पढेर देखाऊँ, बालबालिका पढ्न थाल्छन् !

यो लेख तयार गर्दै गर्दा मैले उमेरले चार दशकको आसपास रहेका दश जना व्यक्तिसँग कुरा गरेकी थिएँ। यो एकदमै सानो संख्या हो तर मलाई ती मान्छेले बताएका कुराबाट निचोड नै निकाल्न नमिले पनि केही संकेतसम्म गर्छ भन्ने लाग्छ। आज कुनै न कुनै रूपमा लेखपढको क्षेत्रमा रहेका ती व्यक्तिहरूमा ‘पुस्तक पढ्ने रुचि’ कसरी विकसित भयो भनेर म जान्न चाहन्थें। दशमध्ये आठ जनाले २० देखि ३० वर्षको उमेरमा मात्रै आफ्नो पढ्ने बानीको विकास भएको बताए। उनीहरूलाई विद्यालयमा ‘पाठ्यक्रमभन्दा बाहिरका किताब राजनीति गर्नेले मात्र पढ्छन्’ भनिएको थियो । उनीहरूले न आफ्ना शिक्षकले पुस्तक पढेको देखे, न घरमा बा-आमाले। बाँकी दुई जनाले भने विद्यालयदेखि नै बाहिरी किताब पढ्ने गरेको बताए। उनीहरू दुवै पुस्तकालय नभएको विद्यालयमा पढेर आएका हुन्। तर, दुवैका केही शिक्षक पुस्तक पढ्ने खालका रहेछन्। उनीहरूले तिनै शिक्षकको प्रेरणाले पुस्तक पढ्न थालेको बताए। उनीहरूका अनुसार, एक जना शिक्षक सधैं पुस्तक लिएर आउँथे। अनि आफूले के पढ्दैछु भनेर सुनाउँथे र उनीहरूलाई पनि पढ्न प्रेरित गर्थे। आफूसँग भएका पुस्तक विद्यार्थीलाई पनि दिन्थे।

म आफैंले पनि २० वर्षको उमेरबाट मात्रै खास पुस्तक पढ्न थालेकी हुँ। २०५० देखि साठीको दशकसम्मको विद्यालय जीवनमा मैले एकदिन पनि आफ्ना कुनै शिक्षकको हातमा पुस्तक देखिनँ। कुनै शिक्षकले पुस्तकको चर्चा गरेको पनिसम्झना छैन। सम्झना छ त बक्सामा बन्द विद्यालयको पुस्तकालय र त्यो बक्सा खोल्नका लागि हामी विद्यार्थीले गरेको अनुनय। मलाई यो पनि सम्झना छैन कि त्यसबखत; सुनसरीको मेरो गाउँमा कसैले पाठ्यपुस्तक भन्दा बाहिरका पुस्तक पनि पढ्नुपर्छ भनेको। परिवारमा पनि साहित्य वा अन्य पुस्तक पढ्नभन्दा पाठ्यक्रम पढेर राम्रो अंक ल्याउने कुरा नै प्राथमिकतामा थियो।

माथिका दुई अनुच्छेदले पुस्तक पढ्न प्रेरित गर्ने आयाममा शिक्षक, विद्यालय र परिवारको भूमिकाबारे थोरै बताउँछन्। यसमा पनि शिक्षक र विद्यालयको भूमिका किन अझ् महत्वपूर्ण हुन्छ भनेर बुझन हामीले नेपालमा आम जनताको शिक्षाको पहुँचबारे थोरै चर्चा गर्नैपर्छ।

