नयाँसडकको पीपलबोट एउटा राष्ट्रिय सम्पदा
विक्रम संवत् १९९० को महाभूकम्पले तहसनहस भएको काठमाडौं शहरको पुनःनिर्माण गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशमशेर राणाले नयाँसडक निर्माण गर्न लगाए । चौडा सडक र नवीन शैलीमा टम्म मिलेका घर बने र तिनको तल्लो तलामा लहरै पसल राखिए । भवनका झयाल–ढोका परम्परागत काष्ठकलाका अरू झयाल–ढोका भन्दा भिन्दै शैलीका थिए । बसन्तपुर र काष्ठमण्डप वरपरका पुराना घर वा भवन भन्दा फरक देखिने यी नयाँ घरको लहरसँगै नयाँसडकले आधुनिकताको काँचुली ओढेको थियो । यसको पूर्वी छेउमा नवीन रूपको कलात्मक प्रवेशद्वार निर्माण भयो । त्यसका रचनाकार हुनुहुन्थ्यो प्रसिद्ध कलाकार चन्द्रमान मास्के । सडकको अर्को छेउतिर; पश्चिममा भने जुद्धशमशेर स्वयंको भव्य सालिक पूर्णकदमा ठड्याइयो र पूर्व–पश्चिम फैलिएको त्यस सडक खण्डलाई ‘जुद्ध सडक’ नामकरण गरियो ।
वि.सं. २००७ मा राणाशासनको पतनपछि जनताको बोलीचालीमा जुद्ध सडकलाई ‘नयाँसडक’ एवं ‘न्यूरोड’ भन्ने चलन बढ्यो । यस सडकको लगभग दुईतिहाइ पश्चिमी खण्डमा, सडकको दक्षिणतिर भूगोलपार्क निर्माण गरिएको थियो । त्यहाँ सिंगो पृथ्वीको आकृति बोकेको कलात्मक स्तम्भ पनि खडा छ । वरपर थोरै चउर र केही बस्ने बेञ्च अद्यापि छन् । १९९० सालको भूकम्पपछिका ती सबै निर्माण र पुनःनिर्माणको साक्षी बनेर भूगोलपार्ककै बगलमा एउटा पीपलको रूख आजपर्यन्त काठमाडौंलाई टुलुटुलु हेरेर बसेको छ । आज म त्यही पीपलको बोटलाई लेखनीको विषय बनाउन बसेको छु ।
राणाकालीन नयाँसडकको त्यो पीपलबोटले २००७ सालको राणा विरोधी क्रान्तिदेखि २०४७ सालको शाह विरोधी क्रान्तिलाई समेत आफ्नै छहारीमा हुर्काएको इतिहास आज पनि जिउँदो छ । नेपाली राजनीतिलाई आकार दिने स्तरको जनमत निर्माण गर्ने र जनताको आवाज बुलन्द गर्ने केन्द्रस्थलको रूपमा यो पीपल–वृक्ष चिरपरिचित छ । यसकै शीतल छहारीबाट कैयौं राजनीतिक क्रान्तिका फिलिङ्गोहरू सल्कने गरेको इतिहास छ ।
नेपालमा प्रजातन्त्रको बहाली भएपछि नेपाली साहित्यलाई नयाँ उचाइँमा उकास्ने कार्यमा यस वृक्षले साहित्यिक–अखडाको भूमिका पनि निर्वाह गरेको हामी सम्झ्न्छौं । वि.सं. २००७ देखि २०४७ भित्रको स्मृतिपटल पर्गेल्दा थुप्रै कवि एवं साहित्यकारका चेहरा त्यही पीपलबोट वरपर झ्ुल्किन थाल्छन् ।
