मैले पाएको शिक्षा

“मेरा मातामह (मावली हजुरबा) पं. भुवननाथ पाँडेको देखरेखमा म हुर्केको हुँ। उहाँको पुख्र्यौली ज्यौतिषविद्या नै पढेर मैले जीवनयापन गरें। वि.सं. १९७७ सम्म उहाँ रानीपोखरी संस्कृतपाठशालामा ज्यौतिषका अध्यापक हुनुहुन्थ्यो। त्यसै वर्ष श्री ५ महाराजाधिराजको दरबार नारायणहिटीमा अध्यापक भई उहाँ सर्नुभयो। उहाँपछि श्रीगुरु पं. हेमनाथ भट्ट रानीपोखरी पाठशालामा ज्यौतिषको अध्यापक हुनुभयो। वि.सं. १९९७ मा श्रीगुरु पं. हेमनाथ भट्टको स्वर्गवास भयो । त्यसै वर्ष म रानीपोखरी पाठशालामा ज्यौतिषको अध्यापक नियुक्त भएँ। त्यस वर्षदेखि अहिले वि.सं. २०२९ सम्म ज्यौतिष पढाएर नै मैले जीवनवृत्ति चलाएर आएको छु।
मेरा मातामहको स्नेह र शिक्षा मैले नपाएको भए ज्यौतिषशास्त्र पढ्ने-पढाउने भई यस रूपमा मैले उत्रनु गाह्रो थियो। इतिहासविषयको पहिलो शिक्षा पनि मैले मेरा मातामहबाटै पाएको हुँ। सबभन्दा ठूलो कुरा मैले मातामहबाट पाएको शिक्षा एकपत्नीव्रत, फुर्सद पायो कि लेखपढ गर्न थालिहाल्ने, खाली नबस्ने बानी र अर्काको पैसामा लोभलालच नगरी ईमानदारीसँग जीवन बिताउने गुण हुन्। यी सबै गुण मैले मेरा मातामह बाहेक अन्त एउटै मानिसमा पाउन सकेको छैन। सम्भव छ, अरूको नगीचमा म त्यसरी नबसेको हुनाले त्यसो भएको होला। तैपनि मेरो हृदयमा मेरा मातामहप्रति भक्ति तथा आदर छ।”
– नयराज पन्त
(विद्वत्पूजा शीर्षकमा २०२९ सालमा पूर्णिमा पत्रिकाका पूर्णाङ्क २७-२८) मा प्रकाशित लेखबाट उद्धृत अंश । उक्त लेखमा लेखक पन्तले आफ्ना मावली हजुरबासँगै इतिहास शिरोमणि बाबुराम आचार्य; पण्डित पद्मप्रसाद भट्टराई, पण्डित सोमनाथ सिग्द्याल आदिका गुण र योगदानको पनि चर्चा गरेका छन् ।)