२००७ सालमा आएको प्रजातन्त्रपछि शिक्षा सर्वसाधारण जनताको पहुँचमा पुगेको हो। त्यसमा पनि महिला, दलित, मधेशी, आदिवासी र अप्ठेरो भूगोलमा बस्नेहरूका लागि विद्यालय शिक्षा र पुस्तकसँगको परिचयको इतिहास उति लामो छैन। आज पनि मधेशी दलित परिवारमा पहिलो पुस्ता विद्यालय गइरहेको छ। ४० वर्ष आसपासका महिलालाई सोध्नुभयो भने उनीहरू विद्यालय जाने पहिलो पुस्ता हुनसक्छन्। विद्यालयमा पढ्न पाएका-पुगेका दुई तीन पुस्ताका पुरुषहरूलाई सोध्ने हो भने उनीहरूले पनि पाठ्यक्रमभन्दा बाहिरका पुस्तकसँगको सम्पर्कबारे खास केही बताउन सक्दैनन्। किनकि पछिल्लो ५-६ वर्षमा मात्रै हाम्रा विद्यालयमा पुस्तकालय कार्यक्रम गएको हो। नभए, विद्यालय शिक्षामा पहुँच पाएका तीन/चार पुस्ताका पुरुषहरूले पनि पुस्तकालय नै नभएको विद्यालय पढेका हुन्। आकलझुकल विद्यालयमा मात्र पुस्तकालय हुन्थे ।

हामी अक्सर आजको पहुँच र उपलब्धतालाई ध्यानमा राखेर ‘केटाकेटी पढ्दै पढ्दैनन्’ भन्ने गर्छौं। हामीलाई के लाग्छ भने पुस्तक उपलब्ध छन्। पढ भनेर पनि भनिएकै छ तर किन केटाकेटी पढ्दैनन् ? अनिवार्य गरिएको पाठ्यक्रम पनि बालबालिकाले बाध्यतावश पढिरहेका छन् । यस्तो अवस्थामा साहित्य, जीवनी, इतिहासका गैरआख्यान पुस्तकमा केटाकेटीको रस बसाउन सहज छैन। यो पहिलो पुस्ता हो भन्दा अतिशयोक्ति नहोला, जसको पाठ्यक्रमभन्दा बाहिरका पुस्तकमा पहुँच विस्तार गर्न विद्यालयमा पुस्तकालयको स्थापना व्यापक रूपमा गरिएको छ। तर, मोबाइल र इन्टरनेटको व्यापक विस्तार भएपछि मात्रै पुस्तकालय गाउँ-गाउँ पुगेको अवस्था छ। सूचना, मनोरञ्जन तथा ज्ञानका लागि पुस्तकको विकल्पको रूपमा इन्टरनेटले व्यापकता पाएको छ। विकसित मुलुकमा जस्तो प्रविधिको सुसूचित प्रयोग गर्ने गरी हामी शिक्षित छैनौं। एकपछिको अर्को प्रविधि जुन वेगमा आएर हामीसामु ठोक्किन्छ, हामी त्यसको सामना गर्नै सक्दैनौं। बरू, आफैं त्यसको वेगमा हेलिन्छौं। त्यसैले बालबालिकामा पढ्ने बानीको विकास गराउने कुरा एक चुनौती बन्न पुगेको छ। पुस्तकालयको स्थापना हुनेबित्तिकै केटाकेटी हुरुरु गएर पुस्तक पढ्न थालिहाल्छन् भन्ने सोच्नुअघि हामीले यी कुराहरू भुल्नुहुँदैन।

केही समयअघि काठमाडौंको एक निजी विद्यालयमा बालबालिकालाई पाठ्यपुस्तक भन्दा बाहिरका पुस्तकमा कसरी रुचि जगाउन सकिन्छ भन्ने छलफलमा मैले भाग लिएकी थिएँ। त्यो यस्तो विद्यालय थियो जहाँ सुविधासम्पन्न पुस्तकालय छ। र, विद्यार्थीले अनिवार्य रूपमा पुस्तकालयमा गएर पाठ्यपुस्तक भन्दा बाहिरका किताब पढ्नै पर्छ । तर त्यहाँ पनि केटाकेटी सोचे जस्तो गरी पढिरहेका छैनन्। शिक्षकहरू आजित थिए। त्यस्तो कसरी भयो भनेर छलफल हुँदा ५० जनामध्ये तीन जना शिक्षकले मात्र तीन महीनामा एउटा किताब पढेको बताए। ६ महिनामा बढीमा दुई किताब पढ्ने शिक्षक पाँच जना थिए। उनीहरू केटाकेटीलाई पुस्तकालयमा छाडेर ‘पढ, पढ’ भन्दा रहेछन्, आफैं सहभागी भने नहुने रहेछन्। यस्तो ‘गल्ती’ अक्सर शिक्षक र अभिभावकले पनि गर्छन्।

