शिक्षकले पैसा त धेरै कमाउँदैनन् !
चार प्रश्नः
– तपाइँ किन शिक्षक बन्नुभयो ?
– शिक्षक भएर के के गर्नुभयो ?
– शिक्षक भएर के सिक्नुभयो ?
– शिक्षक भएर के कमाउनुभयो ?
स्कूलमा पछिसम्म पनि मलाई गणित सबैभन्दा गाह्रो लाग्थ्यो । कक्षा १० मा एक जना नयाँ गणित शिक्षक आउनुभयो। उहाँले यसरी पढाउनुभयो कि मलाई एकाएक गणित सजिलो लाग्न थाल्यो।
कक्षा-९ सम्म गाह्रो लाग्ने गणित एक जना शिक्षकको कारणले सजिलो लाग्न थालेको देख्दा म आफैं अचम्मित भएँ। त्यहाँदेखि मेरो पढाइ सुध्रिन थाल्यो। एक जना शिक्षकको कारणले पढाइमा, जीवनमा अनि सोच्ने शैलीमा नै यति ठूलो परिवर्तन आउन सक्दो रहेछ भन्ने बोध मलाई यसरी भयो कि मैले त्यसैबेला प्रण गरें- म शिक्षक नै बन्छु।
एसएलसीमा ७१ प्रतिशत आयो। सबैले टेक्निकल विषय पढ्नुपर्छ भनिरहेका थिए । तर, मैले ‘एजुकेशन’ पढें । किनकि मलाई शिक्षक नै बन्नु थियो। म उत्कृष्ट श्रेणीमा उत्तीर्ण हुँदै गएँ, विभिन्न प्राइभेट स्कूलमा पढाउन थालें। त्यसबीचमै २०६९ सालमा ‘टिच फर नेपाल’ नामक संस्थाले स्वयंसेवक शिक्षक मागेकोमा आवेदन दिएँ र ललितपुरको दुर्गम गाउँमा गएर तीन वर्ष पढाएँ।
म विद्यार्थी, समाज र अभिभावकहरूसँग जति-जति नजिक हुँदै गएँ, शिक्षण पेशाप्रतिको सम्मान झन्–झन् बढ्न थाल्यो। ‘टिच फर नेपाल’ को तर्फबाट तीन वर्ष पढाएपछि मैले २०७२ सालमा शिक्षा सेवा आयोगको परीक्षा दिएँ। आयोगमा नाम निस्केपछि म रामेछापको दोरम्बास्थित कण्ठेश्वर माविमा पढाउन थालें । विद्यार्थी मबाट प्रभावित भएको देख्दा आनन्द लाग्थ्यो। विद्यार्थीको नतिजामै पनि त्यो झ्ल्किन थाल्यो। त्यसपछि सरुवा भएर यहाँ आएँ। यहाँ आएको लगत्तै सह-प्रधानाध्यापक पनि बनें।
अहिले पनि म नियमित पढाउँछु । भिडियो देखाएर, कागजका सामग्री बनाएर अनि प्रविधिको प्रयोग गरेर खेलाई-खेलाई गणित पढाउँछु। म जसरी कक्षा-१० मा परिवर्तन भएको थिएँ त्यसरी नै हिजोआज गणितप्रति कतिपय आफ्ना विद्यार्थीको पनि धारणा परिवर्तन भएको देख्छु । गणित गाह्रो मान्ने बच्चाहरू पनि रमाइलो मानेर पढ्न थालेको देख्छु। यो कुरा रिजल्टमा पनि देखिन थालेको छ । पहिले धेरै विद्यार्थी गणितमा फेल हुन्थे।
२०६९ सालबाट मैले शिक्षण पेशा शुरू गरेको हुँ । यो एक दशकमा मैले आफ्नो ‘प्रोफेशनल डेभलपमेन्ट’ राम्रैसँग भएको अनुभव गरेको छु। रामेछापमा पढाउँदा मैले एकदमै दुर्गम गाउँमा पढाएँ। त्यहाँ समाज र जीवनबारे सिक्ने अवसर पाएँ। बालमनोविज्ञान बारे सिक्ने अवसर मिल्यो । गाउँघर र शहरमा पठनपाठनको समस्या कति अलग हुँदोरहेछ भन्ने पनि सिक्न पाएँ। हरेक दिन बच्चाहरूलाई हौसलाले भरेर पढाउन पाउँदा म आनन्दित हुन्छु।
शिक्षकले पैसा त धेरै कमाउँदैनन्। शायद कमाउने भनेकै यही आनन्द हो। मेरो कक्षा पढ्न विद्यार्थी लालायित भएको तिनको अनुहारको रौनक हेरेरै महसूस हुन्छ। नयाँ कुरा सिक्न पाइन्छ भन्ने ऊर्जा विद्यार्थीको अनुहारमा झ्ल्किएको देख्दा मनमा जुन सन्तोष र आत्मसम्मान पैदा हुन्छ; लाग्छ- मेरो कमाइ नै यही हो।