परियोजनामा आधारित सिकाइ: आँटौं, सकिन्छ !

परियोजनामा आधारित सिकाइ (Project based learning) त्यस्तो शिक्षण विधि हो जसमा विद्यार्थीले सक्रिय रूपमा सिक्ने अवसर पाउँछन्। यसरी हुने सिकाइ अर्थपूर्ण र वास्तविक हुन सक्छ। यसले सिकाइलाई जीवन्त बनाउँछ। विद्यार्थीहरू वास्तविक जीवनमा आइपर्ने जटिल समस्याहरूको समाधान पहिल्याउन सक्षम हुन्छन्। परियोजनामा आधारित सिकाइले विद्यार्थीको ज्ञान, सीप र धारणाको दायरालाई फराकिलो बनाउँछ।
शिक्षाविद् पाउलो फ्रेरे भन्छन्, ‘शिक्षा सक्रिय प्रक्रियाका रूपमा हुनुपर्छ।’ त्यसैगरी अर्का शिक्षाका दार्शनिक जोन डिवेको विचार अनुसार ‘शिक्षा स्वयं जीवन हो। त्यसैले विद्यार्थीले गर्दै सिक्न पाउनुपर्छ।’ भिगोत्स्कीको निर्माणवादी सिद्धान्तले पनि विद्यार्थीलाई उसको वातावरणबाट सक्रिय भएर सिक्न जोड दिएको छ। यिनै तथ्यहरूलाई मनन् गर्दैै शिक्षामा परियोजनामा आधारित सिकाइ पद्धतिको विकास भएको हो।
नेपालको विद्यालय तहको पाठ्यक्रम प्रारूप-२०७६ मा भनिएको छ, ‘सिकाइ सहजीकरण क्रियाकलापलाई, खोजमूलक, अन्तरक्रियात्मक, प्रवर्तनात्मक हुने गरी सञ्चालन गर्नमा जोड दिइनेछ।’ सोही प्रारूपमा शिक्षण सिकाइ क्रियाकलापका सम्बन्धमा भनिएको छ, ‘विद्यार्थीको सहभागितामा योजना निर्माण, परियोजना कार्य, क्षेत्र भ्रमण, समस्या समाधान, खोजमा आधारित अध्ययन तथा प्रवर्तनमुखी शिक्षण पद्धतिलाई सिकाइ सहजीकरण विधिका रूपमा कार्यान्वयनमा ल्याइने छ। स्थानीय सामाजिक, आर्थिक र सांस्कृतिक वातावरणमा परियोजनामुखी सिकाइ सहजीकरण क्रियाकलापलाई प्राथमिकता दिइनेछ।’
यसरी शिक्षा क्षेत्रका विद्वान्हरूको विचारलाई आत्मसात् गरी हाम्रो पाठ्यक्रममा ‘विद्यार्थीको आफ्नै अनुभव, प्रयोगात्मक अभ्यास, खोजी र अनुसन्धान एवम् समुदायबाट पाएको शिक्षा वास्तविक र दिगो हुन्छ जुन कुरा परियोजनामा आधारित सिकाइको माध्यमबाट सम्भव हुन्छ’ भन्ने कुरामा जोड दिइएको छ।
परियोजनामा आधारित सिकाइ किन ?
‘परियोजना कार्य’ पाठ्यक्रम भन्दा बाहिरको छुट्टै कार्य नभएर विद्यमान पाठ्यक्रम कार्यान्वयनका लागि अपनाइने सिकाइ सहजीकरणको एउटा विधि मात्र हो। यसले विषयवस्तुमा निपुणता त ल्याउँछ नै साथसाथै अर्थपूर्ण र गहन सिकाइको अवसर पनि प्रदान गर्छ। विद्यार्थीमा सिकाइप्रति रुचि जगाउँछ। उनीहरूको जीवनमा आइपर्ने चुनौती सामना गर्ने क्षमता बढाउँछ। विद्यार्थीमा सङ्गठित रूपमा खोजेर सिक्ने बानीको विकास गर्छ भने रचनात्मक प्रस्तुति गर्न समेत सिकाउँछ। विद्यार्थीलाई वास्तविक संसारसँग साक्षात्कार हुँदै विषयवस्तुहरूको गहन अध्ययन गरेर सिक्ने अवसर प्रदान गर्छ।
परियोजना अन्तर्गत सङ्कलित सामग्री र त्यस सम्बन्धी विवरणका साथमा विद्यार्थीहरू।
यही तथ्यलाई मनन् गर्दै पाठ्यक्रम विकास केन्द्रले आधारभूत तहदेखि माध्यमिक तहसम्मका कक्षामा आन्तरिक मूल्याङ्कनको व्यवस्था गरेको छ। आन्तरिक मूल्याङ्कन अन्तर्गत परियोजना कार्य र प्रयोगात्मक कार्य अनिवार्य रूपमा गराउनुपर्ने र त्यसलाई समेत समेटेर मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको छ । यस अनुसार कक्षा-४ देखि ८ सम्म ३६ प्रतिशत र कक्षा-९ देखि १२ सम्म १६ प्रतिशत परियोजना कार्य एवम् प्रयोगात्मक कार्य गर्नुपर्ने व्यवस्था रहेको छ। यसरी नेपालको विद्यालय तहको पाठ्यक्रमले परियोजनामा आधारित सिकाइलाई सिकाइको अभिन्न अंगका रूपमा अङ्गीकार गरिसकेको सन्दर्भमा विद्यालयमा परियोजना कार्यहरू गराइएन भने सो विषयको सिकाइ नै अधुरो र अपुरो हुने हुन्छ । त्यसैले प्रत्येक शिक्षकले विषय-शिक्षणका क्रममा अनिवार्य रूपमा परियोजना कार्य विधि अवलम्बन गर्नु जरूरी छ।
धेरैजसो शिक्षकहरूको भनाइ के सुनिन्छ भने ‘परियोजना कार्यका लागि समय नै पुग्दैन। कोर्ष सिध्याउनै सकिंदैन, परियोजना कार्य कहिले गराउने ?’
