बालकक्षामा पढाऔं: तर्कशास्त्र र वाक्कला
हुनत बेफ्वाँकको आशावाद सुनिन पनि सक्छ, तर मलाई लाग्छ– ‘अहिले बिग्रँदो अवस्थामा रहेको सामाजिक, भावनात्मक र राजनीतिक जीवनलाई ठिकठाक पार्ने एउटा सहज उपाय मैले पत्ता लगाएको छु।’
चुलिंदो आर्थिक असमानता, सामाजिक सञ्जाल लगायत प्रविधि र राजनीतिक प्रणालीमा कर्पोरेटहरूको कब्जा आदिलाई दोष दिंदै हाम्रा समस्या समाधान नै गर्न नसक्ने गरी कठिन भए भनेर रुवाबासी गर्न सजिलो त छ तर, समाजसँगको हाम्रो अलगावको जग नै शिक्षा पद्धति हो जसले हामीलाई सम्बन्धहरू निर्माण गर्न र अरूसँग बोल्नुअघि सोच्न सिकाउँदैन । त्यसो भए के गर्ने त ?
सरल जवाफ छ, बालबालिकालाई सँगै राखौं र कुरा गर्न सिकाऊँ। उनीहरूलाई सुन्न र सुनिने बन्न सिकाऊँ। फरकहरू छुट्याउन र झै-झगडा नगरिकन, विभाजन नल्याइकन, गालीगलौजमा नउत्रिकन सहमति खोज्न पनि सिकाऊँ।
त्यसो त यो कुनै नयाँ समाधान होइन। प्राचीन ग्रीक सभ्यताका शिक्षक र दार्शनिकहरूले नै यसको प्रयोग गरिसकेका थिए, जसलाई उनीहरूले ‘वाक्कला’को नाम दिएका थिए। शुरूमा त्यसलाई सम्मति जुटाउने कलाका रूपमा परिभाषित गरिएको थियो । अहिले वक्तृत्वकला भन्ने गरिन्छ । सन् १७०० सम्म पनि यो कला शिक्षा पद्धतिको प्रमुख आधार रहँदै थियो।
त्यतिबेला पश्चिम युरोपभर १२ वर्षको उमेरदेखि विद्यार्थीलाई तर्कशास्त्र, सामाजिक व्यवहार, आलोचनात्मक चिन्तन र वाक्कला जस्ता जीवनोपयोगी सीपहरू १४ तहको पाठ्यक्रम मार्फत सिकाइन्थ्यो। परीकथा र लघुकथाहरूको सस्वर वाचन र त्यसमाथिको छलफलबाट पढाइको अभ्यास शुरू हुन्थ्यो। बिस्तारै विद्यार्थीलाई कुनै विषयको पक्ष, विपक्षमा स-साना मन्तव्य राख्न सिकाइन्थ्यो। अन्तिममा जटिल विषयमा लामा बहसहरू गर्न सिकाइन्थ्यो। अरूले प्रदर्शन गरून् भन्ने उद्देश्यले नै (केवल पाना भर्नका लागि होइन) गरिने लेखनबाट विद्यार्थीले आफ्ना विचार र मान्यतालाई तथ्यसम्मत गराउने सीप र कला सिक्थे। तर्क गर्ने कला सिक्दै जाँदा विद्यार्थीहरू अरूले तोडमोड गरेर तथ्यहरू पेश गरेको खुट्याउन सक्ने हुन्थे।
वाक्कलाको तालिम विद्यार्थीलाई आफ्ना धारणा सुन्दर तरिकाले राख्न सिकाउनेमा मात्रै सीमित थिएन। यसको मूल उद्देश्य त उनीहरूलाई अविवेकी एवं झैं-झगडा र विवादले भरिपूर्ण यस संसारमा स्वाभिमानी भएर रहन सक्षम बनाउनु थियो। यस्तो तालिमले उनीहरू वयस्क भएपछि सामाजिक जीवनका लागि चाहिने सीपहरूको जग बसाइदिन्थ्यो।