तर सोच्नुस् त, पहिलो पटक अक्षर लेख्न सिक्दै गरेको बच्चालाई तपाईंले “ल ‘क’ लेख” भनेर छाडिदिनुहुन्छ त ? छोड्नुहुन्न। बरु तपाईं ‘क’ लेख्न सिकाउनका लागि ‘क’ मा भएको गोलाकार, सीधा धर्को अनि पुच्छर जस्तो आकारलाई रमाइलो गीत जस्तो लयमा गाएर लेख्न सिकाउनुहुन्छ। ‘गोलो–गोलो अन्डा, पुलिसको डन्डा अनि कुकुरको पुच्छर’ भन्दै त्यसलाई सरलीकृत मात्र गर्नुहुन्न, बालबालिकाको ‘क’ लेख्न सिक्ने प्रक्रियामा तपाईं सक्रिय सहभागी पनि हुनुहुन्छ। पटक-पटक सहभागी हुनुहुन्छ अनि बल्ल केटाकेटीले ‘क’ लेख्न सिक्छन्। केटाकेटीलाई उनीहरूको सिकाइको प्रक्रियामा सघाउन तपाईं हुनुहुन्छ भन्ने भरोसा हुन्छ।

बालबालिकामा पुस्तक पढ्ने बानीको विकासका निम्ति त्यस्तै प्रक्रिया अपनाइनुपर्छ। तपाईंले केटाकेटीलाई पुस्तकको थुप्रो अगाडि उभ्याएर ‘पढ, पढ’ होइन ‘ल आज यो पढ्ने’ भनेर सँगसँगै सहभागी हुने बित्तिकै उनीहरूले पढ्ने कुरालाई जरूरी कुराको रूपमा हेर्छन्। त्यसलाई महत्व दिन्छन् । अनि पाठ्यक्रमका किताब जस्तो यस्ता पुस्तकहरूमा गर्नै पर्ने अभ्यास नभई छलफल गर्नुपर्ने कुरा धेरै हुन्छन् भनेर जब तपाईंले केटाकेटीलाई बताउनुहुन्छ, उनीहरूले स्वतन्त्रता महसूस गर्छन्। पुस्तकलाई प्रेम गर्न पनि थाल्छन्।

यताउताका जति कुरा गरे पनि, मूल कुरा के हो भने बालबालिकालाई पढ्न प्रेरित गर्नका लागि शिक्षक आफूले पनि पढ्ने बानीको विकास गर्नैपर्छ। मलाई थाहा छ, अहिलेका शिक्षकहरूमध्ये अधिकांश पनि मैले माथि भनेको शिक्षाको पहुँच भएको तर पुस्तकालय नभएको विद्यालय, बाहिरी पुस्तक पढ्दा गाली गर्ने, पिट्ने अभिभावक भएकै अवस्थाबाट हुर्केर आउनुभएको हो। यस मानेमा शिक्षक आफैंमा पढ्ने बानी नहुनु अस्वाभाविक होइन। तर यथार्थ के हो भने शिक्षक पेशामा प्रवेश गरिसकेपछि पढ्नैपर्छ; पढ्ने बानी अपेक्षित हुन्छ। बालबालिकाको पढ्ने बानी विकास गराउन बालसाहित्य वा बालबालिकाका लागि लेखिएका पुस्तक शिक्षकले पनि पढ्दा हुन्छ, पढ्नुपर्छ। यसले बालबालिकासँगै शिक्षकको पनि पढ्ने बानी बस्छ। बालबालिकाका लागि लेखिएका पुस्तक सरल, धेरै समय नलाग्ने हुन्छन्। कुनै एउटा पुस्तक सकेपछि त्यसले अर्को पुस्तक पढ्न सक्ने आत्मविश्वास मात्र दिंदैन, स्तरोन्नति गर्दै जाने लालसा पनि जगाउँछ। आफूले पढ्ने पुस्तक शिक्षकले पनि पढ्दै हुनुहुन्छ भन्ने थाहा पाउँदा केटाकेटीले तपाईंसँग पुस्तकका बारेमा कुरा गर्न सहज महसूस गर्छन्। एउटा पढिसकेपछि अर्को कुन पुस्तक पढ्ने भन्नेबारे छलफल गर्न सक्छन्। सुझव माग्न हिच्किचाउँदैनन्। अझ् रमाइलो त, उनीहरू तपाईंलाई समेत पुस्तक सुझउन सक्ने गरी आत्मविश्वासी बन्दै जान्छन्।

