बीउ: परम्परागत र उन्नत जातको यथार्थ

नेपाल भौगोलिक बनावट र हावापानीका हिसाबले विविध छ। यहाँ ६० मिटर (केचनाकवल, झपा) देखि करीब ४७०० मिटर (खुम्बु, सोलुखुम्बु)को उचाइसम्म खेती गरिन्छ। देशको करीब ७० प्रतिशत जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खेतीपातीमा संलग्न छ भने देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २७.१ प्रतिशत भाग कृषिजन्य उत्पादनले ओगटेको छ।

हामीले खेती गर्ने बालीहरूको फैलावटको ढाँचा (Distribution pattern) को आधारमा वैज्ञानिकहरूले तिनलाई विभिन्न प्रकारमा वर्गीकरण गरेका छन्। संसारभरि नै फैलिएका अथवा पाइने बालीहरूलाई विश्वव्यापी (Cosmopolitan) बाली भनेर नामकरण गरिएको छ। यसैगरी पहिलेदेखि नै निश्चित ठाउँ, क्षेत्र वा देशमा सीमित हुने बालीहरूलाई स्थानीय (Native or local)  बाली नाम दिइएको छ। साथै पहिलेदेखि नै एक क्षेत्र या देशमा सीमित नभई विभिन्न ठाउँ, क्षेत्र वा देशमा फैलिएका बालीहरूलाई वैज्ञानिकहरूले गैरस्थानीय (Non-native)  वा बाह्य (Exotic) बाली भनेका छन्। त्यस्तै कुनै निश्चित स्थान वा सानो ठाउँ, टापु, प्रदेश, देश या अन्य परिभाषित क्षेत्रमा मात्र पाइने बालीहरूलाई रैथाने बाली (Endeic) नामकरण गरिएको छ। कुनै निश्चित ठाउँमा मात्र उम्रने, निश्चित जलवायु परिस्थिति अनुकूल हुने र परम्परागत रूपमा व्यवस्थापन गर्दै खेती गरिने बालीलाई भू-प्रजातीय (Landrace) बाली भनिन्छ।

कसैले ‘स्थानीय’ को सट्टा ‘आदिवासी’ (Indigenous or aboriginal) शब्द पनि प्रयोग गर्ने गरेका छन् तर बोट-बिरुवा र बालीको हकमा यो शब्द प्रयोग गर्नु उचित हुँदैन किनकि आदिवासी शब्दको अर्थ कुनै भूभाग, देश वा स्थानमा पहिलेदेखि बसोबास गरेको जाति वा आदिम जाति हो। रैथाने बालीको परिभाषामा ‘मात्र’ लेख्नु भनेको कुनै निश्चित ठाउँ बाहेक अन्यत्र कतै नपाइने भनेर इंगित गरेको हो। भू-प्रजातीय बाली भने पूर्णतः स्वतन्त्र प्रजाति (Independent species) नभई कुनै प्रजातिको उप-प्रजाति (Subspecies) वा प्रकार हो। उदाहरणका लागि जुम्ली मार्सी धान भू-प्रजातीय बाली हो। उक्त मार्सी धानको वैज्ञानिक नाम ‘ओरिजा सेटिभा’ (Oryza sativa) प्रजाति हो भने ‘प्रकार’ (Variety) ‘जापोनिका’ (Japonica) हो। समग्रमा यसको वैज्ञानिक नाम ‘ओरिजा सेटिभा प्रकार जापोनिका’(Oryza sativa variety japonica) हो।

