अपेक्षाको भर्‍याङ नेपाली शिक्षा क्षेत्रमा सन्तुलनको खोजी

शेयरकास्ट इनिसिएटिभ नेपाल  ले २०८१ मंसीर/पुस महीनामा सम्पन्न गरेको राष्ट्रिय जनमत सर्वेक्षणमा पालिकाले प्रदान गर्ने विभिन्न सेवाहरू- जस्तै; खानेपानी, स्वास्थ्य सेवा, सडक, फोहोर व्यवस्थापन र शिक्षाप्रति सेवाग्राहीको सन्तुष्टि मापन गरिएको थियो। ती सेवाहरूको सन्तोषको स्तर हेर्दा सीधै जीवनको सहजतासँग जोडिएका खानेपानी, फोहोर व्यवस्थापन, सडक जस्ता सेवाहरूमा सन्तुष्टिको दर स्पष्ट र सजिलै बुझिने खालका देखिए। उत्तरदाताले स्वास्थ्य सेवा वा खानेपानीको मूल्याङ्कन गर्दा प्रायः प्रत्यक्ष अनुभवको आधार लिन्छन्। जस्तो- अस्पतालमा डाक्टर भेटिन्छ कि भेटिन्न, पिउनेपानी सफा छ कि छैन, सडक कस्तो छ, फोहोर व्यवस्थित रूपमा उठाइन्छ कि उठाइँदैन? तर, जब शिक्षाको कुरा आउँछ, त्यहाँ तथ्यांकमा भावना पनि मिसिन्छ। शिक्षाको मूल्याङ्कन गर्दा, अभिभावकले स्कूलको भवन, पाठ्यक्रम वा शिक्षकको गुणस्तर मात्र हेर्दैनन्; उनीहरूले आफ्ना सपना, डर र बालबालिकाको भविष्यप्रतिको गहिरो अपेक्षा समेत मापन गर्छन्।

हरेक अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा उनीहरूको मनमा एउटा अमूर्त भर्‍याङको कल्पना हुन्छ- जहाँ हरेक खुड्किलो चढ्दा सफलताको उज्यालो नजिकिन्छ। कुनै अभिभावकका लागि शिक्षा भनेको बच्चाले परीक्षामा राम्रो अङ्क ल्याउनु हो, कसैका लागि राम्रो अंग्रेजी बोल्न सक्नु, अनि कसैका लागि विद्यालयको कडाइ र अनुशासन नै सफलताको आधार हो। तर, खासमा शिक्षा भनेको केवल यत्ति मात्र होइन; यो त नयाँ सोच, सिर्जनात्मकता र जीवनोपयोगी सीपहरू विकास गर्ने एउटा निरन्तर प्रक्रिया पनि हो। यिनै फरक-फरक अपेक्षाहरूले शिक्षाको गुणस्तरप्रतिको धारणा र सन्तोषलाई मापन गर्न सरल अङ्कले मात्रै सक्दैन। शायद, ‘सन्तुष्टि’ भनेको भर्‍याङ चढ्ने गति मात्र होइन; त्यो त भर्‍याङ बलियो छ कि छैन भन्ने सुनिश्चितता पनि हो- जसले प्रत्येक अभिभावकलाई आश्वस्त बनाउँछ कि उनीहरूका सन्तान सुरक्षित, सक्षम र उज्ज्वल भविष्यतर्फ निरन्तर अग्रसर छन्।

