तयारी प्रश्नको परिणाम

शहरबाट केही टाढा, वनको छेउमा दुईवटा अलग-अलग विहारमा बालवटुकहरूलाई बौद्ध धर्म र दर्शन पढाइन्थ्यो। ती विहार भौतिक दूरीका हिसाबले जति भिन्न थिए; त्यहाँ दिइने शिक्षा–दीक्षा पनि केही फरक थियो। 

दुवै आश्रमका वटुकहरू बिहान–बिहान नजिकको बजारमा तरकारी किन्न जाने गर्थे । यसै क्रममा एक पटक दुई जना वटुकको बाटोमा भेट भयो । एउटाले अर्को वटुकलाई प्रश्न गर्‍यो– ‘तिमी कहाँ जान लागेको ?’ 
त्यो बालकले जवाफ फर्कायो– ‘मेरा पाइला जता जान्छन्, त्यतै जान्छु ।’ 

यो जवाफबाट प्रश्न गर्ने वटुक रनभुल्लमा प¥यो । के भन्नु न के भन्नु भयो । त्यसपछि थप केही कुरा नगरी आश्रम फर्कियो र सबै घटना आफ्ना शिक्षकलाई सुनायो । शिक्षकले उसलाई सल्लाह दिए– ‘भोलि पनि तिमीले त्यो केटोसँग आजकै प्रश्न सोध्नु । उसले पनि आजकै उत्तर दोहो¥याउँछ । त्यसपछि तिमीले थप प्रश्न गर्नु– ‘मानौं, तिम्रा खुट्टा नै छैनन् भने त्यतिबेला तिमी कहाँ जान्छौ ?’ 
भोलिपल्ट पनि उनीहरूको बाटोमा भेट भयो । पहिलो वटुकले गुरुले सिकाए अनुसार प्रश्न दोहो¥यायोः ‘तिमी कहाँ जान लागेको ?’ तर दोस्रो वटुकले हिजोभन्दा फरक जवाफ दियो— ‘हावा जता बहन्छ म त्यतै जान्छु ।’

पहिलो बालक थप हैरान भयो । उसले गुरुले सिकाएको दोस्रो प्रश्न सोध्नै पाएन । ऊ फेरि आफ्ना शिक्षकसमक्ष पुग्यो । शिक्षकले अर्कोे दिन भेट हुँदा उसलाई ‘यदि हावा नै छैन भने ऊ कहाँ जान्छ रे ?’ भनेर सोध्नु भन्ने सिकाए । 

तेस्रो दिन भेट हुनासाथ पहिलो वटुकले सोध्यो— ‘तिमी कहाँ जाँदैछौ ?’ 
दोस्रोले उत्तर फर्कायो— ‘म बजारमा तरकारी किन्न जान लागेको ।’ 
पहिलो वटुक फेरि पनि हैरान भयो ।

उसका गुरुले सिकाएका उपाय पनि एकपछि अर्को गर्दै व्यर्थ सावित भए । धेरै समयसम्म बालक किंकर्तव्यविमूढकै अवस्थामा रह्यो ।  

पाठः बालबालिकालाई तयारी प्रश्न सोध्न र तिनका तयारी जवाफ सम्झ्न होइन, आफैं प्रश्न बनाउन तथा जवाफ सोच्न सिकाऊँ । 

commercial commercial commercial commercial