कुरा थाल्नु कथाबाट
भनिन्छ, कथा–प्रसङ्गहरूले विचारलाई बाटो बनाइदिन्छन्।
कसैले कसैलाई ‘सुनेका सबै कुरा पत्याउनुहुँदैन है’, भन्यो भने त्यो अर्ती दिए जस्तो सुनिन्छ। त्यही कुरा कसैले कथाका रूपमा भन्यो भने त्यसमा सन्निहित सन्देश थाहै नपाई लिनुपर्ने व्यक्तिले लिइरहेको हुन्छ।
हामी पनि कथाबाटै कुरा थालौं...
एक दिन राजा अकबर र वीरबल कतै जाँदैथिए। उनीहरू एउटा हरिलोभरिलो बारीको छेउमा पुगे। त्यहीबेला त्यो बारीमा एउटा भोको गधा पस्यो । तर त्यो कुनै सागबारी नभएर सुर्तीबारी थियो। त्यसैले एउटा पात मुखमा हाल्नासाथ मुख बिगार्दै गधा फरक्क फर्कियो। त्यो देखेर राजा अकबर मरी–मरी हाँस्न थाले।
वीरबलले राजाका मुखमा हेरे। राजाले भने, “देख्यौ त वीरबल, गधा जस्तो बुद्धि नभएको पशुले पनि सुर्ती खाँदैन!”
अकबर सुर्ती नखाने र वीरबल सुर्ती खाने भएकाले उनीहरूबीच यस्तो घोचपेच चलिरहन्थ्यो। सुर्ती खाने गरेकोमा आफैंलाई केही पछुतो भए पनि अकबरलाई जवाफ फर्काउन उनी पछि परेनन्। उनले फ्याट्ट भने, “महाराज, गधा जस्तो बुद्धि नभएको पशुले सुर्तीको महत्व थाहा पाए पो खाओस् त !”
अकबर र वीरबल बीचको संवाद भनेर हामीले यस्ता धेरै कथा पढे-सुनेका छौं र यस्तै कथाका आधारमा वीरबलको बुद्धिमत्ता र हाजिरजवाफीको प्रशंसा पनि गरेका छौं।
तर एउटा सामान्य तथ्य परीक्षण अर्थात् ‘फ्याक्ट चेक’ गर्दा माथिको कथा-प्रसङ्ग अकबर-वीरबल बीचको होइन भन्ने अन्दाज गर्न सकिन्छ।
कसैलाई लाग्न सक्छ, कथाको पनि ‘फ्याक्ट चेक ?’
पहिलो कुरा त अकबर र वीरबल दुवै कथाका पात्र होइनन्, इतिहासका पात्र हुन्, त्यसैले पनि तथ्य हेर्नै पर्छ र तथ्य हेर्दा रोचक कुरा देखिन सक्छन्।
मुगल सम्राट अकबर महान्को जन्म सन् १५४२ मा र निधन १६०५ मा भएको थियो । वीरबल (न्वारानको नाम महेश दास) को जन्म सन् १५२८ मा र निधन १५८६ मा भएको थियो। र, वीरबल सुर्ती नखाई मरेका थिए।
किन खाएनन् त वीरबलले सुर्ती ?
गोलभेंडा, मकै, आलु, इस्कुस, खुर्सानी, कोको, बदाम, भुइँकटहर, सुर्ती जस्ता अनेक बालीहरू पूर्वी गोलार्धमा उत्पत्ति भएका होइनन्, एट्लान्टिक समुद्र पारि, दक्षिण र उत्तर अमेरिकाबाट यता ल्याइएका हुन्। सन् १४९२ मा स्पेनी नाविक क्रिस्टोफर कोलम्बसले अमेरिका जाने बाटो भेटेपछि त्यताबाट धेरै बालीबिरुवा एशिया-युरोप ल्याइए र एशिया-युरोपबाट पनि धेरै कुरा नयाँ मुलुकतर्फ लगिए। सुर्ती पनि त्यसै क्रममा भारत लगायत यो भूभागमा आइपुगेको हो।
हुन त कोलम्बस अमेरिका पुगेको झ्ण्डै एक शताब्दीपछि मात्र वीरबलको निधन भएको हो र सरसर्ती हेर्दा त्यति समय सुर्ती चाख्नका लागि पर्याप्त थियो। तर वीरबल जीवित छँदासम्म सुर्ती भारतीय उपमहाद्वीपमा आइपुगेकै थिएन। तिथि, मिति नै भिडाएर हेर्दा, युरोपमा सुर्तीको खेती वीरबल जन्मेकै वर्ष शुरू भएको थियो, तर भारतमा पुर्तगालीहरूले सुर्तीको खेती थाल्दा वीरबलको निधन भएको २१ वर्ष भइसकेको थियो। त्यसैले भन्न सकिन्छ, वीरबलले कहिल्यै पनि सुर्ती खाएनन् अथवा खान पाएनन्।
अकबर वीरबलको यो प्रसङ्ग सुर्तीको कथा होइन, तर पनि यदि कसैलाई भारतवर्षमा सुर्ती भित्रिएको समय र अकबरको शासनको कालक्रम दाँजेर हेर्न मन लाग्न सक्छ। उत्सुकता हुनेहरूले तत्कालै हातमा भएको फोनमा गुगल गरेर यस्ता स-साना कुरा हेर्न र जाँच्न सक्छन्। यस्ता साधारण कुरा जाँच्ने बानी लाग्यो भने अधिकांश हल्लाको तथ्यपरकता पनि जाँच्न मन लाग्छ । जाँच्ने बानी लाग्यो भने तथ्य थाहा हुने मात्र होइन, तथ्य जाँच्ने आफ्नो क्षमता पनि बढ्दै जान्छ ।
जिज्ञासु हुँदाको लाभ
यस प्रसङ्गबाट हामीलाई वनस्पति र बालीहरूको विश्वव्यापी आदानप्रदान, अन्तरनिर्भरता र पारस्परिकताका बारेमा केही कुरा थाहा भयो । यस्ता कुरा थाहा हुँदै गएपछि हामी आफ्नो साँघुरोपनबाट बिस्तारै मुक्त हुन थाल्छौं। साँघुरोपनबाट मुक्ति नै हाम्रो जीवनको एउटा अभीष्ट हो।
अर्को कुरा, यस्ता प्रसङ्गहरूबाट अकबर वीरबलको कथाका कतिपय प्रसङ्गहरू पछि थपिंदै गएका हुन् भन्ने पनि थाहा हुन्छ ।
तर, यति कुरा थाहा भएपछि पनि यो कथालाई अकबर वीरबलकै कथा भनेर भनिरहे-सुनिरहे पनि बिग्रन चाहिं
केही बिग्रिंदैन । या; यसमा अरू कसैको प्रसंग जोड्न पनि सकिन्छ नै!