चण्डालले हेरिरहेको थियो। चण्डाल आफूभन्दा पनि चम्मु छ भन्ने चोरलाई कहिल्यै लागेकै थिएन, त्यसैले उसले कुनै शंका गरेन। 
चोर केही टाढा पुगेपछि चण्डाल झडीबाट निस्किएर चोरका सबै सामान र त्यो एउटा जुत्ता लिएर दौड्यो।

उता निकै समय लाग्यो चोरलाई पहिले जुत्ता भेट्टाएको ठाउँमा पुग्न। त्यहाँ पुगेर उसले जुत्ता खोज्यो; भेटेन। ‘यहीं झ्रेको थियो, कसैले जंगलतिर फ्याँक्यो कि ! एउटा जुत्ता भेटें भनेर कसैले लगेन होला पक्कै !’ भन्ने सोचेर त्यहाँ बाटो माथि-मुनि सबैतिर खोज्यो तर कसै गर्दा पनि भेटेन। हैरान भएर आफ्नो मूर्खतामा खेद प्रकट गर्दै; ‘अघि नै मैले बोकेर हिंडेको भए हुने; एउटा मात्रै जुत्ता काम लाग्दैन भनेर छोडें। अब त्यो एउटा जुत्ता भेटेको छ, त्यो के गर्नु र ! होस् अब जान्छु’ भनेर अघि आफ्नो सामान लुकाएको ठाउँतिर लाग्यो। उकालो बाटो, बल्लतल्ल सामान लुकाएको ठाउँमा पुगेर हेर्दा त उसको भारी-सारी केही पनि छैन !

यसरी चोरलाई चण्डालले ठग्यो। त्यसपछि चोरले रुँदै रुँदै सम्झायो, ‘त्यति चोरेको माल छँदै थियो, अरू थप चीजको लोभ नगरी घर गएको भए हुने थियो नि; नचाहिंदो लोभले मलाई डुबायो !’
त्यसै भएर बूढापाकाले भनेका होलान्– लोभले लाभ-लाभले विलाप !
भन्नेलाई फूलको माला
सुन्नेलाई सुनको माला
यो कथा वैकुण्ठ जाला
भन्ने बेलामा फेरि आउँला।

(रुद्र पौड्यालद्वारा संकलित लोककथा संग्रह; गान्तोक, सिक्किमबाट साभार)
 

commercial commercial commercial commercial