विद्यार्थीलाई ‘लेखक’ बनाएर शिक्षण गर्दा
म उदयपुरगढी गाउँपालिका-१, उदयपुरको ग्रामीण भेगमा अवस्थित श्री धुवाजन माविको आधारभूत तहमा अंग्रेजी विषय पढाउँछु। यस विद्यालयमा आर्थिक अवस्था कमजोर भएका मगर, राई, नेवार र तामाङ मातृभाषी समुदायका विद्यार्थी अधिक छन्। प्रायः विद्यार्थीको घरमा सिकाइलाई सहयोग गर्ने वातावरण छैन। उनीहरूले घरको काम र अनेक जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ। धेरैजसो विद्यार्थीको कक्षागत रूपमा हुनुपर्ने जति सिकाइ-उपलब्धि हासिल भएको छैन। एउटै कक्षामा ६० भन्दा बढी विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता पनि छ।
अंग्रेजी विषयमा विद्यार्थीको सिकाइ उपलब्धि प्रायः सधैं नै कमजोर थियो। एक दुई विद्यार्थीले केही वाक्य लेख्न सके पनि धेरैजसो विद्यार्थीले अंग्रेजीमा एउटा वाक्य पनि स्वतन्त्र रूपमा लेख्न सक्दैनथे। कैयौं विद्यार्थीमा लेखनको लागि दिइएको शीर्षकबारे नेपालीमा जानकारी भए पनि अंग्रेजीमा लेख्न नसकिरहेको अवस्था थियो। यस्तो अवस्थामा कसरी अंग्रेजी लेखन सीप सुधार्ने होला भन्ने हुटहुटी भइरहन्थ्यो।
लेखन-सीप विकासका लागि गरिएको प्रयास
विद्यार्थीको अंग्रेजीमा लेखन सीप विकास गर्न सहयोग हुने उद्देश्यले शिक्षक निर्देशिका तथा अन्य लेखन-सीप शिक्षणसँग सम्बन्धित पुस्तकहरू अध्ययन गरी तिनमा भएका क्रियाकलाप मैले कक्षाकोठामा गरिरहेको थिएँ। तर पनि, विद्यार्थीको अंग्रेजी लेखन-सीपमा खासै सुधार हुनसकिरहेको थिएन। यही समयमा ‘शिक्षकका लागि शिक्षक’ समूहले सञ्चालन गरेको सहभागितामा आधारित कार्यमूलक अनुसन्धान परियोजनामा सहभागी हुने अवसर प्राप्त भयो। यस परियोजनाका प्रशिक्षकहरू प्रा.डा. प्रेम फ्याक र जनकसिंह नेगीको सुझव बमोजिम विद्यार्थीलाई विभिन्न क्रियाकलापमा सहभागी गराई उनीहरूलाई लेखनप्रति उत्साहित गर्न थालें। त्यस्ता क्रियाकलापले विद्यार्थीको अंग्रेजी लेखन-सीप विकासमा पुर्याएको सहयोग र उपलब्धि नै यस लेखको मुख्य विषयवस्तु रहेको छ।
मुख्य क्रियाकलाप
परियोजनाको तीन महीने अवधिभरि विद्यार्थीलाई देहाय बमोजिमका क्रियाकलापमा संलग्न गराई उनीहरूको लेखन-सीप विकासमा सघाउ पुर्याउने प्रयत्न गरियो।