विश्वव्यापी, स्थानीय, गैरस्थानीय, रैथाने र भू-प्रजातीय  बालीहरूलाई समग्रमा परम्परागत (Traditional)  बाली पनि भन्ने गरिन्छ। परम्परागत बालीहरू एकै ठाउँमा धेरै लामो समयसम्म खेती गरिएका हुन्छन् र स्थानीय ज्ञान उपयोग गरी किसानले ती बालीहरूको बीउ आफ्नो आवश्यकता अनुसार वर्षेनि चयन, संकलन र भण्डार गर्ने गर्दछन्। यस्ता बालीहरूको बीउ एउटै बालीको प्रकारबाट प्राप्त हुनाले एकपटक मात्र नभई पुनः प्रयोग गरी खेती गर्न सकिने, सस्ता र प्रतिकूल वातावरणीय परिस्थितिमा पनि सहजै उमार्न सकिने खालका हुन्छन्।

उन्नत जातका बाली
जलवायु परिवर्तन र जनसंख्याको बढ्दो आवश्यकता पूरा गर्न परम्परागत रूपमा खेतीपाती गरिने बालीहरूलाई परिमार्जन गरी उन्नत जातका बालीहरूमा विकास गरिएको हुन्छ। यस्ता परिमार्जन गरिएका बालीलाई सुधारिएका वा आधुनिक बाली पनि भनिन्छ। यी उन्नत जात सामान्यतः दुई वा दुई भन्दा धेरै प्रजातिलाई वर्णसङ्कर (cross breeding) वा सङ्करीकरण (Hybridization) गरी व्यवस्थित र वैज्ञानिक प्रक्रियाद्वारा लामो समयावधिमा विकास गरिएका ठिमाहा (Hybrid) जातिका बाली हुन्। यद्यपि, यसरी वर्णसङ्कर वा सङ्करीकरण गरी विकास गरिएका ठिमाहा जातिका बीउ मूख्यतः बहुराष्ट्रिय कम्पनीहरूले उत्पादन गर्ने भएकाले तिनको एकाधिकार कायम गर्न तिनै ठूला कम्पनीहरू आफै‌ंले बौद्धिक सम्पत्ति अधिकार (Intellectual property rights) सुरक्षित गरेका हुन्छन्।

उन्नत जातका बालीहरूले धेरै उत्पादन दिने हुँदा तिनको प्रयोग सामान्यतया व्यावसायिक खेतीपातीमा गरिन्छ। उन्नत जातका बालीलाई धेरै मल र कीटनाशक औषधि पनि आवश्यक पर्छ। वर्णसङ्कर वा सङ्करीकरण गरी विकास गरिएका विभिन्न बालीको बिउ पहिलो पटक खेती गर्दा राम्रो फल्ने र ज्यादा उत्पादन हुने गर्छ भने पहिलो पटक उमारेर तिनैबाट उत्पादन गरिएका बीउ पुनः दोस्रो पटक प्रयोग गर्दा बिरुवा राम्रोसँग नउम्रने र उत्पादन पनि अत्यन्त कम हुने गर्छ।

ग्रेगर मेन्डल(Gregor Mendel) ले सन् १८६५ मा प्रतिपादन गरेको सिद्धान्त अनुसार यदि प्रबल गुण (Dominant character) र लुप्त गुण (Recessive chacter) भएका कुनै पनि बोट-बिरुवा पर-परागसेचन (Cross pollination)  गरी प्राप्त भएको बीउ उमारियो भने पहिलो वंश (First filial generation) मा प्राप्त सबै बिरुवामा प्रबल गुण देखा पर्छन् भने पहिलो वंशबाट प्राप्त बिरुवाको बीउ उमारियो दोस्रो वंश (Second filial generation) मा प्राप्त बिरुवामा ७५ प्रतिशत प्रबल गुण र २५ प्रतिशत लुप्त गुण देखा पर्छन्। अर्को शब्दमा भन्ने हो भने दोस्रो वंशको उत्पादन ३ः१ को अनुपातमा हुन्छ। त्यसैले मेन्डलको सिद्धान्तलाई ३ः१ अनुपातको सिद्धान्त पनि भनिन्छ । यसरी दोस्रो वंशबाट प्राप्त बीउ पुनः उमारियो भने तेस्रो वंशमा प्रबल र लुप्त गुणको पृथकीकरण (Segregation) हुँदै जाने हुँदा उत्पादनमा ह्रास आउँछ (हे. चित्र) । तेस्रो वंशमा बिरुवाको अनुपात ३ गुणा शुद्ध अग्लो, ४ गुणा ठिमाहा अग्लो र ३ गुणा शुद्ध होचो हुन्छ।