स्ता नामहरू सम्झ्ँदै जाँदा– लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, विजय मल्ल, सिद्धिचरण श्रेष्ठ, चित्तरञ्जन नेपाली, भूपी शेरचन, ईश्वर वल्लभ, हरिभक्त कटवाल, अम्बर गुरुङ, रत्नशमशेर थापा, नारायण गोपाल, नातिकाजी, शिवशंकर, बैरागी काइँला, बालमुकुन्द पाण्डे लगायत थुप्रै स्रष्टा, साहित्यकार एवं कलाकारहरूको फेहरिस्त तयार हुन्छ, जसले नयाँसडक पीपलबोटलाई साँझ्मा भेट्ने अखडा बनाएका थिए । त्यसो त काठमाडौंका निवासी मात्र हैन, शिक्षा–दीक्षा वा जागिर–नोकरीमा उपत्यका आइपुगेका विभिन्न जिल्लाका जागरुक युवाहरू अनि राजनीतिक चेतनामा सल्केका वा साहित्य एवं कलाको लतमा लहसिएका तथा ताजा खबर र नवीन सूचना र सञ्चारका भोका–प्यासाहरूलाई पनि दिनमा एक पटक पीपलबोटको छहारीमुनि नपुगी धीत मर्दैनथ्यो ।
काठमाडौंवासीका लागि त स्वाभाविक रूपमै आफ्ना साथी र दौंतरीसँग निर्धारित भेट ‘रँडेभु’ ९च्बलमभश(खयगन० गर्ने प्रमुख स्थलको रूपमा नयाँसडक पीपलबोट रहेको थियो । त्यसका विभिन्न कारण छन् । पीपलबोटको अगाडि नै देश–विदेशका पत्रपत्रिका र अखबार बिक्री गर्ने ‘सन्देश गृह’ नामक काठमाडौंको एक मात्र पसल थियो । कालान्तरमा स्थानीय अखबार, पत्रपत्रिका हातमा लिएर ‘ल; आयो आजको ताजा खबर’ भन्दै उच्च स्वरमा कराएर पत्रपत्रिका बेच्ने ‘हकरहरू’ पनि त्यहीं झ्ुम्मिने क्रम बढ्यो । विस्तारै पीपलबोटको चौतारी अखबार–पत्रपत्रिकाको बजारले भरिन थाल्यो ।
नयाँसडकको त्यस रौनकलाई पहिले जनसेवा सिनेमा हल र पछि रञ्जना सिनेमा हलले थप मलजल गरे । खल्तीमा नगद भरिएका सम्भ्रान्त परिवारका युवाहरू पीपलबोटको बगलमा स्थापित ‘इन्दिरा रेस्टुराँ’ तथा भूगोलपार्क पछाडिको ‘पारस होटल’ मा लहसिने गर्दथे । रञ्जना हलको बगलमा अवस्थित ‘उत्तम रेस्टुराँ’ पनि युवामाझ् लोकप्रिय थियो । पछिल्ला दशकहरूमा त्यहाँ खुलेको ‘बैंगलोर कफी हाउस’ विशेषतः बुद्धिजीवी वर्गको अखडा नै बनेको थियो । नयाँसडकको मध्यखण्डतिर अमेरिकन लाइब्रेरी तथा पश्चिममा बसन्तपुर नजिकै भारतीय सांस्कृतिक केन्द्र स्थापना भएबाट पुस्तकालय चहार्ने युवा र प्रौढहरू निरन्तर बढ्दै गए । वि.सं. २०३६ सम्म पनि युवाहरू जस्तो युवतीहरू नयाँसडक–पीपलबोट धाउने चलन खासै थिएन ।
