नयाँ पुस्तालाई परम्परा बुझाउन विद्यालयमा संग्रहालय

सल्यानको छत्रेश्वरी गाउँपालिका-५ मा रहेको कालिका आधारभूत विद्यालयले लोपोन्मुख परम्परागत सामग्रीहरू संकलन गरेर संग्रहालय (स्कूल-म्युजियम) स्थापना गरेको छ। विद्यार्थी तथा समुदायका अन्य मानिसलाई समेत स्थानीय इतिहास, संस्कृति, र परम्पराको सम्झ्ना दिलाउन संग्रहालय बनाइएको प्रधानाध्यापक बालाराम वली बताउँछन्। “गाउँमा विस्तारै हराउँदै गइरहेका परम्परागत सामग्रीहरूलाई संरक्षण गरी आगामी पुस्तालाई तिनको महत्वबारे जानकारी दिनका लागि हामीले यस्तो प्रयास गरेका हौं”, वलीले भने।

म्युजियममा गाउँघरमा अघिल्लो पुस्ताले प्रयोग गरेका ठेटुवा बुन्ने तान, हाटबजार गर्ने भारे डोका, तुलो, भाङ्ग्रो, कोल, लिच्छविकालीन लिपि, ढिकी, जाँतो, ठेकी, खराउ, घोडाको कैजा, छड्के झुलो, सुर्के थैली, बास्सा (पर्सको रूपमा प्रयोग हुने), दाह्री तथा कपाल काट्ने छुरा, लालटिन, राउटेको कोसी, बिस्कुन सुकाउन प्रयोग गरिने भार, चोयाको भकारी आदि राखिएका छन्। यस्तै, माटो र गोबरबाट तयार गरिएको डरो (भकारी), भान्सामा प्रयोग गरिने पुराना सामग्री, महिला तथा पुरुषका पुराना भेषभुषा, चौरासी प्रकारका जडीबुटी, गेडागुडीबाट बनाइएको कोलाज, रैथाने जातका एकदले र दुईदले बिरुवाको बीउ तथा चराका गुँड पनि म्युजियममा राखिएको प्रअ वलीले जानकारी दिए। 

म्युजियममा राखिएका सबै सामग्रीहरू शिक्षक, विद्यार्थी तथा अभिभावक एवं समुदायबाट सहयोग प्राप्त भएका हुन्। गाउँलेहरू पुराना र लोपोन्मुख सामग्रीहरू विद्यालयलाई प्रदान गरेर यस अभियानमा जोडिएका छन्। म्युजियमले समुदायको ऐतिहासिक र सांस्कृतिक सम्पदालाई भावी पुस्ताको लागि सुरक्षित राख्न सहयोग पुर्‍याएको स्थानीयको भनाइ छ। संग्रहालयका लागि कालिका आधारभूत विद्यालयले एउटा हलको व्यवस्था गरेको छ। शिशाको फ्रेममा सामग्रीहरू राखिएको छ भने प्रत्येक सामग्रीको नामांकन पनि गरिएको छ।

समुदाय तथा विद्यालयबीचको सम्बन्ध बलियो
संग्रहालयको स्थापनाले विद्यालयको शिक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। विद्यार्थीले कक्षाकोठाको पाठ्यपुस्तक बाहिरको ज्ञान प्रत्यक्ष रूपमा सिक्ने अवसर पाएका छन् भने उनीहरूलाई आफ्ना पुराना परम्पराहरूको महत्व बुझन मद्दत पुगेको छ। सामाजिक विषयमा विगत बारे जान्न र बुझन विद्यार्थीलाई सजिलो भएको विद्यालयका प्रअ वली बताउँछन्। उनले भने, “विषयवस्तुको सान्दर्भिकता मिलाएर संग्रहालयमा विद्यार्थी भाइबहिनीहरू सहभागी हुन्छन्। संग्रहालयमा राखिएको लिपिका कारण कक्षा-४ र ५ का विद्यार्थीले लिच्छविकालीन लिपिमा आफ्नो नाम लेख्न सक्ने भएका छन्।”

यो म्युजियम निर्माणको शुरुआत प्रअ वलीले आफ्नो घरबाट तुलो ल्याएर २०७५ सालमा गरेका थिए। विद्यालयको यो प्रयासले स्थानीय सांस्कृतिक सम्पदा संरक्षण गर्न मद्दत पुर्‍याएको र समुदाय तथा विद्यालयबीचको सम्बन्धलाई पनि बलियो बनाएको छत्रेश्वरी गाउँपालिकाको वडा-५ का अध्यक्ष फौदबहादुर बस्नेतले बताए। उनले भने, “शिक्षालाई जीवन्त र समृद्ध बनाउनका लागि अरू विद्यालयहरूले पनि यस्ता प्रयासहरू अगाडि बढाउनु आवश्यक छ।”   
कालिका आधारभूत विद्यालयले भविष्यमा संग्रहालयलाई अझ् विस्तार गर्ने योजना बनाएको छ। म्युजियम अवलोकनका लागि हाल व्यक्तिगत रूपमा रु.५० र संस्थागत रु.१०५० शुल्क तोकिएको छ। 

हरित विद्यालय अभियान
कालिका आविले म्युजियमको अलावा ‘हरित विद्यालय’को अभियान पनि चलाइरहेको छ। विद्यालयको आफ्नै करेसाबारीमा उत्पादित तरकारी, फलफूल दिवा खाजाको रूपमा विद्यालयको क्यान्टिनमा उपयोग हुने गरेको छ। विद्यालयको कम्पाउण्ड छेउछाउमा अभिभावकको लगानीमा वृक्षरोपण गरिएको छ। करेसाबारीमा प्रांगारिक मल अभिभावकले सहयोग गरेका छन् भने अलि ढाँड भएको जमिन भएकाले स्थानीय गोगनपानी सामुदायिक वन समूहले माटो उपलब्ध गराएको विद्यालयले जनाएको छ।

विद्यालयमा कृषि कर्म, करेसाबारी व्यवस्थापन तथा हरित विद्यालयका लागि प्रअ वलीले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। बिहान-साँझ उनी करेसाबारीमै काम गरिरहेका हुन्छन्।

यसैगरी शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावकको सक्रियता, पुस्तकालय व्यवस्थापन लगायतका कार्य गरिएको छ। पुस्तकालयमा दुई हजार भन्दा बढी पुस्तक रहेको बताइएको छ। यहाँ, कक्षा-३ देखि ५ सम्मका विद्यार्थीले महिनामा न्यूनतम पाँचवटा पुस्तक पढ्ने गरेका छन् भने कक्षा-१ र २ का विद्यार्थीले पनि आफ्नो स्तर अनुसारका पुस्तक पढ्ने गरेका छन्। विद्यार्थीका सृजना भित्ते पत्रिकामा प्रकाशन गर्ने गरिएको छ। 

शिक्षक  मासिक, २०८१ कात्तिक अंकमा प्रकाशित । 

commercial commercial commercial commercial