उन्नत जातका बीउ पटक-पटक किनिरहनुपर्ने हुन्छ र किसानको परनिर्भरता बढ्न जान्छ। वर्णसङ्कर वा सङ्करीकरण गरी पुनः खेती गर्दा उत्पादन नघट्ने खाले स्थिर जातहरू (Stable varieties) को पनि विकास गर्न सकिन्छ। यस्ता जाति विकास गर्न कम्तीमा पनि १२ वर्ष लाग्छ। यद्यपि यसका लागि भूमि र बजेटको उपयुक्त व्यवस्थापन लगायत वैज्ञानिकहरूको लामो समर्पण र गहन अध्ययन-अनुसन्धानको पनि उत्तिकै आवश्यकता हुन्छ।

नेपालमा धेरै खेतीपाती गरिने बाली 
नेपालमा ५७७ प्रजातिका बालीहरू खेती गरिन्छन्। खेती गरिएका यी प्रजातिमध्ये ४८४ स्वदेशी (Native) र ९३ बाह्य प्रजाति (Non-ative) प्रकारका छन्। यी ४८४ स्वदेशी बालीमध्ये जम्मा ६४ प्रजातिका बालीहरूको पूर्णतः खेती गरिन्छ भने १४५ प्रजाति बागवानीका लागि र २७५ प्रजाति घरपालुवा जनावरको लागि आवश्यक पर्ने घाँसका लागि खेती गरिन्छ।

नेपालको प्रमुख खाद्य बाली धान, मकै, गहुँ, कोदो र जौ हुन्। तीमध्ये सबैभन्दा महत्वपूर्ण बाली धानले नेपालको कुल उब्जनी हुने भूमिको ५५ प्रतिशत ओगटेको छ। नेपालमा खेतीपाती गरिने अन्य बाली दलहन (Pulses)  तेलहन (Oilseeds), औद्योगिक बालीहरू (Cash crops)  तरकारी र फलफूल पनि हुन्। धान तराईका समथर फाँटदेखि हिमाली भेगमा रहेका ३ हजार ५० मीटरस्थित ठाउँमा खेती गरिन्छ। धान उत्पादनको उद्गमस्थल दक्षिणएशिया मानिन्छ। धानको विवरण करीब ३५०० वर्ष पुराना वेद र अन्य पुस्तकमा लेखिएको भए तापनि अहिलेसम्म बारा जिल्लाको सिम्रौनगढमा पाइएको धानको नमूना भने लगभग ५०० वर्ष पुरानो मात्र भएको किटान गरिएको छ।

नेपाल सरकारले सिफारिश गरेका विभिन्न धानका जातमध्ये सावित्री र रामधान अग्रस्थानमा छन् भने अन्य जातमा मकवानपुर–१, तरहरा–१, बहुगुणी–१ र २, चैत–५, खुमल–४ र खुमल बासमती–१६ प्रमुख हुन् । देशभरि ‘विकासे’ भनिने धानका १४८ भन्दा धेरै जात छन् र उन्नत बनाइएका स्थानीय जात पनि यथेष्ट छन् । अनदी, एक्ले, करियाकमल, कालानमक, गमादी, घिउपुरी, छुमरूङ, जर्नेली, जेठोबूढो, जुम्ली मार्सी, पहेंले, बर्मेली, मनसरा, मसिनो, लल्का, बासमती र विरमफूल स्थानीय जातका धानका केही उदाहरण हुन् ।
मकै लगभग ९ देखि १० हजार वर्ष पहिले दक्षिणपश्चिम मेक्सिकोको तल्लो भूभागमा खेती गर्न शुरू गरिएको थियो भने यो नेपालमा कहिले भित्रियो भन्ने यकिन तथ्यांक छैन । मकै नेपालको पहाडी क्षेत्रका सुक्खा जमिनमा परम्परागत रूपमा खाना, दाना र चाराको लागि खेती गरिन्छ । मकैका स्थानीय जात गणेश–२, हेटौंडा कम्पोजिट, मनकामना–१, ५ र ६, रामपुर–२ र रेसुंगा कम्पोजिट हुन् । 