वास्तवमा, यो भनाइ सही होइन भन्ने मलाई लाग्छ; किनकि हाम्रो पाठ्यक्रमले आधारभूत तह (कक्षा ४-८) मा ५० प्रतिशत र माध्यमिक तहमा २५ प्रतिशत अङ्क आन्तरिक मूल्याङ्कनका लागि छुट्याएको छ। यस अन्तर्गत आधारभूत तहमा कुल पूर्णाङ्कको ३६ प्रतिशत र माध्यमिक तहमा १६ प्रतिशत अङ्क परियोजना कार्य तथा प्रयोगात्मक कार्यका लागि छुट्याएको छ। यसको अर्थ खाली नतिजा प्रकाशन गर्ने समयमा मात्र प्रयोगात्मक तर्फको १६ र ३६ अङ्क हाल्नु भन्ने पक्कै होइन। बरु; त्यति नै प्रतिशत पाठ्यघण्टा परियोजना कार्य तथा प्रयोगात्मक कार्यमा खर्च गर्नुपर्छ पनि भनेको हो। त्यसमध्ये कति पाठ्यघण्टा परियोजना कार्यमा र कति प्रयोगात्मक कार्यका लागि छुट्याउने भन्ने निर्णय विषय शिक्षकले आफ्नो विषयको प्रकृति अनुसार गर्न सक्छन्। अझ् भन्नु पर्दा प्रयोगात्मक कार्यहरू आफैंमा परियोजना कार्य पनि हुन सक्छन्।
परियोजना कार्य भन्ने वित्तिाकै शिक्षकले झन्झटिलो ठान्ने अनि विद्यार्थीले रमाइलो कार्य मान्ने अवस्था देखिन्छ। तर विश्वव्यापी रूपमा उत्कृष्ट शिक्षण सिकाइको विधिको रूपमा प्रयोगमा आइरहेको यो विधिलाई कुनै बहानामा प्रयोग नगर्दा हामी शिक्षक माथि नै प्रश्न खडा हुनसक्छ।
परियोजना कार्य नै गराइएको छैन भने त्यसको मूल्याङ्कन सम्भव हुने त कुरै भएन। त्यसैले हरेक विषयका लागि छुट्याइएको विषयगत पाठ्यघण्टाबाट आधारभूत तहका लागि ३६ र माध्यमिक तहका लागि १६ प्रतिशत पाठ्यघण्टा निम्न तालिका अनुसार छुट्याउनुपर्छ। अनि नियमित सिकाइ क्रियाकलपको अंशकै रूपमा तोकिएको पाठ्यघण्टा भित्र रहेर नै परियोजना कार्य तथा प्रयोगात्मक कार्य सञ्चालन गर्न सकिन्छ।
परियोजना कार्य कसरी गराउने ?
