फर्कंदैछ कोदोको युग !

सन् सत्तरीको दशकमा बुवा भारतीय सेनामा छँदा प्रवासमा आमाले वर्षेनि कोदो रोप्ने गर्नुहुन्थ्यो। र, कोदो पाकेपछि टिप्ने बेलामा हामी छोराछोरीहरूलाई बेलाबेला ‘यसो सघाओ न हौ तिमीहरूले पनि !’ भन्ने गर्नुहुन्थ्यो। तिनताक मदिराप्रेमी आमाले परम्परागत तरिकाबाट जाँड र रक्सी बनाउन कच्चा पदार्थको रूपमा कोदोको बाली लगाउनुहुन्थ्यो। त्यसो त जाँ-रक्सी मात्र हैन बेलाबेला भातको सट्टा घरपरिवारका लागि रोटी, खोले, पुवा, दालपिट्ठी (दालमा कोदोको पीठाका स-साना डल्ला हालेर पकाइने परिकार) लगायत ढिंडो पनि पकाएर खुवाउनुहुन्थ्यो। यसमानेमा ऊबेला भातको विकल्पमा कोदोको परिकार खानु सामान्य जस्तै थियो। हुन पनि हो; किनेमा, कालो दाल, माछा-मासुको बाक्लो झेल अथवा सिद्रा र गोलभेंडाको अचारसँग ढिंडो खाएको ऊ बेलाको स्वाद अझै जिब्रोमा टाँसिएको छ। केही वर्षअघि काठमाडौं जाँदा छोरीले मलाई कोदो-फापरको ढिंडो खुवाउन थकाली होटल लैजाने गर्थिन्।

बदलिंदो परिवेशसँगै शहरी जीवनशैली, आचरण तथा अन्य धेरै कारणले गर्दा अन्य बालीको तुलनामा कोदो लोपोन्मुख हुँदैछ। स्थिति कहाँसम्म पुगेको छ भने विराटनगरको बजारमा दशवटा पसल चहार्दा बल्ल एउटामा पाइन्छ कोदो भन्ने वस्तु। त्यही पनि मनलाग्दी मूल्यमा ! मेरो माइतीघर अर्थात् भारतको जलपाईगुडी जिल्ला अन्तर्गत बानरहाटतिर त कोदो नै पाइँदैन। माइती जाँदा कोसेलीको रूपमा यताबाट कोदोको पीठो लैजाने गरेकी छु। विराटनगरमा खुलेका बग्रेल्ती शपिङ मलमा कोदो र फापरको पीठो त पाइन्छ तर ढुंगाका कण मिसिएको । मैले धेरैपटक यस्तो पीठो फ्याँकेकी छु भने बेलाबेला तिनै मलहरूलाई फिर्ता गर्ने र तिनका सञ्चालकहरूसँग भेट्ने निरर्थक प्रयास समेत गरेकी छु।

यसरी; मैदा र आँटाभन्दा झण्डै दुई-तीन गुणा बढी मूल्य तिर्दा पनि शुद्ध पीठो नपाएपछि मैले आफैंले कोदोको पीठो बनाउन थालेकी छु। व्यक्तिगत प्रयोजनका लागि मात्र नभएर छोराले शुरू गरेको मोमो व्यवसायका लागि पनि पीठो चाहिने हुँदा घरैमा ठूलो मिक्सीमा कोदोको पीठो बनाउने गरेकी छु। 
वास्तवमा नेपाली समाजमा पहिले पहिले गरीबले मात्र कोदो खाने र धनीमानीहरूले गरीबको खान्की भनेर बेवास्ता गर्थे। तथापि किराँती समुदायमा अझै पनि बेलाबेला कोदोको परिकार खाने गरिन्छ। कोदोका अन्य परिकार हराउँदै गए पनि गाउँघरमा जस्तै शहर-बजारका सऔसाना मदिरा भट्टीहरूमा अझै पनि कोदोको रक्सी, जाँड लगायत तोङ्बाका पारखीहरू घटेको देखिंदैन। पछिल्लो समय घरेलु मदिरालाई ब्रान्डिङ गर्ने बारे चर्चा–परिचर्चा चलिरहँदा बहुगुणी कोदोका खाद्य परिकार बारे भने त्यति चर्चाऔपरिचर्चा गरिएको सुनिंदैन।

सञ्चारका माध्यमले पनि कोदो बारे सामग्री सम्प्रेषण गरेको खासै पाइँदैन । यसले गर्दा; कोदोका गुण र महत्व झ्ल्काउने सकारात्मक समाचारहरू जनमानससम्म पुग्न सकेका छैनन् । यसो हुँदा पनि बहुसंख्यक नेपालीको भातभान्सामा कोदोको परिकार पाक्न छाडेको छ भन्दा फरक नपर्ला । तै; ठूल्ठूला शहरका रेस्टुरेन्टहरूले ढिंडो जस्ता कोदोका सीमित परिकार पस्केर भए पनि यसको अस्तित्व मेटिन दिएका छैनन् । कोदोका अन्य परिकार, जस्तैः पाउरोटी, केक, कुकिज, सेल, मोमो, हर्लिक्स, बर्फी बनाउन सकिने सीप र सम्भावनाबारे बेलाबेला सामाजिक सञ्जाल चहार्दा थाहा पाइन्छ । तथापि यसबारे धेरैलाई थाहा नहुँदा पनि कोदोको परिकारले बजार लिन नसकेको देखिन्छ।