गहुँ करीब २१०० वर्ष पहिले अफगानिस्तान, तुर्कमेनिस्तान, इरानका पहाडी क्षेत्र र ककेसियामा उत्पत्ति भएको हो । त्यहाँबाट प्राग्–ऐतिहासिक कालमा गहुँ उत्तर अफ्रिका, युरोप र पूर्वी एशियामा फैलिएको हो । नेपाली स्थानीय जातका गहुँ डब्डे लोकल, मुडुले गहुँ र पाउडर लोकल हुन् । डब्डे लोकल कम उर्वरता र आद्र्रताका लागि उपयुक्त हुन्छ । मुडुले धेरै स्वादिलो र पाउडर लोकल चिसो सहन सक्ने स्थानीय जात हुन् ।

जौको उत्पादन तथा खेतीपाती १० हजार ५०० वर्ष पहिले जाग्रोस पहाडी भूभाग र पूर्वी इरानी पठारमा भएको थियो भने उवाको खेती तिब्बतमा भएको विश्वास गरिन्छ । नेपालमा जौ र उवाका १२–१५ भू–प्रजातीय बाली छन् ।

कोदोको खेतीपाती लगभग ५ हजार वर्ष पहिले पश्चिमी युगान्डा र इथियोपियाको उच्च भूमिमा शुरू भएको थियो भने ३ हजार वर्ष पहिले भारतको पश्चिमी घाटतिर खेती गरिने बालीको रूपमा फैलिएको हो । त्यहींबाट यो दक्षिण–पूर्वी एशियातिर फैलिएको विश्वास गरिन्छ । कोदोको स्थानीय जात दैलेख लोकल उच्च उत्पादन र कम उर्वर भूमिको लागि उपयुक्त हुन्छ ।
फापर ६ हजार वर्ष पहिले दक्षिण पूर्व एशियामा खेती गरिएको थियो । यहाँबाट मध्यएशिया र तिब्बत (युनान क्षेत्र) अनि मध्यपूर्व हुँदै युरोपसम्म फैलियो । नेपालमा भाते र कागपानी जस्ता स्थानीय जातका फापर पाइन्छन् । यसैगरी अकबरे र जिरे खुर्सानी, गर्भे र ज्यापू काउलीका साथै गोर्लीखोरका सस्र्युंका स्थानीय जात पनि खेती गरिन्छन् । 
नेपालमा स्थानीय जात र भू–प्रजातीय बाली धेरै पाइने भए तापनि अहिलेसम्म नेपालभित्र मात्र पाइने कुनै पनि रैथाने बाली भने छैन । यद्यपि, पूर्वी नेपालको अरुण उपत्यकामा पाइने टाटेपाटे लहरे मासलाई ९ख्ष्नलब लभउबभिलकष्क० नेपाली रैथाने भन्ने पनि गरिएको छ । यो पूर्वी नेपालमा मात्र साथै भारत (दार्जीलिङ, सिक्किम र आसाम) र भुटानमा पनि पाइने भएकोले यसलाई पूर्वको स्थानीय जात भन्न उपयुक्त हुन्छ।