परियोजना कार्य भन्ने वित्तिकै शिक्षकले झन्झटिलो र जटिल कार्य ठान्ने र विद्यार्थीले रमाइलो कार्य मान्ने अवस्था विद्यालयहरूमा देखिन्छ । यहाँ विद्यार्थी भन्दा शिक्षक नै निर्णयकर्ता हुने भएकोले विद्यार्थीले रामाइलो मानेर सिक्ने अवस्था हुँदाहुँदै पनि शिक्षकले विद्यार्थीलाई त्यस्ता कार्यमा सहभागी नगराएको वा कम गराएको देखिन्छ, तर त्यस्तो अवस्था रहनु राम्रो होइन । विश्वव्यापी रूपमा उत्कृष्ट शिक्षण सिकाइ विधिको रूपमा प्रयोगमा आइरहेको परियोजनामा आधारित सिकाइको विधिलाई यो वा त्यो बहानामा प्रयोगमा नल्याउँदा हामी शिक्षक माथि नै प्रश्न चिह्न खडा भएको छ। हामी कोही पनि शिक्षकलाई सजिलो खोज्ने र पाठ्यक्रमको मर्म विपरीत कार्य गर्ने छुट हुँदैन किनकि हामी त्यही पाठ्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी पूरा गर्नका लागि नियुक्त भएका व्यक्ति हौं। हामी जुन कामका लागि नियुक्त भएका छौं त्यही काम नै गरेनौं भने हाम्रो नैतिक धरातल कमजोर हुन पुग्छ।
आजका दिनमा, कसैले आन्तरिक मूल्याङ्कनमा परियोजना कार्य तथा प्रयोगात्मक कार्य अन्तर्गत के के कार्य गराउनुभयो र त्यसको मूल्याङ्कनको अङ्क कुन आधारमा चढाउनुभयो भनेर प्रश्न सोध्यो भने थोरै शिक्षक मात्र जवाफ दिन सक्ने अवस्थामा भेटिनुहोला। अधिकांश शिक्षक नाजवाफ हुनुपर्ने स्थिति छ। त्यसैले अब ढिलो नगरी जसले जानेका छन्, उनले आफैंले अग्रसर भएर र जसले जानेका छैनन् उनले सिकेर भए पनि परियोजना कार्य विधिका माध्यमबाट शिक्षण गर्नै पर्ने हुन्छ। जो यो विधि सिक्न चाहन्छन्, उनका लागि यो लेख मागदर्शक हुनेछ भन्ने आशा लिएको छु।
विषयको प्रकृति हेरी परियोजनाको स्वरुप फरक-फरक हुन सक्छ। सामान्यतया निम्नानुसारका मुख्य पाँच चरणमा परियोजना गराउन सकिन्छ।
चरण-१: विद्यार्थीलाई पाठ्यपुस्तकमा भएका वा विषयवस्तुसँग सम्बन्धित एवम् सान्दर्भिक परियोजना कार्य दिने जसमा विद्यार्थीले सामूहिक रूपमा वा व्यक्तिगत रूपमा काम गर्नुपर्ने हुन्छ। केही नमूना परियोजना कार्य यस्ता हुनसक्छन्:
सामाजिक अध्ययन: तपाईंको छिमेकमा रहेका व्यक्तिहरूको काम वा पेशाको विवरण सङ्कलन गरी सो पेशाबाट छिमेकमा कस्तो सहयोग पुगेको छ, सोधखोज गरी टिपोट गर्नुहोस् र कक्षामा सुनाउनुहोस्।
विज्ञान: तपाइँको घर र समुदायमा प्रयोग गरिने विभिन्न औजारहरू अवलोकन गरी नाम सङ्कलन गर्नुहोस् र ती औजारहरू कुन प्रकारको ‘साधारण यन्त्र’ अन्तर्गत पर्छन्; पहिचान गर्नुहोस् । त्यसलाई अझ् उपयोगी बनाउन के के परिमार्जन गर्नुपर्ला उपाय समेत खोजी गर्नुहोस्।
गणित: विद्यालयको कोठा वा चउरको क्षेत्रफल निकाली त्यहाँको भुइँमा टायल वा ब्लक छाप्नु परेमा कुन साइजको टायल वा ब्लक कतिओटा आवश्यक पर्लान् इस्टिमेट निकाल्नुहोस् ।
English : List out any 20 sentences whiche are used in daily conversation in your home and community. After then, list out the tense, prepositions and articles used in those sentences.
नेपाली: आफ्ना परिवारका सदस्य वा समुदायका कुनै व्यक्तिको जीवनी तयार पार्नुहोस्।
अन्य विषय: ................
