विज्ञान र गणितको स्तर कसरी उकास्ने ?

सार्वजनिक विद्यालयमा विज्ञान-गणितको सिकाइ-उपलब्धि सन्तोषजनक नरहेको कुरा घाम जस्तै छर्लङ्ग छ। कुशल, योग्य, (Certified, Qualified), तालिम प्राप्त तथा वृत्ति विकासको हिसाबले पनि सुरक्षित शिक्षकहरू उपलब्ध हुने त्यस्ता स्कूलको नतीजा निराशाजनक हुनु आफैंमा एउटा खोजको विषय रहेको छ। सीमित स्रोत र साधन भएका विद्यालयको चुनौती त झनै जटील हुन्छ। हामी शिक्षकहरूले निम्न पक्षलाई ध्यानमा राखेर विज्ञान र गणित शिक्षण गर्न सकेमा सिकाइ-उपलब्धिमा सुधार हुने विश्वास गर्न सकिन्छ।
मनोवैज्ञानिक ढाडस
आम मानिस र केही हदसम्म हामी विज्ञान-गणित शिक्षकहरूले पनि यिनलाई ‘गाह्रा विषय’को रूपमा चित्रित गर्ने गर्नाले यी विषय ‘सबैले बुझ्न सक्दैनन्’ भन्ने भाष्य समाजमा निर्माण भएको छ, यसले यस्तो जरो गाडेको छ कि सिकारु अर्थात् विद्यार्थीहरू पहिले नै आतंकित छन्। यस्तो आतंकित मनस्थितिमा शिक्षण गर्नु बालुवामा पानि हाल्नु सरह हुन्छ। त्यसैले, सर्वप्रथम हामी शिक्षकहरूले विज्ञान-गणित विषय पनि हामी सबैको बशका हुन्, पढ्न सकिन्छ, बुझ्न सकिन्छ भन्ने कुराको पूरा भरोसा दिई आश्वस्त पारेर शिक्षण गर्न सके उद्देश्यमूलक र फलदायी हुनसक्छ। बालबालिकासँगै अभिभावकलाई पनि यो गलत भाष्यको दलदलबाट निकालौं, प्रयास गरौं र शिक्षण गर्न शुरू गरौं, पक्कै पनि नतीजा सुखद् हुनेछ।
जनजीवनलाई जोड्ने प्रयास
भाषा तथा अन्य विषय जस्तै विज्ञान र गणित विषयलाई जनजीवनसँग जोड्न सके यसको स्वाद विद्यार्थीले चाख्न पाउने छन्। विज्ञानलाई सधैं विद्यालयको प्रयोगशाला र गणितलाई सूत्रसँग मात्र जोड्ने हामी शिक्षक सहजकर्ताको कमजोरीले सिकारुको सिकाइ उपलब्धिमा सापेक्षित उपलब्धि हासिल गर्न सकिएको छैन। स्कूल तहको लागि पुग्ने प्रयोगशाला त हाम्रो भान्छा नै हो, किनकि भान्छामा नुन, तेल, अमिलो इत्यादि रसायन हुन्छन् भने प्रयोगशालाका आधारभूत कुराहरू पानी तथा ऊर्जा (आगो) पनि त्यहाँ हुन्छ नै। करेसाबारीलाई जीव तथा वनस्पति प्रयोगशालाको रूपमा शिक्षण गर्न सके ठूला प्रयोगशाला नभए पनि सिकाइ रोचक र स्थायी हुने कुरामा दुईमत छैन । गणितमा हामी वर्ग (square) का सूत्र मात्र सिकाउँछौं, त्यसले क्षेत्रफल निकाल्छ भन्ने शीप सिकाउँदैनौं, चन (cube) सिकाउँछौं, त्यसले आयतन दिन्छ भन्ने सिकाउन भुल्छौं, ज्यामिति (geometry) का साध्य घोकाउँछौं तर सारा नाप–नक्सा र ढाँचा (engineering)को आधार ज्यामिति हो भन्ने कुरा बुझउन चुक्छौं । हाम्रा वरपरका सम्पूर्ण प्रविधिमा साइन, कस, ट्यान, थेटा (sine, cos, tan theta) को प्रयोग भएको कुरा सम्झाउन बिर्सन्छौं। यसले गर्दा कलिला सिकारुलाई पूरा गणित नै निरस तथा बोझ् बन्न पुग्छ । तर विज्ञान–गणितलाई दैनिकजीवन र प्रविधिसँग जोडेर शिक्षण गर्न सके सिकाइ उपलब्धिमा पूरा सुधार ल्याउन सकिन्छ।
स्कूल तहको लागि पुग्ने प्रयोगशाला त हाम्रो भान्छा नै हो, किनकि भान्छामा नुन, तेल, अमिलो इत्यादि रसायन हुन्छन् भने प्रयोगशालाका आधारभूत कुराहरू पानी तथा ऊर्जा (आगो) पनि त्यहाँ हुन्छ नै । करेसाबारीलाई जीव तथा वनस्पति प्रयोगशालाको रूपमा शिक्षण गर्न सके ठूला प्रयोगशाला नभए पनि सिकाइ रोचक र स्थायी हुने कुरामा दुईमत छैन ।
