विद्यालयमा मानसिक स्वास्थ्य सेवाको खाँचो


- “छात्राहरू पालैपालो बेहोश हुन थालेपछि स्कूल बन्दै गर्नुपर्ने अवस्था आइपर्‍यो। ... दोलखा-सिन्धुपाल्चोक क्षेत्रका कतिपय स्कूलहरू बन्द” ... यस्ता समाचारहरू नियमित नै आउने गर्दछन् छापामा, रेडियोमा, टीभीमा र अनलाइनमा। 

- “...विद्यालयको छात्रावासमा पाँच कक्षा पढ्ने किशोर झुण्डिरहेको अवस्थामा फेला परे।” “...सात कक्षा अध्ययनरत छात्राले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरिन्” ... यस्ता खबरहरू पनि नौला होइनन् हामीलाई।

- “कक्षा-९-१० मा पढ्ने किशोरकिशोरी विद्यालय नगइकन नशा सेवन गर्नका लागि समूह बनाएर हिंड्ने गर्दछन्। स्कूल पोशाकमा नै... ठाउँमा भेटिए” भन्ने किसिमका खबर पनि बेलाबखत आउँछन्।

विद्यालय जाने उमेर समूहका शतप्रतिशत बालबालिका नै विद्यालय भर्ना भएको अवस्था मान्ने हो भने पनि त्यसको केही प्रतिशत कमले मात्रै प्राथमिक तह पार गर्ने, अझै कमले आधारभूत तह, झनै कमले एसईई, अनि तुलनात्मक रूपमा निकै कमले उच्च माध्यमिक (कक्षा १२) पूरा गर्ने गर्दछन्। हाम्रो शैक्षिक यथार्थ यस्तै हो।

माथि उल्लेख गरिए जस्ता घटना तथा देशको शैक्षिक तथ्यांक र सामाजिक कथा-व्यथाहरू महसूस गर्दा हाम्रा विद्यालयमा मानसिक स्वास्थ्यको विषय महत्वपूर्ण  रहेको मान्न कर लाग्दछ। ५-१९ वर्षको उमेर समूह- बालबालिका, किशोरकिशोरीको शारीरिक विकासका लागि मात्र नभई तिनको मनोवैज्ञानिक, मनोसामाजिक अनि नैतिक-चारित्रिक विकास र समग्र व्यक्तित्व निर्माणका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको हुन्छ। व्यक्तिविशेषको जीवनका हरेक चरणमा अनेक प्रकारका व्यक्तिगत, गार्हस्थ्य, घरेलु, सामाजिक अनि पेशागत चुनौती आइपर्न सक्छन्। ती सबैलाई सामना गरी जीवनमा खरो उत्रन सक्ने मानसिक, भावनात्मक, अनि सामाजिक दक्षता र क्षमता विकासका लागि पनि यही उमेर समूहमा सिकेका ज्ञान-संज्ञान तथा हासिल गरेका योग्यता र सीपले काम गर्ने हो। त्यसैले पनि मानिसको जीवनको आधारभूत कोसेढुंगा नै यही उमेर समूहलाई मानिएको हो।

जीवनको यस्तो महत्वपूर्ण अवस्थाको महत्वपूर्णलाई वैज्ञानिक अध्ययनले पनि दर्शाएका छन्। करीब २० प्रतिशत मानिसमा मानसिक रोगका लक्षणहरू विद्यालय जाने उमेरमा नै देखा पर्ने गर्दछन्, जसले भविष्यमा गएर पूर्ण मानसिक रोगको रूप लिन सक्दछ। त्यस्तै, झण्डै ५० प्रतिशत मानसिक रोगहरूको शुरुआत किशोरावस्थामा (२० वर्षमुनि) नै भएको पाइन्छ। सम्पन्न देशका किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्याको अनुपात ८-१८ प्रतिशत रहेको तथ्यांकले देखाउँछ। भारतमा १३-१७ उमेरका बालबालिकामा मानसिक रोगको अनुपात ७.३ प्रतिशत रहेको पाइएको छ । नेपालमा हालसालै गरिएको मानसिक स्वास्थ्य सम्बन्धी एक सर्वेक्षणले ५.२ प्रतिशत किशोर-बालबालिकामा मानसिक रोगका लक्षण अनि ३.९ प्रतिशतमा आत्महत्याको विचार आउने गरेको देखाएको छ।

बालबालिका-किशोरकिशोरीमा देखा पर्ने यस्ता मानसिक समस्याहरू तिनको शैक्षिक अवस्थाका लागि त जिम्मेवार हुन्छन् नै, साथसाथै घातक प्रकारका जोखिम लिने, आपराधिक क्रियाकलापहरूमा संलग्न रहने अनि सुरक्षा प्रणालीहरूका लागि चुनौतीपूर्ण बन्ने सम्भावना पनि बोकेका हुन सक्दछन्। बाल-किशोर मनोस्वास्थ्यका अनेक आयाम हुन्छन्।