चरण-२: विद्यार्थीले समूहमा बसेर वा एक्लै सो कार्य कसरी गर्ने होला भनी सोच्ने र योजना बनाउनुपर्नेछ।
- परियोजनाको उद्देश्य,
- कहिले शुरू गरेर कहिले सम्पन्न गर्ने,
- के सम्बन्धी जानकारी सङ्कलन गर्ने,
- जानकारी कसरी सङ्कलन गर्ने,
- कोसँग सोध्ने,
- मुख्य क्रियाकलाप के के गर्ने,
- के के सामग्री वा साधन प्रयोग गर्ने ।
चरण-३: विद्यार्थीलाई योजना अनुसार कार्य गर्न लगाउने र गरेको कुरा टिपोट गर्दै जान भन्ने।
चरण-४: प्राप्त तथ्याङ्कका आधारमा प्रतिवेदन वा सामग्री तयार पार्ने ।
- प्रतिवेदन लेख्दा एक अनुच्छेदमा विषयको पृष्ठभूमि लेख्ने।
- मुख्य खण्डमा के के गरियो, कसरी गरियो र के के पत्ता लाग्यो क्रमैसँग लेख्ने।
- निष्कर्ष लेख्ने ।
चरण-५: आफ्नो परियोजनाको प्रस्तुतीकरण गर्ने र सुरक्षित राख्ने।
कुनै परियोजनामा सामग्री सङ्कलन, निर्माण र प्रदर्शनी पनि गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा प्रतिवेदनलाई छोटो टिप्पणीको रूपमा मात्र लेखेर परियोजना कार्य सम्बन्धी फोटो र भिडियोमा तयार गरिएको सामग्रीलाई नै प्रदर्शन गर्न पनि सकिन्छ।
परियोजनामा आधारित सिकाइ कार्यक्रम अन्तर्गत विद्यार्थीद्वारा सङ्कलित परम्परागत घरायसी सामग्रीहरू विद्यालयको भित्तामा यसरी सजाइएको छ।
हाम्रो एउटा अभ्यास
यहाँ गोदावरी नगरपालिकामा अवस्थित मेरो विद्यालय श्री सरस्वती माध्यमिक विद्यालय, ठेचोमा गरिएको परियोजना कार्यको नमूना प्रस्तुत गरिएको छ। यो एउटा नमूना अभ्यास मात्र हो। यस्तै गर्नुपर्छ भन्ने छैन। विद्यालयमा स्रोत-साधन उपलब्ध हुन्छ भने परियोजना कार्यलाई सूचनाप्रविधिसँग पनि जोडेर गर्न सके राम्रो। होइन भने जे–जस्तो अवस्था छ सोही अनुसारको परियोजना कार्य गराउन सकिन्छ। यसमा सजिलो पक्ष के छ भने, के र कस्तो परियाजना कार्य गराउने भन्नेमा शिक्षकले त्यति धेरै सोच्नुपर्दैन, प्रत्येक विषयको पाठ्यपुस्तकमा नै प्रशस्त मात्रामा परियोजना कार्यहरू दिइएको छ। दिइएका मध्ये कुन-कुन परियोजना कार्य गराउने भनेर छनोट गरे पुग्छ।
प्रत्येक विषयका फरक-फरक परियोजना कार्य हुँदा विद्यार्थीले बोझ महसुस गर्न सक्नेछन्। त्यसैले विषय शिक्षकहरूले आपसमा समन्वय गरेर एउटै परियोजना कार्यबाट दुई-तीन वटा विषयका सिकाइ उपलब्धि हासिल हुने गरी परियोजना कार्य गराउन पनि सकिन्छ। हामीले त्यस्तै अभ्यास गरेका छौं, जहाँ एउटै परियोजना कार्यबाट धेरै विषय र कक्षाका विद्यार्थीले आ-आफ्नो विषय र कक्षा अनुसारका परियोजना कार्य गरेका छन्।
थालनी: म २०७९ साउन महिनामा यस विद्यलयमा सरुवा भएर आएँ र भदौबाट प्रधानाध्यापकको जिम्मेवारी लिएँ। त्यसबखत प्रअका रूपमा मेरासामु मुख्य तीन वटा प्रश्नहरू खडा भए। मैले ती प्रश्नलाई विद्यमान अवस्थासँग जोड्ने प्रयत्न गरें। त्यसबाट केही मार्गदर्शन प्राप्त भयो। जसका आधारमा मैले वास्तविक सिकाइको योजना बनाएँ र परियोजनामा आधारित शिक्षण सिकाइ पद्धतिलाई अघि बढाएँ।
पहिलो प्रश्न: परम्परागत शिक्षण सिकाइलाई नै निरन्तरता दिने कि आधुनिक तथा समयसापेक्ष शिक्षण सिकाइ पद्धतिलाई अघि बढाउने ?