आइसीटी (ICT) को प्रयोग
विज्ञान-गणित शिक्षणमा सबभन्दा दरो पक्ष भनेको आयामहरू (3Dimension; 2Dimension) देखाएर अवधारणा बनाउन सिकाउनु हो । जटिल अवधारणालाई पनि आइसीटी प्रविधिको माध्यमबाट सजिलै बुझाउन सकिन्छ। हामी सामान्य इन्टरनेटको पहुँचमा छौं भने पनि विज्ञानसँग सम्बन्धित विभिन्न वेब पेज, यु-ट्युबका विभिन्न प्याकेज प्रयोग गरेर शिक्षण गरे सिकारुलाई सहज हुने कुरामा दुईमत नहोला। यो कुरा किन पनि महत्वपूर्ण छ भने विभिन्न अध्ययनले सुनेर १० प्रतिशत, आफैं पढेर २० प्रतिशत, श्रव्यदृश्य (Audio-visual) बाट ३० प्रतिशत, प्रयोग र प्रदर्शन (Demonstration, lab work) बाट ५० प्रतिशत र अरूलाई सिकाउँदा ९० प्रतिशतसम्म सिकाइ उपलब्धि हुने देखाएको छ। त्यसैले आइसीटीको उच्च्तम प्रयोग गरेर सिकाइ उपलब्धिमा गुणात्मक वृद्धि गर्न सकिन्छ।
प्राविधिक शिक्षण
सिकारु विद्यार्थी तथा शिक्षकको परीक्षणको अन्तिम सूचक विद्यार्थीले प्राप्त गर्ने सिकाइ-नतीजा हो। हाम्रो परीक्षा प्रणालीमा प्राविकेले तयार पारेको ग्रीडमा आधारित प्रश्नपत्रको प्रयोग र परीक्षण हुने हुँदा विद्यार्थीले पनि त्यही अनुरूप तयारी गर्नुपर्ने र लेखन शीपको विकास गर्नुपर्ने हुन्छ। यस कामको सहजीकरण गर्ने प्रमुख पात्र शिक्षक नै हुने हुँदा शिक्षणका दौरान कुन पाठबाट कति प्रश्न, कस्ता प्रश्न, कति अंकका प्रश्न सोधिन्छन् र त्यस्ता प्रश्नलाई कुन प्रकारले उत्तर दिँदा आफ्नो सही परीक्षण हुन्छ भनी सिकाउनु आवश्यक छ, जसले हाम्रा सिकारुको सिकाइ उपलब्धिको स्तर बढाउनेमा विश्वस्त रहन सकिन्छ।
नवीनतम पद्धतिको प्रयोग
शिक्षण सिकाइ प्रक्रियामा नयाँ प्रयोगमा रहेको विद्यार्थी केन्द्रित शिक्षण, जसमा शिक्षक सहजकर्ताको रूपमा रहेर सिकारुलाई नै समस्याको समाधान खोज्न जागरुक गराउने पद्धति विश्वविख्यात छ, जुन हामीले पनि कक्षामा प्रयोग गर्न सक्छौं। यसबाट विद्यार्थीहरू शिक्षक माथिको निर्भरताबाट बाहिर आई आफैं सिक्न तयार हुने हुँदा सिकाइ उपलब्धि उच्च र दिगो हुन्छ।
अन्त्यमा, सार्वजनिक विद्यालयमा विज्ञान तथा गणितको शिक्षण विशेषतः नव आगन्तुक शिक्षकका लागि चुनौतीपूर्ण छ। विद्यालयको भौगोलिक अवस्था, सामाजिक बनौट, शिक्षण सामग्रीको उपलब्धता, विद्यालयको भौतिक अवस्थाा, सिकारुको पूर्व ज्ञान, सिकारुको तत्परता, अघिल्ला शैक्षिक सत्रको उपलब्धि स्तर र विद्यालयसँग सम्बन्धित विभिन्न पक्षहरूको अवस्था जस्ता विषयहरूले सिकाइ पलब्धिको स्तर निर्धारणमा अहम् भूमिका खेल्छन्। तथापि माथि उल्लेखित विषय वस्तुहरूलाई व्यवहारत प्रयोग गर्न सके अपेक्षित उपलब्धि हासिल गर्न सकिन्छ। त्यसबाहेक पनि शिक्षकले आफ्नो ज्ञान, शीप, अनुभव, उच्चशिक्षा, पेशागत तालीम जस्ता कुराको भरपुर उपयोग गर्ने हो भने साँच्चै सार्वजनिक शिक्षामा विज्ञान-गणित विषयको सिकाइ उपलब्धिमा नयाँ उचाइ हासिल गर्न सम्भव छ; गर्न सकिन्छ।
श्री हिमालय मावि, इलाम