के देखायो सर्वेक्षणले ?
शेयरकास्ट इनिसिएटिभ को सर्वेक्षणमा संलग्न सबै ३००० उत्तरदातालाई उनीहरूले आफ्ना बालबालिकालाई निजी वा सरकारी वा धार्मिक- कुन विद्यालयमा पठाउँछन् भनेर सोधिएको थियो। सर्वेक्षणको नतिजा आउँदा करीब २९% को घरमा विद्यालय जाने उमेरका बालबालिका नै नभएको, ३६% ले सरकारी, ३३% ले निजी र ५% ले दुवै खाले विद्यालयमा आफ्ना बच्चा पठाउने गरेको पाइयो । विद्यालय जाने उमेरका बालबालिका भएका २ हजार १३१ जना अभिभावकलाई तिनका बच्चाले पाइरहेको शिक्षाको गुणस्तरलाई १ देखि १० सम्मको स्केलमा मापन गरेर अङ्क दिन आग्रह गरिएको थियो। सर्वेक्षणको नतिजाले उनीहरूको अनुभव र विद्यालयसँगको प्रत्यक्ष अन्तरक्रियामा आधारित धारणा उजागर गर्छ।

टेबल र नेट प्रमोटर स्कोर ग्राफ
सर्वेक्षणले सरकारी विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकहरूको सन्तुष्टिको दर भन्दा निजी विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकको सन्तोष दर उच्च देखाएको छ। यसको अर्थ के हुन सक्छ ? के निजी विद्यालयले अभिभावकको अपेक्षा पूरा गरेका छन्, वा सरकारी विद्यालयहरू चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् ?
धेरै अभिभावकले गर्ने शिक्षाको मूल्याङ्कन- राम्रो मार्क, राम्रो रिपोर्ट कार्ड, अनुशासन र अंग्रेजी भाषाको प्रगति जस्ता प्रत्यक्ष देखिने उपलब्धिहरूमा सीमित हुन्छ। तर शिक्षा भनेको केवल पास-फेल बताउने अंकपत्र मात्र हुँदै होइन। 

मधेश प्रदेशका अभिभावकमा देखिएको अपेक्षाभन्दा उच्च सन्तुष्टिले एउटा चाखलाग्दो प्रश्न उठाउँछ- के त्यहाँका अभिभावकले आफ्नो सन्तुष्टिको मापन शिक्षाको गुणस्तरसँग राम्ररी जोडेर नै गराएका होलान् त ? वा अभिभावकहरूको अपेक्षा कम भएकाले सामान्य सुधारलाई पनि ठूलो उपलब्धिका रूपमा लिइएको हो ? कतिपय अभिभावकले विद्यालयमा विद्यार्थी र शिक्षकको नियमित उपस्थिति मात्रलाई पनि ‘पर्याप्त’ अथवा ठूलो उपलब्धि मानेको पाइन्छ। जहाँ अपेक्षा न्यून हुन्छ, त्यहाँ सानो सुधारले पनि गहिरो प्रभाव पार्न सक्छ । सामाजिक-आर्थिक स्थिति, जातीय पृष्ठभूमि र विद्यालयको पहुँचले पनि सन्तोषमा फरक पार्छ। निजी विद्यालयमा पहुँच भएका परिवारहरू त्यहाँको गुणस्तर र भौतिक सुविधामा सन्तुष्ट देखिन्छन् भने सरकारी विद्यालयमा सीमित स्रोतका कारण असन्तोष झल्किन्छ।

शिक्षाको सन्तुष्टि दरलाई अङ्कमा अंकित गर्न सजिलो त हुन्छ, तर ती अङ्कभित्र लुकेका कथाहरू बुझन आँखा र मन दुवै खोल्नुपर्ने हुन्छ। आखिर, शिक्षा केवल तथ्यांकको कुरा होइन; यो त विश्वास, सपना र सम्भावनाहरूको यात्रा हो।

अभिभावकीय सन्तोषको पछाडि लुकेको तथ्य
हाम्रा सर्वेक्षकहरूले अभिभावकहरूलाई शिक्षाको गुणस्तरप्रति आफ्नो सन्तुष्टि १ देखि १० सम्मका अङ्कमा मूल्याङ्कन गर्न अनुरोध गर्दा, उनीहरूले दिएका अङ्क केवल संख्या थिएनन्; उनीहरूको व्यक्तिगत अनुभव, सामुदायिक पृष्ठभूमि र गहिरा भावनात्मक सम्बन्धका कथा पनि यसमा समाहित थिए। अभिभावकको सन्तुष्टिको दर हेर्दा निजी विद्यालयका अभिभावकहरू सरकारी विद्यालयका तुलनामा बढी सन्तुष्ट देखिए। तर, के सन्तोषको अर्थ एउटै छ त सबैका लागि ?