आफैं पाठ्यक्रम निर्माण कार्यदलमा बसेर पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक लेखन तथा शिक्षक प्रशिक्षणमा समेत संलग्न शिक्षक भएको नाताले विद्यार्थीको वास्तविक सिकाइको वातावरण कसरी सिर्जना गर्न सकिन्छ भनी चिन्तन गरिरहेको थिएँ। यस विद्यालयमा आएर जिम्मेवारी सम्हालिसकेपछि विद्यार्थीले गरेर सिक्न सक्ने पद्धतिलाई कसरी अघि बढाउने भन्ने हुटहुटी ममा थियो। यसका लागि म विभिन्न विकल्पको खोजी गर्दै योजना बनाइरहेको थिएँ।
म चाहन्थें कि विषयगत पाठ्यक्रम अनुसार सबै विषयमा परियोजना कार्य गरियोस् र त्यो पनि सूचनाप्रविधिमा आधारित भएर गरियोस्। विद्यालयको विद्यमान अवस्थामा मेरो सोचलाई कार्यरूपमा उतार्नु मेरा लागि ठूलै चुनौती थियो। इच्छा-शक्ति भयो भने त्यसलाई पूरा गर्न वातावरण सिर्जना गर्न सकिन्छ भन्ने आत्मविश्वास भने ममा थियो।
दोस्रो प्रश्न: आजको सूचनाप्रविधिको युगमा सूचना तथा सञ्चारप्रविधिलाई नियमित शिक्षण सिकाइ पद्धतिमा कसरी आवद्ध गर्ने ?
सूचना तथा सञ्चारप्रविधि एक्काइसौं शताब्दीको आवश्यकता हो। विद्यालय तहको पाठ्यक्रम प्रारूप २०७६ मा भनिएको छ– ‘दिनानुदिन बढ्दै गएको सूचना तथा सञ्चारप्रविधिको उपयोग गर्न सक्ने ज्ञान, सीप तथा दक्षता विकास गरी प्रविधियुक्त श्रम बजारमा सहज रूपमा खपत हुनसक्ने जनशक्ति विकास गर्न विद्यालय तहदेखि नै सूचना तथा सञ्चारप्रविधिमा आधारित पाठ्यक्रम तथा पाठ्यसामग्री विकासलाई जोड दिइनेछ।’ पाठ्यक्रमले समेत यति धेरै महत्व दिएको सूचनाप्रविधिलाई परियोजना कार्यमा जोड्न सके सुनमा सुगन्ध हुनेछ।
यसै तथ्यलाई मनन् गर्दै मैले विद्यालयमा रहेका दुई वटा कम्प्युटर ल्याब खोलें। एउटामा बीस वटा कम्प्युटर थिए जुन शायद एक दुई पटक मात्र प्रयोग गरिएका नयाँ थिए। अढाइ वर्षदेखि थन्किएका ती कम्प्युटर दुई चार वटा मात्र चालु हालतमा थिए। अर्को ल्याबमा करिब ३० वटा पुराना कम्प्युटर थिए जसमा मुश्किलले दश वटा जति चालु हालतमा थिए। दुई वटा प्रोजेक्टर रहेछन्। प्रशासनिक कार्यमा मात्र प्रयोग गर्ने गरिएको एक लाइन इन्टरनेट रहेछ। मेरा मनमा खुल्दुली हुन थाल्यो, यी सबै कम्प्युटरको उपयोग गर्दै बालबालिकाले हरेक विषयमा सिक्ने अवसर पाए कस्तो हुन्थ्यो ! जसरी पुस्तकालयमा गएर सबै विद्यार्थीले आफैं पुस्तक झ्किेर पढ्न पाउँछन्, त्यसैगरी विद्यार्थीहरू कम्प्युटर ल्याबमा गएर आफैं कम्प्युटर खोलेर आफ्नो सिकाइलाई मजबुत बनाउन सकुन्। तर कसरी ?
तेस्रो प्रश्न: ग्याजेट (मोबाइल) मा झुण्डिएर सर्च, लाइक, कमेन्ट, शेयर गर्ने बानी परेका विद्यार्थीको त्यो बानी त छुटाउन सम्भव छैन, तर त्यो बानीलाई शिक्षण सिकाइतर्फ कसरी रूपान्तरण गर्ने ?
म पहिले कार्यरत विद्यालयमा त्रैमासिक परीक्षाको नतिजा लिन अभिभावक र विद्यार्थीलाई बोलाइन्थ्यो। विद्यार्थीको नतिजा कमजोर भएको सम्बन्धमा विद्यार्थी र अभिभावक सँगसँगै राखेर छलफल गर्दा अधिकांश अभिभावकको गुनासो हुन्थ्यो, ‘जत्ति बेला पनि मोबाइलमा झुण्डिरहन्छन्। मोबाइलको बानीले पढाइ बिग्रियो सर। मोबाइल खोस्यो टिभीमा झुण्डिन्छन्। यो बानी कसरी छुटाउने होला ? हामी त दिक्क भइसक्यौं !’ त्यस बेलादेखि नै मेरो मनमा एउटा कुरा खेलिरहेको थियो- ‘यो ग्याजेट प्रयोगको बानीलाई छुटाउन त सकिंदैन तर यसलाई शिक्षण सिकाइमा रूपान्तरण गर्न सके कति राम्रो !’
