पाठ्यक्रम: प्रकार र प्रयोग

१. पाठ्यक्रम: पठनपाठन गर्ने/गराउने पाठको क्रमलाई पाठ्यक्रम भनिन्छ। पाठ्यक्रम भनेको पठनपाठनको योजना, कार्यक्रम, अनुभवको सङ्गठन र मूल्याङ्कन नीति हो। लुकेको पाठ्यक्रम र लिखित पाठ्यक्रमबाट हासिल हुने सिकाइ अनुभवको सङ्गठन नै पाठ्यक्रमको व्यापक अर्थ हो। सरकारको शिक्षा नीति, विद्यालयको सक्षमता र आवश्यकता अनुसार पाठ्यक्रमलाई विभिन्न प्रकारले योजना र अभ्यास गरिएको हुन्छ, यहाँ त्यस्ता केही प्रकार र अभ्यासहरूको बारेमा चर्चा गर्ने कोशिश गरिएको छ: 

२. सिलेबस (पाठ्यांश) र विस्तृत पाठ्यक्रम: पठनपाठन गर्न/गराउन प्रयोग गरिने विषयमा पर्ने विषयवस्तुको सूची, पठनपाठन हुने समय, मुख्य विधि र मूल्याङ्कनको खाकालाई सिलेबस भनिन्छ। सिलेबसलाई पाठ्यक्रमको साँघुरो अर्थका रूपमा लिइन्छ। तर सिलेबसलाई शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाले व्यापक अर्थमा प्रयोग गर्छन्। पाठ्यक्रम प्रायः शिक्षक र सम्बन्धित विज्ञले प्रयोग गर्छन्। कर्मचारी तथा शिक्षक छनोट गर्ने विज्ञापनको लिखित परीक्षामा सोधिने प्रश्नको विषयवस्तुको सूची र मूल्याङ्कन विधिको सिलेबसलाई पनि चलनचल्तीमा पाठ्यक्रम भन्ने गरिएको छ। विस्तृत पाठ्यक्रममा कक्षागत विषयको पठनपाठन विधि, समय तालिका र मूल्याङ्कन पद्धति विस्तृतमा दिइएको हुन्छ। 

३. लुकेको पाठ्यक्रम र लिखित पाठ्यक्रम: लिखित पाठ्यक्रममा नलेखिएका तर विद्यार्थीले सिक्नुपर्ने जस्तै- विद्यालयका नियम, मूल्य, मान्यता, संस्कार र परम्परा आदिलाई लुकेको (हिडन) पाठ्यक्रम भनिन्छ। विद्यालयको सिकाइ वातावरण, परीक्षाका नियम र वातावरण, कक्षाकोठाका नियम (जब चार्ट), विद्यालयको हाताभित्र विद्यार्थीले गर्नुपर्ने काम, कर्तव्य, कक्षाकार्य, गृहकार्य र समूहमा काम गर्ने नियम, जीवन सीप, सहयोग र सहकार्य आदि लुकेको पाठ्यक्रममा आउँछन्। फिलिप ज्याक्सनले सन् १९६८ मा आफ्नो पुस्तक ‘लाइफ इन स्कूल’ मा ‘हिडन करिकुलम’ शब्दको प्रयोग गरेका थिए भने सन् १९७१ मा बेन्सन स्नाइडरले ‘हिडन करिकुलम’ नामक पुस्तक लेखेका थिए। लिखित पाठ्यक्रम भनेको विद्यालयमा हुने पठनपाठन र मूल्याङ्कनलाई व्यवस्थित गर्न कानूनी मान्यता प्रदान गरी नीतिका रूपमा लिखित रूपमा जारी गरिने पाठ्यक्रम हो। लिखित पाठ्यक्रमलाई आधिकारिक पाठ्यक्रम वा अपेक्षा गरिएको (इन्टेन्डेड) पाठ्यक्रम पनि भनिन्छ। 

४. राष्ट्रिय र स्थानीय पाठ्यक्रम: केन्द्रीय निकायबाट निर्माण गरी देशभर लागू गर्ने गरी जारी गरिएको लिखित पाठ्यक्रमलाई राष्ट्रिय पाठ्यक्रम भनिन्छ। राष्ट्रिय पाठ्यक्रमको योजना, विकास, कार्यान्वयन र मूल्याङ्कन गर्नका लागि राष्ट्रिय स्तरका विभिन्न निकाय र संयन्त्रहरू परिचालन गरिएको हुन्छ। शिक्षा नियमावली, २०५९ को नियम ३३ अनुसार नेपालमा पाठ्यक्रम विकास तथा गुणस्तर सम्बन्धी आवश्यक काम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गर्छ। 