उद्देश्य निर्धारण र समूह निर्माणः मैले विद्यालयको पुस्तकालयबाट बालकथाको एउटा पुस्तक कक्षा-८ का बालबालिकालाई देखाउँदै ‘अब हामी पनि यस्तै पुस्तक लेख्न सक्छौं’ भनेर परियोजना क्रियाकलापको थालनी गरें। मेरो कुरा अनौठो मान्दै एकछिन सबैजना केही नबोली ट्वाल्ल परेर हेरिरहे । त्यसपछि क्यानडाको एउटा विद्यालयमा कक्षा-७ मा अध्ययनरत भारतीय र पाकिस्तानी मूलका तीन जना विद्यार्थीले आफ्नो बारेमा पहिले आफ्नै भाषामा र पछि त्यसैलाई अंग्रेजीमा बनाएका कथा सुनाउँदै ‘अब हामीहरू पनि आफ्नो बारेमा कथा लेखेर लेखक बन्नुपर्छ’ भनेर पुनः हौस्याउने प्रयास गरें । क्यानडाका विद्यार्थीको कथा सुनेपछि केही विद्यार्थीले ‘नेपालीमा लेख्ने हो भने त सकिन्छ सर; तर अंग्रेजीमा सकिंदैन’ भने। यस्तो प्रतिक्रियापछि मैले ‘हामीले पनि पहिले नेपालीमै लेख्ने र पछि सबै मिलेर अंग्रेजीमा अनुवाद गर्दा कसो होला ?’ भनेर सोधें । त्यसपछि धेरैजसो विद्यार्थीले किताब लेख्ने विषयमा सहमति जनाए।
कक्षा-८ का विद्यार्थीलाई एउटा समूहमा तीन-तीन जना पर्ने गरी जम्मा १४ वटा समूहमा विभाजन गरियो। प्रत्येक समूहमा कम्तीमा एक जना सदस्य समूहका अरू सदस्यलाई पनि सहयोग गर्न सक्ने क्षमताका राखिएका थिए। समूहका प्रत्येक सदस्यले आ-आफ्नो कथा नेपाली भाषामा छुट्टाछुट्टै लेख्नुपर्ने, प्रत्येक दिन गरेका कामलाई एउटा फाइल बनाएर सुरक्षित राख्नुपर्ने, समूहका सदस्यहरू मिलेर नेपालीमा लेखिएको एकअर्काको कथा अंग्रेजीमा पनि लेख्नुपर्ने र अन्तिममा प्रत्येक समूहले आ-आफ्ना कथा नेपाली र अंग्रेजी भाषामा सादा कागजमा लेख्ने र त्यसको पछाडितिर आफूले गरेका क्रियाकलापहरू संलग्न गरी एउटा पुस्तक निर्माण गर्नुपर्ने कार्य तोकिएको थियो। प्रत्येक समूहले निर्माण गरेका पुस्तकलाई विद्यालयमा एउटा कार्यक्रमको आयोजना गरी विमोचन गर्ने र एक-एक प्रति पुस्तक विद्यालयको पुस्तकालयमा पनि सुरक्षित राख्ने गरी परियोजनाको उद्देश्य निर्धारण गरिएको थियो। विद्यार्थीलाई परियोजनाप्रति अलि बढी संवेदनशील बनाउने हेतुले परियोजनाले आन्तरिक मूल्याङ्कनको केही हिस्सा पनि ओगट्ने भनेर पहिल्यै जानकारी गराइएको थियो।
पहिचान र अवधारणाको खाका निर्माण: शुरूमा सबै विद्यार्थी आफ्नो बारेमा लेख्न उत्सुक त भए तर ‘के लेख्ने, के लेख्ने ?’ भन्ने अन्योल पनि रहिरह्यो । कुनै पनि विषयमा लेख्नको लागि सर्वप्रथम तथ्य तथा जानकारीहरूको आवश्यकता पर्दछ। त्यसनिम्ति सबै विद्यार्थीलाई एउटा पानामा आफ्नो परिचय तथा अवधारणा समेटिएको खाका सिर्जना गर्न लगाइयो। सबैले आ-आफ्नो पानाको बीच भागमा एउटा वृत्त बनाएर आफ्नो बारेमा लेखे र त्यसपछि त्यसै वृत्तबाट रेखा तान्दै अर्को वृत्त वा आयत बनाउँदै आफूसँग सम्बन्धित विविध जानकारीहरू छोटकरीमा लेखे। पहिचान तथा धारणा अन्तर्गत विद्यार्थीले आफ्नो नाम, उमेर, ठेगाना, परिवारका सदस्य संख्या र तिनले गर्ने काम, आफूलाई मन पर्ने र नपर्ने विभिन्न कुराहरू (खाना, लुगा, ठाउँ, आदि) उल्लेख गरे।
