संस्कार-शिक्षाको स्रोत पुस्तक

शनिवार विदाको दिन अलि अबेरै मात्र ओछ्यान छोड्ने गरेकी छोरी अनन्या अचेल बिहान ६ नबज्दै उठ्ने गर्छिन्। पहिले घरमा आएका पाहुना- मान्यजनलाई ‘नमस्कार’ गर्न समेत लजाउने भाञ्जीहरू बिहान उठ्नासाथ आफ्ना बाबुआमा-बाजेबज्यैलाई हातैमा भए पनि ‘प्रणाम’ गर्ने बानी बसाल्दैछन्। १० वर्षमुनिका बाबुनानीहरू तन्मयताका साथ स्तोत्र पाठ अनि मीठो स्वरमा श्रीमद्भागवत गीता, चतुःश्लोकी भागवद् एवं वेदका ऋचा समेत सस्वर वाचन गर्न सक्ने बन्दैछन्।
सत्संग परिवार, जावलाखेल, ललितपुरमा फागुन, २०८० देखि चलिरहेको शनिवासरीय संस्कार-शिक्षाले साँच्चै नै घर-घरमा देखिंदो गरी नै सकारात्मक प्रभाव ल्याइरहेको छ। “आफ्नो मौलिक जीवनपद्धति एवं सनातन संस्कृति-परम्पराको आधारभूत ज्ञान दिएर मात्र बालबालिकाको चरित्र निर्माणमा प्रभाव पार्न सकिन्छ” भन्ने मान्यता बोकेर विद्यालयहरूमा संस्कार-शिक्षाको वकालत गर्दै हिंड्नुभएका स्वामी केशवानन्दको अभियानमा हातेमालो गरेर सत्संग-परिवारले यस भेगका इच्छुक अभिभावकका बालबालिकालाई साप्ताहिक संस्कार-शिक्षामा जोडिरहेको छ। सत्संग परिवारका अनुसार यस अभियानमा हाल ४१ बालबालिका अनुबन्धित भएका रहेछन्- २५ बालिका, १६ बालक । यसमा कक्षा-३ मा पढ्ने सात वर्षका बालकदेखि स्नातक पढ्दै गरेकी २३ वर्षे किशोरीसम्म यसका प्रशिक्षार्थी रहेका छन्।
आफ्नो बाल्यकाल हिन्दू विद्यापीठको छात्रावास अनि मातृभूमि सेवक संघको शिक्षण शिविर, बाल शिविर आदिमा व्यतीत हुँदा मैले नैतिक शिक्षा, चरित्र निर्माणका कक्षा, हितोपदेश, गीता आदिका श्लोक, महाभारत-रामायणका कथा, पृथ्वीनारायण-शिवाजी, बुद्ध-महावीर जस्ता महापुरुषका जीवनी, देवकोटा-लेखनाथ आदिका कृतिहरू सुन्ने-पढ्ने-बुझने सौभाग्य पाएको थिएँ, यस्तै अनौपचारिक कक्षा-छलफलका माध्यमद्वारा। त्यो समयमा नैतिक शिक्षा, नागरिक जीवन जस्ता विषयहरूको औपचारिक पढाइ विद्यालयहरूमा पनि हुने गर्दथ्यो । त्यस्तो संस्कारको हुर्काइले नै बनाएको हो मेरो अहिलेको व्यक्तित्व।
सत्संग परिवारद्वारा सञ्चालित संस्कार शिक्षा कक्षामा डा. स्वामी केशवानन्दले लेखन; सङ्कलन, अनुवाद र सम्पादन गर्नुभएका ‘संस्कार शिक्षा’; ‘दशशान्ति मन्त्र’, ‘श्रीमद्भागवत गीता’ समेत तीन थान पुस्तक र कलम-कापी बालबालिकाले निःशुल्क प्राप्त गर्छन्। यस बाहेक तिनलाई अन्य सन्दर्भ सामग्रीहरू पनि आवश्यकतानुसार दिने गरिएको छ, जस्तैः अन्य स्तोत्रका प्रतिलिपि । बेलाबेलामा बालबालिकाहरू स्वामीजीहरूका प्रवचनमा पनि सहभागी रहन्छन्। कहिलेकाहीं युट्यूबको माध्यमबाट पनि श्लोक उच्चारण गर्न सिकाइन्छ तिनलाई। प्रशिक्षार्थी बालबालिकालाई जन्मोत्सव मनाउने सनातन विधि, दिशाज्ञान, तिथि-पञ्चाङ्ग, धार्मिक चाडपर्व आदिका बारेमा पनि अभिमुखीकरण गराइन्छ।
सत्संग परिवारद्वारा सञ्चालित संस्कार शिक्षाको कक्षा। यहाँ ‘संस्कार शिक्षा’; ‘दशशान्ति मन्त्र’, ‘श्रीमद्भागवत गीता’ का पुस्तक र कलमकापी बालबालिकाले निःशुल्क प्राप्त गर्छन्।