५-१९ वर्ष उमेर समूहका बालबालिका-किशोरकिशोरीहरू प्रायः सबै नै विद्यालय जाने गर्दछन् अथवा गएका हुन्छन्। विश्वभरमा विद्यालय जाने बालबालिका–किशोरकिशोरीमध्ये ८० प्रतिशत हिस्सा हाम्रो जस्तो अल्पविकसित देशहरूले ओगटेका छन् । तर विडम्बना ! गाँस, बास, कपास जस्ता आधारभूत आवश्यकता परिपूर्ति गर्न नै संघर्षरत रहने यी देशको स्रोतसाधन बालकल्याण, शिक्षादीक्षा अनि बाल–मनोसामाजिक अवस्थाको सुधारमा लगानी हुन पाउँदैन। यसैले पनि बालबालिकाको मनो-स्वास्थ्य सुधार- हाम्रो जस्तो मुलुकमा महत्वपूर्ण  मात्र नभई चुनौतीपूर्ण पनि रहेको मानिन्छ ।
बालबालिका-किशोरकिशोरीले आफ्नो धेरै समय विद्यालयमा बिताउने गर्दछन्। तिनले ज्ञान प्राप्त गर्ने, सीप हासिल गर्ने र सामाजिक व्यवहारहरूका बारेमा सिक्ने वातावरण पनि प्रायः स्कूलहरूमा नै पाउने हुन्। तसर्थ, विद्यालयमा सहयोगी, सुरक्षित, अनि अनुकूल किसिमको मनोसामाजिक व्यवहार प्रदान गर्न सक्ने पद्धति र संरचनाको विकास गरिनु आवश्यक छ। विद्यार्थीलाई स्वास्थ्य शिक्षा प्रदान गर्ने, तिनलाई आफ्ना आमाबाबु, परिवार, समुदाय, समाज, सबैसँग असल सम्बन्ध राख्न सिकाउने गतिलो क्षेत्र पनि विद्यालय नै हो। त्यसैले ‘विद्यालय-मानसिक-स्वास्थ्य’ कार्यक्रमलाई सामुदायिक स्वास्थ्यका लागि बहुउपयोगी अनि आर्थिक रूपमा पनि प्रभावकारी बनाउनु जरूरी छ।

विद्यालयको मानसिक एवं मनोसामाजिक कार्यक्रम मानसिक समस्या भएका या नभएका बालबालिकाहरूका लागि मात्र नभई स्कूलका शिक्षक–कर्मचारी, अभिभावक अनि समुदाय-समाज एवं राष्ट्रका लागि नै महत्वपूर्ण मान्न सकिन्छ। किनभने आजका बालबालिका नै भविष्यमा चिकित्सक, इन्जिनियर, वकील, पत्रकार, प्रशासक, नेता, अर्थशास्त्री, वैज्ञानिक, शिक्षक, व्यापारी, राजनैतिक कार्यकर्ता आदि बन्ने हुन्। त्यसैले, कुनै पनि विद्यार्थीको मानसिक स्वास्थ्य आफ्नो समाज, राष्ट्र अनि विश्वका लागि नै महत्वपूर्ण हुन्छ। अनि तिनको मानसिक स्वास्थ्य, मनोवृत्ति अनि व्यवहारका लागि पनि शिक्षक एवं विद्यालयको ठूलो महत्वपूर्ण रहेको हुन्छ। त्यसैले पनि आजको विश्वमा ‘विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम’को आवश्यकतालाई जोड दिने गरिएको छ।

एउटा व्यापक, विस्तृत एवं सन्तुलित प्रकारको ‘विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम’को अवधारणाका रूपमा विश्व स्वास्थ्य संगठनले तीन तहमा काम गर्ने पद्धतिलाई अगाडि सारेको छः

तह १. विद्यालय अथवा कक्षाका सबै विद्यार्थीमा लागू गर्न सक्ने गरी मानसिक स्वास्थ्य प्रवद्र्धन, सम्वद्र्धन, शिक्षा या प्राथमिक रोकथामका कार्यक्रम।

तह २. अत्यधिक तनाव एवं जोखिममा परेका या त्यस्ता जोखिम एवं मानसिक समस्याहरूको सम्भावना बढी भएका बालबालिकाको शीघ्र पहिचान गर्ने अनि तिनीहरूलाई नै लक्षित गरिने किसिमका मानसिक स्वास्थ्य कार्यक्रम।

तह ३. माथि उल्लेख गरिएका कार्यक्रमहरू निष्प्रभावी भएको अवस्थामा या मानसिक रोगको पहिचान भइसकेका रोगी विद्यार्थीका लागि प्रदान गरिने मानसिक स्वास्थ्य सेवाका कार्यक्रम। कुनै प्रकारको मानसिक समस्या भएका विद्यार्थीलाई मनोचिकित्सक अनि चिकित्सा-मनोविद्कै निगरानी आवश्यक परेमा कुन अस्पताललाई सम्पर्क अस्पताल बनाउने भन्ने विषयमा पनि विद्यालयहरूले समन्वय गर्नु आवश्यक हुन्छ।

यस्तो तहगत कार्यक्रमका लागि सम्बन्धित विद्यालय, अभिभावक, शिक्षक अनि नागरिक समाजको तयारी र प्रयासले मात्र पुग्दैन, सरकारकै योजना, प्रयास अनि स्रोत–साधनको आवश्यकता पर्दछ। ‘प्रत्येक विद्यालयमा नर्स’ भने जस्तो स्वागतयोग्य काम गर्ने सरकारले अब ‘प्रत्येक विद्यालयमा मानसिक स्वास्थ्यकर्मी’को योजना बनाउनु पनि जरूरी भइसकेको छ। 

(मनोचिकित्सा विभाग, काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेस, धुलिखेल)

शिक्षक मासिक, २०८१ मंसीर अंकमा प्रकाशित । 

commercial commercial commercial commercial