वाक्य तथा अनुच्छेद निर्माण: पहिचान र अवधारणाको खाकाको आधारमा विद्यार्थीले नेपालीमा वाक्यहरू निर्माण गरे । समूहको एउटा सदस्यले सिर्जना गरेका वाक्य समूहका अन्य सदस्यले पढेर पहिचान तथा अवधारणाको खाकामा भएका सबै जानकारी ती वाक्यमा समावेश भएको वा नभएको बारे विचार गरी थप वाक्यहरू सिर्जना गर्न एकले अर्कोलाई सहयोग पनि गरे। शुरू-शुरूमा कतिपय विद्यार्थीले आफूले सिर्जना गरेका वाक्य साथीहरूलाई नदेखाउने र ठूलो स्वरमा नपढ्ने शर्तमा केवल शिक्षकलाई मात्र देखाउने पनि गरे । समूहमा काम गर्ने केही दिनको अनुभवपछि सबै विद्यार्थी आफूले सिर्जना गरेका कुरा अरू समूहका सदस्यलाई देखाउन र सामूहिक कार्यमा सहभागी हुन थाले।
आफूले निर्माण गरेका वाक्यहरू मिलाएर विद्यार्थीले अनुच्छेद निर्माण गरे । विद्यार्थीमा अनुच्छेद निर्माणमा वाक्यहरूको उपयुक्त संगठन गर्ने सीपको अभाव देखिएपछि केही दिन अनुच्छेद निर्माण गर्दा– अनुच्छेदका मुख्य वाक्यहरू कसरी लेख्ने र कसरी ती वाक्यलाई थप पुष्टि गर्न अन्य वाक्यहरू लेखी उपयुक्त तरिकाले अनुच्छेदहरू संगठित गर्ने भन्ने सीप विकास गरियो । अनुच्छेद बनाउँदा विद्यार्थीले समूहमा छलफल गर्ने, एउटाले सिर्जना गरेको अनुच्छेद अन्य सदस्यहरूले पढ्ने र थप सुधारको लागि सहयोग गर्ने जस्ता क्रियाकलापहरूको माध्यमबाट सबै विद्यार्थीले आफ्नो ‘पहिचान–कथा’ नेपाली भाषामा सिर्जना गरे । समूह कार्यमा सहभागी हुँदै आफ्नै बारेमा ५ देखि १० पानासम्म लामो कथा तयार भएको देखेर विद्यार्थीहरू खुशी भए ।
अनुच्छेदलाई अंग्रेजीमा लेखन: सबभन्दा पहिले समूहगत रूपमा विद्यार्थीले आफ्ना अनुच्छेदमा प्रयोग भएका नेपाली शब्दलाई अंग्रेजी शब्दमा रूपान्तरण गरे । यसनिम्ति विद्यालयको पुस्तकालयमा रहेका तीन वटा नेपाली-अंग्रेजी-नेपाली शब्दकोश प्रयोग गरी विद्यार्थीले आफूलाई थाहा नभएका अंग्रेजी शब्द सङ्कलन गरे। नेपाली शब्दलाई अंग्रेजीमा रूपान्तरण गर्ने क्रममा विद्यार्थीले परिवारका सदस्य मात्र नभई छिमेकी र अभिभावकका मोबाइल फोन समेत उपयोग गरे । यसपछि कक्षाकोठामा सबै मिलेर नेपाली र अंग्रेजीका शब्दसँगै अनुच्छेदहरू रुजु गरियो। विद्यार्थीले समूहगत रूपमा छलफल गरी आफ्ना अनुच्छेदहरू सम्पादन पनि गरे। एउटा समूहले सम्पादन गरी तयार पारेका अनुच्छेदलाई अर्को समूहले हेरी केही सुधार गर्नुपर्ने भए सुधार गर्न सुझव मागिएको थियो। अन्तिममा शिक्षक र विद्यार्थीको सामूहिक प्रयासले सबैले लेखेका अनुच्छेदहरूलाई संयोजन गरी किताब बनाउने प्रयास गरियो।
