शिक्षकलाई केले ‘महान्’ बनाउँछ?

अब्बल शिक्षकका १० गुण
कोही पनि जन्मँदै ‘महान् शिक्षक’ (Great Teacher) हुँदैन। महान् त बन्ने हो। महान् शिक्षक बन्ने प्रक्रिया लामो र कठिन हुन्छ तर यसको परिणाम लाभदायी हुन्छ। ‘अपवाद’ स्तरको अब्बल शिक्षक बन्न के के चाहिन्छ ? एउटा अब्बल शिक्षकका गुण या पहिचान के हुन् त ? 

आत्म-अवलोकनः महान् शिक्षकहरू निरन्तर रूपमा आफ्नो पेशा र कर्मबारे घोत्लिरहन्छन्  उनीहरू आफैंलाई बारम्बार प्रश्न सोध्छन्ः के मेरा विद्यार्थीले आज केही नयाँ सिके ? मैले अझै राम्रो गर्न सक्ने केही छ कि ? के मेरो पढाउने तरिका उचित र परिणामदायी छ ? के मैले आफूले गर्छु भनेर योजना बनाएको काम पूरा गरें ? के मैले आफ्ना विद्यार्थीबाट प्रतिक्रिया लिएँ र त्यसको विश्लेषण गरें ? 

यसरी आत्मनिरीक्षण र आत्म-अवलोकन गर्ने बानीले शिक्षकलाई आफ्नो पेशागत यात्राको सिंहावलोकन गरेर उत्तम शिक्षक बन्ने बाटोमा अघि बढ्न सक्ने बनाउँछ। आफ्नो प्राज्ञिक कर्मबारे आत्मनिरीक्षण र आत्म-अवलोकन नगर्ने शिक्षकले अघि बढ्ने प्रेरणा पनि गुमाउँछ।

बहुविधामा रुचि राख्नेः महान् शिक्षकहरू कुनै एक विधाको साँघुरो दायरामा सीमित रहँदैनन्। उनीहरू बहुविधामा रुचि राख्छन् र विद्यार्थीलाई ‘समग्र-शिक्षा’ प्रदान गर्छन्। आफ्नो विषयमा बलियो दक्खल राख्दाराख्दै पनि उनीहरू ज्ञानका विविध पक्षबारे सचेत हुन्छन्। त्यसैले अन्तर-विषयगत र बहुविधागत शिक्षण गर्छन्। गणित वा विज्ञानका शिक्षकले मानव इतिहास र साहित्यबारे पनि उत्तिकै रुचि राख्छन् र विद्यार्थीलाई आफ्नो विषयसँग जोडेर ती विधाको जानकारी दिन्छन्  उनीहरू विद्यार्थीको संज्ञानात्मक विकासमा मात्र सीमित हुँदैनन्। उनीहरूको उद्देश्य त विद्यार्थीको सर्वाङ्गीण व्यक्तित्व बनाउने हुन्छ जो अन्य मानव र सिंगो पर्यावरणसँग जोडिइरहोस्। 

खोज केन्द्रितः अब्बल कोटिका शिक्षकहरू खोज केन्द्रित हुन्छन् र प्राज्ञिक समस्याहरू समाधान गर्न प्रयत्नरत रहन्छन्। उनीहरूले प्राज्ञिक समस्यालाई अनुसन्धानको विषय बनाउँछन् र त्यसलाई तुलनात्मक रूपमा कम समयमा ‘समाधान गर्ने’ प्रयत्न गर्छन्। उनीहरूले आफ्नो अनुसन्धानको परिकल्पना (हाइपोथेसिस)को परीक्षण गर्न परिमाणात्मक र गुणात्मक दुवै खाले तथ्यांक संकलन गर्छन्। सार के हो भने- सेवारत कुनै शिक्षकले आफ्नो कक्षामा देखिएका समस्याको समाधान अनुसन्धान मार्फत खोज्ने प्रयास गर्छ भने त्यसलाई स्वागत गर्नैपर्छ। 

प्रयोगात्मकः महान् शिक्षकहरू आफ्नो शिक्षण कर्ममा जोखिम उठाइरहन्छन्। कुनै निश्चित अवधारणा वा सिद्धान्त वा पाठ पढाउन फरक-फरक तरिका अपनाउन उनीहरू धक मान्दैनन्। सधैं सफल नहुने जोखिम हुँदाहुँदै पनि उनीहरू नयाँ-नयाँ प्रयोग गरिरहन्छन। औसत शिक्षकहरू असफल हुने डरले नयाँ तरिका खोज्न धक मान्छन्; उम्दा शिक्षकहरू भने चुनौती र असफलताको सम्भावना हुँदाहुँदै पनि ‘कम हिंडिएको बाटो’ हिंड्ने हिम्मत गर्छन्। 

प्रविधिमैत्रीः सबै महान् शिक्षकहरू प्रविधिको प्रयोगमा दक्ष हुन्छन्। कोभिड महामारी मत्थर भएर विद्यालयहरू पहिले जसरी नै सञ्चालन हुन थालेपछि धेरैजसो शिक्षकले शिक्षण कर्ममा प्रविधिको प्रयोग पुनः कम गरेका छन्। तर, गतिला शिक्षकहरू प्रविधिले आफ्नो शिक्षण कर्मलाई सधैं सघाउँछ भन्नेमा ढुक्क छन्। उनीहरूले विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा पाइने वेबसाइटहरू प्रयोग गर्न र आफ्नो ज्ञान र बुझइको दायरा बढाउन; त्यसबाट लाभ लिन प्रेरित गर्छन्। त्यस्ता शिक्षकले आफूलाई पनि सधैं नयाँ नयाँ प्रविधिसँग अभ्यस्त बनाउँछन्।