यस्ता परिकारमध्ये मैले आफैं पनि विगतमा साप्ताहिक रूपमा केही समय अजिनोमोटो विनाको कोदोको मोमो र सेलरोटी पकाएर विद्यार्थीलाई खुवाउने गर्थें। समयाभावले ती परिकारहरूलाई निरन्तरता दिन नसके पनि कोदोको रोटी आज पनि विद्यार्थीले ‘कालो रोटी’ भन्दै थपीऔथपी खाने गरेका छन्। फुर्सदको समयमा हामी शिक्षक सहकर्मी लगायत कर्मचारीहरूले अझै पनि कोदोको सेल पकाएर खाने गरेका छौं। विगतमा उद्योग संगठन मोरङ्ग जस्ता कतिपय संघ-संस्थाले आयोजना गरेका व्यापारिक मेलाहरूमा बिदाको बेला अभिभावक तथा कर्मचारीहरूको सहकार्यमा कोदोको परिकार जस्तै मोमो र सेलरोटीको पसल समेत राखेर मैले कोदोको प्रवद्र्धनमा थोरै भए पनि टेवा पुर्‍याउने प्रयास गरेकी छु। 

अझै पनि म आफैं बिदाको दिन पारेर कोदोको सेल, कुकिज, निम्की, सातु, बर्फी र केक बनाउने गर्छु र सामाजिक सञ्जालमा समेत राख्ने गरेकी छु। यस्ता परिकारहरूसँगै कोदोको पीठो मेरो विद्यालयका विद्यार्थीका अभिभावक, सहकर्मी र कर्मचारीहरूले किन्ने गरेका छन्। पछिल्लो समय छोराले अन्य मोमोसँगै कोदोको ‘भेज मोमो’ पनि बिक्री गर्न थालेको छ। कछुवाकै गतिमा भए पनि यसका पारखीहरू बढ्दैछन्। गत वर्ष रोटरी क्लबले आयोजना गरेको दुईदिने मेलामा छोराले बिक्री गरेको कोदोको मोमो यहाँका मारवाडी समुदायका उपभोक्ताहरूले पनि मनपराएका थिए ।

यस्तै, केही समयअघि मोरङ उद्योग व्यापार संघले विराटनगरमा भारतका प्रसिद्ध कोदोविद् डा. खादर वलीलाई आमन्त्रण गरी एकदिने गोष्ठी गरेपछि मलगायत धेरैले कोदोको महत्व बारे थाहा पायौं। ‘मिलेट म्यान अफ इन्डिया’ भनेर पद्मश्री पदक समेत प्राप्त गरेका डा. वली विगत ३० वर्षदेखि कोदोको प्रवद्र्धन र सम्वद्र्धनमा लागेका छन्। उनकै कारण पनि हुनुपर्छ भारतले गत वर्ष अर्थात् सन् २०२३ लाई ‘कोदो वर्ष’ भनेर घोषणा गर्‍यो। यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले कोदोको प्रवद्र्धन गर्न हरेक विदेशी पाहुनालाई कोदोको परिकार खुवाउन थालेका श्रव्यऔदृश्यहरू सामाजिक सञ्जालमा भेटिन्छन्। त्यति मात्र हैन, प्रधानमन्त्री मोदीले भविष्यमा आफ्नो देश कोदो निर्यात गर्नेहरूको सूचीमा पहिलो हुने रणनीतिक योजना पनि अघि सारेका छन्।

डा. खादर वलीको कार्यक्रममा सहभागी भएपछि मैले पनि कोदोशैली अपनाउन थालेकी छु। किनभने म आफैं पनि विगत दुई दशकदेखि एक किसिमको बाथ रोगसँग पौंठेजोरी गरिरहेकोले भात र गहुँको रोटीको सट्टा कोदोको परिकार सेवन गर्न थालेकी छु।

नेपालमा थोरै मानिसले कोदोका परिकार बनाएर यसको प्रवद्र्धन गर्ने प्रयास गरे पनि व्यावसायिक रूपमा कोदो र फापर जस्ता लोपोन्मुख अन्नको प्रवद्र्धन गर्नेहरू नगन्य नै छन् । तथापि डा. खादर वलीको कार्यक्रममा पनि सहभागी भएकी विराटनगरवासी शिल्पा अग्रवालले कोदो प्रवद्र्धन गर्न केही महिनादेखि ‘द अर्बन धानी’ भन्ने उद्योग स्थापना गरी विभिन्न थरीका कोदोका चाउचाउ तथा पास्ता बजारमा ल्याएकी छन् । केही दिनअघि रोटरी क्लबले आयोजना गरेको मेलामा पसल समेत राखेकी शिल्पाले कोदोको व्यापार उत्साहप्रद रहेको बताइन्। 

वास्तवमा नेपाली समाजमा अझै पनि कोदोलाई ‘कुअन्न’ भनेर सेवन नगर्नेहरू थुप्रै भेटिन्छन्। शहर–बजारका होटल रेस्टुरेन्टहरूले ढिंडो जस्ता कोदोका सीमित परिकार पस्केर भए पनि यसको अस्तित्व भने मेटिन दिएका छैनन्। धान र गहुँका जस्तै कोदोका पाउरोटी, केक, कुकिज, सेल, मोमो, हर्लिक्स, बर्फी आदि बनाउन सकिने बारे धेरैलाई थाहा नहुँदा पनि नेपालमा कोदोको परिकारले बजार लिन नसकेको देखिन्छ। 

commercial commercial commercial commercial