धनी परिवारका लागि ‘गुणस्तर’ भन्नाले ‘फेन्सी’ पूर्वाधार, अंग्रेजीमा दक्षता र अतिरिक्त क्रियाकलापहरूको पहुँच हुन सक्छ। विपन्न परिवारका लागि भने सरकारी विद्यालयसम्म बालबालिका सुरक्षित पुग्नु र नियमित कक्षा सञ्चालन हुनु नै ठूलो कुरा हो। यही कारणले मधेश प्रदेशका अभिभावकहरूमा उच्च सन्तोष देखिनु एक किसिमको विरोधाभास जस्तो लाग्छ। के उनीहरू वास्तवमै शिक्षाको गुणस्तरप्रति सन्तुष्ट छन् त ? वा कम अपेक्षाका कारण सामान्य सुधार नै ठूलो प्रगति जस्तो देखिएको हो ?

अर्कोतर्फ, सरकारी विद्यालयप्रति असन्तुष्टि दर्शाउने अभिभावकका प्रमुख गुनासो- शिक्षकको अनियमितता, स्रोतको अभाव र सिकाइ-उपलब्धिमा देखिन्छ। निजी विद्यालयका अभिभावकहरू त्यहाँको शैक्षिक-उपलब्धि र भौतिक सुविधाप्रति सन्तुष्ट देखिए पनि त्यहाँ शुल्कको बोझ्, बच्चालाई पढाइको अतिरिक्त दबाब र प्रतिस्पर्धात्मक दबाबको गुनासो रहेकै पाइन्छ। तसर्थ, हामीले आफैंलाई सोध्नुपर्छ- के शिक्षा प्रणालीले अभिभावकहरूको बदलिंदो अपेक्षासँग तालमेल गर्न सकेको छ ? कि अझै पनि हामी विद्यालयलाई परम्परागत मानकका आधारमा मात्र मापन गरिरहेछौं ? शायद यिनै प्रश्नहरूको खोजी नै ‘सन्तुष्टि’को वास्तविक मर्म बुझनका लागि महत्वपूर्ण हुन्छ।

अभिभावकीय सन्तुष्टिले के संकेत गर्छ ?
शिक्षाको गुणस्तरप्रति अभिभावकको सन्तुष्टिको दरले विद्यालयको ‘प्रदर्शन रिपोर्ट’ जस्तो देखिए पनि यसको मर्म ? निकै गहिरो छ। यो मात्र स्कूलको शैक्षिक नतिजा, संरचना वा शिक्षकको क्षमता मापन गर्ने औजार होइन; यो समाजको विविध अनुभव, पृष्ठभूमि, र अपेक्षाको प्रतिविम्ब पनि हो।

१. सन्तुष्टि मात्र गुणस्तरको सूचक होइन
धेरैजसो अभिभावकले विद्यालयका केही आधारभूत सुधारहरूलाई पनि ठूलो उपलब्धिका रूपमा लिने गरेको पाइन्छ। सरकारी विद्यालयमा निःशुल्क खाजा वितरण, विद्यालय भवनको मर्मत वा शिक्षकको नियमित उपस्थितिले नै धेरै अभिभावकलाई सन्तुष्टि दिएको देखिन्छ। तर के यस्ता सुविधा उपलब्ध हुनु नै गुणस्तरीय शिक्षाको सूचक हो त ? अवश्य होइन । यी त शिक्षाको पहुँचका सूचक मात्र हुन्, गुणस्तरका होइनन्।