शिक्षकले गर्न सक्ने अर्को कुरा सह-पाठ पनि हो। तपाईं एक अध्याय पढ्नुस्, अर्को अध्याय विद्यार्थीलाई पढ्न लगाउनुहोस्। पूर्वप्राथमिक तहमा एक वाक्य शिक्षकले पढ्ने, अर्को वाक्य विद्यार्थीले पढ्ने गर्दा कक्षाको वातावरण नै रमाइलो हुन्छ। बालबालिकामा यसले पुस्तकप्रति रुचि मात्र जगाउँदैन, उच्चारणमा समेत प्रगति हुन्छ। कक्षामा दुईतीन जना दुईतीन जनाको समूह बनाएर कुन समूहले बढी पुस्तक पढ्ने भनेर स्वस्थ प्रतिस्पर्धा पनि गर्न/गराउन सकिन्छ। यसो हुँदा पढ्नमा कम रुचि भएका साथीलाई अलि बढी रुचि भएका साथीले सघाउन पनि सक्छन्।

कहिलेकाहीं पुस्तकालयमा भएको कुनै पुस्तकको रोचक अंश सुनाउनुस् र बालबालिकालाई त्यो अंश कुन पुस्तकबाट लिइएको हो भनेर बताइ दिनुस्। रुचिकर सानो अंशले उनीहरूमा सिंगो किताब पढ्ने उत्साह पैदा गराउँछ। उनीहरू थप रमाइला कुरा थाहा पाउन त्यो पुस्तकसम्म पुग्छन्।

विशेषतः माध्यमिक तहका विद्यार्थीलाई आफूले पढिरहेको पुस्तकबारे शिक्षकले सुनाइरहनुपर्दछ । त्यो पुस्तक तपाईं किन पढिरहनुभएको छ ? त्यो पुस्तक पढ्दा तपाईंले नयाँ के थाहा पाउनुभयो ? त्यसका लेखक को हुन् ? उनका अरू कुन कुन पुस्तक छन् ? त्यो पुस्तकबारे तपाईंले कसरी थाहा पाउनुभयो ? यस्ता विषयमा विद्यार्थीसँग कुरा गर्नुस् । यसले उनीहरूलाई त्यो पुस्तक र लेखकबारे उत्सुक बनाउँछ । र पछि, मैले झैं तपाईंको विद्यार्थीले भन्ने छैन कि ‘मैले मेरो शिक्षकले पढेको कहिल्यै देखिनँ !’

विद्यालयको पुस्तकालयमा कस्ता पुस्तक ल्याउने भन्नेमा शिक्षकको महत्वपूर्ण भूमिका छ र हुनु पनि पर्छ। यसमा कुनै लापरवाही हुनुहुँदैन। जब तपाईंको विद्यालयमा बालबालिकाका रुचि र उमेर सुहाउँदा विभिन्न विषयका किताब हुन्छन् तब मात्र तपाईंले भिन्न-भिन्न विषयमा रुचि भएका बालबालिका समेतलाई समेट्न सक्नुहुन्छ। धेरैजसो नेपाली विषयका शिक्षकको काँधमा यसको जिम्मेवारी हुने गर्छ तर साहित्यका अलावा विभिन्न विषयका ख्यातिप्राप्त व्यक्तिका जीवनी, विज्ञान, गणित, वातावरण आदि विषयका गैरआख्यान पुस्तक पनि पुस्तकालयमा हुनुपर्छ। यसबाट नेपाली र सामाजिक शिक्षा बाहेकका शिक्षकले पनि पुस्तकालयमा भएका आफ्ना विषयका पुस्तकमा बालबालिकालाई आकर्षित गराउन सक्छन्।