नयाँसडक– नामले मात्र नयाँ नभई विभिन्न नयाँ, नौला र आधुनिक सेवा प्रदान गर्ने थलो पनि हुनथाल्यो । सडकको पूर्वी छेउमा ‘एलाइड फर्मा’ तथा पश्चिमी छेउतिर ‘काठमाडौं मेडिकल हल’ नामक डाक्टरी औषधि पसल थियो । ‘वर्मा शेल’ भन्ने नेपालको शायद प्रथम पेट्रोल पम्प पनि त्यहीं स्थापित थियो । पहिलो ‘ड्राइक्लिन’ लुगा धुने पसल ‘माई शप’ पनि त्यहीं थियो । फोटोग्राफीका लागि ‘मंगल फोटो’ तथा ‘फोटो कन्सर्न’ पनि लोकप्रिय नै थिए । वहाल तिरेर बास बस्ने ‘पीपल लज’ नेपालकै शायद पहिलो ‘लज’ थियो । विभिन्न फ्यान्सी सामान खरीद गर्ने ठाउँ ‘मुन्चा हाउस’ पनि नजिकै थियो । पीपलबोट परिसरनिरै गोरखापत्र तथा राइजिङ नेपाल का छापाखाना थिए । त्यसकै बगलमा नेपाल बैंक लि. खडा थियो, सबभन्दा पहिलो बैंकको रूपमा । काठमाडौं म्युनिसिपालिटी (नगरपञ्चायत, नगरपालिका) पनि नयाँसडक भन्दा टाढा थिएन ।
यसरी नेपालको राष्ट्रिय राजनीतिक उथलपुथल र परिवर्तन टुलुटुलु हेर्ने मात्र हैन, शान्तिपूर्ण क्रान्तिहरूलाई मलजल पनि गर्न सफल नयाँसडकको पीपलबोट एक राष्ट्रिय सम्पदाको रूपमा खडा छ । तर, यसलाई त्यस्तो मान्यता प्रदान गर्ने काम भने अहिलेसम्म हुनसकेको छैन । तसर्थ, काठमाडौं महानगरपालिकाले यस वृक्षलाई राष्ट्रिय सम्पदाको रूपमा सकार्न र सम्मान गर्न ढिलो गर्नुहुँदैन । अन्यथा, टुँडिखेल माझ्को ऐतिहासिक खरीको बोट झ्ैं वेमाख हुन बेर लाग्दैन । चेतना भया !
पीपल यसै पनि हाम्रो धर्म, कला, संस्कृति र संस्कारभित्रको पवित्र वनस्पति हो । हिन्दू सनातन धर्म एवं बौद्ध संस्कारमा पीपलको महिमा ठूलो छ । सिद्धार्थ गौतमले पीपलकै छहारीमा ध्यान गरेर बुद्धत्व प्राप्त गरेको इतिहास छ । भारतको गयामा अवस्थित उक्त बोधी वृक्षको एक अंश श्रीलंकाको अनुराधापुरमा विशिष्ट धार्मिक सम्पदाको रूपमा खडा छ । इसाभन्दा २८८ वर्ष पहिले सारिएको उक्त वनस्पति मानिसले सारेका वनस्पतिमध्ये विश्वमै सबभन्दा जेठो मानिन्छ ।
हिन्दू धर्मावलम्बीहरू पीपललाई नारायण भगवान्कै प्रतीक मानेर पूजा आराधना गर्छन् । वर र पीपलका जोडीलाई दुलाहा–दुलही वा दम्पतीको सम्मान प्राप्त छ । धार्मिक आस्था विशेषको वनस्पति समूह ‘पञ्चवट’भित्र पीपलको मुख्य स्थान छ । पञ्चवटका अन्य वृक्षमा अमला, अशोक, वर र बेल पर्दछन् । त्यस्तै ‘पञ्चपल्लव’मा पनि पहिले पीपल र त्यसपछि डुम्री, पाखरी, आँप र वर समावेश हुन्छन् ।
सारमा भन्दा; पीपल एउटा पूजनीय वृक्ष हो । नेपाल राज्यभरि विभिन्न मठ, मन्दिर, गुम्बा एवं अन्य देवालयमा पीपलका वृक्ष विभिन्न सम्मान र भक्तिभाव बोकेर बसेका छन् । तर नयाँसडक पीपलबोटको ऐतिहासिक महŒव भिन्दै र विशिष्टको छ । यो राष्ट्रिय सम्पदालाई बेलैमा जगेर्ना गर्ने तत्परता देखाउन सकौं भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।