संयोगवश, मेरो भेट सोलार सिनेमा नेपालका सञ्चालक अभिमन्यु हुमागाईंसँग हुन पुग्यो। उहाँ विद्यार्थीमा सूचनाप्रविधिको सिकाइ पनि हुने र सूचनाप्रविधिको माध्यमबाट विद्यार्थीको सिकाइ स्रोतको भण्डार पनि तयार गर्ने गरी विद्यालय लक्षित मिनी नेपाल पोर्टल को निर्माणमा जुटिरहनुभएको रहेछ। मैले मेरा मनमा रहेका तीन वटा प्रश्न उहाँसामु राखें । उहाँलाई विद्यालयको आवश्यकता, वर्तमान पाठ्यक्रमको मागनिर्देशन एवम् मेरो विद्यालयको वस्तुस्थिति पनि अवगत गराएँ। गहन छलफल भयो।
अन्त्यमा हामी मिनी नेपाल पोर्टल लाई केही परिमार्जन गर्न सके त्यसैका माध्यमबाट परियोजनामा आधारित सिकाइलाई निरन्तरता दिन पनि सकिने र धेरैभन्दा धेरै बालबालिकाले सूचनाप्रविधिको प्रयोग गर्दै आफ्नो सिकाइलाई समृद्ध गराउन पनि सकिने निष्कर्षमा पुग्यौं। करीब ६ महीनाको प्रयासपछि हामीले सोचे जस्तै पोर्टल तयार भयो।
मैले मेरो योजना विद्यालय व्यवस्थापन समितिसमक्ष राखें। व्यवस्थापन समितिले मेरो योजना स्वीकार गरेर बजेटको व्यवस्था गरिदियो । त्यस अनुसार विद्यालयमा रहेका करीब ५० वटा कम्प्युटर मर्मत तथा सुधार गरियो। प्रत्येक कक्षाकोठामा स्मार्ट टिभी मनिटर र कम्प्युटर जडान गरियो। कम्प्युटर ल्याबमा ३२ वटा कम्प्युटर चालु हालतमा राखियो। सबै शिक्षकलाई सूचनाप्रविधि र परियोजनामा आधारित सिकाइ पद्धतिका सम्बन्धमा प्रबोधीकरण पनि गरियो।
हामी हाम्रो विद्यालयलाई परियोजनामा आधारित सिकाइको नमूना विद्यालयका रूपमा विकास गर्ने गरी काम गर्न चाहन्थ्यौं। अर्थात् हाम्रो विद्यालयबाट अरू विद्यालयले पनि सिक्न सकून्। त्यसैले विद्यार्थीलाई कस्तो परियोजना कार्यमा संलग्न गराउने भन्नेमा हामीले धेरै सोचविचार गर्यौं । यसलाई हामीले तीन वटा कोणबाट हेर्यौं।
क. पहिलो दृष्टिकोण थियो, समुदायलाई विद्यालयसँग जोड्न सकियोस् ताकि विद्यार्थीले वास्तविक संसारसँग परिचित हुँदै सिक्ने अवसर पाऊन्। साथै समुदायको परम्परागत ज्ञानलाई विद्यालयको पाठ्यक्रमसँग पनि जोड्न सकियोस्।
ख. दोस्रो दृष्टिकोण थियो, विद्यालयमा भएको स्रोत-साधनको अधिकतम उपयोग गर्दै सिकाइलाई दिगो र प्रभावकारी बनाउन सकियोस्।
ग. तेस्रो दृष्टिकोण थियो, आजको नवीनतम प्रविधिलाई जीवन पद्धतिसँग आवद्ध गर्दै नियमित सिकाइमा जोड्न सकियोस्। प्रविधिमा आधारित हुँदै गएको भविष्यको तयारी गरेर हाम्रा बालबालिकालाई यो परिवर्तित विश्वमा समायोजन हुनसक्ने नागरिक बनाउन सकियोस्।
यी तीन वटै पक्षको संयोजन गर्ने गरी परियोजना कार्य सञ्चालन गरियो भने विद्यार्थीको वास्तविक सिकाइ हुनेछ भन्ने हाम्रो ठम्याइ थियो। यसलाई कार्य रूपमा उतार्नका लागि हामीले एउटा परियोजनाको छनोट गर्यौं। उक्त परियोजनालाई हामीले- सोच, गर र भन भन्ने तीन चरणमा सम्पन्न गर्न लगायौं। यस अन्तर्गत विद्यार्थीले पहिले के गर्ने र कसरी गर्ने भन्ने सोच्छन्, त्यसपछि आफ्नो सोचाइ अनुसार काम गर्छन् र अन्त्यमा आफूले गरेको काम लेखेर भन्छन् वा प्रस्तुति गर्छन्।
योजना अनुसारको परियोजना यसप्रकार सम्पन्न भयोः