स्थानीय सरकारको पहलमा स्थानीय विज्ञ र शिक्षकबाट निर्माण गरी स्थानीय विद्यालयमा पठनपाठनका लागि प्रयोग गरिने पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भनिन्छ। स्थानीय पाठ्यक्रमको विकास र कार्यान्वयनमा स्थानीय तहको शाखा, विद्यालय र स्थानीय विशेषज्ञहरू संलग्न रहेका हुन्छन्। राष्ट्रिय पाठ्यक्रमको प्रकृति एकीकृत वा विषयगत दुवै प्रकारको हुन्छ भने स्थानीय पाठ्यक्रमको प्रकृति एकीकृत हुन्छ। वि.सं. २०७१ मा पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाका लागि स्थानीय पाठ्यक्रम प्रारूप जारी गरेको छ। 

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ (यसपछि प्रारूप) ले कक्षा १-३ मा १९ प्रतिशत र कक्षा ४-८ मा १३ प्रतिशत पाठ्यघण्टा र कार्यघण्टा स्थानीय विषयलाई छुट्याएको छ। प्रारूपले स्थानीय विषयको पाठ्यक्रम र पाठ्यसामग्रीलाई विद्यालयले स्थानीय तहको सहयोग र समन्वयमा स्थानीय विज्ञ, अभिभावकको संलग्नतामा विकास गरी कार्यान्वयनमा ल्याउनुपर्छ भनेको छ। 

५. मुख्य, ऐच्छिक र इच्छाधीन पाठ्यक्रम: मुख्य पाठ्यक्रम (कोर करिकुलम) भनेको विद्यालयमा पठनपाठन हुने अनिवार्य (कम्पलसरी) विषयको पाठ्यक्रम हो। मुख्य पाठ्यक्रमलाई मुटु पाठ्यक्रम पनि भनिन्छ। माथिल्लो कक्षामा अध्ययन गर्नका लागि र पढिरहेको तह पूरा गर्नका लागि विद्यार्थीले नजानी नहुने ठानिएका आधारभूत विषयवस्तुलाई अनिवार्य विषयमा समेटिन्छ। मुख्य पाठ्यक्रमका जन्मदाता जोन डिबेलाई मानिन्छ। 

आधारभूत तहका कक्षा १-३ मा पाँचवटा विषयगत क्रियाकलापको एकीकृत पाठ्यक्रम रहेको छ। कक्षा ४-५ र कक्षा ६-८ मा नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन र मानवमूल्य शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र मातृभाषा/स्थानीय विषय/संस्कृत  विषय गरी सात वटा अनिवार्य विषयहरू रहेका छन्। साधारण शिक्षातर्फ कक्षा ९-१० मा नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि र सामाजिक अध्ययन गरी ७ वटा र कक्षा ११-१२ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा/गणित गरी ३ वटा विषय अनिवार्य विषयका रूपमा रहेका छन्।

 

ऐच्छिक विषयको पाठ्यक्रमलाई ऐच्छिक (इलेक्टिभ) पाठ्यक्रम र इच्छाधीन विषयको पाठ्यक्रमलाई इच्छाधीन (अप्सनल) पाठ्यक्रम भनिन्छ। अनिवार्य पाठ्यक्रमको पूरक भागका रूपमा केही खास विषयमा गहन ज्ञान सीप प्राप्त गर्ने अवसर दिन विभिन्न विषयको व्यवस्था गरिन्छ भने त्यस्तो पाठ्यक्रमलाई ऐच्छिक पाठ्यक्रम भनिन्छ। पाठ्यक्रमको सूचीबाट छनोट गरिने विषय ऐच्छिक विषयहरू हुन्। “इच्छाधीन विषय भनेको विद्यार्थीले आफूलाई मन पर्ने विषय रोजेर पढ्ने विषय हो भन्ने प्रचलित धारणा अनुसारको विषय नभई विद्यालयले आफ्नो परिस्थिति र आवश्यकता अनुरूप विद्यार्थीलाई अध्यापन गर्ने विषय हो। ... विद्यालयमा इच्छाधीन विषयको पठनपाठन अरू विषयको भन्दा फरक हुनसक्छ।... तर यसको मूल्याङ्कन विद्यार्थीलाई उत्तीर्ण वा अनुत्तीर्ण गर्ने नभएर सिकाइको सुधारका लागि मात्र गर्नुपर्छ।” (इच्छाधीन विषयको पाठ्यक्रम, २०५३) इच्छाधीन पाठ्यक्रमबाट विद्यार्थीले विषय छनोट नगर्दा अध्ययन पूरा गर्न कुनै बाधा नपर्ने व्यवस्था गरिएको हुन्छ । विद्यालयमा पठनपाठन गर्ने विषयलाई थप लचिलो बनाउन र अतिरिक्त विकल्प दिनका लागि इच्छाधीन पाठ्यक्रमको व्यवस्था गरिन्छ। 