२. निजी विद्यालयः सन्तुष्टिको पछाडि लुकेको दबाब
निजी विद्यालयमा अभिभावकको सन्तुष्टिको दर उच्च भए पनि यसको पछाडि एउटा पेचिलो यथार्थ लुकेको छ। धेरै अभिभावक निजी विद्यालयलाई ‘सुरक्षित विकल्प’ ठान्छन् तर त्यो सन्तुष्टिसँग शुल्कको चाप, अतिरिक्त गृहकार्यको दबाब र प्रतिस्पर्धात्मक मानसिकतासँग गाँसिएको हुन्छ। अभिभावक सन्तुष्ट देखिए पनि उनीहरूका बालबालिकाले कस्तो मानसिक दबाब भोगिरहेका छन् भन्ने कुरा तथ्यांकमा देखिंदैन ।

३. सन्तुष्टि र सिकाइ-उपलब्धि बीचको दूरी
सन्तुष्टिको स्तरले विद्यार्थीको वास्तविक सिकाइ नतिजा (learning outcomes) सधैं प्रतिबिम्बित गर्दैन। केही अभिभावकहरूको सन्तुष्टि ‘विद्यालयले बच्चा अनुशासनमा राख्यो’ भन्ने कुरामा केन्द्रित हुन्छ, न कि बालबालिकाले कति सिके वा दक्षता हासिल गरे भन्नेमा। यसले शिक्षाको सारभूत पक्षभन्दा बाहिरी स्वरूपलाई मात्र प्राथमिकता दिएको संकेत गर्छ।

४. अपेक्षाको भर्‍याङ चढ्ने चुनौती
शिक्षा भनेको केवल परीक्षा पास गर्ने विषय होइन, यो त जीवनभर चल्ने सिकाइको प्रक्रिया हो। तर, सन्तुष्टिका अङ्कहरू हेर्दा लाग्छ- हामी अझै पनि अङ्क, प्रमाणपत्र, र अनुशासन जस्ता शिक्षाका परम्परागत मापदण्डमा रमाइरहेका छौं। लाग्छ, हामी अझै पनि “के विद्यालयले राम्रो गरे ?” भन्नेभन्दा पनि “के अभिभावकले आफूलाई सुरक्षित महसूस गरे ?” भन्ने सवालमा अडिएका छौं। यथार्थमा, शिक्षाको भर्‍याङ चढ्दा हामीले अङ्कको आधारमा मात्र सफलताको मापन गर्नु पर्याप्त हुँदैन। महत्वपूर्ण प्रश्न त के हुन् भने- के त्यो भर्‍याङ सबैका लागि समान रूपमा बलियो र भरपर्दो छ ? के हरेक खुड्किलाले विद्यार्थीलाई शैक्षिक उपलब्धि बाहेक जीवन उपयोगी सीप, आलोचनात्मक सोच र आत्मविश्वास हासिल गर्न मद्दत गरिरहेको हुन्छ ?

अभिभावकको सन्तुष्टिले शिक्षकहरूलाई सिकाइको प्रक्रियामा अझ् बढी संवेदनशील बन्न प्रेरित गर्न सक्छ। नीतिनिर्माताहरूका लागि यसले शिक्षा सुधारका प्रयासहरू कहाँ केन्द्रित गर्नुपर्ने रहेछ भनेर दिशानिर्देश गर्न सक्छ। र; अभिभावकहरूका लागि, सन्तुष्टिको वास्तविक अर्थ- केवल अङ्क वा अनुशासन मात्र हो या बालबालिकाको समग्र विकास र दक्षता हो भन्ने विषयमा अभिभावकको ध्यान जान जरूरी छ भन्ने बताउँछ। 
अन्ततः प्रश्न यही हो-

के हामी सबै मिलेर चढ्न सजिलो बलियो र हरेक बालबालिकाको भविष्य उज्यालो बनाउन सक्ने भर्‍याङ बनाउन सक्छौं ?


(सर्वेक्षक आचार्य, शेयरकास्ट इनिसिएटिभ नेपालका प्रमुख कार्यकारी हुन्।)

शिक्षक  मासिक, २०८१ फागुन अंकमा प्रकाशित । 

commercial commercial commercial commercial