अन्तरक्रियात्मकः राम्रा शिक्षकहरू आफ्ना सहकर्मीसँग आफ्ना सफलता र असफलताका कथा सुनाउँछन्। त्यसैले ती समुदायकेन्द्रित हुन्छन्। उनीहरूले आफ्ना सहकर्मीहरूबाट शिक्षण पद्धति र कक्षाकोठा व्यवस्थापनबारे प्रेरणा लिन्छन्। र, आफूले उनीहरूलाई सफल शिक्षण पद्धतिबारे सरसल्लाह पनि दिन्छन् । यस्तो अनौपचारिक अन्तरक्रियाको अभ्यासले शिक्षकहरूको कार्यकक्ष गतिशील भइरहन्छ। 

प्रेरणादायीः अपवाद जस्ता यी शिक्षकहरू आफ्ना विद्यार्थीसँगको कुराकानीको प्रभावमा विश्वास गर्छन्। अधिकांश कक्षामा शिक्षकहरू पाठ्यपुस्तकमा सीमित हुन्छन् र विद्यार्थीसँग अन्तरक्रियाका लागि समय खर्चिन कञ्जुस्याइँ गर्छन्। तर, एउटा कर्मठ शिक्षकलाई थाहा हुन्छ- विद्यार्थीलाई आफ्नो मनमा लागेको भन्ने र अरूको कुरा सुन्ने समय दिंदा केवल प्रश्न गर्न मात्र होइन जिज्ञासा गर्ने मस्तिष्क तयार पार्न पनि मद्दत पुग्छ भन्ने थाहा हुन्छ। त्यसैले पेशाप्रति प्रतिबद्ध शिक्षकहरूले सधैं अन्तरक्रियालाई जोड दिन्छन्।

सामाजिक रूपमा प्रतिबद्धः कर्मठ या राम्रा शिक्षकहरू सामाजिक रूपमा पनि प्रतिबद्ध हुन्छन्। उनीहरू धरातलीय यथार्थसँग सम्बन्ध-साइनो नभएका अनुसन्धानमा हराउँदैनन्। उनीहरू शिक्षाको कमजोर वातावरणबारे सचेत हुन्छन् र शिक्षा मार्फत नै वञ्चितीकरणमा परेका समुदायसम्म पुग्न सकिनेमा विश्वास गर्छन्। उनीहरूले आफ्ना विद्यार्थीलाई पर्यावरण र सीमान्तकृत जनसमुदायबारे चासो जगाउँछन्। साथै, उनीहरूलाई रूपान्तरणकारी काम गर्न र समानतायुक्त समाजको सिर्जनाका निम्ति काम गर्न उत्साहित गर्छन्।

सधैंका सिकारुः अब्बल दर्जाका शिक्षकहरू आजीवन सिकारु हुन्छन्। उनीहरूले विभिन्न पेशागत दक्षता अभिवृद्धि गर्ने कार्यक्रमहरू मार्फत आफूलाई अद्यावधिक गरिरहन्छन्। आफ्नो पाठ र विषयवस्तुलाई समयसँगै अद्यावधिक गर्न सकियो भने मात्रै विद्यार्थी पछिल्ला विकासक्रमबारे जानकार हुन्छन् भन्नेमा ती विश्वास गर्छन्। उनीहरूले आफ्ना विद्यार्थीलाई ‘सिक्नमा सिपालु’ बनाएर भविष्यको चुनौती सामना गर्न तयार पार्छन्।

सुधारः सबै दक्ष पेशाकर्मीहरू जस्तै महान् शिक्षकहरू पनि आफ्नो परिवेश अनुसार योजना बनाउन सक्ने खालका हुन्छन्। कक्षाकोठामा छिर्दै गर्दा उनीहरू आफ्नो शिक्षण रणनीति कार्यान्वयन र कक्षाकोठा व्यवस्थापनका लागि तयार हुन्छन्। यस्तो सुधारले उनीहरूलाई जस्तोसुकै अप्रत्याशित र चुनौतीपूर्ण भए पनि परिस्थितिको सामना गर्न सक्ने बनाउँछ। वास्तवमा, आफ्नो परिवेश अनुसार सोच्ने तरिका- अहिलेको द्रुत-गतिमा परिवर्तन भइरहेको संसारमा सबैभन्दा उपयोगी सीप हो।

महान् शिक्षकहरूले आफूलाई निरन्तर तरोताजा बनाइराख्छन् जसले गर्दा उनीहरू नयाँ नयाँ चुनौती सामना गर्न सक्षम हुन्छन्। उनीहरूले आफूलाई हरेक दिन पुनर्जीवित गराइरहन्छन् र त सधैं जीवन्त र सान्दर्भिक भइरहन्छन्। 


(लेखक अंग्रेजीका प्राध्यापक हुन् ।
६ अप्रिल, २०२४ को द हिन्दूबाट साभार)

अनुवाद: लक्ष्मण श्रेष्ठ

शिक्षक  मासिक, २०८१ माघ अंकमा प्रकाशित । 

commercial commercial commercial commercial