- सबै विद्यार्थीलाई आफ्नो घर वा समुदायबाट परम्परागत कुनै सामान खोजी गरेर ल्याउन लगाइयो। विद्यार्थीले घरमा खासै काम नलाग्ने परम्परागत सामग्रीहरू खोजी गरेर ल्याए । जस्तैः डोको, हँसिया, ठेकी, नाङ्लो, भाँडाकुँडा आदि। शिक्षक र कर्मचारीले पनि ल्याउनुभयो। आफैं त्यस्ता सामग्री सङ्कलन गर्न नसक्ने विद्यार्थीलाई शिक्षक कर्मचारीले सङ्कलन गरेका सामग्रीमा नै परियोजना गर्न लगाइयो।
- विद्यार्थीले ती सामग्रीको परिचय र उपयोग सम्बन्धमा परिवार र समुदायका व्यक्तिहरूसँग सोधेर जानकारी सङ्कलन गरे।
- प्रत्येक विषय शिक्षकसँग सोधेर उक्त वस्तुबाट सम्बन्धित विषयमा के के सिक्न सकिन्छ वा उक्त वस्तुलाई सो विषयसँग कसरी जोड्न सकिन्छ भन्ने सम्बन्धमा जानकारी सङ्कलन गरे । जस्तैः अङ्ग्रेजी विषयसँग, नेपाली विषयसँग, गणित विषयसँग, सामाजिक अध्ययन विषयसँग, ...... ।
- विद्यार्थीले सङ्कलन गरेका विवरणलाई कापीमा लेखे। त्यसलाई कम्प्युटर ल्याबमा गएर टाइप गरे अनि मिनी नेपालमा पोष्ट गरे।
- आफ्ना साथीहरूका पोष्टहरू पढेर लाइक, कमेन्ट शेयर गरे।
- शिक्षकले सोही परियोजनाका आधारमा विद्यार्थीलाई परियोजना कार्यको अङ्क पनि प्रदान गर्नुभयो।
- सङ्कलन गरिएका सबै सामग्रीको संक्षिप्त परिचय भएको म्युजियम कार्ड (परिचय कार्ड) विद्यार्थी आफैंले तयार पारे।
- सामग्रीहरू सफा गरेर विद्यालयका भित्तामा सजाए। सामान सजाउनका लागि चाहिने बाँसका फ्रेम आफैं तयार पारे। यसरी हाम्रो विद्यालयमा स्थानीय खुला सङ्ग्रहालयको निर्माण समेत हुन पुग्यो जसले अहिले विद्यालयलाई परम्परागत ज्ञान, सीपको सिकाइ केन्द्रका रूपमा पनि विकास गरेको छ।
- अन्त्यमा, हामीले एक प्रदर्शनी नै आयोजना गरेर आदरणीय प्रा.डा. विद्यानाथ कोइराला सर, नगरका मेयर, उपमेयर, वडा अध्यक्षहहरू, शिक्षा शाखा प्रमुख तथा कर्मचारी, नगरपालिकाभरिका विद्यालयका प्रधानाध्यापकहरू समक्ष प्रस्तुत गर्यौं। सबैबाट प्रशंसा र हौसला प्राप्त भयो।
कक्षा-४ देखि १० सम्म सञ्चालन गरिएको यो परियोजना कार्यमा पछि थोरै परिमार्जन गरियो। अब प्रत्येक कक्षालाई फरक फरक जिम्मेवारी दिइयो। नर्सरीदेखि कक्षा-३ सम्म भने तिनै सामग्रीको उपयोग दैनिक शिक्षण सिकाइमा कसरी गर्न सकिन्छ भनी शिक्षक मार्पmत सिकाइ सामग्री निर्माण गर्न लगाइयो।
(परियोजना कार्यका नमुना: यस लेखका विभिन्न पृष्ठमा प्रस्तुत गरिएका तीनवटै नमुना विद्यार्थीले आफैं टाइप गरेर तयार पारेका हुन्। तिनमा खासै सम्पादन गरिएको छैन।)यसरी एउटै परियोजना कार्यबाट कक्षा नर्सरीदेखि कक्षा-१० सम्मका विद्यार्थीले सिक्ने अवसर पाएका छन्। एउटै परियोजनालाई धेरै विषयसँग जोडेर सिक्न सकिने रहेछ। कक्षा-३ देखि १० सम्मका विद्यार्थीले कम्प्युटरमा नेपाली र अङ्ग्रेजीमा टाइप गर्न, मिनी नेपालमा पोष्ट गर्न, इन्टरनेटको प्रयोग गरी सामग्री खोजेर पढ्न, डाउनलोड गर्न, फोटोहरू हाल्न, इमेल गर्न सक्ने गरी सूचनाप्रविधि सीप हासिल गरेका छन्। विद्यार्थीले मन (Heart), मस्तिष्क (Mind) र शरीर (Body) तीन वटै पक्षको सक्रियताबाट सिक्ने मौका प्राप्त गरेका छन्। समुदायको ज्ञानलाई विद्यालयसँग जोडेर डिजिटल संसारमा रमाउँदै भविष्यको तयारी गर्न सक्ने गरी वास्तविक सिकाइको अवसर प्राप्त गरेका छन्।
