दँजाइका दुःख

सुखी र सन्तुष्ट जीवन बिताइरहेको एउटा कागले एक दिन पोखरीमा पौडिंदै गरेको सेतो हाँसलाई देख्छ। ‘अहो ! हाँस कति राम्रो ? म पनि त्यस्तै हुन पाए ... !’ भनेर कल्पिंदै ऊ जस्तै राम्रो हुने उपाय सोध्न हाँसकोमा पुग्छ।

कागका कुरा सुनिसकेपछि हाँस भन्छ, ‘पहिले त म पनि तिमीले भने जस्तै आफूलाई सबैभन्दा सुखी र सुन्दर ठान्थें। तर जब एक दिन सुगालाई देखें, उसको रंग र मीठो बोलीले गर्दा म सुगा नै सबैभन्दा राम्रो र सुखी पन्छी हो भन्ने निष्कर्षमा पुगें ।’ 
काग सुगाकोमा पुग्यो ।

सुगाले भन्यो, ‘हो, काग दाइ; पहिले म साँच्चै नै सुखी र खुशी थिएँ । तर जब मयूरलाई देखें; मेरो पखेटाका दुई वटा रंग त केही पनि होइन रहेछन् । खासमा मयूर नै सबैभन्दा सुन्दर हो भन्ने लाग्छ ।’ 

काग मयूर हेर्न चिडियाखाना पुग्छ; जहाँ थुप्रै मान्छे उसको खोर बाहिर झ्ुम्मिएका हुन्छन्। भीड खाली भएपछि कागले आफ्नो मनको कुरा खोल्दै भन्छ, ‘मयूर दाइ तपाइँ त राम्रो मात्रै होइन, भाग्यमानी पनि हुनुहुँदोरहेछ। तपाइँलाई हेर्न यतिका मान्छे आउँछन्, मलाई त यिनले देख्ने वित्तिकै धपाउँछन् !’
मयूर कागलाई सान्त्वना दिंदै भन्छ, ‘हो भाइ यो पृथ्वीमा सुखी र सुन्दर पक्षी म नै हुँ। तर के गर्नु ! त्यही सौन्दर्यका कारण पिंजडामा थुनिनु परेको छ। मेरो विचारमा त काग नै यस्तो चरा हो जसलाई पिंजडामा बन्द गरिंदैन। त्यसैले चराहरूमध्ये काग नै सबैभन्दा सुखी हो भन्ने लाग्छ।’

पाठः हामी अनावश्यक रूपमा आफूलाई अरूसँग तुलना गर्छौं अनि दुःखी र उदास बन्छौं। आफूमा जे छ, त्यसलाई स्वीकार गर्न बिर्सिएर ‘उ यस्तो, म यस्तो’ भनेर असन्तोषको विष–चक्रमा फस्छौं। अरूको कमाइ, तलब, फेसन र अर्काका छोराछोरीको पढाइ एवं कामसँग तुलना गरेर आफू र आफ्ना छोराछोरीलाई धिक्कार्नु त झ्न् मूर्खता नै हो। 

commercial commercial commercial commercial