प्रारूपमा विद्यालय शिक्षामा साधारण शिक्षातर्फ माध्यमिक तहको कक्षा-९ र १० मा दुई वटा र कक्षा-११ र १२ मा तीन वटा, प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ कक्षा ९-१२ मा चार वटा विधागत विषयका ऐच्छिक विषयहरू रहने प्रावधान छ। ऐच्छिक तीन वटा विषयहरूको छनोट विद्यार्थीको रुचि, आवश्यकता, उपलब्ध शिक्षक तथा स्रोत–साधनका आधारमा स्थानीय सरकारको समन्वय र सहजीकरणमा विद्यालयले गर्ने उल्लेख छ । विद्यार्थीले कक्षा ११ र १२ प्रत्येक कक्षामा ५ पाठ्यघण्टा (१९%) र वार्षिक १६० कार्यघण्टाको थप ऐच्छिक एक विषय अध्ययन गर्न सक्ने व्यवस्था छ। माध्यमिक शिक्षा पाठ्यक्रम, २०७८ (ऐच्छिक विषय) ले ऐच्छिक विषयको विषयगत कोड, पाठ्यघण्टा र वार्षिक कार्यघण्टा निर्धारण गरेको छ। प्राथमिक शिक्षा पाठ्यक्रम, २०४९ ले प्राथमिक तहमा अध्यापन हुने कुल समयको करीब ९ प्रतिशत समय अर्थात् साप्ताहिक ३ घन्टी इच्छाधीन विषयलाई छुट्याएको छ । 

६. एकीकृत पाठ्यक्रम: एकीकृत (इन्टिग्रेटेड) पाठ्यक्रम भनेको विद्यालय शिक्षाको पाठ्यक्रमलाई सङ्गठन गर्ने तरिका हो। एकीकृत पाठ्यक्रमभित्र एकत्रित (फ्युज्ड/मज्र्ड) पाठ्यक्रम, अन्तरविषयक (इन्टरडिसिप्लिनरी) पाठ्यक्रम र बहुविषयक पाठ्यक्रम पर्दछन्। माथिल्लो कक्षामा पढ्नका लागि चाहिने विभिन्न विषयका आधारभूत ज्ञान-सिपका कुरालाई एउटै विषयमा समेटी पठनपाठन गर्न तयार गरिएको पाठ्यक्रमलाई एकीकृत पाठ्यक्रम भनिन्छ। जस्तो, ‘क’ विषय र ‘ख’ विषयको विषयवस्तु मिश्रण गरेर ‘ग’ विषय निर्माण गरिन्छ भने त्यसलाई एकीकृत पाठ्यक्रम भयो।

पूर्णरूपमा एकत्रित पाठ्यक्रममा विषयगत उद्देश्य, विषयवस्तु, पाठ, अभ्यास, पठनपाठन क्रियाकलाप मिसाइएको हुन्छ । कुनै एक पाठ शीर्षकमा विषयगत उपशीर्षक दिएर हरेक उपशीर्षक अन्तर्गत उद्देश्य र विषयवस्तुहरू पर्ने गरी पाठ्यक्रम वा पाठ्यपुस्तक निर्माण गरिन्छ भने त्यसलाई अन्तरविषयक पाठ्यक्रम भनिन्छ । विषयगत एकाइ वा खण्ड वा भागहरू निर्माण गरी पाठ्यक्रम वा पाठ्यपुस्तक निर्माण गरिन्छ भने त्यसलाई बहुविषयक पाठ्यक्रम भनिन्छ। एकीकृत पाठ्यक्रममा विद्यार्थीको आन्तरिक तथा बाह्य मूल्याङ्कन पनि एकीकृत विशिष्टीकरण तालिकाको आधारमा गरिन्छ। प्रारम्भिक कक्षा (बालशिक्षा र कक्षा १-३) मा एकत्रित, कक्षा ४-५ र कक्षा ६-८ मा अन्तरविषयक र कक्षा ९-१२ मा अनिवार्य विषयलाई बहुविषयक र ऐच्छिक विषयलाई विषयगत पाठ्यक्रमका आधारमा प्रस्तुत गर्ने अभ्यास प्रचलनमा देखिन्छ। 

