गाईगोठबाट बदलिएको स्कूल

विहान ९ः४५ बजे विद्यालयमा घण्टी बज्छ। बालबालिका र शिक्षक घण्टी लाग्नुअघि विद्यालय पुगिसकेका हुन्छन्। साना बालबालिका विद्यालयसम्म ल्याएर आएका अभिभावकहरू पनि यो समयमा विद्यालयमा भेटिन्छन्। विद्यालय छेउछाउका बालबालिका कक्षा-५ सम्म पढ्न अर्को विद्यालय जानुपर्ने बाध्यता अहिले हटेको छ।

तर २०७४ सालअघि ठाकुरबाबा नगरपालिका २, सतघरुवा, बर्दियाको ज्ञानोदय आधारभूत विद्यालय (आवि) को अवस्था ठीक उल्टो थियो। विद्यालय खुल्ने समयमा विद्यालयमा विद्यार्थी र शिक्षक होइन स्थानीयका गाईवस्तु भेटिन्थे। नराम्रो विद्यालयको उदाहरण दिनुपर्दा पालिकाभरि यसै ज्ञानोदय आविको नाम लिइन्थ्यो। र भनिथ्यो, ‘गाईगोठ जस्तो विद्यालय !’ अहिले भने यो विद्यालयलाई ‘राम्रो विद्यालय’को उदाहरणको रूपमा नाम लिइन्छ। 

पाँच वर्षमा नगरकै नमूना विद्यालय
२०५९ सालमा स्थापना भएको ज्ञानोदय आवि शुरूका दिनमा राम्रोसँग सञ्चालन भए पनि २०७० सालतिर नेतृत्व र शिक्षक गैरजिम्मेवार हुँदा खण्डहर बनेको थियो । तर संघीयता कार्यान्वयनसँगै स्थानीय तहको स्थापना पश्चात् विद्यालयले पुनः काँचुली फेरेको छ। विद्यालयको नेतृत्व र समुदाय परिचालनले विद्यालय जोगिएको मात्रै छैन अरू विद्यालयका लागि पनि मागदर्शकको रूपमा रहेको छ। 

२०७४ सालमा निर्वाचन भएपछि विद्यालयको जिम्मेवारी स्थानीय जनप्रतिनिधिले लिनुपर्छ भन्ने कुरा उठ्यो। २०७५ सालमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी पाए विष्णुबहादुर शाहीले। उनी वडा-२ का वडा सदस्य समेत थिए । योसँगै स्थानीय बुद्धिजीवी, अन्य विद्यालयका प्रधानाध्यापक र जनप्रतिनिधि सम्मिलित एक बृहत् सिकाइ भेला भयो। स्थानीय समुदायमा बालबालिका भएको हुँदा विद्यालय सञ्चालनमा समस्या नहुने निष्कर्ष निकालियो। अनि शुरू भयो विद्यालय बचाउने अभियान। विद्यालय व्यवस्थापन समितिले बालबालिकालाई निःशुल्क रूपमा झेला, कापीको व्यवस्था गर्‍यो। शिक्षक र समितिका पदाधिकारीहरू अभिभावकको घरघरमा बच्चा ‘माग्न’ पुगे। पहिलो वर्षको प्रयासमै जम्मा विद्यार्थी संख्या ९ बाट बढेर ५७ पुग्यो। 

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष विष्णुबहादुर शाही भन्छन्, “२०७४ साल अगाडि यो विद्यालय भूतबंगलाको अवस्थामा थियो। नजिकका अभिभावकले पनि टाढाको विद्यालयमा बालबालिका पठाउँथे । विद्यालयको दुई वटा कोठामा त गाईवस्तु नै बाँधिएका थिए। विद्यालयको कम्पाउण्ड थिएन। कक्षा ५ सम्म जम्मा ९ जना विद्यार्थी थिए।”

शाहीको पहलमा विद्यालय परिसरमा शिक्षक र अभिभावक मिलेर बिरुवा रोपिए। भौतिक रूपमा कक्षाकोठा निर्माण, फर्निचरको व्यवस्था र घेरबार भयो । अभिभावकलाई विद्यालयसँग जोड्न नियमित रूपमा अभिभावक भेला, छलफल र अन्तरक्रिया शुरू भयो। कक्षाकोठामा शैक्षिक सामग्री निर्माण र प्रयोगमा प्राथमिकता दिइयो। अहिले विद्यालय परिसर हरियालीमय भएको छ। विगत सम्झ्ँदै पूर्व अध्यक्ष शाही भन्छन्, “काम गरेपछि विद्यालय बचाउन सकिने रहेछ।” उनी थप्छन्, “पाँच वर्षको अवधिमा हामीले गतिलो विद्यालय बनाएर देखाउन सक्यौं। मलाई नगरपालिकाले उत्कृष्ट विद्यालय व्यवस्थापन समितिको रूपमा २०७९ मा पुरस्कृत पनि गर्‍यो।”

शिक्षक, मञ्जुकुमारी ढकाल

विद्यालयको जिम्मेवारी पाएपछि शाहीले शिक्षक मञ्जुकुमारी ढकाललाई सरुवा गरी ल्याएर विद्यालय सुधार्ने अभियान शुरू गरेका थिए। शिक्षक ढकाल भन्छिन्, “म आउँदा विद्यालयमा एक जना शिक्षक र जम्मा नौ जना विद्यार्थी थिए। त्यही पनि मन लाग्दा विद्यालय आउने, अल्छी लाग्दा नआउने। विद्यालय हो कि गाईगोठ हो छुट्याउन गाह्रो थियो। म विद्यालयमा गहभरि आँशु लिएर पसेकी थिएँ। समितिको जोडबलले विद्यालयमा वर्ष दिनमै ५७ जना विद्यार्थी पुगे।”