परम्परागत र उन्नत जातका बालीहरूको तुलना
परम्परागत जातका बालीहरू कम उत्पादन र वर्षको निश्चित समयमा मात्र खेती गर्न सकिने भएकाले प्रयोगबाट हराउँदै गइरहेका छन् । उन्नत जातका बालीहरूले ज्यादा उत्पादन दिने, बालीमा लाग्ने रोग र कीराहरूको लागि प्रतिरोधात्मक क्षमता पनि बढी हुने, विविध भौगालिक परिस्थितिमा अनुकूल हुने र निश्चित समयावधिमा मात्र उम्रने मात्र नभई अन्य समयावधिमा पनि उमार्न सकिने भएकाले यिनको खेतीमा वृद्धि हुँदै गइरहेको छ । उन्नत जातका बालीहरूको उत्पादन धेरै भए तापनि यी परम्परागत जातका बाली जस्तो स्वादिला र पोषिला हुँदैनन् ।

परम्परागत जातका बालीहरूको बीउ किसान आफैंले चयन, संकलन र भण्डार गर्न सक्छन् भने उन्नत बालीहरूको बीउ वर्षेनि किन्नुपर्ने र तिनको उपयुक्त उत्पादनको लागि किसानले विकासे मल र कीटनाशक औषधिको पनि उत्तिकै व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसैले उन्नत जातका बालीहरू अपनाउँदा किसानलाई दोहोरो समस्या हुन्छ । परम्परागत जातले जलवायु संकट सामना गर्न सक्छन् भने उन्नत जातले सक्दैनन्। परम्परागत जातका बालीहरूलाई हामीले संरक्षण गर्न आवश्यक छ किनकि तिनको विविधता, स्वाद, बासना र पौष्टिकता उन्नत बालीहरूले पूर्ति गर्न सक्दैनन्। यदि सबै बाली खेतीपाती गर्न सकिंदैन भने तिनको बीउलाई लामो समयसम्म भण्डारण गरी भविष्यमा उपयोग गर्न सक्छौं । यसरी विभिन्न जातका बालीहरूका बीउ भण्डारण गर्ने ठाउँलाई बीउ बैंक भनिन्छ।

बीउ बैंक र महत्व 
संसारमा सबैभन्दा पुरानो बीउ बैंक रसियन वैज्ञानिक निकोलाई इवानोविच भाभिलोभ (सन् १८८७-१९४३) ले सन् १९२१ मा स्थापना गरेको एन.आई. भाभिलोभ अल रसियन इन्स्टिच्युट अफ प्लान्ट जेनेटिक रिसोर्स (N. I. Vavilov All-Russian Institute of Plant Genetic Resources) हो भने अत्याधुनिक बीउ बैंक मिलेनियम सीड बैंक प्रोजेक्ट, बेलायत (Millennium Seed Bank Project) र स्वाल्बार्ड अन्तर्राष्ट्रिय सीड भल्ट, नर्वे (Svalbard International Seed Vault) हुन्। 

रसियाको दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गस्थित एन.आई. भाभिलोभ अल रसियन इन्स्टिच्युट अफ प्लान्ट जेनेटिक रिसोर्समा संसारभरिबाट संकलन गरिएका विभिन्न बाली र तिनका जंगली प्रजातिहरूका ३ लाख ५० हजार नमूनाहरू संग्रहित छन्। दोस्रो विश्वयुद्ध ताका जर्मनी र उसको सहयोगी फिनल्याण्ड मिलेर ८७२ दिनसम्म (१८ जनवरी १९४३ देखि २७ जनवरी १९४४ सम्म) पिटर्सबर्गको पूर्ण नाकाबन्दी गरेको समयमा सो बीउ बैंकमा काम गर्ने केही कर्मचारीले खान नपाएरै ज्यान गुमाए; तर तिनले भण्डार गरेर राखिएका कुनै पनि बीउ खाएनन्। यसो नगर्नुको मुख्य कारण त्यहाँ काम गर्ने सबै कर्मचारीहरूले वर्षौंदेखि संकलन गरेर भण्डार गरिएका बीउ आफूले खाँदा ती बालीको अस्तित्व र इतिहास मेटिनुका साथै भविष्यको पुस्तालाई आवश्यक पर्ने खानाको भण्डारका रूपमा रहेका ती बीउ उनीहरूकै लागि सुरक्षित राखिनुपर्छ भन्ने कुरामा विश्वास गर्थे। 