कक्षा १-३ मा एकीकृत ढाँचाको पाठ्यक्रम विकास गरिएको छ । यस पाठ्यक्रममा सामाजिक अध्ययन, विज्ञान तथा वातावरण, स्वास्थ्य तथा शारीरिक शिक्षा र सिर्जनात्मक कला विषयलाई अन्तरविषयक ढाँचाको पाठ्यक्रमका रूपमा हाम्रो सेरोफेरो विषय क्षेत्रमा समावेश गरिएको छ । हाम्रो सेरोफेरो, गणित, नेपाली भाषा, अंग्रेजी भाषा विषयक्षेत्रलाई समावेश गरी बहुविषयक ढाँचाको एकीकृत पाठ्यक्रम तयार गरिएको छ। (प्रारूपः पृ.३) राष्ट्रिय पाठ्यक्रम प्रारूपमा आधारभूत तह कक्षा ४ देखि ८ सम्म पाठ्यक्रमका विषयवस्तुलाई अन्तरसम्बन्धित गर्ने सिद्धान्तलाई विचार गरी पाठ्यक्रमको कार्यान्वयन गरिने उल्लेख छ। (प्रारूप, ३.१.४ः पृष्ठ २७) 

७. विषयगत पाठ्यक्रम: मूलधारको विषयका शाखा, उपशाखाहरूलाई एउटै विषयअन्तर्गत समेटेर निर्माण गरिएको पाठ्यक्रमलाई विषयगत पाठ्यक्रम भनिन्छ। यस्तो विषयलाई डिसिप्लिनरी ढाँचा वा एकल विषयवस्तु ढाँचा (सिङ्गल सब्जेक्ट म्याटर डिजाइन) पनि भनिन्छ। उच्च शिक्षामा विषयगत पाठ्यक्रमहरू निर्माण गरी विषयगत पठनपाठन र मूल्याङ्कन गरिन्छ। पठनपाठन गरिने विषयमा विशेषज्ञता हासिल गराउनु विषयगत पाठ्यक्रमको उद्देश्य हो। विषयगत पाठ्यक्रमलाई अनिवार्य, ऐच्छिक र इच्छाधीन विषयका रूपमा र एकलपथीय तथ बहुपथीय ढाँचामा प्रयोग गरिन्छ।

८. पाठ्यक्रम, विषय र विषयवस्तु: पाठ्यक्रम भनेको विद्यालय कक्षाको विषयगत सक्षमता, सिकाइ उपलब्धि,  पठनपाठन विधि र मूल्याङ्कनका आधारहरू समेटिएको मूल दस्तावेज हो। विषय भनेको पाठ्यक्रमको संरचना अनुसार निर्मित सिकाइ क्षेत्रको सङ्गठन हो। विषयमा विषयवस्तु (सब्जेक्ट म्याटर) अनुसार शब्दसामग्री (कन्टेन्ट) राखी पाठ्यपुस्तक निर्माण गरिन्छ र नाम दिइन्छ। विद्यालयमा अनिवार्य, ऐच्छिक र इच्छाधीन गरी तीन प्रकारका विषयहरूको पठनपाठन हुन्छ। हरेक विषयको पाठ्यघण्टा तोकिएको हुन्छ, मूल्याङ्कनको पूर्णाङ्क निर्धारण गरिएको हुन्छ। विषयवस्तु (सब्जेक्ट म्याटर) भनेको पठनपाठनको क्षेत्र (थिम) हो भने विषयवस्तु (कन्टेन्ट) भनेको त्यस्तो अध्ययन क्षेत्रलाई वैध र समृद्ध बनाउने शब्दसामग्रीहरूको समूह हो, जस्तैः लेखिएका वा छापिएका टेक्स्ट, विवरण, चित्र (इमेज), तालिका, श्रव्य-दृश्य सामग्री आदि।