अनुच्छेदहरूसँग मिल्ने चित्र: विद्यार्थीले आफूले लेखेका अनुच्छेदहरूसँग मिल्ने चित्रहरू कोरे। जस्तै, आफ्नो गाउँको बारेमा लेखिएको अनुच्छेदको लागि आ-आफ्नो गाउँको चित्र बनाएर अनुच्छेदसँगै टाँसे। अनुच्छेदसँग मिल्ने चित्र कोर्दै गर्दा विद्यार्थीले आफ्नो कल्पना र सोचाइ क्षमताको विकास भएको अनुभव सुनाए । कसै-कसैले चित्र बनाउँदा आफूलाई रमाइलो र विशेष खुशी लागेको पनि बताए।
कक्षाकोठामा प्रस्तुतीकरण: विद्यार्थीहरूले पालैपालो कक्षाकोठाको अगाडि गएर आफ्ना कथा र चित्रहरू प्रस्तुत गरे। यस्तो क्रियाकलापले विद्यार्थीमा अंग्रेजी बोलाइको सीपका साथै सबैको अगाडि गएर आफ्नो विषयवस्तु प्रस्तुत गर्ने आँट/साहसको पनि विकास भएको देखिन्थ्यो।
विद्यार्थीको अनुभव र मेरो सिकाइ
परियोजनामा सहभागी विद्यार्थीहरूसँग कुरा गर्दा लेखन यात्रा रमाइलो र लेखन सीपको विकासमा धेरै मद्दत पुगेको अनुभव सुनाए । एउटी छात्राले आफूलाई चित्र कोर्न मन पर्ने र अनुच्छेदसँगै आफूले कोरेको चित्र टाँस्दा आफू धेरै खुशी भएको अनुभव सुनाइन् । त्यसैगरी अर्का छात्रले नेपालीमा आफ्नो कथा लेखेर पछि त्यसैलाई अंग्रेजीमा लेख्ने क्रममा शब्दकोश प्रयोग गर्ने, साथीहरूसँग सिक्ने र सिकाउने जस्ता अनेकौं सीपको विकास भएको अनुभव सुनाए।
विद्यार्थीलाई लेखन सीप विकाससँग सम्बन्धित विभिन्न क्रियाकलापहरूमा संलग्न गराउँदै गर्दा मैले विद्यार्थीले लेखेका कुरालाई सबैका सामु प्रस्तुत गर्न लगाएर उनीहरूको बोलाइ सीपको विकासमा पनि त्यतिकै ध्यान दिने प्रयास गरेको थिएँ। भाषाका विभिन्न सीपहरू शिक्षण गर्दा एउटै सीपमा मात्र जोड दिनु भन्दा विभिन्न सीपहरूलाई समेत समेटेर एकीकृत रूपमा शिक्षण गरेमा सिकाइ बढी प्रभावकारी हुने मलाई लाग्यो। अनुच्छेदको विषयवस्तुलाई चित्रमा रूपान्तरण गर्ने बेलामा धेरै सोच्नु परेको भन्ने अनुभव व्यक्त गरेकाले यस्ता किसिमका बहुसांकेतिक विधिसँग सम्बन्धित क्रियाकलापले विद्यार्थीहरूमा कल्पना गर्ने र सोचाइ क्षमताको विकास गर्न सहयोग गर्ने पनि मैले महसूस गरें । यो मेरो सिकाइ पनि भयो।
शिक्षक मासिक, २०८१ भदौ अंकमा प्रकाशित।