स्वामी केशवानन्दको कृति ‘संस्कार शिक्षा’ पुस्तकको अध्ययन-अवलोकन गरेपछि थाहा हुन्छ-संस्कार-शिक्षाको दायरा कति फराकिलो रहेछ भन्ने कुरा। सो पुस्तक एघार अध्यायमा विभाजित छ, अनि प्रत्येक अध्यायमा पाँच वटा पाठ छन्। प्रत्येक अध्यायको पहिलो पाठले एउटा देवताको वन्दना-स्तुति दर्शाएको छ । दोस्रो पाठमा नित्यकर्मको एक अङ्गको व्याख्या गरिएको छ। त्यस्तै, पाठ तीनले केही नियम-आचार पद्धतिको महत्वमाथि प्रकाश पारेको छ भने पाठ चारमा तिथि र चाडपर्वको बारेमा बताइएको छ। अन्त्यमा, पाठ पाँचमा कुनै देव-महात्माको कथा बताइएको छ। उदाहरणका लागि, अध्याय-१ को पाठ-१ मा गणेश वन्दना छ, पाठ-२ मा ब्रह्ममुहूर्तमा उठ्नुपर्ने नित्यकर्मको नियमका बारेमा बालसुलभ ढङ्गमा व्याख्या गरिएको छ, पाठ-३ ले ‘नमस्कार गर्नु’ हाम्रो सनातन संस्कृतिको महत्वपूर्ण आचरण हो भन्ने विषयमा प्रकाश पारेको छ। त्यस्तै पाठ-४ मा गणेश चतुर्थीको बारेमा अनि पाठ-५ मा ‘गणेशलाई प्रथम पूजन किन गर्नुपर्ने ?’ बारेको पौराणिक कथा प्रस्तुत गरिएको छ।
‘संस्कार शिक्षा’ पुस्तक अध्ययन गरिसकेका बालबालिकाले गणेश, सरस्वती, शिव, गुरु, देवी, विष्णु, लक्ष्मी, सूर्य, राम, कृष्ण, हनुमान आदि देवी-देवताका तस्वीर र मूर्ति चिन्ने मात्र नभई तिनको वन्दना गर्न पनि सिक्दछन् । त्यस्तै; सबेरै उठ्ने, नित्य स्नान, जप-ध्यान गर्ने, भजन-भोजन विधि, सूर्य आदि पञ्चदेवको पूजा जस्ता सनातन दिनचर्याका बारेमा पनि तिनले ज्ञान हासिल गर्दछन्। नमस्कार गर्ने, सत्य बोल्ने, मातापिता-गुरु-अतिथिहरूलाई मान्ने, नारी शक्तिको सम्मान गर्ने, दानको महत्व, विद्यार्थी अनुशासन जस्ता नैतिक शिक्षा र सनातन मूल्यमान्यताहरूको बारेमा पनि जान्ने मौका पाउँदछन् । अनि, गणेश चौथी, श्रीपञ्चमी, शिवरात्रि, गुरुपूर्णिमा, अक्षयतृतीया, लक्ष्मीपूजा, रामनवमी जस्ता परम्परागत चाडपर्वका बारेमा पनि अवगत हुन्छन् बालबालिकाहरू। अझ् कालिदास, कुबेर, दधीचि, मार्कण्डेय, मुद्गल जस्ता पौराणिक व्यक्तित्वहरूको जीवनी पनि बुझदछन्।
यी विषयहरू बाहेक यो पुस्तकमा आफ्नो नामको महत्व बुझउने, देवनागरी लिपि अनि त्यसको व्याकरणको बोध गराउने परिचयात्मक अध्याय पनि छ, ‘अक्षरारम्भ’ नाम दिइएको। त्यस्तै प्रत्येक पाठको अन्त्यमा भएका अभ्यासको माध्यमबाट अन्य विविध औपचारिक-अनौपचारिक ज्ञान प्रदान गर्ने प्रयास पनि रहेको छ स्वामीजीको- जस्तैः विभिन्न (तेत्तीसकोटि) देवताहरूको नाम, सप्ताहका बारहरू, दिशाबोध, विद्यार्थीका लक्षण-गुण, गणेश-सूर्य-सरस्वती आदिका अनेक नाम, तिथि-पक्ष, अयन-नक्षत्र, वेदवेदाङ्गको प्राथमिक शिक्षा, नेपालका नदी-तीर्थस्थल-शक्तिपीठहरूको नाम-ठाम, ६ ऋतु, १२ महिना, १२ राशि, नवग्रह, प्राणायाम-मुद्रा आदि विधिहरूको परिचय, नीतिशास्त्रका अनेक कथा-उपकथा, पशुपतिका पाँच मुख, छन्दको प्रारम्भिक ज्ञान, दत्तात्रेय-व्यास-बृहस्पति जस्ता ऋषि अनि सप्तऋषिहरूको देन, हिन्दू कालगणना, पञ्चामृत-पञ्चगव्य-नैवेद्य, महाभारत-रामायण-पुराणका प्रेरणादायी कथा, पानीको महत्व, भगवान् विष्णुका आयुध एवं अवतार चर्चा, जपमाला, द्यौसी-भैलो संस्कृति, सूर्यनमस्कार विधि, जनक-याज्ञवल्क्य-बाल्मीकि जस्ता विभूति, अष्टचिरञ्जीवी, वरपीप-कुश आदि वनस्पति, नेपालको झ्ण्डाका विशेषता, अठार पुराण, दीप-कलश-अष्टदल आदि। अरू पनि अनेकौं विधा-विषयहरू सङ्कलित छन् यो किताबमा।
स्वामीजीले यस पुस्तकको माध्यमद्वारा बालबालिकामा सनातन संस्कृतिका विभिन्न पक्षहरू, हाम्रो भाषा-भेष, मौलिक पहिचान, राष्ट्रभक्ति आदि विषयहरूको बोध गराएर सदाचार, स्वधर्म, नैतिकता अनि स्वस्थ-स्वच्छ चरित्रनिर्माणको सत्सङ्कल्प गर्नुभएको प्रतीत हुन्छ । यसका लागि, उहाँप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नैपर्ने हुन्छ।
(मनोचिकित्सा विभाग, काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेस, धुलिखेल)
शिक्षक मासिक, २०८१ असोज अंकमा प्रकाशित ।