‘ग’ बाट गाँजा मात्र होइन, गज हात्ती पनि बन्छ !

रूपन्देही जिल्लाको कञ्चन गाउँपालिका, वडा-२, गजेडी गाउँमा अवस्थित श्री गजेडी माध्यमिक विद्यालय २०१९ सालमा स्थापना भएको हो। यस विद्यालयको नाम स्थानीय गजेडी गाउँकै नामका आधारमा राखिएको छ।

तर ‘गजेडी’ र ‘गँजेडी’ शब्द बीचको फरक छुट्याउन नसक्दा सामाजिक सञ्जालमा यस विद्यालयको नामलाई लिएर अनेकन् अवाञ्छित चर्चा र भद्दा मजाक गर्ने गरेको पाइन्छ। यसलाई कतिपयले गँजेडी यानि कि गाँजा खाने मानिसको अर्थमा हाँसो-मजाकको विषय बनाउन खोज्दा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमा नकारात्मक असर समेत पर्ने गरेको छ। खासगरी, शैक्षिक सत्रको शुरूको महीना कक्षा-११ को भर्नाको समयमा गरिने यस प्रकारका टिप्पणीले विद्यार्थी भर्नामा नकरात्मक असर पर्न थालेको देखिएको छ। विद्यालयले प्रेस विज्ञप्ति समेत जारी गरी त्यस्ता अफवाहको खण्डन गर्नु परेको छ।

गजेडी- रूपन्देही जिल्लाको पुरानो गाउँ हो। यस गाउँको नाम यस भेगमा बसोबास गर्ने थारू जातिको भाषाको आधारमा रहन गएको मानिन्छ । विगतमा यहाँ चारकोसे झडी हुँदा यो ठाउँ हुँदै हात्तीहरू ओहोरदोहोर गर्ने र यस ठाउँमा बास पनि बस्ने हुँदा हात्तीलाई जनाउने संस्कृत शब्द ‘गज’ मा ‘डी’ आधार पद जोडेर ‘गजडी’ नाम रहन गएको एउटा मान्यता छ। पछि ‘गजडी’ शब्द अपभ्रंश भई ‘गजेडी’ हुन गएको हो। आज पनि यस भेगका थारू जातिका पाका मानिसले यो गाउँलाई गजडी नै भन्दछन्। यही नामबाट रूपन्देही जिल्लाकै एउटा प्रमुख ताल-गजेडी यसै क्षेत्रमा अवस्थित छ। 

विद्यालयले प्रेस विज्ञप्ति जारी गरेपछि यस गाउँको नाम गजडी रहनुमा अर्को कारण पनि प्रकाशमा आएको छ। राणाकालमा दानबहादुर नाम गरेका पाल्पाका जमीनदारको यस ठाउँमा जग्गा-जमीन थियो। उनै जमीनदारले पाल्पाबाट २०/२५ घर मगरहरूलाई ल्याएर यहाँ बसोबास गराएका थिए। वैशाख-जेठको गर्मीमा प्रायः यस भेगका अन्य ठाउँका पानीका मुहान सुक्दथे, तर यस ठाउँमा पानीको मुहान नसुक्ने हुँदा हात्ती पानी खान यहाँ आउने हुँदा हात्तीको संस्कृत नाम ‘गज’ र मगर भाषामा ‘डी’ को अर्थ ‘पानी’ खाने ठाउँ मिलाएर ‘गजडी’ शब्द बन्न पुगेको र पछि अपभ्रंश भई ‘गजेडी’ हुन गएको हो भन्ने दोस्रो भनाइ हो। यस ठाउँ नजिकै दानबहादुरले आफ्नो नाममा बसाएको ‘दानापुर गाउँ’ छ। गजेडी ताललाई ‘दानापुर गजेडी ताल’ पनि भनिन्छ। 

यी दुई कथनलाई आधार मान्दा यस गाउँको नाम हात्तीको संस्कृत शब्द ‘गज’बाट उत्पत्ति भएको पुष्टि हुन्छ। यो ठाउँ ऐतिहासिक भएकै कारणले यस नामबाट तत्कालीन इकाईको नाम पनि गजेडी पञ्चायत राखिएको थियो। यो गाउँ रहेको हालको कञ्चन गाउँपालिकासँग जोडिएको अर्को पालिकाको नाम गैंडासँग सम्बन्धित ‘गैडऊवा ताल’को नामबाट गैडहवा गाउँपालिका राखिएको छ। 

शब्दको शाब्दिक तथा ऐतिहासिक अर्थ नबुझी गलत ढंगबाट व्याख्या-टिप्पणी हुँदा गाउँका बासिन्दासँगै यस विद्यालयसँग सम्बन्धित सरोकारवालाहरूमा पर्न जाने मनोवैज्ञानिक असरलाई समेत ध्यानमा राखी सामाजिक सञ्जालमा त्यस किसिमका आपत्तिजनक कुराहरू नलेख्न विद्यालयले सबैसँग अनुरोध गरेको छ। 

(सहायक प्रअ, गजेडी मावि, कञ्चन-२, रूपन्देही)

शिक्षक  मासिक, २०८१ भदौ अंकमा प्रकाशित । 

commercial commercial commercial commercial