आपसी विश्वास र सिंगो सभ्यतामै संकट आइरहेको वर्तमान परिवेशमा यी सीपहरू कति उपयोगी होलान् भनेर हामी अनुमान मात्र गर्न सक्छौं। एकजना अमेरिकी नागरिकले हरेक दिन औसतमा १० देखि २० हजारसम्म शब्द बोल्ने गर्छ। उनीहरू बेपरवाहसँग शब्द प्रयोग गर्ने गर्छन्; किनभने तिनलाई शब्दको उचित प्रयोग गर्न सिकाइएकै छैन।
वर्तमान शिक्षा प्रणालीको आधार मूलतः १७औं र १८औं शताब्दीको प्रबोधन काल हो, जसको मूल उद्देश्य नै औद्योगिक क्रान्ति पछिका आवश्यकता पूरा गर्नु थियो। यो शिक्षा प्रणालीले ज्ञान र प्राविधिक सीप हासिल गर्नुलाई बढी महŒव दिन्छ भने वाक्कलालाई कम प्राथमिकता दिन्छ। परिणाम, विद्यार्थीले आफ्नो जीवनका उर्वर दुई दशक कागजमा समस्या समाधान गर्ने जुक्ति सिक्दैमा बिताउँछन्। त्यसपछि मात्रै उनीहरू वास्तविक दुनियाँमा प्रवेश गर्छन्; जहाँ व्यक्तिको व्यावसायिक सफलता विविध रुचि र विचार बोक्ने मानिसहरूको जमातमा भिडेर निर्णय निकाल्ने कलामा भर पर्छ।
जब, सिकाउनुपर्ने उमेरमा आवश्यक सीप नै सिकाएका छैनौं भने जटिल सामाजिक संरचनाको सहज सामना युवाहरूले गरून् भनेर हामी कसरी आशा गर्न सक्छौं ?
वाक्कलाप्रतिको मेरो रुचि सन् २०१० को शुरूतिर अति नै एकान्तप्रिय भतिज आइओवासँग च्याट गर्ने क्रममा भएको थियो। उनी ६० वर्षसम्म आफ्ना अभिभावकसँगै बसे। उनका कुनै साथीभाइ थिएनन्। प्रेमिका पनि थिएनन्। एकाएक उनले एकजनालाई भेटेर विवाह गर्दा हामी सबै आश्चर्यचकित भयौं । उनलाई मैले सोधें, “सधैं एकान्तमा बस्न रुचाउने तिमीले कसरी आफ्नी हुनेवाला श्रीमतीसँग भेट्ने साहस जुटायौ ?” उनले जवाफ दिए, “म टोस्टमास्टरमा आबद्ध भएँ।” टोस्टमास्टर वक्तृत्वकला सिकाउने संसारकै सबैभन्दा ठूलो संस्था हो। उनले कहिल्यै पनि थेरापिस्टलाई भेटेनन् न त औषधि नै खाए । १०, १२ घण्टाको वाक्कला प्रशिक्षणले उनको जिन्दगी नै फेरिदियो।
त्यसबाट मैले वाक्कला प्रशिक्षणले केसम्म गर्न सक्छ भन्ने थाहा पाएँ । वक्ताहरूले आफूलाई श्रोताको ठाउँमा राखेपछि आफैंबारे वर्णन गर्न सहज मान्छन्। हामी आफैंलाई बुझन सक्छौं र चिनाउन सक्छौं भन्ने आत्मविश्वास साँच्चै नै रूपान्तरणकारी हुन्छ।
वैज्ञानिकहरू पनि यो तथ्यमा सहमत छन्। योर्क विश्वविद्यालयमा मनोविज्ञानकी अध्यापक डा. हन्ना हब्सनले भाषा, सञ्चार र मानसिक स्वास्थ्यको सम्बन्धबारे अध्ययन गरेकी छन्। उनले खासगरी स्नायुको समस्या भएका युवाहरूमा अध्ययन गरेकी थिइन्। आफ्नो अध्ययनका क्रममा उनले बारम्बार फेला पारेको तथ्य हो- आफ्ना अनुभूति व्यक्त गर्न नसक्ने वा सहयोग माग्न पनि नसक्ने युवाहरूमा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या देखापर्दा रहेछन्। सञ्चारका सीपहरू विकास हुँदा भने युवाहरूको भावनात्मक विकास हुने र मानसिक रूपमा स्वस्थ पनि हुने उनले मलाई सुनाएकी थिइन्।