सन् २००० मा खुलेको मिलेनियम सीड बैंकमा संसारका १९० देशबाट संकलित २५ करोड बिरुवाका बीउहरू भण्डार गरेर राखिएका छन्। सन् २००८ मा मात्र खुलेको स्वाल्बार्ड अन्तर्राष्ट्रिय सीड भल्टमा लगभग हरेक देशबाट संकलन गरिएका १३ लाख १ हजार ३९७ बीउका नमूना छन् । त्यहाँ प्रत्येक बीउका दुई वटा नमूना छन्।

संसारमा अरू पनि महत्वपूर्ण बीउ बैंकहरू छन्। बेरी बोटानिक गार्डेन, पोर्टल्याण्ड, ओरे, संयुक्त राज्य अमेरिका (Berry Botanic Garden, Portland, Ore, USA) ले प्रशान्त उत्तरपश्चिमका लोपोन्मुख बाली र अन्य वनस्पति प्रजातिका बीउ भण्डार गरेको छ। उष्णकटिबंधीय कृषिको लागि अन्तर्राष्ट्रिय केन्द्र, कोली, कोलम्बिया (International Center for Tropical Agriculture, Coli, Colombia) ले कासाभा, चारा र सिमी प्रजाति भण्डार गरेको छ भने अन्तर्राष्ट्रिय आलु केन्द्र, लिमा, पेरु (International Potato Center, Lima, Peru) ले आलुका विभिन्न प्रजाति भण्डार गरेको छ। इन्टरनेशनल इन्स्टिच्युट फर ट्रपिकल एग्रिकल्चर, इबादान, नाइजेरिया (International Institute for Tropical Agriculture, Ibadan, Nigeria) ले जमिन मुनि फल्ने बदाम जस्ता फल, केराउ, भटमास र तरुलका विभिन्न प्रजातिका बीउ भण्डार गरेको छ भने अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थान, लस बानोस, फिलिपिन्स (International Rice Research Institute, Los Banos, Philippines)ले अनगिन्ती प्रकारका धान प्रजातिहरू भण्डार गरेको छ।


नेपालमा पनि सन् २०१० मा एउटा बीउ बैंक स्थापना भएको छ। यसको नाम राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (National Agriculture Genetic Resources Center)  हो र यो नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत पर्छ । यहाँ खेतीपाती गरिने र जंगली प्रजातिका ११० प्रकारका बालीका ११ हजार भन्दा धेरै नमूना भण्डार गरिएका छन्। यसैगरी सरकारी र गैरसरकारीस्तरको सहयोगबाट विभिन्न बीउ भण्डारको पनि स्थापना भएका छन्।

यी बीउ बैंकहरूले दुर्लभ, बहुमूल्य र लोपोन्मुख जातका बालीहरूलाई बचाउन मद्दत पु¥याउँछन्। भण्डार गरिएका विभिन्न बीउहरूको अध्ययन-अनुसन्धान गरी जलवायु परिवर्तनसँग अनुकूल हुने बालीहरूको विकास गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता भएका स्थिर जातका बालीहरूको विकास पनि गर्न सकिन्छ। बीउ बैंकहरू हाम्रा लागि कृषि उत्पादन र खानाका प्रकार जोगाउने र परिआएको खण्डमा उपयोग गर्न सकिने स्रोत केन्द्र हुन् । त्यसैले हामीले संसारमा यस्ता अत्यावश्यक बीउ बैंकहरूको संख्या बढाउँदै जानुपर्छ।  

(डा. रोकाया हाल इन्स्टिच्युट अफ बोटानी र ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट, चेक रिपब्लिकमा वनस्पति विज्ञका रूपमा कार्यरत हुनुहुन्छ।)
 

commercial commercial commercial commercial