९. एकलपथीय पाठ्यक्रम र बहुपथीय पाठ्यक्रम: पाठ्यक्रमले तोकेको समयावधि र विषयगत समूहबाटै पठनपाठन सञ्चालन गर्ने गरी निर्माण गरिएको पाठ्यक्रमलाई एकपथीय (सिङ्गल ट्रयाक) पाठ्यक्रम भनिन्छ । एकलपथीय पाठ्यक्रममा विषय छनोट गर्ने सीमित विकल्प हुन्छ। एकलपथीय पाठ्यक्रमले केही खास विषयमा मात्र ध्यान केन्द्रित गरी विषयवस्तुको गहन अध्ययन गर्ने अवसर प्रदान गर्छ। यस्तो पाठ्यक्रममा अध्ययन गर्ने समूहका विद्यार्थीले कक्षा पूरा गर्ने र शैक्षिक उपाधि हासिल गर्ने समय एउटै हुन्छ। 

विद्यार्थीले आफ्नो रुचि र आवश्यकता अनुसार उपयुक्त पाठ्यक्रम, शिक्षा हासिल गर्ने समयावधि र शैक्षिक संस्था छनोट गर्न पाउने पाठ्यक्रमलाई बहुपथीय (मल्टी-ट्रयाक) पाठ्यक्रम भनिन्छ। उच्च शिक्षाका कलेज, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रदायक शैक्षिक संस्थान, विभिन्न विषयका अनलाइन शिक्षाका प्लेटफर्महरूबाट प्रदान गरिने शिक्षाको पाठ्यक्रम बहुपथीय ढाँचाको हुन्छ। बहुपथीय पाठ्यक्रमका कुनै प्रकारको शिक्षाको अवधि केही महिनाको हुन्छ भने कुनैको केही वर्षको पनि हुनसक्छ। प्रारूपमा कक्षा ९ देखि १२ सम्मको विद्यालय शिक्षामा एकलपथीय पाठ्यक्रम ढाँचा अवलम्बन गरिएको उल्लेख छ।

१०. पाठ्यक्रम प्रारूप: पाठ्यक्रम प्रारूप भनेको विद्यालय शिक्षाको पाठ्यक्रम सम्बन्धी मार्गदर्शक दस्तावेज हो। यसले शिक्षा प्रणालीको दृष्टिकोण प्रतिविम्बित गर्छ, भावी मार्गचित्र निर्माण गर्छ, राष्ट्रिय गन्तव्य र कार्यदिशा तय गर्छ। पाठ्यक्रमसम्बद्ध नीति तथा सिद्धान्त, पाठ्यक्रम संरचना, सिकाइका क्षेत्र एवम् सिकाइ सहजीकरण प्रक्रिया, विद्यार्थी मूल्याङ्कन तथा प्रमाणीकरण र पाठ्यक्रम कार्यान्वयनको संस्थागत प्रबन्धलाई मार्गदर्शन गर्छ। (प्रारूपः पृ.१) नेपालमा पहिलो पटक वि.सं. २०६३ मा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार जारी भएको थियो । हाल वि.सं. २०७१ मा परिमार्जित प्रारूप कार्यान्वयनमा छ। 

निष्कर्ष
सैद्धान्तिक रूपमा पाठ्यक्रमलाई विभिन्न स्वरूपमा परिभाषित गर्ने र अभ्यास गर्ने गरिएको पाइए तापनि हामीले देशको प्रचलित नीति-नियम र कानून अनुसार विद्यालयमा पाठ्यक्रम कार्यान्वयन गर्नुपर्छ । शिक्षा नियमावली, २०५९ को नियम ६ को खण्ड (क) र नियम ३१ ले पनि विद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू गर्नुपर्ने उल्लेख गरेको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ (संशोधित संस्करण २०७९) विद्यालय शिक्षाको मुख्य र नीतिगत खाका हो। यसकै आधारमा निर्मित पाठ्यक्रमबमोजिम विद्यालयमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ।  

(उपसचिव, शिक्षा प्रशासन)

शिक्षक  मासिक, २०८१ फागुन अंकमा प्रकाशित । 

commercial commercial commercial commercial