यही वर्ष जर्ज म्यासन विश्वविद्यालयका अनुसन्धाताहरूले पनि त्यस्तै निष्कर्ष पाए। अभिव्यक्ति र सञ्चार क्षमता बढाउने सामान्य कक्षाले पनि विद्यार्थीको एक्लोपन, आफ्नोपन र आफैंलाई विकास गर्ने सम्भावना सुदृढ गरेको उनीहरूको निष्कर्ष थियो।
पुरानो वा दर्शनसँग सम्बन्धित भनेर वाक्कलालाई बेवास्ता गर्ने जोखिम अद्यापि छ तर पनि यो सीप सिकाइनै पर्छ। यो सीपले व्यक्तिलाई अन्य विषयमा पनि अब्बल बनाउन मद्दत गर्छ। निम्न माध्यमिक र माध्यमिक तहमा भाषण गर्ने कलालाई बेग्लै विषयको रूपमा वा अरू विषयसँग गाभेर सिकाउन सकिन्छ। उदाहरणका लागि, विद्यार्थीले हरेक विषयमा एउटा रिपोर्ट सस्वर सुनाउन सक्छन्। यो सामान्य अभ्यासले श्रोताहरूको प्रतिक्रिया विश्लेषण गर्न, आफ्नो मन्तव्य संगठित बनाउन र प्रभावकारी ढंगले अभिव्यक्त गर्न सिकाउँछ। विद्यार्थीले एकअर्कालाई टिप्पणी गर्न सक्छन्। साथै अवलोकन मार्फत पनि सिक्न सक्छन्। अर्को ठूलो स्रोत त ‘टोस्टमास्टर्स युथ लिडरसिप प्रोग्राम’ हो जसले एक-दुई घण्टाका आठवटा कक्षाको पाठ्यक्रम नै उपलब्ध गराउँछ।
विडम्बना त के हो भने, बोल्ने तालिम नै नलिएका हामी ‘आधुनिकहरू’लाई यो पनि सिक्न सकिने सीप हो भन्ने विश्वास नै लाग्दैन।
वाक्कलाको क्षमताले खासगरी स्नायु समस्या भएका, पढ्न लेख्न नसक्ने बालबालिकाहरूमा परम्परागत रूपमा उनीहरूभन्दा सम्पन्न पृष्ठभूमि भएका दौंतरीहरूको सामना गर्ने ऊर्जा दिन्छ। तपाईंले ख्याल गर्नुभएको छ भने, जहाँ पनि नेतृत्व गर्ने मानिस जाने-बुझेको वा कुलीन भन्दा पनि प्रभावकारी सञ्चार गर्न सक्ने व्यक्ति हुन्छ। त्यसैले त यही जुलाईमा बेलायतको लेबर पार्टीका नेता किर स्टारमरले आफू प्रधानमन्त्री भए ‘वर्गले सिर्जना गरेको बार’ भत्काउन ‘वाक्कला’को प्रशिक्षणलाई प्राथमिकता दिन्छु भनेका थिए।
दुई हजार वर्षदेखि वाक्कलाको तालिमले नै हामीलाई कुराकानी गर्न, तर्क गर्न, झगडा गर्न र सहमतिमा पुग्न सिकाएको हो। वाक्कला भन्ने शब्द पुरानो लाग्छ भने यसलाई अर्को कुनै नाम दिऊँ। तर, सभ्य जीवनको लागि नभई नहुने यो आधारभूत सीप सिकाउन थाल्नु जरूरी भइसकेको छ।
पक्कै पनि शब्दहरू सस्ता छन् तर अन्यायसँग जुध्ने मामिलामा होस् वा सत्यको खोजमा योभन्दा शक्तिशाली माध्यम मानिसले फेला पारेको छैन।
(जन बोवी (John Bowe) ‘आई ह्याभ सम्थिङ टु से’ लगायत अन्य पुस्तकका लेखक हुन् । यो लेख द न्यूयोर्क टाइम्स को २८ नोभेम्बर २०२३ को अंकबाट साभार गरिएको हो ।)
अनुवाद: लक्ष्मण श्रेष्ठ
शिक्षक मासिक, २०८० पुस अंकमा प्रकाशित