हाम्रो विद्यालयको पहल र गोदावरी नगरपालिकाको सहयोगमा नगरपालिकाका १७ वटा सामुदायिक र एउटा संस्थागत गरी १८ वटा विद्यालयमा यो अवधारणा पुर्ययाइएको छ। यहाँका वाणीविलास मावि, किटिनी मावि, पथप्रदर्शक मावि लगायत विद्यालयहरूले परियोजनामा आधारित सिकाइ पद्धतिलाई यसै शैक्षिक सत्रबाट सुरुआत गरेका छन्। हाम्रो लागि यो गौरवको कुरा हो।
हामी चाहन्छौं, यो वा यस्ता अभ्यास र अवधारणा देशभरिका सबै विद्यालयमा पुग्नुपर्छ र सबै विद्यालयले यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ । परियोजनामा आधारित सिकाइका लागि हामीले अवलम्बन गरेको यो एउटा मोडल हो । यस्तै गर्नुपर्छ भन्ने छैन। अन्य विभिन्न मोडलको प्रयोग गर्न सकिन्छ।
हामीले शैक्षिक सत्र २०८१ का लागि भने परियोजना कापी नै विकास गरेका छौं । यस कापीमा त्रैमासिक परीक्षा अघि प्रत्येक विषयको कम्तीमा एक परियोजना कार्य गर्ने व्यवस्था गरिएको छ। यस वर्ष हामीले विषयगत परियोजना कार्यमा जोड दिएका छौं। प्रथम त्रैमासिक परीक्षा अघिको विषयगत परियोजना सम्पन्न भइसकेको छ। अब दोस्रो त्रैमासिक परीक्षा अघिको तयारी हुँदैछ।
हामीले यस वर्षलाई परियोजना कार्यको बानीको विकास गर्ने वर्ष (The year of habit formation) भन्ने नाम दिएका छौं। गत वर्ष सिकेको परियोजनामा आधरित शिक्षण सिकाइलाई यस वर्ष थप अभ्यास गर्दै बानी पारिनेछ । आगामी वर्षदेखि निरन्तर रूपमा शिक्षण सिकाइको अभिन्न अङ्गका रूपमा अघि बढाइनेछ।
अन्त्यमा
यसरी, हामीले परियोजना कार्य र सूचनाप्रविधिमा आधारित सिकाइलाई सँगसँगै अघि बढाएका छौं। एउटै परियोजना कार्यबाट विभिन्न कक्षाका विभिन्न विषयमा विभिन्न प्रकारका सिकाइका सम्भावनाहरूको खोजी गरेका छौं। यो हाम्रो सुरुआत मात्र भएकाले कतिपय प्रक्रियागत र नतिजा उन्मुख दृष्टिले कमी-कमजोरी रहेका हुन सक्छन् तर यो प्रयत्न वास्तविक सिकाइको अवधारणा विद्यालयमा कार्यान्वयन गर्न कोसेढुङ्गा सावित हुनेछ भन्ने अपेक्षा गरेका छौं। यसमा परिमार्जन र सुधारको क्रम जारी रहनेछ। शैक्षिक वर्ष २०८० लाई आधार वर्ष मानेर आगामी ३ वर्षमा यो पद्धति पूर्ण रूपमा विद्यालयमा लागू गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं। परम्परागत सिकाइमा बानी परेका हामी शिक्षकलाई यो नौलो अभ्यासमा जान असहजता महसुस हुनु स्वाभाविकै हो तर हाम्रो विद्यालयका शिक्षकले यसमा रमाउँदै परियोजना कार्यलाई अघि बढाइरहनुभएको छ। हाम्रा यी अनुभव अन्य विद्यालय, शिक्षक र विद्यार्थीका लागि समेत प्रेरणादायी बन्न सकून् भन्ने आशा लिएका छौं।
परियोजनामा आधारित सिकाइ-अभ्यासका थप नमूना र भिडियो https://saraswati.mininepal.org मा हेर्न सकिनेछ।
(प्रधानाध्यापक, श्री सरस्वती मावि, गोदावरी नपा, ललितपुर)
शिक्षक मासिक, २०८१ असोज अंकमा प्रकाशित ।