शिक्षकले पाठ्यक्रममा अभ्यास दिंदा सन्दर्भ सामग्रीको रूपमा पढ्न अर्को पुस्तकलाई पनि समावेश गराउन सक्छन् । यस्तो अभ्यास गराउँदा बोझिल नभई सरल, थोरै समय लाग्ने पुस्तकबाट शुरू गर्नुपर्छ। उदाहरणका लागि विज्ञान विषयमा विभिन्न प्रकारका जनावर पढ्नुपर्ने हुन्छ भने शिक्षकले ‘जनावर पात्र भएको कुनै एउटा कथा पनि पढ’ भनेर पाठ्यक्रमको अभ्याससँग अन्य पुस्तकलाई जोड्न सक्छन्।

कहिलेकाहीं विद्यार्थीले भाषाको जटिलता, विषयको अरुचि, दिक्क लाग्दो लेखन भएका कारण कुनै पुस्तक बीचमै छोड्न पनि सक्छन्। त्यस्तो पुस्तक पढ्नैपर्ने दबाब दिइयो भने त्यसपछि उसको पढ्ने रुचि नै घट्न सक्छ। यस्तो बेलामा शिक्षकले भाषाको जटिलता सहज गरिदिने, विषयको महत्व बुझउने र लेखनबारे विद्यार्थीको प्रतिक्रिया लेख्न लगाएर सघाउन सक्छन्। यतिले पनि काम गरेन भने उसलाई अर्को रुचिकर पुस्तक सुझउनुपर्छ। जबर्जस्ती चाहिं गर्नै हुँदैन।

मैले, माथि शिक्षामा पहुँच भएको पुस्ताको महत्वका साथ कुरा किन गरेकी हुँ भने आज पनि अधिकांश अभिभावक पाठ्यक्रमभन्दा बाहिरका पुस्तक किन पढ्नुपर्छ भनेर जानकार छैनन्। अभिभावकलाई पनि शिक्षकले नै पढ्ने बानीको महŒव बुझउन सक्छन्। बालबालिकालाई घरमा पढ्ने समय उपलब्ध गराउने र अभिभावकलाई पनि त्यसमा सामेल गराउने उपायबारे अभिभावकको भरोसा जित्न सक्छन्। जस्तो; घरमा लेखपढ गर्न नजान्ने अभिभावकले पनि बालबालिकालाई पढेर सुनाउन भन्न सक्छन्। सुनिदिएर अभिभावक सहभागी हुँदा बालबालिकामा मैले ‘बाआमालाई पढेर सुनाएँ’ भनेर गर्वको बोध हुन्छ र थप पढ्न प्रेरित गर्छ।

आज, पुस्तकको उपलब्धता र पहुँचलाई हेरेर पढ्ने बानीको विकास सोचेजस्तो हुन नसकेकोमा चिन्तित हुनुभन्दा बालबालिकालाई कसरी प्रेरित गर्न सकिन्छ भन्नेबारे छलफल जरूरी छ। पुस्तक पढ्ने बानीको विकास नभएको अधिकांश परिवार र बालबालिकाको शिक्षाको दायित्व मूल रूपमा शिक्षकको काँधमा राखिदिएको हाम्रो सामाजिक अवस्थामा शिक्षकहरूको प्रयासले ठूलो अर्थ राख्छ।

पढ्ने बानी यस्तो हो जसको विकासका लागि पुस्तौं पुस्तासम्म निरन्तर लगानी गरिरहनुपर्छ। एक पुस्ताबाट अर्को पुस्तामा यो बानीको प्रसार नभई संस्कृतिका रूपमा पढ्ने बानी विकसित हुँदैन। गन्तव्य टाढा छ, तर तपाईं-हाम्रो सानो-सानो प्रयास एक-एक पाइलाका रूपमा अंकित हुनेछन्।

(लेखक गिरीका ‘ठूला मान्छे’ लगायत बालसाहित्यमा दुई दर्जन पुस्तक प्रकाशित छन् ।)

शिक्षक मासिक, २०८० भदौ अंकमा प्रकाशित । 

 

commercial commercial commercial commercial