हाल अध्यक्षको भूमिकामा रहेकी सरिता थारू पनि समुदाय, समिति र जनप्रतिनिधिको चासोले विद्यालय मर्ज हुनबाट जोगिएको बताउँछिन्। “त्यतिबेला गाउँमा बच्चा थिए तर विद्यालयमा बच्चा थिएनन्। पाँच कक्षासम्म सञ्चालनमा रहेको विद्यालय कक्षा ३ मा झरियो। तर सबैको मिहिनेतले विद्यालय जोगिंदा गाउँका बच्चा टाढासम्म पढ्न जानुपर्ने बाध्यता हटेर गयो”, थारू भन्छिन्। विद्यालय व्यवस्थापन समितिका सदस्य चित्रप्रसाद पाण्डेले अर्को विद्यालयबाट आफ्नो छोरा यसै विद्यालयमा भर्ना गरी विद्यालय राम्रो बनाउनमा लागेको सुनाए । दैनिकजसो विद्यालयमा आउने गरेका पाण्डेले सुध्रिएको विद्यालय देख्दा निकै खुुसी लाग्ने बताए। 

प्रधानाध्यापक लक्ष्मी पौड्यालका अनुसार हरेक दिन बिहान ९ः४५ मा विद्यालय समय शुरू हुन्छ। शुरूको २० मिनेट प्रार्थना, गुरुवन्दना र सबै कक्षाबाट प्रतिभा प्रस्तुति हुन्छ। विद्यालयमा थारू समुदायका ८० प्रतिशतभन्दा पनि बढी बालबालिका अध्ययनरत छन्। पठनपाठनमा शैक्षिक सामग्री प्रयोग गर्ने गरिएको प्रअ पौड्याल बताउँछिन्। शैक्षिक सामग्री निर्माणमा शिक्षक र विद्यार्थीको सहभागिता रहने पनि उनले बताइन्। 

महिलामैत्री विद्यालय 
ठाकुरबाबा नगरपालिकाले नगरका केही विद्यालयलाई महिलामैत्री बनाउने गरी काम शुरू गरेको छ। महिलामा नेतृत्व सीप बढाउने उद्देश्यले ‘महिला विद्यालय’को अवधारणा ल्याएको नगर उपप्रमुख बिना भट्टराई बताउँछिन्। उनका अनुसार, ती विद्यालयको नेतृत्व महिलाले गर्नेछन्। विद्यालयमा महिला प्रअ, महिला शिक्षक र विव्यसमा समेत महिला सदस्य रहनेछन्। शैक्षिक सत्र २०८१ देखि वडा-२ को ज्ञानोदय आवि पनि महिलामैत्री विद्यालय बनेको छ। विद्यालयमा विव्यस अध्यक्षदेखि शिक्षक-कर्मचारी सबै महिला छन् । विद्यालयमा १० जना शिक्षक र कर्मचारी छन्। 

त्यसैगरी ठाकुरबाबा नपा-७, कालीगौडीमा अवस्थित श्री प्राथमिक विद्यालय पनि महिलामैत्री बनेको । ती विद्यालयलाई नगरपालिकाले व्यवस्थापकीय अनुदानका रूपमा रु.५० हजार उपलब्ध गराएको छ। ती विद्यालयमा ठाकुरबाबा नगरपालिकाले अभिभावक भेला र आमा शिक्षा कार्यक्रम शुरू गरेको छ। उक्त कार्यक्रममा पालिकाका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका बाबुनानीका आमाले अन्तरक्रियामा भाग लिने गरेका छन्।

नगरपालिकाको शिक्षा शाखाबाट नियमित अनुगमन हुन्छ। अभिभावकले पनि पालो अनुसार विद्यालयको अनुगमन गर्दछन्। मुख्य गरेर सरसफाइ र कक्षा खाली भए/नभएको हेर्ने गरेका छन्। विद्यालयमा अभिभावकको सहभागिता बढाउँदै लगेपछि विद्यालयप्रति समुदायको आकर्षण र चासो बढ्दा विद्यालय हेर्नलायक बनेको छ। 

विद्यार्थी संख्या कम भएपछि शैक्षिक सत्र २०७३ मा कक्षा ५ सम्म सञ्चालन भएको उक्त विद्यालय कक्षा-३ मा घटुवा गरिएको थियो। २०७५ मा नयाँ व्यवस्थापन समितिको गठनसँगै विद्यालय सुधार कार्यक्रम शुरू गरिएपछि विद्यार्थी संख्यामा सुधार भयो। त्यससँगै कक्षाहरू थपिन थाले। शैक्षिक सत्र २०७६ मा कक्षा-४ थपियो र विद्यार्थी ९१ पुगे । शैक्षिक सत्र २०७७ मा कक्षा-५ थप भयो भने विद्यार्थी संख्या १०४ पुग्यो। शैक्षिक सत्र २०८१ मा १३८ विद्यार्थी छन्। विद्यालय कोषमा २०८१ असार मसान्तसम्म रु.३ लाख ८० हजार ५७२ जम्मा भएको छ। उक्त कोषबाट विद्यालयले एक जना स्रोत शिक्षकको व्यवस्था गरेको छ। 

शिक्षक  मासिक, २०८१ कात्तिक अंकमा प्रकाशित। 

commercial commercial commercial commercial